० माओवादी पार्टीभित्रको कलहले समग्र राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव परेको छ ?
माओवादी पार्टी विभाजनभन्दा पनि दुई लाईन संघर्षको जटिलता हो । यो जटिलताले मुलुकको राजनीतिकमा प्रभाव नपर्ने भन्ने होइन । पार्टीभित्र देखिएको दुई लाइन संघर्षमा क्रान्तिकारी धार सशक्त बन्दै गयो र प्रवाहित हुँदै गयो भने त्सल सकारात्मक प्रभाव पार्ने छ र क्रान्तिकारी धार कमजोर र अवसरवादी धार बलियो बन्दै गयो भने देश र जनताका आशा र अपेक्षाहरू पूरा नहुने परिस्थिति उत्पन्न हुन सक्छ । तर अर्को पाटो के पनि हो भने पार्टीभित्र जुन अवसरवादको संघर्ष छ त्यो निरन्तर चलिरहन्छ । देश र जनताका हक अधिकार सुनिश्चत नभएसम्म संघर्षहरू भैरहने भएकाले राष्ट्रिय राजनीतिमा प्रभाव नपर्ने कुरा हुँदैन ।
० त्यसो भए अब पार्टी फुट्छ होइन ?
पार्टी फुट्छ भनेर अहिले नभनौं । पार्टी भनेको त सिद्धान्त हो, विचार हो र कार्यदिशा हो । यी कुराहरूमा एकरुपता भयो भने गलत चिन्तन प्रवृत्तिहरूलाई रुपान्तरण गर्न सकियो भने पार्टी एकतावद्ध भएर जाने हो । तर ती कुराहरू रुपान्तरण भएनन् र अवसरवाद हावी भयो भने पार्टी फुट्ने, टुक्रने त हो ।
० संस्थापन पक्ष र तपाईहरूबीच अवसरवाद, नवसंशोधनवाद र जडसुत्रवादी, राजवादीसँगको सम्बन्ध जस्ता आरोप प्रत्यारोप भैरहेका छन् नि ?
अवसरवाद, नवसंशोधनवाद गुणात्मकरुपमा छलाङ मारेर अन्तिममा पुग्यो भनेका छैनौं । संक्रिणतावाद, अवसरवाद, विसर्जनवादतिर गएका छन् भन्ने आरोप हामीमाथि पनि संस्थापन पक्षले लगाउँदै आएको छ । जहाँसम्म राजावादी भन्ने आरोप छ त्यो अत्यन्तै निकृष्ट आरोप हो ।
आज पनि पार्टीमा दुई लाईन संघर्षको प्रक्रियामा बाबुरामजीले अध्यक्ष प्रचण्डमाथि राजावादी र अध्यक्षले बाबुरामजीमाथि भारतीय विस्तार परस्त भन्ने आरोप लगाउनु भएको थियो । इतिहासको कडिमा यी दुबै प्रवृत्ति एकै ठाउँमा गएर मिलेको देखिन्छ भने यस्ता मिथ्या आरोपहरूको के अर्थ हुन्छ र ? अर्को कुरा के हो तभन्दा अबका व्यवहारलाई हेर्दै गए भैहाल्यो । खासगरी अध्यक्षले महान जनयुद्धको प्रक्रियामा देश र जनता प्रति जुन प्रतिवद्धता जाहेर गर्नुभएको थियो, कुन कुरा हामीले पार्टीको दस्तावेजमार्फत् बाचाबन्धन गरेका थियौं, त्यसलाई तोड्दै तोड्दै अगाडि बढ्ने काम भैरहेको छ । त्यसकारण कसैले कसैलाई आरोप लगाउनुभन्दा पनि सच्चाइ के हो भन्ने कुराले सबै कुराको निर्धारण गर्दछ ।
० मूलत चुनवाङ् बैठक पछि माओवादी पार्टीको वैचारिक, सैद्धान्तिक राजनीतक स्खलन आएको हो भन्दा सहि हुन्छ कि गलत ?
तपाईंले जो प्रश्न गर्नु भयो त्यो एकदमै ठिक हो । चुनवाङ् बैठक पछि पार्टीमा तिब्र रुपमा विचलनको प्रक्रिया शुरु भएको छ । पटक पटक भएका बैठकहरूमा हामीले यस विषयमा कुराहरू उठाउँदै आएका छौं ।
० तर केही समय अगाडि यहाँहरूको बीचमा एकता भएको र पार्टीका आन्तरिक प्रशिक्षणहरूमा पार्टी एकता भएको र अब घनिभूत रुपमा अगाडि बढ्छौं भन्ने सन्देश जाँदा नजाँदै पार्टीमा ठूलो विचलन आउनुको प्रमुख कारण के हो ?
कारण के हो भन्दा केन्द्रीय स्तरको बैठकमा बेग्ला बेग्लै प्रस्तावहरू प्रस्तुत भएका थिए । छनौट गर्ने प्रक्रियामा अध्यक्षले कयौं कुराहरू म सच्याएर जान्छु भन्नेकुरामा वचन वद्धता गर्नु भएको थियो । त्यसै प्रक्रियामा हामी साझा प्रस्ताव बनाएर जाउँ भन्ने पनि भयो । त्यसमा विवाद के थियो भन्दा संविधानका अन्तरवस्तुहरूसँग सम्बन्धित कुराहरू, भारतीय विस्तारवाद विरुद्धका संघर्षसम्बन्धी लगायत विभिन्न कुराहरू थिए, यि सबै कुराहरूको हल गरेर एउटा ठोस कार्यदिशा पार गरेर ल्याउँछु भन्ने अध्यक्षज्यूले भन्नु भएको थियो । त्यसैकारणले हामी सहमत भएका थियौं । त्यतिबेला मलगायतका साथीहरूले यो नै अन्तिम प्रयास हो भनेका पनि थियौं । अध्यक्षलाई रुपान्तरण गर्नका निम्ति एउटा अन्तिम प्रयास हो, यसमा तपाईंले कस्तो भूमिका निर्वाह गर्नुहुन्छ ? भनेको पनि थिएँ । र, हाम्रो अन्तिम प्रयास नै सावित भयो ।
अहिले दुई महिना बित्यो, उहाँले फागुन १ गतेसम्म समस्या समाधान गर्ने समयावधि दिनुभएको थियो । हामीले प्रस्तावलाई लिखित रुपमै दिएका थियौं । त्यसको हलगर्ने पक्ष तिर अध्यक्ष जानुभएन । उहाँले हामीलाई छलछाम गर्ने कार्यनीति अपनाउनु भयो । अर्को कुरा दुईलाईन संघर्षको विषयलाई महत्वहिन बनाएर हाम्रो हात बाँध्ने र आफ्नो ढङ्गबाट अवसरवादी चिन्तनलाई अगाडि बढाउने तिर उहाँलाग्नु भएको रहेछ भन्ने स्पष्ट भएपछि हामी बसेर धेरै अन्तरक्रियाहरू पनि नगरेका होइनौं । तर अन्त्यमा उहाँले “म त्यो स्वीकार्न सक्दिन” भन्नु भयो । त्यसपछि आ–आफ्ना विचारसमूहका केन्द्रीय समिति वस्ने सहमति भएकाले त्यसैअनुसार अहिले हामी समानान्तर रुपमा हरेक ठाउँमा संगठन बनाएर लैजाने र संघर्षका कार्यक्रमहरू पनि थोरबहुत अगाडी बढाउने भन्ने हिसाबले गयौं भनेउहाँहरू पनिआफ्नो हिसाबले अगाडि बढ्नु भयो । यी सबै कुराहरूमा हामीले मिलेर अध्यक्ष रुपान्तरण गराएर जाने भन्ने थियो तर हाम्रो त्यो प्रयास उहाँ त्यतातिर जान चाहनु भएन । त्यसको कारण दुरगामी संघर्षमा विस्तारवादी शक्तिहरूको जोडकेमा छ । भन्दा हामीतिर भन्दा पनि अध्यक्ष र बाबुराम ज्यूलाई मिलाएर लैजाने र हामीलाई निश्क्रियतातिर धकेल्ने हो । विस्तारवादको ग्य्राण्ड डिजाइनअनुसार नै अध्यक्षज्यू जानुभयो ।
० यसर्थ माओवादीभित्र मोहन वैद्यपक्षलाई पनि मोहन विक्रमको हैसियतमा पु¥याउने रणनीति भएको राजनीति वित्तमा कुरा उठेको छ । यसलाइ कसरी हेर्नु भएको छ ?
भन्ने मान्छेहरूले थुप्रै कुराहरू भन्छन् ।भनेरमात्र हुँदैन, गरेर देखाउन सक्नुपर्छ ।अर्को कुरा संसोधनवादले हमेसा क्रान्तिकारीहरूलाई परम्परावादी जडशुत्रवादी भन्दै हजारौं पटक आरोप लगाउँदै आएका छन् ।अहिले उहाँहरूले हामीमाथि लगाउने आरोप पनि यही परम्पराको पुर्वाग्रही हो । वास्तविक रुपमा उहाँहरू हो भन्ने दिन प्रतिदिन छर्लङ्ग हुँदै गइरहेकै छ ।
मूलभूत रुपमा भन्नुपर्दा उहाँहरू वर्गीय आत्मसमर्पणवाद, राष्ट्रिय आत्मसमर्पणवादको दिशातिर जानु भएको छ । पछिल्ला घटनाक्रमहरू जनमूक्ति सेनाको समायोजन सम्मानजनक गर्ने भनेर उहाँहरूले भन्नुभएको थियो, तर नेपाली सेना लगाएर क्यान्टोनमेन्टमा रहेको जनमुक्तिसेनालाई कब्जागर्न पठाइयो । यसले उहाँहरूको जनमुक्ति सेनाप्रतिको दृष्टिकोण स्पष्ट पा¥यो । हामीले दिन प्रतिदिन यो देख्दै छौं । हामीले भनेका थियौ, जनताको संघीय गणतन्त्रमा आधारित संविधान, सामन्तवाद र साम्राज्यवाद विरोधी सारतत्वभएको संविधान बनाउने । तर अहिले नेपाली कांग्रेस सबैसँग हात जोडेर पुरानै यथास्थितिवादी संविधान बनाउनतर्फ तिव्र रुपमा लागि परेको छ ।
० संविधान आउँछ त त्यसो भए ?
संविधान आउँछ÷आउँदैन भन्दा पनि कस्तो संविधान आउँछ भन्ने प्रमुख विषय हो । राणाकालमा पनि एउटा संविधान थियो, पञ्चायती कालमा पनि संविधान थियो नै ।
० जनमुक्ति सेनाको अवसान नै भैसक्यो । भोलि संविधान पनि त्यही हुने पक्का छ भने तपाईहरूले विरोध गरिरहनुको औचित्य के छ त ?
हामीले अन्त्यसम्म विरोध गर्ने कुरा त निश्चित नै छ । सेना समायोजन कसरी भयो भन्ने कुरा देखिहालियो । दुनियाँले सबै कुरा बुझिसक्यो । अब संविधान पनि कसरी चाहन्छन् भन्ने कुरा हामीले सबैलाई देखाउनु छ । हामीले गरेको अन्तरसंघर्षको अन्तिम बिन्दु पनि यहि संविधान निर्माणको प्रकृयामा नै आएर देखापर्छ । हामी जनताको साथै छौ । हामीले पार्टी अब औसरवाद तर्फ जाँदैछ भन्ने कुरा भन्दै आइरहेका छौ तर यी सबै व्यवहारहरूले प्रमाणित गरेर देखाउँछ हामी त्यही हेर्दैछौं ।
० हरेक राजनैतिक दलहरूले शान्ति र संविधान विरोधीका रुपमा तपाईहरूलाई जनताका अगाडी उभ्याएको छन्, के भन्नुहुन्छ यसबारे ?
यो कुरा नितान्त गलत छ । म धेरै कुरा भन्दिँन । जनताको पक्षमा संविधान बनाउनुपर्छ भनी हामीले जनताको अभिमत लिनका लागि हस्ताक्षर अभियान शुरु गरेका हौं । हामीले त्यो केन्द्रिय समितिमा पास गरेका थियौ तर अध्यक्ष त्यसबाट भाग्नुभयो उहाँले जनताको अभिमत लिन चाहनु भएन । त्यसकारण उहाँले बनाउन चाहनुभएको संविधान यथास्थितिवादी संविधान हो । हामीले जनताको संविधान बनाउन चाहेका छौं भन्ने पहिचानसहित हामी जनताका बीचमा गएका छौं । त्यसकारण हामी शान्ति र संविधान विरोधी हो कि होइन भन्ने हाम्रो अभियानले नै प्रमाणित गर्छ ।
० तपाईहरूले खोजेको जनसंविधान कस्तो हो ?
हामीले खोजेको जनसंविधानभन्दा पनि जनताले लामो समयदेखि संघर्ष गर्दै आए । संविधान निर्माणको कुरा पनि साठी सालदेखि आइरहेको छ । धेरै रगत बगे, धेरैले सहादत प्राप्त गरे, कयौं बेपत्ता, घाइते, अपाङ्ग भए । जन आन्दोलन, जनसंघर्ष, सशस्त्र संघर्ष थुप्रै कुराहरू भए । त्यसमा हामीले मात्रै बन्दुक उठाएनौं कांग्रेस, एमालेले पनि उठाए । यसको अन्तिम कडीको रुपमा हामीले दश वर्षसम्म जनयुद्धको प्रक्रियामा अगाडि बढ्यौं । यी सबै संघर्षको प्रतिफल जनतालाई दिनुप¥यो । हिजोका संघर्षहरूमा जनताले धोका मात्र पाए । अब यो संविधानमा जनताले धोका नपाउन भन्ने हाम्रो पहिलो उद्देश्य हो । यो रगतको मूल्य संविधानमा अविचिन्तित् हुनु प¥यो ।
दोस्रो कुरा कांग्रेस एमाले माओवादी सबै छोडौं र हामी जनतामा आऔं । मजदुर, किसान महिला, दलित आदिवासी जनजाति, मुस्लिम लगायतका जनताका समस्याहरूको समाधान अथवा जनताले उठाउँदै आएका आवाजहरूको संबोधन त्यो संविधानमा अभिव्यक्त हुनुप¥यो । अर्काे शब्दमा भन्ने हो भने राष्ट्रिय स्वाधिनताको रक्षा, जनवादको स्थापना जनताका तमाम समस्याको सम्बोधन गर्न सक्ने संविधान हुनुप¥यो भन्ने हाम्रो भनाइ हो ।
० तपाईले यसो भनिरहँदा संविधान त तयार भैसकेको छ, दलहरूको अहिलेको छलफल बैठक जे भने तापनि यो त केवल नौटंकी हो भन्ने पनि आउन थालेको छ नि तपाई के भन्नुहुन्छ यस सम्बन्धमा ?
संविधान कसरी जारी हुन्छ, त्यो हामीले पनि हेर्छौं । जनता मुकदर्शक भएर बस्दैन । त्यस्तै संविधान निर्माणको प्रक्रियामा हामीले सशक्त किसिमले भाग लिइरहेका छौं । हरेक छलफल, बहसहरूमा हामी सहभागी भएर लडिरहेका छौं । यो लडाईं दुनियाले देखिराखेको छ । भरखरै मात्रै प्रमुख चार दलका शीर्ष नेताहरूले प्रत्यक्षतर्फ ५५ प्रतिशत र समानुपातिकतर्फ ४५ प्रतिशतमा हाम्रो सहमति भएको छ भन्ने कुरा राख्नुभयो । त्यसमा हामीले सशक्त रुपमा विरोध ग¥यौं । बाइस दलको बैठककमा पनि ति कुराहरू राखिए । तर हामीले पहिलेदेखिनै पूर्णसमानुपातिक प्रतिनिधित्व भन्दै आएका छौं । संविधानसभाको निर्वाचन हुने बेलामा पनि ५८ प्रतिशत समानुपातिक प्रतिनिधित्व ४२ प्रतिशत प्रत्यक्ष हो थियो भने झन अब बन्ने अवस्थामा हाम्रो पार्टीले जनतालाई पूर्ण समानुपातिक भन्दै आएको छ । महिलाहरूलाई ५० प्रतिशत समानुपातिक त छंदैछ । दलितहरूलाई विशेष अधिकार भन्दै आइरहेको छ । पार्टीका सम्पूर्ण अङ्गहरूमा समानुपातिक प्रतिनिधित्व हुनु पर्दछ भन्दै आइरहेको छ । त्यसका
विरुद्ध उहाँहरू जाँदै हुनुहुन्छ । प्रष्टरुपमा देखिने कुरा आयो नि त ।
० त्यसो हो भने एनेकपा माओवादीको संस्थापन पक्ष, नेपाली कांग्रेस र एमालेभन्दा पनि बढी अवसरवादी र प्रतिगामी के कारणले हुन पुग्यो तपाईहरूको विश्लेषणमा ?
स्वदेशी प्रभु र विदेशी प्रभुहरूलाई खुसी बनाउने नै मुख्य कारण हो ।
० तपाईंहरू एकातिर चर्को विरोध गरिरहनु भएको छ, आन्दोलन पनि गर्नु गरिरहनु भएको छ र वार्तामा पनि सहभागि हुनु भएको छ । एनेकपा माओवादीकै तर्फबाट हो या बैद्य समूहकोतर्फबाट हो सहभागि हुनुभएको ?
यो दुबैको तर्फबाट हो भन्दा हुन्छ । पार्टीगतको कुरा गर्ने हो वार्ता टिममा मलगायत सात जना छौं । अर्को कुरा के पनि हो भने आफ्नो समूहको प्रतिनिधित्व हुन्छ त्यहाँ त । त्यसैले दुबैतर्फको प्रतिनिधित्व भएको छ भन्दा फरक नपर्ला । वार्तामा संस्थापन पक्षले पनि आफ्नो समूहको प्रतिनिधित्व गर्नुभएको हामीले आफ्नो समूहको प्रतिनिधित्व गरेका छौं ।
० तोकिएको संख्याभन्दा झण्डै आधा संख्यामा मात्रै माओवादी लडाकुहरूले सेना समायोजनलाई रोज्नुको रहस्य के हो ?
भन्न त समायोजनको नाम दिइयो । तर भै दियो निशस्त्रीकरण । जनमुक्ति सेनाको पनि आत्मसम्मानको कुरा छ । प्रक्रिया अगाडि बढ्यो । जनमुक्ति सेनाको समायोजन गर्ने, त्यसलाई स्थापित गर्ने, जनमुक्ति सेना र नेपाली सेनालाई मिलाएर राष्ट्रिय सेना बनाउने भन्ने हाम्रो अध्यक्षको जुन सोच थियो, वास्तव त्यो केवल भन्नाका लागि मात्रै रहेछ भन्ने कुरा अहिलेको परिघटनाहरूले पुष्टि भएको छ ।
त्यसो त हाम्रो पार्टीको दस्तावेजमा के छ भने समूहगत, सशस्त्ररुपमा समायोजनको मापदण्डअनुसार समायोजन गर्ने, सशस्त्र सुरक्षा बलमा लगाउने लगायतका थुप्रै निर्णयहरू भएका थिए । संस्थापन पक्षबाट ति सबै निर्णयहरू तोडर जाने काम भयो । निर्णय त देखाउनका लागि मात्रै भयो । यस्तो हुँदै छ भन्ने कुरा हामीले पहिलेनै संकेत पाइसकेका थियौं र त फरक मत राख्ने काम हामीले गर्न थाल्यौं । जब स्वेच्छिक अवकाश र समायोजनमा जाने जनमुक्ति सेनाको संख्या तोक्ने, छुट्याउने कुराहरू आयो, त्यस बेलामा हामीले वक्तव्यनै दिएका थियौं, निशस्त्रीकरण हुँदैछ, सेना समायोजन हुँदैन भनेर । जनमुक्ति सेनालाई हामीले आव्हान गरेका थियौं । आखिरमा थुप्रैले स्वेच्छिक अवकाश लिए । जनमुक्ति सेनालाई ठूलो ठूलो पदको अफिसर पाइन्छ भनेर सपना बाँडियो । तर अन्त्यमा आउँदा समायोजन संख्या पनि कम र ठूलो पदको कुरा पनि कता हो कता । समायोजनका लागि यतिबेला देखिएका तीन हजार चार सयमध्ये छाती नाप्दा, के केगर्दा समायोजनका लागि कति क्वालिफाइड हुन्छन् ? थाहा छैन । यो त अत्यन्तै लज्जास्पद र अपमानजनक ढङ्गले जनमुक्ति सेना बुझाइयो । समायोजन भन्नेकुरा अब छैन । त्यो शब्द अब प्रयोग नगरे हुन्छ ।
० त्यसो हो भने दश÷दश वर्षसम्म जनयुद्ध लडेका जनमुक्ति सेनाको अस्तित्वनै समाप्त भयो नि अब त ?
जनमुक्ति सेनाको सम्मान हुनु पथ्र्यो, भएन । तर पनि स्वेच्छिक अवकाश रोजेका साथीहरूलाई पुन संगठित गर्न प्रयास गरिराखेका छौं । जनस्वयम् सेवक दस्ता गठन गरेर संगठित गर्ने काम प्रारम्भ भएको छ त्यसकारण जनमुक्ति सेनाका योद्धाहरूको बलिदान, समर्पण भाव, नेपाली जनतालाई मुक्त गराउनका निम्ति खेलेको भूमिकाको हामीले सम्मान र कदर गर्दछौं । वास्तवमा जनमुक्ति सेनालाई सिध्याउने किसिमले संस्थापन पक्ष गएको हो । क्रान्ति अझै पूरा भएको छैन । क्रान्तिलाई पूरा गर्ने हिसाबले फेरी अगाडि बढ्दै छौं ।
० माओवादीको बैद्य पक्षले देशमा पुन हतियार उठाएर सशस्त्र विद्रोह गर्ने भयो भनेर जनताले बुझ्दा हुन्छ त ?
अहिले नै हामीले त्यसो भन्न सक्दैनौं, तर कुरा के हो भने हतियार उठ्ने नउठ्ने भन्ने कुरा जनताका समस्याहरू समाधान हुन्छन् कि हुँदैनन् भन्ने नै मुख्य सवाल हो । हामीले भनेको त के हो भने सम्मानजनक ढङ्गले अगाडि बढौं । साँच्चिकै शान्ति बहाली गरौं भन्दै आएका हौं । तर त्यो हुन सकेन । जनताको पक्षमा संविधान बनाउँ भन्दै आएका हौं । त्यसैका निम्ति लडिराखेका छौं । हतियार उठाउने हाम्रो रहर र चाहना होइन । चाहना र रहर त नेपाली जनताको पक्षमा संविधान बन्न सक्यो भने ठिक छ । तर यदि फेरी पनि जनताको पक्षमा संविधान बनेन र पुरानै किसिमको पुनरावृत्ति भयो र जनतालाई छलछाम गर्ने षड्यन्त्र गर्ने काम गरियो भने निश्चित रुपमा ढिलो चाँडो, हतियार उठ्ने कुरा पक्का छ ।
० संविधान त तयार छ, दलहरूको अहिलेको बैठक छलफल त नाटक मात्रै हो भन्ने राजनीतिक वृत्तमै सुनिन्छ नि ?
एक प्रकारले यसमा केही सत्यता छ । पञ्चायतीकालमा नेपथ्यबाट आउँथ्यो भनिन्थ्यो । अहिले पनि त्यसैको पुनरावृत्ति नहोला भन्न सकिन्न । कहिं कतैबाट यस्तो भइराखेको छ ।
० १२ बुँदेदेखि अहिलेसम्मका जतिपनि उपलब्धीहरू छन् त्यसमा भारतको महत्वपूर्ण भूमिका छ भनेर तपाईंकै पार्टी अध्यक्ष प्रचण्डले त पछिल्लो समयमा भारतीय शासक वर्गको निकै प्रशंसा गरेको देखियो, हिजोसम्म चर्को विरोध गर्नेबाटै आज यत्रो प्रशंसा गर्नुको कारण के हो ?
माओवादीले आयोजना गरेको पाँच दिने आमहडतालको बेला नयाँ बानेश्वरमा आयोजित आमसभामा क. प्रचण्डले विदेशी प्रभुहरू भन्दै भारतीय विस्तारवाद प्रति इंकित गर्दै बोलेको कुरा सारा नेपालीले बिर्सेका छैनन् । वास्तवमा त्यो अभिव्यक्ति जनता झुक्याउने ठूलो चालबाजी र षडयन्त्र रहेछ भन्नेकुरा यतिबेला आएर उदाङ्गो भएको छ । एक हप्ता अघि भारतीय एक दैनिक अखबार (हिन्दु) लाई दिएको अन्तर्वार्तामार्फत् क. प्रचण्डले भारतीय शासकहरूको सेवा चाकडी जे जे गर्नु पर्ने हो त्यो सबै गर्नु भएका छ । नेपालको अहिलेको जो प्रक्रिया छन् त्यसका अतिरिक्त भारतले अझै भूमिका निर्वाह गर्नुपर्ने छ भन्ने कुरा सार्वजनिक भएको छ । त्यसले उहाँको चरित्रलाई राम्रैसँग उदाङ्गो गरेको छ ।त्यस्तै भारत र चीनको सम्बन्धको कुरागर्दा सन्तुलन (द्यबबिलअभ) मा राख्नुपर्छ पनि भन्नुभएको छ । भारतसँगको सम्बन्ध विशेषसम्बन्ध हो भन्नु को अर्थ त नेपाली कांग्रेसको पुस्छर बन्नु हो । अन्ततः न्यून रुपमा निचताको स्तरबाट भारतीय विस्तारवादको चाकडिको नमूना प्रस्तुत गर्नु भएको छ ।
० एक दशकसम्म जनयुद्ध हाँकेको नेतृत्व शान्ति प्रक्रियामा आएको छोटो समयमै सैद्धान्तिक, वैचारिक स्खलन हुनुको कारण के होला ?
करिब तीन दशकको सहयात्राको दौरानमा मिलेर सबै अवसरवादको विरोध गरियो । क.प्रचण्डलाई त एकदम ठूलो नेता, आदर्श भनेर काँधमा बोकेर हिंड्ने काम पनि भयो । त्यतिमात्र होइन प्रचण्ड पथनै बनाइयो । अहिले चार पाँच वर्षको शान्ति प्रक्रियाको दौरानमा आइपुग्दा उहाँ १८० डिग्रीमा प्रतिगामी छलाङ्ग मार्दै हुनुहुन्छ । त्यसको सारतत्व के हो त भन्दाखेरी क.प्रचण्ड भाग्नु भयो, हार्नु भयो, थाक्नु भयो । उहाँ निराश बन्दै जानु भयो । देश र जनताको उज्ज्वल भविष्य देख्नु भएन । हिजो उहाँले जसलाई मालिक देख्नुहुन्थ्यो आज ति नै अमर छन् अजर छन् उहाँका लागि । जनताले केही गर्न सक्दैनन् भन्ने सोच बनाउनु भएको छ । उहाँको विचार र चिन्तनमा विचलन आयो ।
० तपाईंले यसो भनिरहँदा केही समय अघिको स्थायी समितिको बैठकमा तपाईहरूले घुमाउरो पारामा सांस्कृतिक राजा राख्नु पर्छ भन्ने प्रस्ताप पनि ल्याए भन्ने संस्थापन पक्षको आरोप छ नि ?
त्यो त उहाँहरूकै कुरा हो । उहाँले प्रयोग गरेकै शब्द हो । हिजो क. प्रचण्डले जनयुद्धकालमा “राजा वीरेन्द्रसँग हाम्रो अघोषित सम्बन्ध थियो” सम्म भन्नुभएको थियो । उहाँलाई जतिबेला जे मनलाग्यो त्यही बोल्ने आदत छ । उहाँको मन चिन्तेजोलीमा छ । त्यो जोलीमा धेरै धेरै पदावलीहरू राख्नु भएको छ । ति पदावली कुन ठाउँमा भन्दा उपयुक्त हुन्छ त्यही ठाउँमा प्रयोग गर्नुहुन्छ । सच्चाइ के हो भन्ने कुरा इतिसाहले नै पुष्टि गर्ने छ ।
० त्यसो हो भने मोहन बैद्य पक्षहरू दरवारिया होइनन् भनेर जनताले बुझ्नु प¥यो होइन त ?
भारतीय विस्तारवादको तावेदार भएपछि लगाउने आरोप त्यही हो । जनयुद्धकालमा क. बाबुरामजीले क. प्रचण्डलाई दरवारियाको आरोप लगाउनु भएकै हो, भारतीय विस्तारवादी कोणबाट । आफुलाई जुन आरोप बाबुरामजीले लगाउनु भएको थियो अहिले हामीलाई त्यही आरोप लगाइसके पछि क. प्रचण्ड कुन कित्तामा जानुभयो त भन्ने कुराको राम्रोसँग पुष्टिभएको छ ।
० हिजो जनयुद्धका बेला तपाईहरूले भनेको संघीयता र शान्ति प्रक्रियामा आए पछिको संघीयताका बीचको फरक के हो ?
हामीले अहिले संविधान निर्माणको सन्दर्भमा छलफल र बहस पनि गर्दै आएका छौं । सामथ्र्य र पहिचानको कुरा पनि उठेको छ । पहिचानलाई आधार बनाएर संघीयता बनाउनु पर्छ भनेर हामीले भनेका छौं । पहिचानमा पनि जाति, भाषासँग सम्बन्धित पहिचानलाई कार्यदिशा बनाउने भनेर हामी आइराखेका छौं । यही अनुरुप छलफल र बहसको बीचबाट राज्य पुनर्संरचना र राज्यको बाँडफाँड समितिमा १६ प्रदेश पारित भएको हो । त्यो मान्यतालाई अङ्गाल्दै राज्यको पुनर्संरचना र संघीयताको माग गर्नुपर्छ भन्ने हाम्रो सोच छ । तर अर्को तिर छलफलका दौरानमा त्यो मान्यतालाई बदल्नेतिर क. अध्यक्ष तिब्रतर रुपमा लागि राख्नु भएको छ । नेपाली कांग्रेसले संघीयताको कुरा गर्छ, त्यो संघीयता भूगोलमा केन्द्रीत छ । एमालेको आफ्नो खासै छैन भन्दा पनि हुन्छ । संघीयताका बारेमा लडाईं हुँदै आएको कांग्रेस र माओवादीको बीचमा हो । अहिले आएर क.अध्यक्षले कहाँ कता सम्झौता गराउने हो त्यसतर्फ क्रियाशिल हुनुहुन्छ ।
० कम्युनिष्टहरू जब सत्तामा पुग्छन्, त्यसपछि पार्टी फुट्ने, टुक्रने, सैद्धान्तिक, वैचारिक विचलन देखिने परम्परालाई माओवादीले पनि पछ्यायो, तपाई के भन्नुहुन्छ ?
हामी साँच्चिकै सत्तामा पुगेका त होइन । तर जुन प्रक्रियाबाट हामी सरकारमा गैरहेका छौं, राज्यसत्ता पुरानै छ सबै । अब पुरानै राज्यसत्तामा कम्युनिष्टहरू गएर केही गर्न सक्दैनन् । पुरानै राज्यसत्ताका कठपुतली हुन्छन्, गोटी हुन्छन् भन्ने कुरा त माक्र्स, एङ्गेल्स र खासगरी लेनिनले बारम्बार भन्दै आएका हुन् । वास्तवमा सरकारमा गएका मान्छेहरू गोटीनै भएको हो । संघर्ष चल्दै गैसकेपछि एउटा खास विन्दूमा आउँदा एउटा पक्षले आन्दोलन प्रति धोका दिन्छ, विश्वासधात गर्छ, गद्दारी गर्छ भने अर्को पक्षले आन्दोलनलाई जारी राख्नु पर्छ भन्छ । यो अन्तरसंघर्ष तिब्र बन्दै जान्छ । अहिले हाम्रो पार्टी भित्र पनि त्यही हो । तर यो कम्युनिष्टले सत्तानै प्राप्त गरेको अवस्था भने होइन । सत्ताकै कुरा गर्ने हो भने जनयुद्ध प्रक्रिया आधार इलाकाहरू बनायौं । सरकारहरू बनायौं । त्यहाँचाहिं जनताको सत्ता स्थापना भएको हो । त्यो जनसत्तालाई फालेर एउटा प्रतिक्रियावादी सत्तामा सम्मिलित भएर कठपुतली बन्न आएको हो यो । वास्तवमा चुनवाङ बैठक पछि विस्तारै विस्तारै चिजहरू बिग्रंदै गैराखेको स्थिति हो ।
० तपाईंहरू माथि शान्ति र संविधान विरोधी, संविधान बन्न नदिने खालको चलखेल गरेको आरोप लगाउँदै बैद्य समूहलाई जनताबाटै बहिष्कृत गराउनु पर्छ भनेर माओवादी संस्थापन पक्षले चर्को रुपमा अभियान चलाउँदै आएको छ नि ?
संस्थापन पक्षको आरोपका विरुद्ध हामी जनताका बीचमा गैसकेका छौं । हामी हात बाँधेर बसेका छैनौं । र, उहाँहरूले कित्ता फेर्नु भयो भनेका छौं हामीले । हामीले संस्थापन पक्षको गतिविधिका विरुद्ध जनता समक्ष पुगेका र्छौ, विरोधगर्दै आएका छौं । संस्थापन पक्षलाई कसरी रुपान्तरण गराउन सकिन्छ त भनेर हामीले प्रयार गर्दै आएका छौं । एउटा कुरा साँचो के हो भने, दुई लाइन संघर्षलाई सत्रुतापूर्ण रुपदिनेमा उहाँहरू तिब्र रुपमा लागि राख्नु भएको छ । उहाँमा अरु कुनै चाहना भएन भने बैद्यपक्ष फेरी युद्धतिर फर्कदैं छन्, फेरी छापामार युद्ध गर्दैछन् भन्ने ढङ्गले हामीलाई दमन गर्नको निम्ति एउटा वर्ग दुष्मनले खेल्ने भूमिका खेल्न खोज्नु भएको छ । यो के हो भन्दा पार्टी भित्रको दुईलाईन संघर्षलाई अझ फराकिलो पार्ने षड्यन्त्र हो । अब कसले के भन्छ भन्दा पनि कसले के गर्छ भन्ने व्यवहारबाट देखिने कुरा हो । एउटा दुस्मनको तावेदार बन्ने प्रक्रियामा जसले जे पनि बक्न सक्छ ।
० क्यान्टोनमेन्टमा एक्कासी रातारात नेपाली सेनालाई तैनाथ गराउनु र राजधानीमा रहेको माओवादी केन्द्रीय कार्यालयलाई प्रहरीको सुरक्षा घेराभित्र राख्नुलाई कसरी विश्लेषण गर्नु हुन्छ ?
यो त सानो सानो प्रतिगमन हो । हामीले यसबारेमा वक्तव्य पनि दियौं । हामीले यसलाई वर्गीय राष्ट्रिय आत्मसमपर्णवाद भनेका छौं ।
प्रस्तुति- हरि घिमिरे