युगसम्बाद साप्ताहिक

“ओली सरकार जुद्धशम्शेरपछि सबैभन्दा शक्तिशाली सरकार हो” - गगन थापा
Wednesday, 05.30.2018, 04:38pm (GMT5.5)

० सरकारले सयदिन पार ग¥यो । दुई तिहाईको समर्थन भएको सरकारको यो समयको मूल्यांकन कसरी गर्नुहुन्छ ?
यो सरकारको बुनियाँद भनेको संख्याको तागत हो । जसले सिर्जना गरेको सकारात्मक प्रभाव भनेको स्थिरता हो । सरकार गठन भएकै दिनमा ५ वर्षका लागि स्थिर सरकार दिन्छ भन्ने सन्देश हो ।यदि माओवादी र एमालेको तिक्तता एकदम धेरै बढेको थियो, मधेसी पार्टीले समर्थन फिर्ता लिएका थिए भने १०० दिनमा सरकारको बुनियाद हल्लिएको हुन्थ्यो । तर, त्यसो भएन । पार्टी नै एक भयो र अरूले समर्थन पनि फिर्ता लिएका छैनन् । सरकारले आफ्नो बुनियाद अझ सिमेन्टेड गरेको छ ।

दोस्रो, यो बीचमा छिमेकी देशहरूसँगको सम्बन्ध सबैभन्दा बढी प्रकट भएर आएको छ । एउटा राजनीतिक दलका रूपमा चुनावमा जाँदै गर्दा लिएको पोजिसन र बनाएको न्यारेटिभको आलोकमा हेर्दै गर्दा प्रश्न उठाउने हजार ठाउँहरू छन् । त्यही कुरा अघिल्लो सरकारले प्रयत्न गर्दैगर्दा पाप भयो, आफूले गर्दा पूण्यताको परिभाषा भयो । एप्रोचमा देखाएको असाध्यै अपरिपक्वता लगायत थुप्रै प्रश्नहरू छन् । तर, खोजेको के हो त ? हामीले खोजेको चुनावबाट आएको सरकारले दुबै छिमेकीसँग सुमधुर सम्बन्ध बनाओस् ।

तेस्रो, सरकारको सबैभन्दा ठूलो चुनौती संघीयताको व्यवस्थापन नै हो । राजनीतिक पाटो, जहाँ राजनीतिक नेतृत्वले आफ्नो स्टेटमेन्ट र जेश्चरबाट ‘म संघीयताप्रति प्रतिवद्ध छु, चुनौतीहरू बुझेको छु, म गर्दैछु’ भन्ने सन्देश दिनुपर्ने हो । त्यसमा पूर्णरूपमा चुकेको छ । मानौं, प्रधानमन्त्रीज्यूलाई म संघीय नेपालको प्रधानमन्त्री हुँ भन्ने हेक्का नै छैन भने जस्तो ।

अर्को, गर्नैपर्ने केही कामहरूको सूची छ । सामान्य कुरा हेरौं न, वित्तीय आयोग अहिलेसम्म कर्मचारीको भरमा चलेको छ, त्यसलाई पूर्णता दिन सरकारले कुनै तदारूकता देखिँदैन । प्रशासन पुनर्संरचनामा सबैभन्दा बढी अलमलिएको छ । कहिँ कतै सिरियस रूपमा काम नै भएको छैन ।

चौथो, सुशासन । यसमा मुख्य चुनौती भनेको शान्ति सुव्यवस्था हो । अहिले नेपाल कम्युनिस्ट पार्टी विप्लवको नाममा देशभर जे जति घटना भइरहेको छ, त्यो भन्दा पनि स्थानीय सरकारको कामकारबाही प्रभावित हुने क्रम बढेको छ । १०० दिनमा यो घटेको छैन, बढेको छ । यसबारे सरकार स्पष्ट देखिँदैन । यो राजनीतिक समस्या हो कि के हो ? कसरी समाधान गरिँदैछ भन्ने छैन । यसमा सरकार गम्भीर देखिँदैन । अर्को सर्भिस डेलिभरी, १०० दिनमा नागरिकले परिर्वतन महसुस गर्न पाएका छैनन् ।

० यो सरकार बन्दा एमाले र माओवादीको एकता भएको थिएन । तपाईहरूलाई ५ वर्षमा कुनै बेला हाम्रो सरकार बन्न सक्छ भन्ने आश थियो होला । अब च्याप्टर क्लोज भयो । सरकारलाई पनि ढुक्क भयो । यो पनि उपलब्धी नै हो ?
हो, विश्वासको मत प्राप्त गर्दै गर्दा यो सरकार ५ वर्षका लागि हो भनेको सरकारले त्यसलाई थप मजबुत बनायो । यद्यपि सरकारले काम होइन तर, स्थिरताको सन्देश दिएको छ । छिमेकीसँगको सम्बन्धमा हिजो र आजको तुलानामा प्रश्न उठाउने ठाउँ छ भन्नुभयो । तर, हामीले खोजेको त हिजो जे थियो त्यही हुनुपर्छ भन्ने होइन होला नि ? कि के हो ?

यसमा म बायस नभई भन्छु, नेपालले खोजेको भारत र चीन दुबै देशसँग सुमधुर सम्बन्ध रहोस्, नेपालको हित विपरीत कुनै सम्झौता नहोस् । नेपालको आन्तरिक राजनीतिमा भारत र चीन कसैले कसैलाई देखाउन कार्ड नबनोस् । आन्तरिक मामिलामा उनीहरूको हस्तक्षेप नहोस् र हामीले पनि चुनावी नाफाघाटाका लागि कार्डका रूपमा प्रयोग नगरौं ।

यति हो कि, तिम्रो ब्याकग्राउण्ड के हो ? हिजो यही कुरा अरूले गर्दै गर्दा के भनिएको थियो ? यो प्रश्न सरकारमाथि छ र रहिरहन्छ । किनकी चुनावअघि एउटा छोरमा उभियो र अहिले सरकारमा आएपछि अर्को छोरमा पुग्यो । मोदीको भ्रमणमा सामान्य विरोधलाई पनि सहन सकेन । सरकारको यस्तो भद्दा प्रस्तुतमाथि प्रश्न रहिराख्छ । तर, हामीले खोजेको दुबै छिमेकीसँग सुमधर सम्बन्ध नै हो । अझै मैले त भन्दै आएको छु कि परराष्ट्र नीतिमा साझा धारणा बनाउनुपर्छ । त्यो बाटोमा हिँड्न आधार बनेको छ ।

० समग्रमा सरकार असफलताको बाटोतिर लागेको हो त ?
अहिले नै कुनै पनि निष्कर्षमा पुगिहाल्नु हतार हुन्छ । हाम्रो प्रधानमन्त्री भारत जानुभयो, भारतीय प्रधानमन्त्री आउनुभयो । त्यसभित्र केही प्रश्न उठेका छन्, जुन मैले सुरूमै भनेँ । अब विगतको कतिपय कुरा हेर्दा मानिसहरूले केही समय आशंका राख्छन्, बाहिर आएका मात्र समझदारी हुन् वा अरू केही छन् । त्यो समयले बताउँछ ।

तर, मैले के हेर्छु भने दुबै देशसँग सरकारको सुमधुर सम्बन्ध रहनुपर्छ, बनाउन प्रयास गर्नुपर्छ । यो सरकारले भारतसँगको सम्बन्ध सुमधुर बनाउने प्रयास ग¥यो । अब चीनसँग प्रयास पनि गरोस् । सुमधुर सम्बन्धबाट आर्थिक लाभ लिने हो । यसका निम्ति भर्खर प्रारम्भ छ । त्यसैले हिजोको आलोकबाट अरूलाई के भन्यो, कसबाट शक्ति आर्जन ग¥यो त्यो आलोकबाट अनेक प्रश्न छ । उसको प्रिजेन्टेसनमाथि ठूलो प्रश्न छ । तर, सँगसँगै यो १०० दिनमा भारतसँगको सम्बन्ध झन् तनावपूर्ण बनाएको भए वा एउटातिर सुमधुर बनाउन अर्कोतिर चिप्ल्याएको भए ठूलो दुर्घटना हुन्थ्यो । त्यसैले भारत र चीनसँग सम्वन्ध सुमधुर बनाउने प्रयास ठीक छ । परिणाम हेर्न बाँकी छ ।

० संघीयताको व्यवस्थापनमा प्रश्न उठाउनुभयो । यसलाई प्रधानमन्त्री केपी ओलीको विगतका धारणासँग जोडेर हेर्न मिल्छ ?
मैले जति उहाँलाई पढेको छु, केही कुुरा गर्ने मौका पाएको छु, त्यो सबै हेर्दा उहाँलाई नेपाल संघीयतामा जानु गल्ती भएको मान्नुहुन्छ । उहाँको डिसलाइक छ र यो भार हो भन्ने ठान्नु हुन्छ । नेपाल संघीय नभएर एकात्मक भएको भए र मैले ५ वर्ष चलाउन पाउने हो भने धेरै राम्रो गर्न सक्थेँ । यसले अनावश्यक अप्ठ्यारो सृजना ग¥यो भन्ने मान्नुहुन्छ । यो उहाँको मान्ने कुरा हो र आफ्नो मत राख्न पाइन्छ ।

तर, आजको रियालिटी के हो भने उहाँ संघीय नेपालको प्रधानमन्त्री हो । एउटा प्राज्ञिक मान्छेले आफ्नो तर्क राख्न पाउँछ । तर, उहाँले संघीय नेपाल चलाउनुपर्छ । यो अन्तरविरोधले समस्या ल्याएको छ । उहाँको पर्सनल डिसलाइक रिफ्लेक्ट भएको छ । अर्को चाहिँ अगाडिदेखिकै समस्या थियो । हामीले तयारी एकदमै कम गरेका थियौं । अगाडि नगरेको कामको समेत क्षतिपूर्ति गर्नुपर्ने बेलामा पर्सनल डिसलाइक भएपछि झन् समस्या थुप्रियो ।

० यसले कति समस्या खडा गर्छ ? चित्रबहादुर केसीहरूले भन्ने गरेको ‘यो संघीयता काम छैन, टिक्दैन’ भन्नेमा त पु¥याउँदैन ?
यो सरकारको सबैभन्दा ठूलो तागत भनौं वा बुनियाद भनौं, त्यो स्थिरता नै हो । स्थिरता संघीयताको सफलता हो । तर, यो सरकार मात्र ५ वर्षका लागि आएको होइन, प्रदेश र स्थानीय सरकार पनि ५ वर्षका लागि नै आएको हो । अनि यसलाई व्यवस्थापन गर्न सकेनौं भने स्थिरता नै हल्लिन्छ । त्यसैले संघीय सरकारमा संख्याको तागत भएर मात्र हुँदैन, संघीयता क्रियाशील र कम तनावयुक्त बनाउन सक्नुपर्छ । यसमा सबैभन्दा बढी प्रधानमन्त्रीको स्वार्थ हुनुपर्छ ।

० त्यो चाहिँ रहेन ?
पटक्कै छैन । उहाँको स्टेटमेन्ट हेर्नुस्, गराईमा हेर्नुस्, त्यो पाइँदैन र, यसले ठूलो दुर्घटनातिर लैजान्छ । किनभने तपाईले चित्रहादुर केसीले भनेको अवस्थामा पुग्छ कि भन्दै गर्दा त्यहाँ पुग्नु भनेको दुर्घटनामा पर्नु हो । के आजको दिनमा हामी सहजै संघीयताबाट फक्र्याैं भनेर निर्णय गर्न सक्छौं ? मलाई लाग्छ, यसलाई सफल बनाउनु बाहेक कुनै च्वाइस छैन ।

संघीयता मान्नु एकदम क्रान्तिकारी काम, नमान्नु गल्ती हो भन्ने म मान्दिँन । आआफ्नो छनोट हुन्छ । म नेपाललाई संघीयता चाहिन्छ भन्ने मान्छु तर, संघीयता चाहिँदैन भन्ने चित्रबहादुर केसीको मतको पनि सम्मान गर्छु । प्रधानमन्त्रीको पनि हिजो आफ्नो मत थियो होला, आज पनि मनमा छ होला । तर, आजको वास्तविकता उहाँ संघीय नेपालको प्रधानमन्त्री हो र यसका लागि उहाँले काम गर्नुपर्छ ।

० सुशासनको उठाउनुभयो, त्यसमा सरकारको प्रयास देखिन्छ । यातायात क्षेत्रमा विद्यमान सिन्डिकेट तोड्ने इच्छाशक्ति त देखायो नि हैन ?
यसमा मेरो प्रष्ट कुरा छ, यो सरकारमा सुशासन कायम गर्ने इच्छाशक्ति अठोट देखिन्छ । परिणाम के चाहेको भन्ने पनि प्रष्ट छ । तर, काम गराईको तरिकामा केही कमजोरी छ ।

एक– सिंगो इकोसिस्टमलाई बुझ्न खोजिएन । कुनै एउटा मात्र कारण हुँदैन । त्यसलाई बुझ्ने सन्दर्भमा कमजोर अण्डरस्ट्याण्डिङ देखिन्छ ।

दुई– कानुनी शासन भएको ठाउँमा भएको कानुनबाटै थुप्रै काम गर्न सकिन्छ । मुख्य कुरा कानुन कार्यान्वयन हो । कार्टेलिङमा धेरै हदसम्म यो भएको छ । अहिले त कस्तोसम्म सहजता छ भने यदि कानुन छैन भने २ दिनमा बनाउने र ५ दिनभित्र संसदबाट पारित गराउन सकिन्छ । तर, कानुन, संरचना बनाउनेतिर सरकारको खासै जोड छैन । कहाँ यत्रो लम्बेतान गरिबस्नु, डाङडुङ गर्ने हो भन्ने देखियो । समस्या भनेको किला हो भन्ने भएपछि समाधान हृयामर भन्ने मात्र हुन्छ । यस्तै भएको छ अहिले ।

तेस्रो– निष्पक्षता । यातायातको सिन्डिकेट तोडियो तर, त्यसमा काम गर्ने मान्छे मन्त्रीको इन्ट्रेस्टमा नमिलेपछि कर्मचारी सरूवा गरेको आयो । कर्मचारी सरूवा कुनै ठूलो कुरा होइन, यसमा नचाहिने कुरा गर्नु हुँदैन । तर, मन्त्रीको इट्रेस्टसँग जोडिएर आयो । आफ्नै व्यवसायसँग जोडिएर आएको छ ।

मैले अघि नै भनेँ श्रममा एमालेको कार्यकर्ता भएकाले उन्मुक्ति पायो भन्ने आएको छ । समयमा काम नगर्ने ठेकदारमाथिको कारबाहीमा पनि काम नगर्ने मुख्य ठेकेदारको कुरा छ । यसले सरकारको निष्पक्षतामा प्रश्न उठेको छ ।

० भनेको, गलत नै भएको होइन तर, निश्पक्ष भइरहेको अनुभूति दिलाउनु प¥यो भन्ने हो ?
तपाईले राख्नुभएको अठोट ठीक छ, जे परिणाम खोज्नुभएको छ, त्यो पनि ठीक छ । मैले माथि भनेका तीन कुरा सम्बोधन गर्नुस् । यति भयो भने जुन सुरूवात भएको छ, यो बढ्छ र जनताको विश्वास पनि प्राप्त हुन्छ । नभए हेर्दै जानुहोला, यसले परिणाम दिँदैन ।

० तपाईले त भन्नुभयो तर, प्रमुख विपक्षी दलले राम्रोलाई राम्रो समेत भन्न सकेन । विरोधका लागि विरोध मात्र ग¥यो भन्छन् नि ?
हाम्रो प्रस्तुतीको शैली पनि कमजोर छ । र, तपाईले भनेको जस्तो हाम्रो पोजिसन प्रष्ट भएर जसरी कुरा राख्नुपर्ने हो, त्यसमा चुकेकै हो ।

० सिन्डिकेटकै कुरा गर्दा पनि एकाधिकार तोडियो तर, यो यो पनि सुधार भन्नुपर्नेमा यो यो भएन भनेर विरोध मात्र ग¥यो नि होइन ?
यसमा म सहमत छु । तपाईले जे गर्न खोज्नुभएको छ, एकदम ठीक छ, जे परिणाम ल्याउन खोज्नु भएको छ, त्यो ठीक छ । तपाईको अठोट प्रशंसनीय छ । तर, तपाई गरेको काममा यो तीन प्रश्न छ भनेर मैले जसरी भनेँ, हाम्रो पार्टीको पनि त्यही पोजिसन हुनुपर्ने हो । त्यसमा कांग्रेस चुकेकै हो ।

० सत्तारूढ दलका नेताहरू हामी सपना ब्यूँझाइरहेका छौं, कार्यान्वयन बजेटबाट हुन्छ भनिरहेका छन् । सपना मात्र देखायौं भनेर आलोचना गर्न हतार भएन ?
यसमा आआफ्नो कुरा होला । मेरो बुझाइमा सपनामाथि प्रश्न उठाइएको होइन र उठाउनु पनि हुँदैन । एउटा उदाहरण दिन्छु, सरकारले ५ वर्षभित्र एकजना पनि नेपाली विदेश जानु नपर्ने बनाउँछौं भनेको छ । अझ श्रममन्त्रीले त युरोप अमेरिकाबाट काम गर्न आउनेहरू पाउनुहुन्छ भन्नुभएको छ । एउटा नेपाली नागरिकका रूपमा मैले खोजेको पनि त्यही हो र मैले राजनीति गरेको पनि त्यसकै लागि हो ।

तर, त्यसका लागि सरकारले के गर्दैछ भन्ने हेर्छु । यसमा अगाडि नै भनेको जस्तो प्रष्टता र संगती छैन । यो प्रश्न उठाउनु हाम्रो ड्युटी पनि हो । नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलमा हाम्रो नेताले भन्नुभयो, ५ वर्षमा आय दोब्बर बनाउँछु भन्नु ठीक छ तर, त्यसका लागि जुन जोखिम उठाउनु पर्ने हो, त्यो नीति तथा कार्यक्रमले बोलेन भन्नुभएको छ । त्यो एप्रोच ठीक हो भन्ने लाग्छ ।

५ वर्षमा एक जना पनि नेपालीलाई बाहिर जानु नपर्ने बनाउँछु भनेको वर्षमा ५ लाख रोजगारी सिर्जना गर्छु भनेको हो । सरकार कृषि पेशामा रहेका मान्छेहरू बाहिर निकाल्छु पनि भनेको छ । यसको अर्थ अझ अरू रोजगारी सिर्जना गर्नुपर्ने भयो । यो जनशक्तिलाई कहाँ प्रयोग गर्नुहुन्छ ? म त्यो सुन्न चाहन्छु । म भए निर्माणमा लैजान्छु भन्छु । तर, त्यसमा पनि प्रश्न आउँछ, के निर्माण गर्नुहुन्छ ? रेल बाटो भन्ने होला । तर, अहिलेको शैली हेर्नुभयो भने जसले बनाउँछ, त्यो देशबाट ठूलो संख्यामा जनशक्ति आउँछन् । यसमा सरकार ध्यान र्पुयाएको छ भने ५ लाखलाई नेपालमै रोजगारी दिने योजना ठीक छ ।

फेरि मान्छे बाहिर नपठाउने भन्नसाथ उनीहरूले ल्याउने ६ खर्ब रेमिट्यान्स्को ग्याप कसरी पूर्ति गर्नुहुन्छ ? यसका लागि लगानी ल्याउने र आफ्ना सामानहरू पनि ठूलो मात्रामा बाहिर पठाउनुपर्छ । यसमा अझै प्रष्टता छैन र संगती देखिएको छैन ।

० बजेटले केही प्रष्ट पार्छ कि ?
प्रिबजेट छलफल, नीति तथा कार्यक्रमकै आधारमा न बजेट आउने हो । यो भन्दा अलग बजेट ल्यायो भने ढाँटछल गरेको जस्तो हुने भयो । तर पनि ठीक छ, बजेट हेर्छौं ।

० समग्रमा १०० दिनको कामलाई कसरी हेर्ने ?
यो सरकारको बुनियाद भनेको संख्याको तागत हो, त्यो थप मबजुत बनाएको छ । यसले स्थिर सरकार बनेको छ भन्ने सन्देश दिएको छ । तर, नेपालको इतिहासमा सबैभन्दा अनुकलता पाएको सरकार छ र प्रधानमन्त्री तथा मन्त्रीहरूले जुन खालको इनर्जी, उत्साह व्यक्त गर्नुभएको छ, त्यो जनताको बीचमा छ त ? मेरो भनाइ भत्किएको छ, बिग्रिएको छ भन्ने होइन तर, पूरै जुरूक्कै उचालिएको माहोल बनेको छैन ।
अर्को, यस्तो शक्तिशाली सरकार छ, यो सरकार डुअर हो भनेर देखाउनुपर्छ । एक वर्षमा भैरहवा विमानस्थल बन्छ, तीन वर्षमा रेल चल्छ ठीक छ । तीन वर्षमा रेल चलाउन १५–२० दिनमा काठमाडौंका सडकका खाल्डा त परेर छाँटकाँट देखाउनुपर्छ । यसबाट मानिसहरू यो गफ गर्ने होइन रहेछ, काम गर्ने सरकार रहेछ भनेर आश्वस्त भइन्छ ।
रेल त रातारात बन्दैन । रातारात गर्न सक्ने काम त गरिसक्यो नि भनेर मानिसहरू आश्वस्त हुन सकिरहेको छैन । यत्रो खतरा टिम छ, काम गर्ने तरिका फेरिएको छ भनिएको छ । प्रधानमन्त्रीको बोलीमा इनर्जी छ । यसले १०० दिनमै गर्न सकिने र गर्नुपर्ने कामहरूमा त रिजल्ट देखिनुपर्ने हो ।
समग्रमा भन्दा सरकारले आफ्नो बुनियाद थप मजबुत बनाएको छ । आफूले जे भन्दै आएको थियो, त्यसलाई निरन्तरता दिएको छ । तर, विकासको बाटोको सन्दर्भमा प्रशस्त अलमलिएको छ । कतिपय काम ठीक नियत राखेको छ, अठोट पनि, तर काम गर्ने तरिका त्रुटीपूर्ण छ र थुप्रै प्रश्नहरू पनि छन् । एउटा शक्तिशाली र स्थिर सरकारको रूपमा चल्नुपर्नेमा पुरानो कार्यशैलीबाट मुक्त हुन सकेको छैन ।

० उसो भए हिजोको ६ महिने, नौ महिने मन्त्री वा प्रधानमन्त्री हुँदाको मानसिकताबाट मुक्त हुन नसकेको हो ?
एकदमै सही कुरा गर्नुभयो । यो जुद्धशम्शेरपछि सबैभन्दा शक्तिशाली सरकार हो । मानिसहरू वीपी कोइराला भन्छन्, होइन त्यसबेला कमजोर संविधान, शक्तिशाली राजा र पार्टीभित्रकै प्रतिपक्षी थियो । यो सरकार जुद्धशम्शेरपछिकै शक्तिशाली हो । तर, यस्तो बेलामा पनि किन तलसम्म तरंग भएको छैन ? किनकी उनीहरूले के बोल्यो भनेर हेर्दैनन्, काम गर्ने तरिकामा नयाँपन खोज्छन् ।

पात्रहरू नयाँ होइनन्, पहिलाको सिस्टममा सयौं दिन काम गरेर आएकाहरू नै हुन् । त्यसैले के बिग्रियो भन्दा यो बिग्रियो, त्यो बिग्रियो, भत्कियो भन्ने ठाउँ पनि छैन । तर, सन्तुष्ट पनि छैन ।

० उसो भए सरकारले केही बिगारिहालेको पनि छैन । एउटै पार्टीको बहुमत र दुई तिहाईको समर्थनमा बसेको यो सरकारले ५ वर्षमा कायालपट गर्छ भनेर उत्साहित पनि छैन भन्दा हुन्छ ?
हो । पूर्णरूपमा मोहभंग भएको पनि छैन, एकदमै उत्साहित हुन सकेको पनि छैन । खासगरी जसले भोट हाले, उनीहरूको ठूलो अपेक्षा थियो तर, प्रश्न थिएन । उनीहरूले यो गठबन्धनले ५ वर्षको स्थिर सरकार दिन्छ, देखाएका सपनाहरू पूरा गर्छ भनेर भोट हालेको हो । अहिले पार्टी एकता भयो, सरकारले सपना देखाउन छाडेको पनि छैन । तर, उनीहरू भित्रबाटै किन खुसी हुन सकेका छैनन् ? मेरो अब्जरभेसनमा हिजो मत हाल्नेहरूको विश्वास टुटेको पनि छैन तर, आश्वस्त हुन सकेका पनि छैनन् ।
(अनलाइन खबरबाट)


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com