युगसम्बाद साप्ताहिक

कमजोर कूटनीति र फितलो सुरक्षा स्थितिको उपज नै ‘ट्रान्जिट’ भ्रमण – डा. जयराज आचार्य
Monday, 01.16.2012, 04:43pm (GMT5.5)

चिनीया प्रधानमन्त्री बेन जियाबाओको नेपाल भ्रमण अनिश्चित बनिरहेको बेला गत शनिवार भएको चार घण्टे भ्रमणले सरकारी पक्षलाई राहत दियो । यो भ्रमण सुरक्षाका कारण अमेरिकी राष्ट्रपतिले अफगानिस्तानको भ्रमण बिना सूचना गरेजस्तै भयो । जियाबाओको भ्रमण अत्यन्त गोप्य राखियो– भ्रमणको सबभन्दा ठूलो विशेषता नै त्यही हो जस्तो भयो । हुँदै नहुनुभन्दा भ्रमण भएका राम्रो हो । योभन्दा अघि बडो नमज्जा लाग्ने किसिमले भ्रमण स्थगित भएको थियो । त्यो नेपालको अन्तर्राष्ट्रिय छवी नकारात्मक हुने खालको थियो । सुरक्षा कारणले चीन जस्तो ठूलो र शक्तिशाली मित्रराष्ट्रका प्रधानमन्त्रीको भ्रमण स्थगित हुनु नराम्रो कुरा थियो । तर जेजस्तो भए पनि चिनीया प्रधानमन्त्रीबाट नेपालको भ्रमण भयो । नहुने मामाभन्दा कानो मामा निको’ भनेजस्तै कमसेकम चार घण्टाको विश्रामकै लागि भए पनि नेपालको भ्रमण भयो । यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।
अब प्रश्न उठ्छ भ्रमण कस्तो रह्यो, कत्तिको उपलब्धिमूलक रह्यो भन्ने । हाम्रो मानसिकता कस्तो छ भने हाम्रा प्रधानमन्त्री कुनै विदेश भ्रमणमा गए भने उनले कति आर्थिक सहायता ल्याए अरु देशका प्रधानमन्त्री या राष्ट्रपतिले नेपालको भ्रमण गर्दा पनि नेपालले कति आर्थिक सहयोग पाइयो भन्ने आधारमा भ्रमणको उपलब्धिबारे मूल्यांकन गर्ने परिपाटी छ । यो मगन्ते मानसिकता हो । हाम्रा लागि सबै सहयोगदाता छन् हामी भने त्यसका लागि धन्यवाद बाहेक केही भन्न सक्ने अवस्थामा छैनौं । तर पनि चिनीया पक्षले नेपालको विकास निर्माणका कामदेखि सुरक्षा लगायत सामाजिक–सांस्कृतिक क्षेत्रका विषयमा जुन आर्थिक सहयोग गर्ने भनिएको छ त्यसलाई उपलब्धि नै मान्नुपर्छ । अघिल्ला वर्षहरूको तुलनामा चीनले नेपाललाई उपलब्ध गराउँदै आएको नियमित आर्थिक सहायतामा पनि वृद्धि भएको छ । यसलाई महत्वपूर्ण नै मान्नुपर्छ ।
यसका अतिरिक्त भ्रमणले नेपालको पक्षमा नकारात्मक सन्देश पनि दिएको छ । पहिले पहिले चीनका प्रधानमन्त्री कम्तिमा दुई–तीन दिनसम्म नेपालको भ्रमण गर्ने गर्थे । चीनको पहिलो प्रधानमन्त्री चाउ–एनलाईले चार दिनको भ्रमण गर्नुभएको थियो । उहाँले नेपालको दुईपटक भ्रमण गर्नुभएको थियो । १९५७ मा टंकप्रसाद आचार्य प्रधानमन्त्री हुँदा उहाँ आचार्यको निजी निवासमा समेत जानुभएको थियो । दोस्रोपटक वीपी कोइराला प्रधानमन्त्री हुँदा नेपाल र चीनबीच मैत्री तथा शान्ति सम्झौता काठमाडौंमै भएको हो । त्यतिबेला दुई देशका प्रधानमन्त्री खुला जीपमा एयरपोर्टदेखि शितल निवाससम्म आउनुभएको थियो । त्यतिबेला सडकका दुबै किनारमा नेपाली जनताले फूल दिएर करतल ध्वनिले स्वागत गरेका थिए । अहिले नेपालको सुरक्षा स्थिति यति नराम्रो देखियो कि झण्डै कफ्र्यू लगाएको जस्तो किसिमले चिनीया प्रधानमन्त्रीलाई एयरपोर्टबाट ल्याउने र एयरपोर्ट पु¥याउने काम भयो । यसले अन्तर्राष्ट्रिय जगतमा नेपालको आन्तरिक सुरक्षा व्यवस्थाको कमजोर पक्षलाई उजागर गरेको छ । हामीले हाम्रो देशको आन्तरिक परिस्थिति राम्रो बनाउन सकिरहेका छैनौं ।
अब प्रश्न उठ्नसक्छ यति महत्वपूर्ण भ्रमण किन यस्तो भयो ? सिंहदरबारमा दुई देशबीच उच्चस्तरीय बैठक हुँदा सरकारी संचार माध्यमबाहेक अरुलाई प्रवेश दिइएन । चीनले यस्तै चाहेको थियो त ? अवश्य होइन । निश्चित रुपमा चिनीया पक्षको चाहना नेपालमा खुला र स्वच्छन्द किसिमले कुनै खतरा महसुस नगरीकन भ्रमण गर्ने नै थियो । त्यो परिस्थितिको प्रत्याभूति हामीले दिन सकेनौं । हाम्रो धरातलीय यथार्थ पनि त्यही छ । चिनीया पक्षको चाहना त नेपालमा लामो अवधिको भ्रमण गर्ने नै हुन्थ्यो किनभने चिनीया परराष्ट्र नीतिको प्रमुख पक्ष आफ्ना छिमेकी विशेष गरी सीमा जोडिएका मुलुकलाई पहिलो महत्व दिने रहेको छ । त्यसकारण उहाँहरू कम्तिमा दुई दिनको भ्रमण गर्ने चाहना थियो । अर्को कुरा वेन जियाबाओको कार्यकाल ३–४ महिना मात्र बाँकी छ । उहाँले नेपालमा नआउनुभएको भए नेपाल नआउने एक्लो चिनीया प्रधानमन्त्री उहाँ नै हुनुहुन्थ्यो । त्यसकारण चीन र उहाँको इज्जतकै लागि पनि नेपाल त आउनै प¥यो । अर्कोतिर चीनको विशाल आर्थिक उन्नति भएको छ ।
चीन अहिले विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको छ । त्यो अनुरुप ८–१० अर्ब रुपैयाँको आर्थिक सहयोग गर्ने प्रतिबद्धता आउनु स्वाभाविक छ । यस अर्थमा हेर्दा चिनीया प्रधानमन्त्रीको चार घण्टे नेपाल भ्रमण केही उपलब्धि र केही निराशाजनक देखियो । आर्थिक सहयोग उपलब्धिमूलक भयो । तर नेपालको समग्र परिस्थिति खस्किएको छ । हामी त्यही आर्थिक सहयोग पनि सदुपयोग गर्न नसक्ने हुँदै गैरहेका छौं । यो नकारात्मक पक्ष हो । जस्तो कि– चिनीयाहरूले नै त्रिपुरेश्वरदेखि सूर्यविनायकसम्म ट्रली बस बनाइदिएका थिए त्यो त भत्काएर कवाडीलाई बेच्यौं । चिनीयाहरूले बासबारी छालाजुत्ता कारखाना बनाइदिएका थिए त्यो बन्द ग¥यौं, भृकुटी कागज कारखाना बनाइदिएका थिए त्यो पनि बन्द भयो । हेटौंडा कपडा उद्योग पनि बन्द गरियो । यी सबलाई केही निजीकरणको नाममा व्यक्तिलाई बेचियो त केही बन्द गरियो । यसरी प्राप्त सहयोगबाट हामीले केही सिकेर नयाँ नयाँ स्थापना गर्दै जानुपर्नेमा त्यतापट्टि पटक्कै नसोचेर सहयोग लिंदै हजम गर्दै गरेका छौं । यो हाम्रो आन्तरिक दुर्भाग्य हो ।
विदेशी सहयोग हाम्रा लागि सडकको पेटीमा माग्न बसेकालाई यसो केही दिएजस्तै भएका छ । जसरी माग्नेलाई दिएको सहयोगबाट उसले कुनै उद्यम गर्दैन त्यस्तै भैरहेको नेपालको वैदेशिक सहायताको स्थिति । वैदेशिक सहायता भनेको माग्नेले पाउने भीख नभएर सिक्ने कुरा हो । उनीहरूले हामीलाई यसरी काम गर्नुपर्छ भनेर नमूना सिकाइदिने हो बाँकी काम त हामी आफैंले गर्नुपर्छ । यसरी प्राप्त सहयोगहरूबाट नयाँ नयाँ कुराको विकास गर्दै आफ्नो क्षमता बढाउनुपर्नेमा हामीमा त्यो संस्कार ह्रास हुँदै गएको छ । यो हाम्रा लागि दुर्भाग्य पक्ष हो । यी सबै कुरा चीनले पनि देखिरहेको छ । उनीहरूले के भन्दा हुन् ? दशकौं भयो नेपालको विकासमा सहयोग गर्दैआएको तर कहिल्यै माथि उठ्दैन, झन्झन् परमुखापेक्षी र वैदेशिक सहायतामा निर्भर हुँदै गैरहेको छ भन्ने कुरा चिनीयाहरूको मनमा पनि होला ।
चिनीया प्रधानमन्त्रीको नेपाल भ्रमणको सवालमा अनेक शंका–उपशंका देखिएको बेला नेपाल र चीनबीचका सम्बन्धमा समेत प्रश्न उठ्न थालेको थियो । यसलाई भ्रमणले केही राहत दिए पनि सम्बन्ध विस्तारका सवालमा हाम्रो भूमिका नै महत्वपूर्ण हुन्छ । हामीमै सब कुरा निर्भर गर्दछ । हाम्रो शान्ति प्रक्रिया, संविधान लेखन कार्यलाई चिनीया पक्षले वार्ताका क्रममा उठायो । यसलाई चाँडोभन्दा चाँडो सम्पन्न गर्न सक्यौं भने चीनको सहयोग पनि वृद्धि हुन्छ र आगामी दिनमा यसै पनि चीन र नेपालबीचको मित्रता अझै बढ्दै जान्छ । आठ बुँदे सहमतिमा भाषा, साहित्य, खेलकुद र युवा गतिविधि विस्तार गर्ने कुरा छ । यसले गर्दा सम्बन्ध अझ बढ्छ ।
नेपालको खलबलिएको परराष्ट्र नीतिमा पनि चीनको चासो देखियो । राष्ट्रपति डा. रामवरण यादवसंगको भेटवार्ताका क्रममा चिनीया प्रधानमन्त्रीले ‘नेपाल र चीनको परराष्ट्र नीति पञ्चशीलमा आधारित रहेको’ स्मरण गराउनुभयो । यो चानचुने कुरा होइन । यो नेपालको परराष्ट्र नीति खलबलिंदै गएको संकेत हो । राष्ट्रप्रमुखले सरकारलाई यसमा सचेत पार्नुप¥यो भन्ने आग्रह हो । यो कुरालाई हामीले बडो गम्भीरतापूर्वक लिनुपर्छ ।
चीनको आर्थिक वृद्धिसंगै चिनीया पर्यटकहरूको नेपाल आगमन हरेक वर्ष बढिरहेको छ । चिनीया उडान संख्या पनि बढ्दो छ । नेपालका कतिपय शिक्षण संस्थाहरूमा चिनीया भाषाको अध्यापन गराउन थालिएको छ । यसकारण आगामी दिनमा दुई देशबीचका सम्बन्ध अझ घनिभूत हुँदै जान्छ, धेरै नेपालीहरू चीन जाने अवस्था हुन्छ । त्यो सम्भावनालाई मध्यनजर राखेर हामीले आफ्नो क्षमता वृद्धि गर्ने काम गर्न सकेका छैनौं । यो सबैभन्दा जरुरी देखिएको छ ।
हाम्रो अहिलेको सबैभन्दा ठूलो कमजोरी भनेको हाम्रा छिमेकी मित्रराष्ट्र लगायत अन्य मित्रराष्ट्रहरूलाई आश्वस्त पार्न नसक्नु हो । किनभने नेपालको अहिलेको जस्तो कमजोर राजनीतिक प्रक्रिया र यति तल गिरेको कूटनीति र सुरक्षा स्थिति इतिहासमै कहिल्यै देखिएको थिएन । यस्तो अवस्थामा सुधार आउनुका साटो झन्झन् तल गैराखेको छ । यसले नेपालको सुरक्षा स्थितिप्रति चीन सशंकित रहेको तथ्य जियाबाओको भ्रमण जुन रुपमा भयो त्यसले पनि पुष्टि गर्दछ । चिनीया पक्षले चाउ एनलाईको भ्रमणताको वातावरण र अहिलेको वातावरणको पक्कै मूल्यांकन गरेको हुनुपर्छ । त्यतिबेला चाउ एनलाई र वीपी कोइरालाले सिंहदरबारमा संयुक्त पत्रकार सम्मेलन गर्नुभएको थियो । यसपाली त संचारमाध्यमलाई भित्र जान समेत दिइएन । यो सबै हाम्रो कारणले गर्दा भएको हो । चीनको वाध्यता के भने नेपाललाई वास्तै नगर्दा पनि नहुने किनभने नेपालको सिमाना जोडिएको छ तिब्बतसंग । तिब्बत चीनको लागि सम्वेदनशील क्षेत्र मानिन्छ ।
चिनीया प्रधानमन्त्रीको नेपाल भ्रमणका बेला तिब्बतीहरूले आत्मदाह गरेर विश्वमा ठूलो सनसनीखेज खबर सिर्जना गर्ने तयारी गरिरहेको सूचना पनि बाहिर आयो । चीनभित्रै २०११ मा ८–१० वटा आत्मदाहका घटना घटे । धन्न नेपालमा त्यस्तो भएन र शौभाग्यवश नेपालीहरूको इज्जत धानियो । तिब्बतको विषयमा चीन अत्यन्त सम्वेदनशील छ । त्यसकारण चीनले नेपाललाई महत्व दिंदैन भन्ने कुरा होइन दिन्छ र दिइरहेको छ । तर हामीले हाम्रो विश्वसनीयता घटाउँदै गैरहेका छौं । त्यसकारण चाहना हुँदाहुँदै चिनीया प्रधानमन्त्रीले विश्राम गर्ने शैलीमा चारघण्टे भ्रमणमा आएर जानुपर्ने स्थिति भयो ।
यस्तो अवस्थामा चिनीया प्रधानमन्त्री वा अन्य मित्रराष्ट्रका सरकार प्रमुख वा राष्ट्र प्रमुखको भ्रमण गराउने मात्र होइन कि हाम्रो देशका केही भागहरूमा हाम्रै राष्ट्रपति–प्रधानमन्त्रीलाई लान पनि असम्भव जस्तो भैसकेको छ भन्ने चर्चा चल्न थालेको छ । यस्तो सुरक्षा स्थिति भएपछि देश गम्भीर परिस्थितिमा गएको देखियो । यस्तो स्थिति आउनु भनेको हामी राज्यविहीनताको दिशातिर गैरहेको संकेत हो । राजधानी नै सुरक्षित छैन । राजधानीमै हत्या, अपहरणका घटनाहरू बढिरहेका छन् । सुरक्षाका दृष्टिकोणले चिनीया प्रधानमन्त्रीको चार घण्टे नेपाल भ्रमणका क्रममा सम्पूर्ण सुरक्षा संयन्त्रलाई परिचालन गर्नुप¥यो । मुलुकको सुरक्षा स्थिति एकदम निराशाजनक र नकारात्मक छ । यस्तो परिस्थितिमा हाम्रो परराष्ट्र सम्बन्ध राम्रो हुँदैन । केही दिन अघि नेपाली कांग्रेसले बन्द आव्हान गर्दा अमेरिकी राजदूतले बन्द–हड्ताल गर्नुहुँदैन, यसले राम्रो गर्दैन भनेर फेसबुकमार्फत सन्देश दिए । यो राम्रो अवस्था होइन । एउटा विदेशी राजदूतले हाम्रो आन्तरिक परिस्थितिमा यो ठीक भएन, त्यो ठीक भएन भनेर भन्नु हस्तक्षेपकारी विषय हो । तर त्यसो भन्नुपर्ने स्थिति आउनु हाम्रो आफ्नै कारणले गर्दा हो । त्यसकारणले छिमेकभन्दा टाढाका मुलुक त चुप लाग्न सक्ला तर चीन र भारत जस्ता छिमेकी मुलुक चुप लागेर बस्न सक्दैनन् । किनभने उनीहरूको नेपालसंग रणनीतिक सम्बन्ध । त्यसकारणले यो विषय अत्यन्त गम्भीर छ यसलाई हाम्रो नेतृत्ववर्गले राम्रोसंग बुझ्नुपर्ने हो । तैपनि भ्रमण भयो । यस विषयमा चिनीया पक्षलाई कसरी आश्वस्त पार्ने प्रयास गरियो ? त्यो त भविष्यमै देखिन्छ तर चिनीया पक्ष आश्वस्त भएको छ भन्न सकिंदैन ।
(परराष्ट्रविद् आचार्यको गत आइतबार इमेज एफएममा प्रसारित अन्तरवार्तामा आधारित)



Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com