| युगसम्बाद साप्ताहिक | ||||
|
२२ दलको शक्ति प्रदर्शन Monday, 06.11.2012, 04:29pm (GMT5.5) मुलुक सहमति र सहकार्यबाट अघि बढेर उत्पन्न जटिलताको हल गर्नुपर्ने भए पनि राजनीतिक दलहरू आआफ्ना पक्षधरहरूलाई मोर्चाबन्दी गरी आन्दोलनमा उत्रेका छन् । विपक्षीहरूले आन्दोलनको घोषणा गरिसकेका छन् भने सत्ता पक्षले आगामी शुक्रबार जनपरिचालनको घोषणा गरेको छ । यस्तोमा सरकारले घोषणा गरेको संविधानसभाको नयाँ निर्वाचन अवैधानिक भएको र माओवादी सत्ता कब्जाको रणनीतिमा लागेको भन्दै कांग्रेस, एमालेसहितका २२ दलले सरकारबिरुद्ध आन्दोलनको सुरुवात गरे । गत शुक्रबार खुला मञ्चमा आयोजित आमसभामा बोल्ने अधिकांश नेताले सरकार र माओवादीबिरुद्ध आक्रोश पोख्दै सडकबाटै सरकार ढाल्ने चेतावनी दिए । शुक्रबार खुलामञ्चमा आयोजित २२ दलको आमसभामा प्रमुख नेताहरूको सम्बोधनलाई संक्षेपमा यहाँ प्रस्तुत गरिएको छ । माओवादी आफैंलाई धोका दिइरहेछ- कोइराला नेपाली कांग्रेसको नेतृत्वमा भएको आन्दोलनमा विपक्षी दलका प्रायःजसो शीर्ष नेताहरूले बोलेका थिए । आमसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले माओवादीबाट आफूहरूले धोका पाएको नभई बरु उनीहरूले नै धोका पाइरहेको बताउनुभयो । कोइरालाले आफूहरू जिम्मेवार राजनीति गरिरहेकाले पनि जे पायो त्यही गर्न नहुने भन्दै तानाशाहहरू आफूलाई शक्तिशाली ठान्छन् तर एक एक गरेर ढल्दै जान्छन् भन्नुभयो । कोइरालाले हामीलाई धम्क्याएर माओवादी सफल हुँदैन बरु उही सकिन्छ भन्दै माओवादीले बन्दुक पड्कायो भनेर हामीले तोप पड्काउने त भन्ने प्रश्न गर्नुभयो । माओवादी र मधेशी दल भदौको भेल- खनाल आमसभामा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले एनेकपा माओवादीको एकाधिकारवादी महत्वाकांक्षाका कारण संविधानसभाबाट संविधान बनाउने नेपाली जनताको चाहना पूरा हुन नसकेको बताउनुभयो । अध्यक्ष खनालले अहिले माओवादीले घोषणा गरेको चुनाव नौटंकी मात्र भएको र देशलाई संकटतर्फ धकेल्ने कारकमात्र बनेको आरोप समेत लगाउनुभयो । अध्यक्ष खनालले माओवादी र मधेशी दलहरू भदौमा आएका भेल हुन्, यस्ता भेल चाँडै सुक्ने भन्दै यस्ता भेल सुरुमा समुद्र नै हुन् कि भन्ने लागे पनि केही समयपछि नै उनीहरूको हैसियत थाहा हुने बताउनुभयो । अध्यक्ष खनालले यी दुवै दल २०६२।०६३ पछिमात्र देखापरेका हुन भन्दै उहाँले यिनीहरूका खासै पृष्ठभूमि नभएको पनि उल्लेख गर्नुभयो । देशलाई मुठभेडमा लैजाने कुनै काम एमालेले नगर्ने र माओवादीलाई पनि गर्न नदिने भन्दै खनालले माओवादीको भ्रमात्मक प्रचारबाट मुक्त हुन आग्रह गर्नुभयो । अध्यक्ष खनालले संविधान जारी गरेर विकासका अन्य क्षेत्रतर्फ लाग्नुपर्ने बेलामा संविधानसभा नै तुहाइदिएका कारण माओवादीलाई सजाय दिनैपर्ने बताउनुभयो । सम्पूण क्षेत्र कब्जा गरेर चुनाव गराउने र दुई तिहाई भोट लिने अनि माओवादी छाप लागेको संविधान ल्याउने उसको सपना राष्ट्रपतिले कामचलाउ भनिदिएपछि टुटेको र अहिले माओवादी आफैं रनभुल्लमा परेको उहाँको कथन थियो । माओवादी जनताको शुभेच्छुक हैन - देउवा आमसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीले झुटो प्रचार गरिरहेको आरोप लगाउनुहुँदै हामीले सामथ्र्य सहितको जातीय पहिचान स्वीकारेको तर त्यसलाई पनि उसले नमानेको र उल्टै गलत प्रचार गर्दै हिंडेको बताउनुभयो । नेता देउवाले माओवादी जनताको शुभेच्छुक हुँदै नभएको दावी गर्नुभयो । सो क्रममा नेता देउवाले जुन संविधानसभाको आश देखाएर माओवादीले १४ हजार मान्छेको ज्यान जाने वातावरण बनायो, अहिले उसैले संविधान तुहायो र माओवादीको संविधान सभाप्रतिको इमानदारिता प्रष्ट भएको छ भन्दै चुनावमार्फत् सत्ता कब्जा गर्ने माओवादी नियतका कारण अहिले चुनाव स्वीकार गर्न नसकिने बताउनुभयो । देउवाले माओवादीले कांग्रेस, एमालेलाई जबरजस्ती भ्रामकरुपमा जनजाति विरोधी बनाएको भन्दै आपत्ति जनाउँदै नेता देउवाले काठमाडौंमा झक्कु सुवेदीलाई नेवाः इञ्चार्ज, ताम्सालिङ, लिम्बूवानमा बाहुनलाई प्रमुख बनाएर कसरी माओवादी जनजातिवादी भए भन्ने प्रश्न गर्नुभयो । माओवादी धुन्दुकारीका सन्तान- नेपाल नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपालले एकलौटी सत्ता कब्जा गर्ने माओवादी नियतका कारण संविधानसभाको हत्या गरिएको बताउनुहुँदै कहीं पनि प्रधानमन्त्रीले स्वेच्छाचारी ढंगले संविधानसभा विघटन गरेको इतिहास नभएको दावी गर्नुभयो । नेता नेपालले संविधानसभाको म्याद छँदै नयाँ निर्वाचनको घोषणा गर्ने काम असंवैधानिक भएको पनि बताउनुभयो । उहाँले माओवादीले १६ वर्षदेखि देशलाई दुःखमात्र दिएको बताउँदै माओवादी नेपाली आमाको धुन्धुकारी सन्तान भएको टिप्पणी गर्नुभयो । पैसा र शक्ति भयो भने जेसुकै गर्न तयार हुने माओवादीले यसका लागि देश बेच्न समेत तयार हुने गम्भीर आरोप लगाउँदै नेता नेपालले यो मुलुकलाई माओवादी छापको नभई प्रगतिशील र समान अधिकार उपलब्ध गराउने संविधान चाहिएको बताउनुभयो । निर्वाचन घोषणा छलकपटपूर्ण- थापा पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले संविधानसभा चुनाव अघि विपक्षी दल र संविधानसभाका दलका नेतासंग सल्लाह नगरी एकलौटी संविधानसभा चुनाव घोषणा भएको बताउनुहुँदै चुनाव घोषणा छलकपट र धोकापूर्ण रहेको बताउनुभयो । कानुनी र संवैधानिक अड्चनतिर ध्यान नदिइएकाले बाबुरामले तोकेको समयमा चुनाव हुनै नसक्ने ठोकुवा पनि थापाले गर्नुभयो । थापाले प्रधानमन्त्रीले घोषणा गरेजस्तो संविधानसभा चुनाव हुन नसक्ने बताउनुहुँदै अधिकमास रहेको र दसैं, तिहार पछिसरेको अवस्थामा फेस्टिलब मुडमा चुनाव नहुने थापाको दावी थियो । सो क्रममा उहाँले राजनीतिक दलहरूलाई विभाजन गरेको अवस्थामा चुनाव अघि राजनीतिक वातावरण बन्नुपर्नेमा जोड दिनुभयो । आक्रोशित मुद्रामा देखिनुभएका पूर्व प्रधानमन्त्री थापाले चुनाव भनेको सरकार र माओवादी कार्यकर्ताले मात्र भोट हाल्ने विषय नभएकाले उसले भन्दैमा चुनाव हुन नसक्ने जिकिर गर्नुभएको थियो । माओवादीले बखेडा झिके- पौडेल आमसभामा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले कांग्रेस र एमालेले संघीयतामा किचलो झिकेको भन्ने भनाइको प्रतिवाद गर्दै माओवादी अध्यक्ष र अन्य माओवादी नेतासमेत सहमत भई हात्तीवन सम्झौता भएको उल्लेख गर्दै पछि फेरि उनीहरूले विभिन्न बखेडा निकालेर त्यो सहमति तोडेपछि समस्या उत्पन्न भएको बताउनुभयो । पौडेलले नेपालको झण्डा, नाम आदि फेर्ने बहुलठ्ठी कुराहरू ल्याएर चार वर्ष संविधानसभाको समय बिताएकाले पनि संविधान नबनेको र त्यसमा माओवादी दोषी रहेको आरोप लगाउनुभयो । नक्कली मयूरको पोल खुल्यो- ओली एमाले नेता केपी ओलीले माओवादीलाई सपार्न नसकिएको बताउनुहुँदै धेरै पानी र साबुन खर्च गरे पनि माओवादी जस्ताको तस्तै रहेको बताउनुभयो । सो क्रममा ओलीले एउटा नक्कली मयूर निस्केर जनताको सच्चा प्रतिनिधि भएको नाटक ग¥यो र पछि धोका दियो भन्नुभयो । ओलीले कहिले कटुवाल प्रकरण त कहिले सोझासाझा जनता राजधानी उतारेर सत्ता कब्जा गर्न खोजे पनि त्यो सम्भव नभएपछि अहिले माओवादी फेरि संविधानसभा विघटनलाई सत्ता कब्जाको आधार बनाउन खोजेको आरोप लगाउनुभयो । माओवादीको सत्ता कब्जा सपनामा आएको चकटेल जस्तो हुने बताउनुहुँदै कुनै जादुगर चटकेले अब नेपाली जनतालाई अलमल्याएर सत्ता कब्जा गरौंला भन्ने सपना नदेखे हुन्छ भन्ने ओलीको भनाइ थियो । अहिलेसम्म प्रजातन्त्र हारेको छैन- राणा राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले माओवादीले एकदलीय प्रकृतिको संविधान बनाउन खोजेको बताउँदै त्यस्तो सम्भावना नभएकाले बरु संविधान नै नबनाउने निर्णयमा पुगेको बताउनुभयो । राणाले एकजुट भएर यो सरकार ढाल्नुपर्छ भन्दै अहिलेसम्म प्रजातन्त्र नहारेको पनि उल्लेख गर्नुभयो । माओवादीले जसरी पनि दुई तिहाई ल्याएर एकदलीय संविधान बनाउने र त्यसैका आधारमा सधैंका लागि सत्ता कब्जा गर्ने रणनीति अन्तर्गत संविधानसभा विघटन गराएको पनि उहाँले दाबी गर्नुभयो । संविधानसभा विघटन भएको तेह्रौं दिनका दिन यो कार्यक्रम भएको बताउँदै उहाँले अब बाबुराम सरकारको दाहसंस्कार गर्नुपर्ने पनि उल्लेख गर्नुभयो । धमिलो पानीमा माछा मार्ने प्रयास- चन्द पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले माओवादीले नेपाली–नेपालीलाई लडाएर आपसमा अविश्वासको वातावरण सिर्जना गरेर धमिलो पानीमा माछा मार्ने प्रयास गरेको बताउनुभयो । चन्दले माओवादीले संघीयता र संविधान देखाउने दाँतका रुपमा मात्र प्रयोग गरेको पनि दावी गर्नुभयो । यसअघि नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंह लगायत साना दलका नेताहरूले माओवादी बिरुद्ध एकजुट हुन आव्हान गरेका थिए । शक्ति प्रदर्शन त राप्रपा नेपालले ग¥यो मुलुक गणतन्त्रमा प्रवेश गरेदेखि नै सामयिक राजनीतिक धारभन्दा फरक धारणा प्रवाह गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले शनिबार राजधानीमा शक्ति प्रदर्शन ग¥यो । अघिल्लो दिनको २२ दलको शक्ति प्रदर्शनको हविगत देखेका राजधानीबासीले राप्रपा नेपालको के हैसियत होला भन्ने जुन अनुमान गरेका थिए त्यसको विपरीत शुक्रबारको तुलनामा बढी मानिस खुलामञ्चमा उत्रिएको देखियो । राजनीतिक परिवर्तनको नाममा केही सीमित दलहरूले मुलुकलाई अनिर्णयको बन्दी बनाएको आक्रोशको रुपमा पनि शनिबारको आमसभालाई लिन थालिएको छ । आमसभालाई सम्बोधन गर्ने क्रममा राप्रपा नेपालका अध्यक्षा कमल थापाले मुलुकमा नयाँ राजनीतिक शक्तिको जन्म भैसकेको घोषणा गर्नुभयो । शुक्रबारको सभाकै झल्को दिने गरी शनिबार राप्रपा नेपाल एक्लैले टुंडिखेलमा मान्छे उतार्न सफल भयो । गणतन्त्रको बिरोध र संवैधानिक राजतन्त्रको वकालत गर्दै आएको राप्रपा नेपालले हजारौं मान्छे उतारेर आफू पनि कोहीभन्दा कम छैनौं भन्ने देखाएको छ । राप्रपा नेपालको प्रदर्शनमा चर्चित गायक गायिकादेखि हिन्दूधर्मका अभियन्ताहरूले पनि सकृयतापूर्वक सहभागिता जनाएका थिए । राप्रपा नेपालको सभामा शुक्रबारजस्तो सरकार र माओवादीलाई तथानाम गाली गर्ने काम भएन । बोल्नेहरूले सरकार बिरुद्ध मात्र एकोहोरो भाषण गरेनन् । सरकारमा रहेको माओवादी र मधेशी मोर्चा तथा सरकार बाहिर रहेका कांग्रेस–एमालेकै कारण अहिलेको अवस्था आएको भन्दै बोल्नेहरूले सबैलाई बराबर मिलाएर बिरोध गरे । राप्रपा नेपालको कार्यक्रममा बोल्नेहरूले अब दायाँबायाँ केही नहेरी अब चुनाव बाहेक अर्को विकल्प नभएको बताए । प्रधान न्यायाधीशको अध्यक्षतामा चुनावी सरकार गठन गर्न माग पनि राप्रपा नेपालले गरेको छ । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||