युगसम्बाद साप्ताहिक

जनताले अग्रभागमा रहेका नेता को कस्ता भनेर चिनिसकेका छन्- विष्णु पौडेल
Tuesday, 04.24.2018, 01:17pm (GMT5.5)

० सबै कुरा मिलेर पनि एकीकरण जटिल बन्नुको खास कारण के हो ?
तपाईको प्रश्न जस्तै ठ्याक्कै त्यस्तो होइन । चुनावका बेला पनि अब सहमति नहुने भयो भत्कियो भन्ने भएपछि अब एकपटक अन्तिम कोशिस गरौं भनेर दशैंको टीका लगाउने अघिल्लो साँझ दुईजना अध्यक्षलाई भेटाएका थियौं । चुनावमा मिलेर जाने भनेर त्यो दिन सहमति भयो । त्यो दिन दुई नेताका बीचमा लिखित सहमति भएको हो, तर त्यसलाई हामीले बाहिर ल्याएनौं । तर अब लुकाइरहनु परेन कि त्यो लिखित सहमतिमा चुनाव चिन्ह सूर्य लिएर लड्ने र पार्टी एकता गर्ने भन्ने उल्लेख गरिएको थियो । दुवै अध्यक्षले हस्ताक्षर गर्नुभएको थियो ।
त्यसपछि असोज १७ गतेसम्म हामी त्यही सहमति कार्यन्वयन गर्न लाग्यौं, तर यसबीचमा कठिनाइ आए । सूर्य चिन्ह लिने सहमतिबाट कमरेड प्रचण्ड पछि हट्नुभयो । यद्यपि उहाँले सूर्य चिन्हबाट चुनाव लड्ने सहमतिबाट पछि हट्नुका केही कारण बताए पनि ती कारणमा पत्याउने आधार थिएनन् । तर हामी पछि नयाँ सहमतिसहित चुनावमा गयौं । चुनावमा मिल्ने सहमति पनि ओभरनाइट सहजै भएको थिएन, धेरै अभ्यासहरु भएका थिए ।

यसपटक हामीले पार्टी एकता गर्ने भनेर जनताबीच गरेको साझा प्रतिवद्धता हो । पार्टी एकता नगर्ने थियो भने त्यहीबेला भन्नुपथ्र्यो । गर्ने भनेपछि पछि हट्ने वा टार्ने कुरा हुँदैन । यसमा कुनै इफ, बट, किन्तु, परन्तु, तापनि कुनै कुरा भनेर भाग्न पाइँदैन ।

० लेनिन जयन्ती र कम्युनिष्ट पार्टी स्थापना दिवसका दिन वैशाख ९ गते एकीकरण गर्ने भनेर पटकपटक गरिएका निर्णय त लागू भएनन् नि ? 
नौ गते नहुनुपर्ने कुनै कारण मैले देखेको थिइँन । म आफैं पनि अचम्मित छु । म मेरो अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई र माओवादी अध्यक्ष कमरेड प्रचण्डलाई सोध्न चाहन्छु– एकता गर्ने हो कि होइन ? एकता गर्ने सार्वजनिक प्रतिवद्धताबाट तपाईहरु पछि हटेको हो कि होइन ? यसको जवाफ तपाईहरुले दिनुपर्छ ।

अहिले एकता नगर्नुपर्ने कुनै कारण छैन । मुख्य मुद्दामा टुंगो भइसकेको छ । सिद्धान्तमा, विचारमा वा नीतिमा कुनै समस्या छैन । संगठनात्मक सन्दर्भमा पनि मुख्य कुरा दुवैजना अध्यक्ष रहने, पालोपालो अध्यक्ष हुने सहमति भएको छ । अब एकताबाट पछि हट्नुपर्ने कारण देखिन्न ।

० दुवैजना अध्यक्ष रहने भनिए पनि ओली प्रधानमन्त्री भएकाले प्रचण्डले कार्यकारी भूमिका पाउनुपर्ने भन्ने आयो नि ?
यो चाहिँ एउटा सहमति गर्ने, त्यसपछि अर्को शर्त अघि सार्ने तरिकाले एकता प्रक्रिया सहजरुपमा अघि बढ्न गाह्रो हुन्छ । मेरो भनाइ के हो भने, दुई अध्यक्ष समान हैसियतमा रहने, पालोपालो अध्यक्षता गर्ने भनेपछि समान हैसियत भइगो, यसमा को कार्यकारी र को सेरेमोनियल भन्ने प्रश्नै छैन । 

० तपाईहरुले प्रचण्डलाई विश्वासमा लिन नसकेको वा आश्वस्त पार्न नसकेको देखियो । प्रचण्ड अहिल्यै ओलीको कार्यशैलीबाट डराएका छन्, कम्तीमा साढे दुई वर्षपछि प्रधानमन्त्री र महाधिवेशनपछि अध्यक्षको लिखित सहमति वा ग्यारेन्टी नभएसम्म एकीकरण नहुने देखियो नि होइन ?

प्रधानमन्त्रीका सन्दर्भमा त स्वयं कमरेड प्रचण्डले भन्नुभएको छ– केपी ओली यो कार्यकालका लागि प्रधानमन्त्री रहनुहुन्छ, ५ वर्ष नै रहनुहुन्छ, बीचमा हेरफेर हुँदैन भनेर भनिसक्नुभएको छ । मिडियाबाटै हामीले यो प्रश्नको जवाफ पाएका छौं । त्यसैले प्रधानमन्त्री उहाँले बीचमा मागेको भन्ने कुरा मलाई पत्यार लाग्दैन ।

जहाँसम्म अध्यक्षको प्रश्न हो, महाधिवेशनबाट टुंगो लगाउने विषयमा कुनै एक व्यक्तिले फलानो अध्यक्ष हुनुहुन्छ भनेर लिखित वा मौखिक सहमति गर्न मिल्छ र ? भोलि आयोजना हुने महाधिवेशनको अधिकार कुनै एउटा व्यक्तिले खोसेर लिन पाउँछ ?
एमाले अध्यक्ष केपी ओलीले (महाधिवशेनपछि) म तपाईलाई अध्यक्ष बनाउँछु भनेर कुनै लिखित वा मौखिकरुपमा प्रचण्डलाई भन्न सक्न्नुहुन्छ ? अथवा प्रचण्डले त्यो कुरा भन्न सक्नुहुन्छ ? उहाँहरुले बढीमा के भन्न सक्नुहुन्छ भने– म अध्यक्षमा उठ्दिनँ, महाधिवेशनमा तपाईलाई सघाउँछु भन्न सक्नुहुन्छ । अहिल्यै तपाई अध्यक्ष भनेर कसैले लिखित वा मौखिक रुपमा दिन मिल्दैन । केपी ओलीले अहिले नै प्रचण्डलाई अध्यक्ष बनाउने कुरा लेखेर दिने वा ग्यारेन्टी गर्ने भन्ने हुन्न ।

० प्रचण्डको अडान चाहिँ यी दुई कुराको ग्यारेन्टीसहित पार्टीमा ५०।५० को हैसियत हुनुपर्छ अनि जनयुद्ध एमालेले स्वीकार गर्नुपर्छ भन्ने आयो नि ? यो नभए अर्को स्टेप लिन पनि सक्ने मान्छे हुँ भनेर उहाँले पछि फर्किने संकेत दिनुभएको हो ?
त्यो त को कस्ता हौं भन्ने हामी सबैले देखेकै छौं । हाम्रा राम्रा नराम्रा सबै ट्रयाक रेकर्ड मुलुकले देखेकै छ । इतिहासमा हाम्रा सबल र दुर्बल पक्ष के हुन् । उहाँजस्ता नेतालाई दुनियाँले बुझेकै छ । त्यसैले स्टेपका कुरा नगरौं । जनताले अग्रभागमा रहेका नेता को कस्ता भनेर चिनिसकेका छन् ।
जहाँसम्म एकताको विषय छ, दुई अध्यक्षबीच हुनुपर्ने छलफल, संयोजन समितिमा हुने छलफल त्यहाँ नगरेर मिडियामार्फत पोजिशन बनाउने कुरा नै एकदम गलत हो । ५० प्रतिशत चाहिन्छ भने दुईटा अध्यक्ष बसेर कुरा गर्दा भयो नि । मिडियामा पोजिशन बनाउनुको तुक छैन ।

० एमालेले सम्मानजनक एकता चाहेन भन्ने माओवादीको गुनासो हो कि ? 
एकता भनेकै सम्मानको विषय हो । तपाईले मलाई सम्मान गर्नुहुन्न भने, मैले तपाईलाई सम्मान गर्दिनँ भने एकता सम्भव छैन । जनयुद्धको कुराचाहिँ के भने, नेपालमा जनयुद्ध भयो कि भएन, माओवादीको १० वर्षे सशस्त्र विद्रोहलाई जनयुद्ध भन्ने कि नभन्ने सन्दर्भमा नेपाली राजनीतिमा विवाद छ र यो विवाद रहिरहन्छ ।
एमालेले जनयुद्ध गरेको होइन र एमालेले त्यो बाटो ठीक छ भनेको पनि होइन । एमालेले के ठान्छ भने माओवादीले जनयुद्ध भन्नुहुन्छ, जनयुद्धको शीर्षकमा त्यो इतिहासको यथार्थलाई एमालेले स्वीकार गरेको छ । त्यो सशस्त्र विद्रोह जनयुद्धका नाममा जुन सञ्चाालन गर्नुभयो, त्यो यथार्थलाई हामीले कहाँ राख्नुपर्ने हो, राख्छौं । उहाँहरुको कोलममा त्यो रहन्छ ।

० त्यसो भए भन्दिनुस् त पार्टी एकता कहिले हुन्छ ?
तपाईले जुन प्रश्न मलाई सोध्नुभयो, यही प्रश्न मैले केपी ओली र प्रचण्डलाई सोधिरहेको छु । जनताका विरुद्ध उहाँहरुलाई धोका दिने अनुमति छैन । नमिल्ने छुट छैन ।

० प्रष्ट भन्नुस कि पार्टी एकतामा ५०।५० हुन्छ कि हुन्न ? सूयएचिन्ह रहन्छ कि रहन्न ?
सूर्य चिन्हमा विवाद हुन्छ भन्ने मलाई लाग्दैन । हिजो अलगअलग पार्टीका हैसियतमा रहँदा पनि चुनावमा जाँदा सूर्य चिन्हमा जाउँ भनेर लिखित सहमति भएको हो । अहिले एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य राख्नहुन्न भनेर तर्क गर्नुहुन्छ जस्तो लाग्दैन । म दोहो¥याएर भन्छु, चुनाव चिन्ह सूर्य हुन्छ ।

५०।५० को कुरा तपाईले मलाई प्रश्न सोध्ने र मैले जवाफ दिने कुरा नै होइन । मैले त भनेको छु, व्यक्तिको इतिहास, योगदान र कार्यक्षमता हेरौं । एउटा पार्टी बनाउने भएपछि त्यहाँ प्रतिशत हुँदैन । दुईटा पार्टी अलगअलग राख्ने हो भने प्रतिशतको कुरा आउँछ ।

एउटा पार्टी भएपछि प्रतिशत रहँदैन । एउटा बाल्टीको पानीलाई छुट्याएर यो एमालेको यो माओवादीको भन्ने हुँदैन । एउटा बाल्टीमा मिसाएपछि यो एमालेको र यो माओवादीको भन्ने हुँदैन । 

० अहिले प्रचण्डमा देखिएको आशंका चाहिँ प्रधानमन्त्रीका रुपमा ओलीले एकलौटी अहिल्यै गरिसक्नुभयो भने भोलि एउटै पार्टी हुँदा त मेरो निर्णायक पोजिशन नै नरहने पो हो कि भन्ने देखिन्छ नि ?
निर्णायक पोजिशन भनेको के ? हामीले पार्टी एकता गर्दा दुईजना अध्यक्ष रहनुहुन्छ भनेपछि त्यो हैसियत भयो कि हैसियतविहीन भयो ? उहाँलाई त्योभन्दा निर्णायक पोजिशन कस्तो चाहिएको हो ?
सरकार त संविधानबमोजिम चलाउने हो । प्रधानमन्त्रीले आज युनिटीभन्दा अगाडि संयुक्त सरकार चलाउँदा गठबन्धनको मुख्य नेतासँग आवश्यक विषयमा परामर्श गर्नैपर्छ । गर्नुभएको जस्तो पनि लाग्छ । गर्नुभएको छैन भने गर्नुपर्छ । तर, सरकार त संविधान र कानुनबमोजिम चल्छ । प्रधानमन्त्रीले परामर्श गरेनन् भनेर मिडियामा प्रचारबाजी गरेर के सन्देश दिन खोजेको ? यो त भएन ।

० तपाई अहिले नै माधव नेपाल र केपी ओलीलाई मिलाउन लाग्नुभयो, यसो गर्दा भोलि प्रचण्डको निर्णायक पोजिशन कमजोर हुँदैन त ?
म एमालेका सबै नेता मिल्नुपर्छ भन्ने पक्षमा छु । माधव नेपाल र केपी ओली मिलाउने कुरा के भयो र ? म केपी ओली र प्रचण्ड मिलाउन हिँडेको मान्छे, ओली र माधव नेपाल झगडा गर्नुपर्छ भन्न सक्छु र ?
जहाँसम्म प्रचण्डको निर्णायक पोजिशनको कुरा हो, उहाँले धेरै अविश्वास र आशंका नराखेको राम्रो । एमाले भनेको संस्थागत निर्णयमा चल्ने पार्टी हो । यहाँ कोही पनि नेताको एकाधिकार चल्दैन ।
केपी ओली सातौं महाधिवेशनमा अध्यक्ष बन्न हिँडेको तर किन हो उहाँ पछि हट्नुभयो । आठौं महाधिवेशनमा उहाँ हार्नुभयो । यद्यपि त्यो महाधिवेशनका यावत दृश्यहरु छन्, त्यसको जवाफ अहिले पनि भेटिएका छैनन् । उहाँले पराजय स्वीकार गर्दै नवौं महाधिवेशनबाट अध्यक्ष हुनुभयो । भन्नुको मतलब, एमाले प्रक्रिया र पद्दतिबाट चल्ने पार्टी हो । कसैले पनि डराउनुपर्दैन ।
० त्यसोभए अहिलेको अवस्थामा एकीकरणको बाधक केपी ओली हुन् कि प्रचण्ड ?
आदरणीय नेताहरुलाई म अनुरोध गर्न चाहान्छु– तपाईहरु एउटा पार्टी बनाउँदै हुनुहुन्छ । नेपालको कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाउन चाहनुहुन्छ भने परस्पर विश्वासमा चल्नुस् । आशंका रहलान्, सम्पूर्णरुपमा आशंका अन्त नहोलान् । तर, मुख्यरुपमा विश्वासमा चल्नुस् । परस्पर विश्वासमा रहनुस् । आशंकाले कहिँ पनि र्पुयाउँदैन । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड एकअर्कामा आशंका नराख्नुस् भन्ने आग्रह हो ।

० फेरि पनि तपाई भन्दिनुस्, एकीकरण कहिले हुन्छ ? कि हुँदैन ?
म कारण खोजिरहेको छु कि ९ गते किन एकता भएन ? जब कि ९ गते एकता नहुनुपर्ने कुनै कारण थिएन । तर, पनि नहुने त लगभग निश्चित देखियो । तपाईले एउटा टाइमलाइन निश्चित गर्नुभयो । नेकपाको स्थापना दिवस एकीकरण गरौं भनेर मैले पनि शुरुदेखि नै भनेको हो । हामी दुवै कार्यदलले पनि एउटै सुझाव दिएका थियौं ।
वैशाख ९ गते पार्टी एकता गर्ने निर्णय गर्ने भनेर फेरि पछि हट्दा अब उहाँहरुले आलोचना भोग्नुपर्छ । एकता किन नगर्ने ? कसका कारण नगर्ने ? मेरो प्रश्न छ उहाँहरुलाई । के कारणले एकताबाट पछि हट्दै हुनुहुन्छ ? जनता र कार्यकर्तालाई जवाफ दिन तयार हुनुस् ।
पार्टी एकता रोक्न त कसैले सक्दैन । एकता रोक्ने ताकत अब नेपालमा कसैसँग छैन । तर, विलम्व गर्दा केपी शर्मा ओली र प्रचण्डको आलोचना हुनेवाला छ । उहाँहरुले जवाफ दिनुपर्छ ।
जवाफ त क्लियर छ नि, प्रचण्डलाई उधारोमा होइन लिखतमा भावी अध्यक्ष र प्रधानमन्त्रीको ग्यारेन्टी नभएसम्म एकता होला र ?
त्यसरी माओवादी अध्यक्ष प्रचण्डले बोल्नुभयो भन्ने मलाई पत्यार छैन । मैले अघि नै भनिसकेँ, उहाँले पब्लिकली भन्नुभएको छ– प्रधानमन्त्रीको कार्यकाल आधाआधा गर्ने होइन । पूरै ५ वर्ष केपी ओलीले नै सरकारको नेतृत्व गर्ने भनिसक्नुभएको छ । प्रधानमन्त्री बीचमा फेरिने कुरा छैन ।

रह्यो सवाल अध्यक्षको कुरा, महाधिवेशनबाट को अध्यक्ष बन्छ भन्ने कुरा अहिले केपी शर्मा ओलीले प्रचण्डलाई वा एकता संयोजन समितिलाई फलानो अध्यक्ष बन्नेछ भनेर लिखित वा मौखिक एग्रिमेन्ट गर्ने अधिकार छैन । अहिले नै अध्यक्ष तोकेर हिँड्ने अधिकार कसैलाई छैन, त्यो केपी ओलीले प्रचण्डलाई लेखेर दिने अधिकार नै छैन ।

भोलि प्रचण्डलाई अध्यक्ष मानेर जान तपाई एमाले नेताहरुलाई संकोच किन ?
हामी एकीकृत पार्टी बनाउँदैछौं । एकीकृत पार्टीका विभिन्न नेता जो कोही पनि अध्यक्ष बन्न सक्नुहुन्छ । अध्यक्ष बन्ने प्रक्रियाले हो । महाधिवेशनले अध्यक्ष छान्ने हो । सर्वसम्मतिले अध्यक्ष छान्ने हो, सर्वसम्मति नभए मतदान होला । तर, यो कुरा अहिले भन्न सकिन्न ।

तपाईहरुले प्राणभन्दा प्यारो ठान्ने जनताको बहुदलीय जनवाद त स्थगन गरिसक्नुभयो भने अब प्राविधिक कुरामा किन अल्झिने ? अलि उदार बनेर प्रचण्डलाई माने हुन्न ?
जबजको कन्टेन्टको सन्दर्भमा, त्यसको अन्तरवस्तुका सन्दर्भमा कुनै स्थगनको कुरा छैन । पार्टी एकतासम्बन्धी कार्यदलका दस्तावेजहरुले के कुरा बोलेका छन् भने जबजले जे जे कुरा मानेको छ, त्यो उल्लेख गरेका छन् ।
राज्यसत्ता सञ्चालन गर्ने र संगठित गर्ने लोकतान्त्रिक विधि कम्युनिस्ट पार्टीले अवलम्वन गर्नुपर्छ भन्ने जबजको जुन अन्तरवस्तु हो, हामीले प्रष्ट उल्लेख गरेका छौं । अब त्यो अन्तरवस्तुलाई हिजो हामीले जबज भनेर नामाकरण र्गयौं । अब महाधिवेशनसम्म छलफल गरौं भनेका छौं । जबजभन्दा कुनै सुन्दर नाम आयो भने त्यो राखौंला ।
मेरो कुरा भन्नुहुन्छ भने महाधिवेशनसमा छलफल खुला हुनेछ भनेको हुनाले जनताको बहुदलीय जनवादको नामाकरण र अन्तरवस्तु दुवै हिसाबले उपयुक्त छ । छलफलको अधिकारलाई म यसरी उपयोग गर्छु ।

० त्यसो भए भोलि महाधिवेशनमा जबजको च्याप्टर फेरि खोल्ने तयारी तपाईहरुको हो ?
जबजको च्याप्टर क्लोज भएकै छैन । यसको अन्तरवस्तुलाई एमाले र माओवादीको सहमतिको सातबुँदे दस्तावेजले स्वीकार गरेको छ । जबजले अघि सारेको अन्तरवस्तु स्वीकार गरिसकेको हुनाले च्याप्टर क्लोज भन्ने कुरै छैन ।
जबजको कन्टेन्टमा आपत्ति छैन भने नामाकरणमा आपत्ति किन भन्नेबारे भोलि महाधिवेशनमा छलफल होला । अहिले नै म जबजको नामाकरणका बारेमा धेरै बहस गरेर विषयान्तर चाहान्न । त्यो महाधिवेशनले टुंगो लगाउँछ ।
(अनलाइन खबरबाट साभार)


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com