| युगसम्बाद साप्ताहिक | ||||
|
अरू दलको अस्तित्व समाप्त गर्छु भन्ने मोर्चालाई हामीले बहिष्कार गरेका हौं - भीम रावल, नेकपा एमाले Monday, 08.27.2012, 04:47pm (GMT5.5) ० शनिबार भएको कांग्रेस र एमालेको बैठकले सत्ता गठबन्धनको मोर्चासंग कुनै सम्बन्ध नराख्ने निर्णय ग¥यो । के तपाईंहरूलाई मोर्चाले तर्साएको हो ? हामी मोर्चासंग डराएका होइनौं । हामीले शनिबार सत्तारुढ दलहरूको गठबन्धनको बारेमा छलफल र विश्लेषण ग¥यौं । यो गठबन्धनको घोषणामा अन्य राजनीतिक दलहरूको भण्डाफोर गर्ने, उनीहरूलाई जनताबाट विस्थापित गर्ने भनेर लेखिएको छ । त्यसको साथै गठबन्धनका शीर्ष नेताका तर्फबाट अब सडकबाटै हामी फैसला गर्छौ, हामी आन्दोलन गर्छौं भनेर सरकारमा बस्नेहरूले अत्यन्त गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिनुभएको छ । त्यसकारण यो गठबन्धन राजनीतिक सहमतिका लागि र देशलाई निकास दिनका लागि नभएर द्वन्द्वको अर्को कुचक्र सुरु गर्ने र मुठभेडको स्थिति निम्त्याउने आसयबाट प्रेरित छ । यसो भएको हुनाले गठबन्धनको कुनै औचित्य छैन र यसका सम्पूर्ण क्रियाकलापहरू अस्वीकारयोग्य छन् भन्ने निष्कर्ष हामीहरूको हो । ० मोर्चालाई अस्वीकार गर्नेसंगै बैठक, छलफल केही पनि नगर्ने ? हैन, मोर्चाका सबै क्रियाकलाप निरर्थक छन् र यो स्वयं मुठभेड निम्त्याउनका लागि अगाडि आएको छ भनिसकेपछि यसले आयोजना गर्ने, यसले भन्ने कुनै कुरा मान्ने सवालै आएन । तर यसको अर्थ अन्य राजनीतिक दलहरूसंग द्विपक्षीय, बहुपक्षीय छलफल गर्दैनौं भनेका होइनौं । यसको मतलब हामी यो गठबन्धन र गठबन्धनको घोषणामा टेकेर आयोजना गरिने वार्ताको औचित्य छैन भनेका हौं । ० त्यसो भए एमाओवादी अध्यक्ष प्रचण्डले बोलाएको बैठकमा जाने तर मोर्चाका संयोजकको हैसियतले बोलाएको बैठकमा चाहिं नजाने ? गठबन्धनको झण्डा, नीति र आसय बोकेको कुनै पनि कार्यक्रममा हामी जान्नौं र त्यसले ल्याएको कुरालाई हामी मान्दा पनि मान्दैनौं । तर त्यो गठबन्धनको झण्डा, नीति र घोषणाभन्दा बाहिर राजनीतिक दलहरूका आआफ्ना स्वतन्त्र अस्तित्व छन् । एमाओवादीको पनि छ, मधेशी मोर्चामा आबद्धहरूको पनि छ । त्यसकारण पार्टीको हैसियतले गरिने वार्ता, छलफलमा हामी सहभागी हुने छौं र विगतमा पनि वार्ता भएकै हो । दलीय आधारमा हुने बैठकलाई हामीले कहिल्यै पनि विरोध गरेका छैनौं । ० तपाईंहरूसंग मोर्चा गठन गर्ने दलहरू कम छन् भनेर डराउनुभएको त हैन ? डराउने त कुरै भएन नि । मैले अघि नै भनिसके कि गठबन्धनले गरेको घोषणा, त्यसको उद्देश्य र लक्ष्य देशलाई मुठभेडतर्फ लैजाने, देशको स्वतन्त्रता, स्वाधीनतालाई कमजोर पार्ने, साम्प्रदायिकता चर्काउने र संघीयता र गणतन्त्रका पक्षधर आफू मात्रै हो भनेर अरुलाई त्यसको विरोधी देखाउने कुचेष्टा भएको हुँदा हामीले त्यसलाई अस्वीकार गरेका हौं । राजनीतिक दलको संख्याको कुरा गर्नुुहुन्छ भने हामीसंग यो गठबन्धन र सत्ताधारीलाई अस्वीकार गर्ने राजनीतिक दलको संख्या धेरै छ । त्यसकारण यो डरको कुरा नभएर नीतिगत विषय हो, लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, सामाजिक सद्भाव र शान्तिको पक्षमा लिनुपर्ने अडानको कुरा हो । ० प्रचण्डले त तपाईंहरूलाई पनि मोर्चाबन्दी गरेर आउन आव्हान गर्दै दुई मोर्चाबीच मात्र छलफल हुँदा निकास निकाल्न सजिलो हुन्छ भन्नुभएको छ नि ? यदि त्यस्तो हुन्थ्यो भने तत्कालीन माओवादीले १२ बुँदे सहमति किन गर्नुपथ्र्यो ? उसले त सिंहदरबार कब्जा गर्छु भनेर भनेको थियो हिंसात्मक द्वन्द्वको बेलामा । तर उसले अरु राजनीतिक दलहरूसंग सहमति गर्न किन आउनुप¥यो ? यसबाट के देखिन्छ भने राजनीतिक दलहरूलाई गुटमा ध्रुवीकृत गरेर एकले अर्काप्रति पाखुरा देखाएर समस्याको समाधान हुँदो रहेनछ भन्ने कुरा त इतिहासबाट प्रमाणित भैसक्यो । त्यो थाहा पाउँदा पाउँदै अरु पार्टीको अस्तित्वलाई समाप्त गर्छौ, उनीहरूको भण्डाफोर गर्छौं र सडकबाट फैसला गर्छौं भन्नुको अर्थ सुनियोजित ढंगले देशलाई अर्को द्वन्द्वको कुचक्रमा फसाएर आफ्नो कुत्सित उद्देश्य पूरा गर्ने र सत्तामा टाँस्सिइरहने आसय देखेको हुनाले त्यस्तो स्थितिबाट देशलाई बचाउन हामीले नीतिगत र राजनीतिक रुपमा ती कुराहरू मान्नु हुँदैन भन्ने निष्कर्ष निकालेका हौं । ० तैपनि प्रचण्डले तपाईंहरूको अस्तित्वमाथि नै धावा बोलेकाले बढी चिढिनुभएको त हैन ? राजनीतिक अडानका कुराहरू र राष्ट्रलाई जोगाउने, जनतालाई शान्तिको बाटोमा लैजाने कुराहरू कसैको डरका कुरा पनि होइनन् र कसैसंग तर्सिएको कुरा पनि होइन । ती आफ्ना आदर्श र नीतिका कुराहरू हुन् । यदि आफ्ना नीति र आदर्शको कुरा गर्दा कसैसंग डरको अर्थ लाग्छ भने त्यसो भए विपरीत ध्रुवका दलहरूबीच कसरी गठबन्धन भयो त । तराई क्षेत्रका ठूलठूला जमिन्दार र सामन्तहरूको प्रतिनिधित्व गर्ने पार्टी र आफूलाई सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने भन्ने एमाओवादी पार्टी कसको डरले एक ठाउँमा बसेका त ? अनि कसको डरले अब हामी अरुको बिरुद्ध भण्डाफोर गर्छौ भनेर घोषणा गर्न पुगेका त ? यो उनीहरूको दृष्टिकोणको कुरा हो । त्यसैले हामीले कसैको डरका कारणले नभएर देशको पक्षमा, लोकतन्त्रको पक्षमा र हामीले जुन शान्तिको सुरुवात ग¥यौं त्यसमा अवरोध सिर्जना गरेपछि त्यो अवरोधलाई हामी अस्वीकार गर्छौं भन्ने हाम्रा राजनीतिक दृष्टिकोण हुन । ० तपाईंहरू गठबन्धन निर्माण गर्ने र सत्तारुढ दलको गठबन्धनसंग वार्तामा जाने पक्षमा हुनुहुन्न ? जसले हामी सडकबाट निर्णय र्छौं, अरुको भण्डाफोर गर्छौं भनेर घोषणा जारी गर्छ त्यस्तो मोर्चासंग वार्ता गरेर हामीले के उपलब्धि हाँसिल गर्ने ? अब हामीले पनि त्यस्तो मोर्चा बनाएर उहाँहरूले भनेजस्तै मुठभेड चर्काउँछौं भन्ने दुराषयलाई पूरा गर्न जानु हुँदैन । यदि त्यसै गर्ने हो भने हामीले पनि उहाँहरूले जस्तै सत्ताको लागि मुलुकलाई भड्खालोमा हाल्न तयार भएको भन्ने अर्थ लाग्छ । जुन कुरा देशप्रति जिम्मेवार राजनीतिक दलले गर्न मिल्दैन । त्यसकारण यो कसैको डर, त्रास भन्ने नभएर हामीले धेरै अगाडिदेखि अपनाउँदै आएको राजनीतिक दृष्टिकोण, सिद्धान्त र नीतिमा आधारित छ । ० त्यसो भए भदौ १९ गते सर्वपक्षीय अन्तरक्रियामा तपाईंहरू सहभागी हुनुहुन्न ? मोर्चाले लिएको नीति, सिद्धान्त र व्यहारका कारण मैले अघि उल्लेख गरेका देश र जनताप्रतिको जिम्मेवारीका कारण त्यस्ता निरर्थक अभ्यासमा सामेल हुनुहुन्न भन्ने कुरा स्वतः मार्गनिर्देशन गर्छ । ० यसरी छलफल, अन्तरक्रिया मै नबस्ने हो भने त कसरी अघि बढ्न सकिएला र ? जहाँ, जुन नाममा भए पनि वार्तामा बस्ने त प्रचण्ड, विजय कुमार गच्छेदारसंगै हो नि हैन ? वार्ता गर्ने उहाँहरूसंगै हो तर वार्ता गर्ने व्यक्तिहरू कुन व्यानरमा कुन नीति, कार्यक्रम र घोषणा लिएर वार्तामा आउँछन् भन्ने महत्वपूर्ण हुन्छ । एनेकपा माओवादीका अध्यक्षले जुन गठबन्धनको घोषणा गर्नुभएको छ एमाओवादीको अन्तिम लक्ष्य यही हो र बटम लाइन पनि यही हो भनेर आउनुभयो भने उहाँसंग पनि वार्ता नहुनसक्छ । तर राजनीतिक दलका आफ्ना नीति तथा कार्यक्रम त्यो गठबन्धनकै जस्तो हुन्छ भन्ने होइन । त्यसकारण वार्ता भनेको नीति, सिद्धान्त, सोच र दृष्टिकोणको आधारमा गर्ने हो । नेता कसरी आउँछन् त्यो आधारमा वार्ता गर्ने हो । ० त्यसो भए तपाईंहरूले वार्ता कोसंग गर्ने त ? सरकारलाई त वहिष्कार गर्नुभएकै छ अब प्रचण्डलाई पनि वहिष्कार गर्ने त हैन ? हैन, हामीले राजनीतिक दलहरूसंग वार्ता नगर्ने भनेका छैनौं । मोर्चाले अरुलाई समाप्त गर्ने भनेर जुन घोषणा भएको छ त्यो घोषणालाई र त्यो घोषणा गर्ने गठबन्धनलाई हामीले अस्वीकार गरेका हौं । यहाँ के कुरा प्रष्ट हुनु जरुरी छ भने, हामीहरूले तपाईंहरूलाई समाप्त गर्ने कुरा गरेका छौं, त्यो वार्तामा आउनुस् भन्छन् भने त्यहाँ जाने कुरा त हाँस्यास्पद नै हुन्छ नि । अर्को जहाँसम्म सरकारको कुरा छ, सरकार आफैं निर्वाचनको घोषणा गर्ने तर त्यस सम्बन्धी केही नीति पनि छैन, प्रधानमन्त्रीले ४५ दिनभित्र शान्ति प्रक्रिया पूरा नभए औचित्य समाप्त हुन्छ भन्ने, यो पनि छैन, ७ बुँदेदेखि ५ बुँदेसम्म सहमति गर्ने त्यो पनि पूरा गर्नु छैन । अहिले त निर्वाचनको मिति घोषणा गरेकोमा त्यो मिति पनि खत्तम भैसक्यो । अनि कुनै नैतिकता, कानुनी शासन र लोकतन्त्रका मान्यता ग्रहण नगर्ने सरकारसंग वार्ता गरेर के निस्किन्छ र ? अर्को कुरा राष्ट्रपतिजीले पनि वर्तमान सरकार कामचलाउ भैसक्यो भनिसक्नुभो । यस अर्थमा यो सरकारलाई पठाउने राजनीतिक दलहरूसंग सहमति खोजेर निष्कर्ष निकालौं भनेर हामीहरू लागिपरेका हौं । हाम्रो कुरा त्यस्तै सहमति खोज्ने र औचित्यका आधारमा लोकतन्त्रको मूल्य मान्यतामा अडेर राष्ट्रको स्वतन्त्रता र स्वाभिमानलाई जोगाएर निष्कर्ष निकाल्ने मान्यताको आधारमा अगाडि जानुपर्छ भन्ने हो । ० तपाईंको कुरा सुन्दा त दूरी बढाउँदै जाने देखियो । यसले त तपाईंहरू पनि मुठभेडमा जान लागेको जस्तो देखिंदैन र ? जुन पार्टी सरकारमा रहेर अरुसंग भीडन्त गर्ने घोषणा जारी गर्छ, जसले कसैसंग सहमति नगरी संविधानमा हुँदै नभएको संविधानसभाको अर्को निर्वाचनको घोषणा गर्छ, जसले देशका राष्ट्रिय सम्पदा रातारात अरुलाई जिम्मा लगाउने प्रयास गर्छ भने मुठभेड उनीहरूले निम्त्याए कि हामी सहमतिबाट जाऔं, संविधान र लोकतान्त्रिक मान्यताबाट जाऔं भन्नेहरूले मुठभेड निम्त्याउन खोजेको हो सबैले राम्ररी हेर्नुपर्छ । ० त्यसो भए तपाईंले भनेजस्तै निकासको ठोस प्रस्तावसहित कहिले वार्तामा जानुहुन्छ त ? हामीले यसभन्दा अगाडि प्रस्तावसहित वार्तामा बोलायौं, त्यो वार्तामा उहाँहरू आधा घण्टाभन्दा बढी बस्नुभएन । हामीले माओवादी पार्टीको तर्फबाट या कुनै पनि सत्ताधारी दलका तर्फबाट छलफल गरौं भन्दा हामी छलफल गर्दैनौं भनेर कहिल्यै भनेका छैनौं । हामीले केवल यो सरकार कामचलाउ हो र कामचलाउ सरकारसंग वार्ता गरेर कुनै निष्कर्ष निस्कदैन भन्ने हो र जुन यथार्थ पनि त हो नि । त्यसैले यो सरकारलाई नियन्त्रण गर्ने राजनीतिक दलहरूले बोलाएको छलफलमा हामी गएका छौं । आइतबार मात्र पनि तीन दलको बैठक बस्यो । निकासको बाटो सरकारले हैन सरकार चलाउने दलहरूले खोज्ने हुँदा सरकारसंग वार्ता गर्नुको कुनै अर्थ छैन । सरकार चलाउने दलहरूले एउटा नीति बनाएर गर्नुपर्ने काम एउटा मन्त्रीले गर्न त सक्दैन । त्यसैले सरकारसंग भएको सहमति कार्यान्वयन हुने सवाल नै नभएकाले ऊसंग वार्ता गर्नुको कुनै अर्थ छैन भनेका हौं । ० वार्ताको कुरा चलिरहे पनि ठोस निष्कर्ष सहितको वार्ता हुन सकेको छैन । एमाओवादी सरकार टिकाइरहने खेलमा देखिन्छ भने तपाईंहरू सरकार परिवर्तनको अडानमा हुनुहुन्छ । यसका लागि राष्ट्रपतिलाई अगाडि सारिएको देखिन्छ । यस्तो स्थिति कहिलेसम्म जारी रहन्छ त ? यो सरकारले आफू अध्यादेशबाट अगाडि जाने र सत्तामा टिकिरहने कुरा गरिराखेको हुनाले उसले अरूलाई राष्ट्रपतिलाई उक्साएर अघि बढ्न खोज्यो भन्ने त्रसित धारणा प्रवाह गरिरहेको छ । हामीले के भनेका छौं भने– अन्तरिम संविधानको धारा ४३ अनुसारको ऐतिहासिक जनआन्दोलनको भावना, सहकार्य र सहमतिको संस्कृति, धारा ३८ (१) मा सहमतिको सरकार गठन, अप्ठ्यारो परेको बेलामा बाधा अड्काउ फुकाउने धारा १५८ र विगतमा भएको सहमतिहरूको सन्तुलन खोजेर अब देशलाई निकास दिऊ, गठबन्धन बनाएर मुठभेड, द्वन्द्व बढाउने र अरुलाई सडकबाटै खत्तम पारिदिन्छौं भन्ने धारणाको विरोध गरेका हौं । सरकारमा बसेर राज्य यन्त्र हातमा लिएको व्यक्तिबाट आएका अरुलाई सिध्याउँछु, ५० हजार मान्छे मर्न सक्छन् भन्ने जस्ता घोर आपत्तिजनक अभिव्यक्ति गलत हुन् भन्ने हाम्रो मान्यता हो । हामीले राष्ट्रपतिलाईसंविधान, विगतमा भएका सहमतिहरू र लोकतान्त्रिक मान्यता अनुरुप सरकारले संविधान मिचेर गरेका क्रियाकलापलाई मान्नु हुँदैन मात्रै भनेका छौं । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||