युगसम्बाद साप्ताहिक

ओली आफ्नो राष्ट्रवादी एजेण्डा छाड्नुहोला जस्तो लाग्दैन
Tuesday, 01.30.2018, 02:49pm (GMT5.5)

डा. नारायण खड्का, नेता, नेपाली कांग्रेस
० आफैंले गरेको चुनावमा कांग्रेस किन हा¥यो भन्ने लाग्छ ?
खास गरेर जुन वामपन्थी गठबन्धन भयो मूलतः त्यसको प्रभावले गर्दा हामी हारेका हौं । वामपन्थी एकताले जनतालाई आकर्षित गरेको हो । दोस्रो कुरा माओवादीलाई हामीले चुनावमा सहकार्य गरेर लैजान सकेनौं । सरकारमा सहकार्य गरिरहेको शक्तिलाई चुनावमा लिएर जान सकनौं, त्यसमा नेतृत्व चुकेको हो कि भन्ने कुरा पार्टी बैठकमा आयो । तर, चुनाव हार्नुको त्यतिमात्र कारण चाहिं होइन । पार्टीको इमेजसँगै मतदाताले चुनावमा नेताको हिरो इमेज पनि खोज्दोरहेछ । म कोबाट सुरक्षित हुनसक्छु, मेरो स्वार्थको रक्षा कसले गर्छ भन्ने मतदाताले खोज्छ । कसले देश हाँक्न सक्छ भन्ने मनोविज्ञानले पनि मतदातामा काम गर्छ ।

 त्यसो भए कांग्रेसका नेतामा त्यस्तो इमेज रहेनछ ?
हाम्रा नेता (शेरबहाबदुर देउवा, रामचन्द्र पौडेल) हिरो इमेजमा आउन सक्नुभएन । जुनखालको बामपन्थी गठबन्धन बन्यो, त्यसले माहौल ल्यायो । ओलीजी र प्रचण्डजी एक ठाउँमा हुँदा त्यसले बेग्लै सन्देश दियो । उहाँहरुलाई मतदाताले हिरो फिगरका रुपमा लिए । मतदातालाई भरोसा दिन सक्नुभयो ।
यो बीचमा हाम्रो पार्टीको परफरमेन्स राम्रो भएन । सरकारमा रहेर गरेका काम गर्व गर्नलायक भएनन् । कतिपय सरकारी निर्णय गर्दा पनि कमीकमजोरी देखियो । जनतामा के असर पर्छ भन्नेतिर ध्यान दिइएन । आइजीपी प्रकरणको कुरा गरौं वा प्रधानन्यायाधीशमाथिको महाअभियोग लगाइएको कुरा गरौं, त्यसले नकारात्मक सन्देश गयो । त्यसले धेरै ठाउँमा हामी हार्नुमा प्रत्यक्ष प्रभाव पारेको हो ।

० हिरो फिगरमा पनि कांग्रेस नेताले प्रतिस्पर्धा गर्न सकेनन् होइन त ?
मलाई लाग्छ, प्रतिस्पर्धा गर्ने कुरा होइन, उहाँहरुलाई मतदाताले हिरो फिगरका रुपमा स्वीकार गरेनन् । ओलीजी एउटा फिगरको रुपमा देखिनुभयो । उहाँ एक्लै त होइन तर उहाँलाई प्रचण्डजीको पनि साथ देखियो । ओलीजीको अडानले पनि उहाँलाई एउटा स्पेस दियो । अहिले मतदाता धेरै सचेत भइसकेका छन् । भोटर्स विहेबियर चेन्ज भइरहेको छ । समग्रमा हेर्दा यो मान्छे ठीक रहेछ, यसले लिएको लाइन ठीक रहेछ भन्ने पनि भयो ।
आज खाडीमा हजारौं नेपाली बस्छन्, हामीलाई भन्दा बढी उनीहरुलाई यहाँको बारे खुल्दुली छ । देश बिगारे भन्ने चिन्ता उनीहरुले आफ्ना घरमा प्रकट गरिरहेका छन् । शेरवहादुरजीले के बोल्नुभयो भन्ने कुरा उनीहरुले खाडीबाट घरमा भनिरहेका हुन्छन् । त्यसको प्रभाव पनि पर्दो रहेछ मतदातामा । मोबाइलले अहिले सबै नागरिकलाई राजनीतिक प्रति सचेतना ल्याएको छ, ओलीले राम्रो गरिरहेका छन् भनेर घरमा कन्भिन्स गरिरहेका हुन्छन् । त्यसले पनि हामीलाई चुनावमा असर गरेको हो ।

० माओवादीलाई साथमै राखिरहन नसक्नुको कारण केही भन्नुभएन नेताहरुले बैठकमा ?
माओवादी बस्न नचाहेको हो जस्तो लाग्छ । हामीलाई माओवादीले शंकाको घेरामा राख्यो । कांग्रेस र माओवादीबीच स्थानीय तहको चुनावमा पनि तालमेल भयो । तर, त्यो धेरै फलदायी भएन भन्ने उहाँहरुको निष्कर्ष हुन सक्छ । माओवादीलाई के लाग्यो भने कांग्रेसले हामीलाई भोट हाल्ने रहेनछन् ।
युद्धको बेला अत्यधिक मात्रामा दुःख दिएको पनि कांग्रेसलाई नै हो । स्थानीय चुनावमा पनि त्यस्तो देखिएको हो । माओवादीलाई बढी कम्फरटेबल एमाले नै भयो होला । पार्टी एकता नै गर्ने भनेपछि कम्युनिस्ट स्कूलिङका कार्यकर्तामा उत्साह पनि ल्यायो । दुवैको कुरा मिल्यो । एमालृेलाई बहुमतका लागि माओवादी चाहिएको थियो, माओवादीलाई चुनाव जित्नका लागि एमाले चाहिएको थियो । हामीले ६०–४० मा जाने अवस्था पनि थिएन ।

० अहिलेको जनादेशलाई चाहिँ कसरी बुझ्ने त ? कांग्रेस ओह्रालो लागेको हो कि बामपन्थी मिलेरमात्र उनीहरु जितेका हुन् ?
प्रधानमन्त्रीको रुपमा ओलीजीले एकखालको जनादेश पाउनुभएको छ । भोलिका लागि उहाँ नै नेता हो भन्ने म्यासेज गएकै हो । स्थानीय चुनावदेखि नै एमालेले राम्रो परफरमेन्स दिएको हो । २०१४ को भारतको चुनाव हेर्ने हो भने पनि मोदीजी हिरो फिगरको रुपमा आउनुभयो, कांग्रेसको फिगर निकै तल झरेको हो । मोदीजे गुजरात मोडलको विकासलाई मार्केटिङ गर्नुभयो ।
यसपटक मतदाताको बीचमा आफ्नो एजेण्डाको मार्केटिङ ओलीजीले गर्नुभयो, हामीले गर्न सकेनौं । हामीले गरेका राम्रा कामलाई पनि यसो ग¥यौं भन्न सकेनौं । 

० तर, तपाई कांग्रेसभित्र एमालेलाई साइजमा राख्न माओवादीसँग चुनावमा मिलेर जानुपर्छ भन्ने नेता हो, वामपन्थी एकतापछि पनि तपाईले प्रचण्डलाई कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव गर्छ भन्नुभएको थियो, अहिले तपाईहरुको प्रस्ताव काम लागेन ?
राजनीति भनेको पावर हो, यसमा धेरैखाले गेम हुन्छन् । गठबन्धन भइरहेका बेला प्रचण्डलाई प्रधानमन्त्री अफर गर्र्छौं भन्नुहुँदैनथ्यो भन्ने कुरा पनि आए । तर, सबै कुरा त सत्तामा ठोकिन्छ । हामीले कार्ड फाल्यौं, उहाँले मान्नुभएन अहिले । अहिले नैतिक रुपमा पनि हामीसँग आउन मिल्दैन प्रचण्डजीलाई । उहाँलाई लहडी र विश्वास नभएको भन्छन् भन्ने भएर पनि अहिले सम्भव भएन ।
तर, नेपालमा २०१६ देखि ठूलो शक्ति र पपुलर नेता अघि बढ्यो भने धेरै अगाडि जाँदैन भन्ने देखिएको छ । त्यस्तो शक्ति वा व्यक्तिलाई रोक्न आन्तरिक र बाह्य धेरै शक्ति लाग्छन् । अहिले ओलीजीले पनि यो जनादेशलाई व्यवस्थापन गर्न सक्नुभएन भने उहाँलाई कहीँ न कहीँ रोक्ने शक्ति सक्रिय हुन्छ ।

० भन्नुको मतलब ओलीलाई वा वामपन्थीलाई ५ वर्ष सत्ता चलाउन दिँदैनन् ?
त्यो सम्भावना छ । मैले ओलीजीलाई बीपीको हाइटमा त म लान सक्दिनँ । फरक पार्टीको नेता भएर होइन कि वीपीको हाइटमा त उहाँ पुग्न सक्नुहुन्न । तर, एउटा कुरा तपाई बुझ्नुस वीपीलाई राजा महेन्द्रले कु गरेर फालेको होइन । उनी त माध्यममात्र हुन् । उनको इगो र महत्वकांक्षामा खेल्ने अरु नै थिए । वीपीका अन्तर्राष्ट्रिय फिगर र चाइनसँग लिएको अडान कतिलाई पचेन । वीपीको फिगरका कारण पूरा कार्यकाल खान दिइएन । ओलीजीको पनि त्यस्तो नहोस् ।

० तपाईले यसो भन्नु र केही भारतीय पूर्वराजदूहरुले ओलीप्रति गरेका सार्वजनिक टिप्पणी मेल खानु संयोगमात्र हो ?
अहिले केपी ओलीजीले बनाएको जुन व्यक्तित्व छ, राष्ट्रवादी व्यक्तित्व, भलै म त्यसलाई कोट अनकोटमा राष्ट्रवाद भन्छु । भोलि त्यो इमेजलाई लत्याएर अर्को एंगलमा उनी गए भने उनको लोकप्रियता पूरै डाउन हुन्छ । साबिककै अडान लिएर जान्छु भन्ने हो भने पनि धेरै अघि जान दिँदैनन् ।
उहाँलाई अहिले जुन फोन कलहरु आइरहेका छन्, (नरेन्द्र मोदीबाट) ‘टु सम एक्सटेन्ट’ तपाईलाई हामी वेलकम गर्छौ, मिलेर कार्न तयार छौं भनेको हो ।
मोदीजीको भनाइ तपाई आउनुस हामी स्वागत गर्छौ, सहयोग गर्छौ मिलेर जाउँ भन्ने नै हो । त्यो फ्रेममा उहाँ लाग्नुभयो भने ओलीजीको अडान अर्को एजेण्डामा जान्छ । त्यो प्याराडक्सभित्र उहाँलाई चुनौती छ । हुन त उहाँ धेरै बाठो मान्छे हो । तर, एउटा कुरा एमाले माओवादी गठबन्धनमात्र यहाँका शक्ति होइन । धेरै धेरै शक्तिहरु छन् जसलाई ब्यालेन्स गरेर लानु उहाँका लागि चुनौती छ ।
तर, हामीले बुझ्नुपर्ने अर्को कुरा के पनि हो भने, उहाँको आफ्नो अडानलाई अझ दह्रिलो गरी लानु पर्ने बाध्यता पनि छ । चिनियाँ राष्ट्रपति सि जिनपिङको भिजिट गराउने कुरा पनि उहाँको मनमा होला । मोदीजीलाई पनि जनकपुर र मुक्तिनाथको भ्रमणमा लैजानुछ ।

० ओलीले भारत र चीनलाई सन्तुलन मिलाउन गाह्रो छ भन्न खोज्नुभएको हो ?
अहिले ओलीजीको मनोविज्ञान चाहिँ उहाँको जुन एजेण्डा छ त्यसमा रहनुहुन्छ जस्तो देखिन्छ । जहाँबाट फोन आए पनि उहाँले अहिले नै आफ्नो राष्ट्रवादी एजेण्डा छाड्नुहोला जस्तो लाग्दैन । जुन अडानका कराण उहाँले चुनाव जित्नुभएको छ, त्यो छाडेर अर्कोतिर लाग्नसक्ने अवस्था छैन । तर, सँगसँगै उहाँको अडानसँग प्रचण्डजीको मान्यता पनि मिल्नुपर्छ ।

राष्ट्रवादी एजेण्डामा अडिरनुपर्ने केही बाध्यता पनि उहाँका सामू छन् । उहाँ अझ अगाडि बढ्न उहाँलाई अहिलेको म्याण्डेटले प्रोत्साहित गरेको होला । उत्तरबाट रेल ल्याउनेदेखि पारवहन, पेट्रोलियम र ठूला आयोजनामा चीनिया लगानी गराउने कुरामा अघि बढाउनुहोला । किनकि उहाँलाई त अहिले त्यसबाट पछि हट्ने जनादेश पनि छैन ।

तर, उहाँले दुवैलाई ब्यालेन्स गरेर लैजानु पर्छ । सत्ताको स्थायीत्व हुने नहुने कुरा विदेश नीति पनि एउटा आयाम हो । कुनै पनि राजा महाराजा वा ठूलो जनादेश पाउँदैमा पनि हुँदो रहेनछ । दुई तिहाई त वीपीको समयमा पनि थियो नि । तर, वीपीलाई टिक्न दिएनन् । ओलीजीले यो कुरा अवश्य बुझ्नुभएको छ ।

० फेरि कांग्रेसकै कुरा गरौं, पार्टीले चुनाव हारेका कारण शेरवहादुर देउवाले नेतृत्व छाड्नुपर्छ भन्ने कुरा पनि आयो, तपाईको राय के हो ?
कांग्रेसमा म शेरबहादुरजी र रामचन्द्रजी दुवै गुटमा नअटेको मान्छे हुँ । म त उहाँहरुका आसेपासेले लाभ लिएर बाँकी रहेको ठाउँमा बस्ने हो । अस्ति चुनावकै बेला उहाँहरुले सुनसरी १ मा अशोक राईजीलाई छाड्नुभयो । जब कि अशोकजी मेरो जिल्लाको मान्छे । उहाँसँग तालमेल हुँदा त मसँग गर्नुपर्ने हो, तर सभापतिका नजिकका साथीहरुलाई जिताउन तालमेल गरियो । तर, पनि चुनाव हार्दैमा नेतृत्वले छाड्नुपर्छ भन्ने कुरा हुँदैन ।
(अनलाइन खबरबाट)


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com