| युगसम्बाद साप्ताहिक | ||||
|
नेपालको विदेश नीतिमा देखिएको छाडापनको फाइदा विदेशीले उठाइरहेका छन् - डा भेषबहादुर थापा, परराष् Tuesday, 08.14.2012, 12:56pm (GMT5.5) ० एसडी मुनीले जेजस्ता कुराहरु उजागर गरे त्यसले नेपालको राजनीतिमा मात्र नभएर सर्वसाधाणमा पनि एउटा तरंग ल्याइदिएको छ । यहाँलाई यो कुरा कतिसम्म सत्य हो जस्तो लाग्छ ? मुनीले जेकुरा भने यो कुरो पहिलोपटक उठेको होइन । झण्डै १२ वर्ष अगाडि म भारतमा राजदूत भएको बेलामा एकजना मल्कानी भन्ने भारतीय जनता पार्टीका नेताले यस्तै (राजा त्रिभुवनले गद्दी जोगाउन नेपाललाई भारतमा गाभ्ने प्रस्ताव राखेको) कुरा संचार माध्यमबाट सुनिएको थियो । त्यो बेलामा मैले नेपाली जनतालाई थाहा नभएको र नेपाली जनतासंग सलाह नै नगरीकन राजाले यस्तो कुरो गरे होलान् भन्ने कुरा कपोलकल्पित हुनसक्छ, अड्कलवाजी हुनसक्छ भन्ने प्रतिक्रिया दिएको थिएँ । यसका साथै यदि राजाले यो कुरा भनेका हुन् भने पनि राष्ट्रलाई सुम्पिने अधिकार कुनै राजालाई पनि छैन र पार्लियामेन्टलाई पनि छैन, कुनै अधिकारी र समूहलाई छैन । नेपाल नेपाली जनताको साझा स्वामित्व भएको राष्ट्र हो र सबै नेपाली यसका हकदार हुन् भनेको थिएँ । यस्तो अपुष्ट र हुँदै नभएको कुरालाई कोट्याएर दुई देशबीच रहेको राम्रो सम्बन्धलाई अप्ठ्यारोमा धकेल्ने काम कुनै विज्ञ वा राजनेताले गर्नु हुँदैन । यो कुरा असान्दर्भिक हो र उहाँ स्वयं यो कुरा अपुष्ट हो भन्नुहुन्छ । आफैंले अपुष्ट हो पनि भन्ने र आफैं विज्ञ भएको भनेर कोट्याउँदै पनि गएको देख्दा यसको पछाडि कुनै तथ्य भन्दा पनि एउटा मनोभावना वा एक किसिमको हेपाहा प्रवृत्तिले काम गरेको हो । नेपालका राजनीतिक दलका नेताहरुले जुन किसिमको संस्कार राखेर अपारदर्शी ढंगले आफ्नो या आफ्नो समूहको स्वार्थ सिद्ध गर्नका लागि चलखेल गरेका छन्् त्यसैको उपज हो जस्तो मलाई लाग्छ । ० यहाँले १२ वर्ष अघिको कुरा उठाउनुभयो । त्यतिबेला नेपालको सरकार, राजनीतिक दल तथा जनस्तरबाट कस्तो प्रतिक्रिया आएको थियो ? मल्कानीले त्यस्तो अभिव्यक्ति दिएको समाचार आएपछि मैले भारतका अधिकारीहरुलाई “यस्तो असान्दर्भिक कुरा कहाँबाट के प्रयोजनका लागि आयो” भन्ने प्रश्न गर्दा भारतीय अधिकारीले संचार माध्यमबाट “मल्कानीले भनेका कुरा अपुष्ट हो र यसको कुनै रहस्य छैन” भनेका थिए । त्यसबेला त्यस्तो कुरा एउटा राजनेताले के सन्दर्भमा, किन भन्यो त्यसलाई हामीले नोट गरेर विरोध जनाएका थियौं र त्यत्तिकै सेलाएको थियो । त्यही कुरा अहिले आएर एउटा विज्ञले भने । यो भन्ने परिस्थिति किन बन्यो र यही कुरा किन कोट्यायो भन्ने कुरा चाहिं सोच्ने विषय हो । ० तपाईले भने जस्तै एसडी मुनीले नेपालका राजनीतिक दलका नेताहरुको हैसियतको राम्रैसंग मूल्यांकन गरेर त्यस्तो कपोलकल्पित अभिव्यक्ति दिएका हुन त ? यसलाई कपोलकल्पित वा एक किसिमले कति लादिएको, कति कथित हो ? अनि यस्तो संस्कार हाम्रै आचरणले निम्त्याएको हो भन्ने अनेक अर्थ लाग्छ । तर जे भने पनि यसले नेपाललाई हेप्ने र नेपालीले जे पनि सहन्छन र जस्तो पनि व्यहोर्न तयार छन् भन्ने किसिमको भावना उजागर भएको हो । हामीले त्यसको प्रतिकार नगरेर आफ्नो राष्ट्रप्रतिको प्रतिबद्धता व्यापक रुपमा प्रकट नभएको अवस्थामा कता कता हामी आफूले आफैंलाई र एउटा समूहले अर्को समूहलाई कुण्ठित पारिरहेका छौं कि ? सम्पूर्ण राष्ट्र त्यसको भागी भएको छ कि भन्ने चिन्ता गर्नुपर्ने अवस्था छ । अरुको कुराको पछि लाग्ने होइन । मुनीको भनाइको पछाडि उनीहरुको आफ्नो राष्ट्रको स्वार्थ होला या आफ्नो राष्ट्रलाई अघि राखेर बोलिरहेका होलान् । यस्तो विषयमा खास गरी राजनेताहरु मौन बसेर मुलुक नै एक किसिमले कताकता पछाडि धकेलिएको अवस्था छ । ० तर नेपाल सरकारले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गर्न सकेको छैन । यसको के अर्थ हुनसक्छ ? एउटा विज्ञले भनेको कुरालाई सरकारले अगाडि सरेर केही बोल्नुपर्छ भन्ने होइन । जहाँसम्म राजा त्रिभुवनले भनेको भन्ने कुरा छ त्यतिबेला म दरबार हाइस्कूलमा ९ कक्षामा पढ्दै थिए । त्यतिबेला हाम्रो मनमा के परेको थियो भने जनताको चाहना अनुसार निरंकुश राणा शासन ढाल्न राजाले जनतालाई साथ दिए भन्ने थियो । त्रिभुवनप्रति त्यतिबेलादेखि कायम रहेको छवि धमिल्याउने किसिमको कुरा गरेर के सावित गर्न खोजेको हो ? मैले त बुझेको छैन । नेपाल २००७ सालको अवस्थामा छैन । यो राणाकालको नेपाल पनि होइन । अरुलाई भूभाग दिने अधिकार कसैलाई पनि छैन । यस्तो सम्वेदनशील कुरा गर्नेलाई समेत यस्तो कुरा नगर भन्न नसक्ने आचरण र व्यवहार हाम्रा जिम्मेवार व्यक्तिहरुको देखिएको छ । यो आचरण एक हदसम्म आप्mनो स्वार्थ पूरा गर्नका लागि साँठगाँठ गरेर चुपचाप बस्नुपर्ने नियतिकै शिकार भएको हो र नेपाल त्यस्तै अवस्थामा पुगेको हो त भन्ने चिन्ता जागृत हुन थालेको छ । ० राष्ट्रियताको कुरा गर्दा छिमेकी मुलुक भारतप्रति आक्रामक अभिव्यक्ति दिने एमाओवादी नेतृत्वको सरकार रहेका बेला भारतीय विद्वान एसडी मुनीले यी अभिव्यक्ति दिनुका पछाडि कुनै लाक्षणिक अर्थ पनि हुनसक्छ ? एसडी मुनी मात्रै किन भन्नुहुन्छ, विदेश सचिव भैसकेका वरिष्ठ कूटनीतिज्ञले नेपालमा भएका ठूलठूला गतिविधिमा हाम्रो अहम् भूमिका थियो, केवल भूमिकामात्रै होइन गतिविधि नै आफूले नै गराइदिएको जस्तो अभिव्यक्तिm दिए । चाहे नेपाली सेनाका विषयमा होस्, चाहे अन्य महत्वपूर्ण निकायहरुलाई लिएर होस् । यी सबको स्वामित्व आफूले पाउनुपर्छ भन्ने धृष्टता उनीहरुको होला । तर यसका बारेमा पनि कसैले कोही नबोल्दा त नेपाली जनतालाई त साँच्चै होला भनेर भ्रममा पर्ने अवस्था सिर्जना भयो नि । ० नेताहरु मञ्च पाउँदा त भारतीय हस्तक्षेपका बारेमा निकै कडा कुरा गर्ने गर्दछन् । अहिले यस्ता कुराहरु सार्वजनिक हुँदा उनीहरु केही बोल्दैनन् यसलाई कसरी बुझ्ने ? हाम्रा नेताहरु भारतलाई अरु स्पेस दिन चाहन्छन् भन्न सकिएला ? अब हेर्नुस्, कसैलाई लान्छित गर्ने वा आरोप लगाउने भन्दा पनि मुख्य कुरा आत्मालोचना वा गहिरिएर विषयलाई केलाउनुपर्ने बेला आइसकेको जस्तो मलाई लाग्छ । १९५० मा भारतको संसदमा नेहरुले हिमालय भारतको सीमा हो भन्दाखेरी नेपालमा त्यतिबेला यस्ता राजनीतिक नेता पनि देखापरे, जसले नेहरुलाई नै च्यालेन्ज गरे र नेहरुले संसदमा क्षमा माग्ने किसिमको अभिव्यक्ति दिए । यो पनि एउटा उदाहरण हो । यसपछि बीचबीचमा हामीले छिमेकीको सुरक्षादेखि लिएर विभिन्न प्रावधानहरुमा हामीले दह्रो अडान राखेर त्यसलाई हटाउने आँट पनि गर्न सक्यौं । अहिले त नेपाल झन् उन्नत छ, नेपालीहरु बोल्नसक्ने भएका छन्, विश्वभरि नेपाली छरिएर रहेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध बढिरहेको छ । यो अवस्थामा आएर कताकता नेपालको अस्तित्वमा नै प्रश्न चिन्ह लाग्ने यस प्रकारको अभिव्यक्ति किन आए ? यस्तो परिस्थिति किन सिर्जना भो भन्ने नेपालीले पनि बुझ्नुपर्या । यसमा हाम्रो भूमिका कति छ ? राष्ट्रिय स्वार्थ कति छ र अरुको व्यक्तिगत स्वार्थ कति छ त्यो पनि केलाउनुपर्छ । एउटा व्यक्तिले केही बोल्यो भन्दैमा सिंगो राष्ट्र हल्लिएर हिंड्नु त भएन नि । हामी ऐतिहासिककालदेखि स्वतन्त्र राष्ट्रका स्वाभीमानी जनता हौं । विशेष गरी राजनीतिक तहबाट राष्ट्रियताको बारेमा चर्को भाषण गरेर जनतालाई एउटा कुरा भन्ने र बाहिर गएर अर्कै आचरण देखाउने देखिएको छ । यसले गर्दा नेपाललाई एउटा कमजोर राष्ट्रको रुपमा देखाउनेहरु सक्रिय भए र अहिले जुन अभिव्यक्ति आएको छ त्यसको समेत प्रतिकार नगर्ने हो भने त आत्मसमर्पणकै भावनाको जन्म भएको मान्नुपर्ने हुन्छ । ० सरकार र राजनीतिक दलका नेताहरुले त्यो अभिव्यक्तिपछि के गर्नुपथ्र्यो यहाँका विचारमा ? जुन व्यक्तिले नेपालको स्वतन्त्रताविरोधी अभिव्यक्ति दिएको छ त्यही व्यक्तिलाई खोजीखोजी नेपालका शीर्षस्थ व्यक्तिहरुले भेटघाट गरेर समझदारी गर्दा नेपाली जनताले के सोच्ने ? मुलुकलाई अवहेलित गर्ने अभिव्यक्ति दिंदा पनि तिनै व्यक्तिलाई नेपालका ठूल्ठूला मान्छेले भेट्छन् भने नेपाली जनताले कसरी त्यसलाई स्वीकार गर्ने ? जुन सम्मान मुनीले पाएका छन्, उनलाई भारत सरकारले पनि पत्याएको हो, विज्ञ पनि हुन्, अध्ययनशील पनि छन् । त्यस्ता व्यक्तिलाई अपमान नै गर्नुपर्छ भन्ने होइन तर उनले कुन उद्देश्यले यो बेलामा आएर त्यस्तो अभिव्यक्ति दिए ? साथसाथै पर्दा पछाडि काम गर्ने व्यक्तिदेखि लिएर सरकारी उच्च ओहदामा भएको व्यक्तिहरुले पनि त्यस्तै भनिरहेका छन् । विगतमा पनि नेपालको आन्तरिक मामिलामा हामीले यसो गरेको हो भन्ने धृष्टता देखाउँदा पनि अधिकारमा बसेका व्यक्तिहरुले यो होइन भन्न सक्ने अवस्था समेत नरहेको देख्दा हामी कति लाचार रहेछौं भन्ने अवस्थाको उजागर हुन्छ । त्यसैले यो बेला ऐना हेर्ने बेला हो । अरुलाई गाली गरेर मात्र हुँदैन । सबै बसेर यस विषयमा गम्भीर विश्लेषण गर्नुपर्छ । ० त्यसो भए हाम्रो राष्ट्रियता दिन प्रतिदिन कमजोर रहेछ भन्ने पुष्टि यो घटनाले गरिदियो हैन ? त्यस्तो तर्क पनि नगरौं, नेपाली जनता स्वाभीमानी छन् । अहिलेको समस्या भनेको नेपाली जनताको भावनालाई सम्मान गर्ने खालको चरित्र बौद्धिक र राजनीतिक नेतृत्व गर्ने वर्गमा नभएको जस्तो देखिएको मात्र हो । नेपाली जनताको राष्ट्रियताप्रतिको भावना कसैगरी पनि कमजोर छैन । ० त्यसो हुँदा त यतिबेला मुलुकमा परराष्ट्र नीति नै छैन भन्दा हुने भो हैन ? मैले बेला बेलामा भन्ने गरेको छु कि नेपालको परराष्ट्र नीति छैन । विदेशीले जे भन्छ त्यही हाम्रो विदेश नीति हुने गरेको छ । नेपालको विदेशन नीतिमा छाडापन आएको छ । जसले जे पनि गर्न हुने, गाउँगाउँमा गएर कूटनीतिक व्यक्तिले पैसा बाँड्न पनि हुने, विभिन्न किसिमका संरचना र संगठनहरु खडा गरेर पनि हिंड्ने । उनीहरुलाई जे गर्न पनि छुट दिइएको छ । यो अत्यन्त गैरजिम्मेवारपन हो । नेपालको विदेश नीतिमा देखिएको छाडापनको फाइदा विदेशीले उठाइरहेका छन् । यो सब नेपाल अवहेलित र असफल राष्ट्र बन्ने क्रमको द्योतक हो । ० यहाँले बडो गम्भीर कुरा उठाउनुभयो । यसबाट मुक्ति सम्भव छैन त ? मुलुकलाई यस्तो अवस्थाबाट पार लगाउनका लागि राजनीतिक तहले जिम्मेवारपूर्ण व्यवहार गर्नुपर्छ । अहिले राजनीतिक दलहरुको भूमिका नै महत्वपूर्ण हुन्छ । त्यसैले राजनीतिक दलहरुले आफूले गरेका काम–कुराहरुलाई केलाएर कहाँ के गल्ती भो भनेर त्यसलाई सच्याउने र नयाँ बाटोबाट स्वाभीमानी नयाँ नेपाल बनाउने प्रक्रिया सुरु गर्नुपर्छ । यतिबेला अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि कहाँ छ भन्ने पनि ख्याल गर्ने बेला आइसक्यो । राजनीतिक रुपमा जनता प्रत्यक्ष सहभागी नभएको बेलामा हामी संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा निर्वाचत भयौं भने जनताको शासन आएपछि हामी सो पदमा पराजित भयौं । हाम्रो कूटनीतिक क्षमताको मूल्यांकन यही घटनाबाट गर्न सकिन्छ । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||