युगसम्बाद साप्ताहिक

नेपालले पानी नदिने हो भने भारत प्याक प्याक भएर मर्छ : कीर्तिनिधि विष्ट
Wednesday, 11.15.2017, 02:02pm (GMT5.5)

० देश कतातिर जादैछ ?
मुलुक भनेको भूगोल मात्र हैन, जनतामा आउने भावना पनि मुलुक हो । अहिले देश अति नै दुखेको अबस्थामा छ । स्वार्थी, लुच्चा, र देशको माया नभएका र आफ्नो झिनो स्वार्थमा बिक्नेहरुको चपेटामा देश छ । सत्तामा त्यस्तै स्वार्थी र लुच्चाहरु छन् । जनताको नाम मात्र लिइएको छ जनता भने उपेक्षित छन् । देश अहिलेसम्मकै सबै भन्दा बढी दुरावस्थामा पुगेको छ ।
० जनता उपेक्षित छन् भन्नुहुन्छ, अहिले नागरिकको आवाज त सशक्त बन्दै गएको छ नि होइन ? 
जनता रोईकराई गरेर देश देश भनिरहेका छन्, सत्तामा बस्नेले सुनेको नसुन्यै ग¥या छ । जनताको मनमनमा यो खड्किरहेको छ कि देशले यस्तो एउटा ब्यक्ति पाओस जो संसारलाई यहिबाट देख्न सकोस् । आफ्नो नेतृत्व आत्मविस्वासी होस्, कर्मठ र धेरै टाढासम्म देख्न सक्ने होस् । नेपालको भविश्य उज्ज्वल बनाओस्, जनतालाई गरेर खाने बाटो फेला परोस् र नेतृत्वले देश हाँकिदेओस् । जनताको आकांक्षा यत्ति हो । जनताको अरु केही स्वार्थ छैन । अहिले देशमाथि हस्तक्षेप गरेर मुलुकको सार्वभौमिकता नै संकटमा पारिएको छ यसबाट बढी चिन्ता देख्छु म हरेक मान्छेहरुमा ।
० संसदमा सबैभन्दा ठूलो पार्टीको समर्थन भएको सरकार छ, बलियो बहुमतको सरकार छ कसरी हस्तक्षेप होला र विदेशीको ? 
अहिले जसले शासन गरिरहेका छन् यी नेतै होइनन् । यस्तो पनि नेतृत्व हुन्छ ? आफ्नो स्वार्थभन्दा माथि उठेर देश देख्न सक्ने पो नेता । आफ्नो सानो स्वार्थ पूरा हुन्छ भने देशमाथि विदेशीको जस्तोसुकै हस्तक्षेप र निर्णायकत्व लाद्न तयार हुने पनि कहीँ नेता हो ? यो मैले मात्र भनेको कुरा होइन, जन जनले भनेको कुरा होे । जनताको कुरा सुनेर आत्माआलोचना गरुन्, पश्चाताप गरुन्, म यहि भन्न चाहान्छु । यिनीहरुको प्रयास सफल भयो भने यिनीहरु आफू मात्र होइन, यिनीहरुको पार्टी मात्र पनि होइन, सिंगै देश अरुको हुन्छ । देशमाथि अर्कैले आधिपत्य जमाउँछ । अझै पनि किन चेत नखुलेको ? म आश्चर्यमा परेको छु ।
० राजनीतिमा आशा गर्ने ठाउँ केही छैन त ? 
जनताको मनोभावनामा खेलबाड गर्ने कुरालाई कसरी राजनीति भन्ने ? यो सब कुरा मात्रै हो । गणतन्त्रको कुरा गर्छन् । संघीयताको कुरा गर्छन् । केको संघीयता ? केको गणतन्त्र ? यी सबै अर्थ न बर्थका भएका छन् । सिस्टम खै ? राम्रो गर्नेलाई सम्मान र गलत गर्नेलाई दण्ड खै ? देश फुटाउँछु भन्दै हिंड्ने र देशलाई एकतावद्ध गर्न खोज्ने दुबैलाई एउटै माला ? के जनताले यहि अवस्थामा पुर्याउन चुनेका हुन् ?
० कुन पार्टीसँग हो तपाईंको ज्यादा गुनासो ? 
कुन पार्टीको नाम लिउँ ? नेता कुन पार्टी भन्ने छैन । जुन पार्टीले गरे पनि जसले राम्रो गर्छ राम्रो भन्छु जसले खराव गर्छ खराव भन्छु । आज चाइनामा हेर्नुस्, त्यो पनि त कम्युनिस्ट देश हो । ल हेर्नुस् त चाइना कहाँबाट कहाँ पुग्यो ? उसले जुन किसिमको सिस्टम डेभलप ग¥र्या त्यस्ले उसलाई विश्वमै एउटा सशक्त राष्ट्रको रुपमा उभ्याएको छ । यसरी चीन सवल भएर आएको धेरै भएको छैन । यो बेला राजा पृथ्बीनारायण शाह र महेन्द्र भइदिएको भए चीनसँग भारतसँग जस्तै सम्बन्ध राख्नुहुन्थ्यो होला । अहिले चीन विश्वसँग विकासको सहकार्यमा जोडिन आउँदा पनि यी नेताले यसलाई असफल पार्न खोज्नुले यी देशका लागि होइन आफ्नो स्वार्थ पूरा गर्न मात्रै लाग्या छन् भन्ने देखाउँछ ।
० विदेशी हस्तक्षेप अहिले मात्रै त होइन नि, पहिले पनि हुन्थ्यो होइन र ? 
पहिले भारत अहिले जस्तो सिधासिधी आउन सक्दैनथ्यो । म प्रधानमन्त्री हुँदा चिनियाँ सिमानामा रहेका भारतीय चेकपोष्ट मिलिटरी मिसन हटाउँदा भारतीय प्रम इन्दिरा गान्धी थिइन् । मैले तिनलाई हटाउन पत्र पठाएँ । उनीहरुले केही नभनी हटाए । त्यसको सट्टामा केही चाहन्थे भने पनि मसँग केही राख्न सकेनन् । किनकि मलाई यो देशको बिरुद्धमा जादैन भन्ने उनीहरुलाई थाहा थियो । उनीहरु कसलाई आफ्नो हित अनुकुल प्रयोग गर्न सकिन्छ भनेर भित्र भित्रै जालो बुन्थे । तर आज त भारत खुलेआम नेपालको मामिलामा हस्तक्षेप गर्न आइरहेको छ । विश्व कहाँ पुगेको छ, मित्रवत ब्यावहार गर्नु पर्ने सट्टा नेपालमा नाकाबन्दी लगायो । भूकम्पले हामीलाई थिचिरहेको बेला पनि नाकाबन्दी गर्न सक्ने कति नांगो हात हाल्यो ? नेता पनि त्यसको खुलेर बिरोध गर्न नसक्ने, कस्तो भयो हाम्रो देश ? ल हेर्नुस् त ! देशलाई दुख्दा नाकाबन्दी पनि भन्न नसक्ने ठूलो पार्टी रे हाम्रो । त्यस्तो पार्टी नेपालीको पार्टी हो ? त्यो नाकाबन्दीलाई त म दुब्र्यवहार भन्छु । भारत यसरी हस्तक्षेपकारी भएर आउनुमा यहाँका नेताको स्वार्थले धेरै काम गरेको छ ।
० अहिले त नाकाबन्दी छैन नि, सधैं हस्तक्षेप भन्न मिल्ला र ? 
मौका परे लगाइहाल्छन् । त्यसैले अप्ठ्यारोमा अरुतिर सम्पर्क राख्न नदिने र अघि बढ्न खोजे नाकाबन्दी लगाइहाल्ने भारतीयहरुको ब्यवहार हो । पछिल्लो समयमा त नेपाललाई भारतमै गाभ्ने प्लानको साथ उनीहरु अघि आएका छन् । यहाँ स्वाभीमान नभएका र आफ्नै ढाड नभएका नेताहरुलाई उनीहरुले उपयोग गरेका छन् । म प्रधानमन्त्री हुँदा बल्लभ भाई पटेल थिए भारतको नेतृत्वमा । पछि इन्दिरा गान्धी आइन् । तर त्यो बेला उनीहरु यसरी आउन सक्दैनथे । भारतै हेर्नुस न, कतिवटा थिए पहिला । पछि आएर एउटा सिंगो भारत बनेको हो । आज भन्दा पैतालिस बर्ष अघि सिक्किम पनि लियो । भारत नेपाललाई सिक्किम नै बनाउन चाहान्थ्यो । तर नेपालमा त्यसरी सिधासिधी गाडिन सक्दैनथ्यो । अहिले त्यो प्रयास गरेको छ नेपाललाई भारतले निल्नै खोजेको भान हुन्छ ।
० हाम्रो निर्भरताले पनि यस्तो भएको हो कि ? 
साँच्चै भन्ने हो भने नेपाल त तेलसेलमा भारतसँग निर्भर होला । त्यो तेल पनि भारतको होइन । हाम्रो निर्भरता भनेको समुद्रसम्म पुग्ने भारतको बाटो मात्रै हो । यो बुझ्नुस् भारत हामीलाई अर्काे छिमेकी देशसँग बाटो बनाएर जोडिएको हेर्न चाहंदैन । तर भारत त नेपालको पानीमै निर्भर छ । जुन हामीले नदिने हो भने उ प्याक प्याक भएर मर्छ । भारतलाई हराभरा बनाउने यहाँका नदिनाला होइनन् ? त्यसैले मैले भन्ने गरेको छु नेपाल भारतसँग हैन भारत नेपालसँग धेरै कुरामा निर्भर छ । भारतले नेपाललाई रिझाएर दुबैलाई राम्रो हुने गरी पानी उपयोग गर्ने कि नेपाललाई चिढ्याउने थिचोमिचो गर्ने र सधैं चंगुलमा राख्न खोज्ने ? नेपाललाई मात्र हैन, भारतलाई पनि नेपाल चाहिएको छ । तर यहाँ त नेताहरु यसरी भारत पस्छन् कि मानौ हामी मात्र भारतको आडमा बाँचेका छौं । साँच्चै भन्दा नेपालको अवस्थाको राम्रो बिश्लेषण गर्न सक्ने नेतासम्म भएनन् नेपालमा । तर जनता चाहिँ एक जना रहुन्जेल सम्म पनि लड्ने खालका छन् ।
० भारतको यस्तो हस्तक्षेप हुँदा पनि चीनसँग हिजैदेखि किन भारतसँग जस्तै सम्बन्ध नभएको ? 
पहिलो त हामी धेरैतिरबाट भारतले छेकिएका छौं । दोस्रो भारततिर समथर जमिन भएकोले र बसोबास बाक्लो हुनु आदि कारणले भारतसँग नजिक हुनु स्वाभाबिक थियो । तर पछिल्लो समयमा चीनतिर नेपाललाई जान नदिने स्वार्थमा नेपालका नेता भन्नेले काम गरे । यसैले चीनसँगको सम्बन्ध बढ्न नसकेको हो ।
० तपाईंले भनेजस्तो अव देशलाई डो¥याउने कोही देख्नुहुन्छ कि, कोही पनि नेता छैनन् ?  
नेता भए पनि नेपालको हितमा चल्ने नेतालाई यहाँ गर्न दिंदैनन् । भारतले चलाएका नेताहरुले छिर्के हानीहाल्छन् । पछिल्लो समयमा केपी ओलीले जे गरे नि ! त्यो देशका लागि अति नै दीर्घकालीन हितसँग जोडिएको काम गरे । उनले भारतले नाकाबन्दी लगाएर देशलाई कज्याउन लागेका बेला चीनतिर बाटो खोल्ने जे काम गरे, त्यसले देशलाई सयौं गुणा अघि लगाए । चाइनाको लागि पनि नेपाल स्टाटेजिकल्ली महत्वपूर्ण छ भन्ने कुरा केपी ओलीले देख्न सके । 


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com