| युगसम्बाद साप्ताहिक | ||||
|
परीक्षालाई अझ व्यवस्थित बनाउन बारकोड सिस्टम लागु गर्दैछौ - दुर्गाप्रसाद अर्याल, परीक्षा नियन्त Monday, 09.24.2012, 04:23pm (GMT5.5) ० यस वर्षको कक्षा १२ को नतिजा अघिल्लो वर्षको तुलनामा कस्तो रह्यो ? यो वर्ष हामीले निकै नै छिटो परीक्षाको नतिजा प्रकाशन गर्न सफल भएका छांै । यो वर्ष विज्ञान विषय समूहतर्फको परीक्षा नतिजा श्रावण ७ गते र अन्य विषय समूहको भाद्र १७ गते प्रकाशित भयो । प्रकाशित नतिजा अनुसार विज्ञानतर्फ उत्तीर्ण प्रतिशत ७२.३१ र अन्य विषय समूहतर्फ उत्तीर्ण प्रतिशत ३८.०० रहेको छ । २०६७ सालमा कक्षा १२ को नतिजा विज्ञान विषय समूहको श्रावण २३ गते र अन्य विषय समूहको भाद्र ३१ गते प्रकाशित भएको थियो र उत्तीर्ण प्रतिशत क्रमशः ७३.७२ र ४१ थियो । यसै गरी २०६८ सालमा विज्ञान विषय समूहको श्रावण १९ गते अन्य विषय समूहको भाद्र २८ गते प्रकाशित भएको थियो भने उत्तीर्ण प्रतिशत क्रमशः ७०.४५ र ४५.५६ रहेको थियो । हामीकहाँ वर्षैपिच्छे विद्यार्थी संख्या बृद्धि हुँदै गैरहेको छ । तर, त्यस अनुरूप पूर्वाधार, संरचना र जनशक्ति थप गर्न सकिएको छैन । यस्तो अवस्थामा पनि विगत वर्षहरूको तुलनामा यस वर्ष छिटो नतिजा प्रकाशन भएको छ । यसलाई सकारात्मक रूपमा लिनुपर्ने हुन्छ । ० अघिल्ला वर्षहरूको तुलनामा नतिजा अलि कम भएको जस्तो देखिन्छ । यसको कारण के होला ? यस विषयमा हामीले अनुसन्धान शुरू गरिरहेका छौँ । नतिजा राम्रो हुनुमा पाठ्यक्रम, शिक्षक, अभिभावक विद्यार्थी र परीक्षा प्रणाली सबै पक्षलाई विचार गर्नुपर्छ । परिषद्ले अहिले प्रयोगमा ल्याएको पाठ्यक्रम स्तरीय छ । तर, उच्च माध्यमिक विद्यालयहरूमा तहमा अध्यापन गर्ने शिक्षकको स्थायित्व छैन । ९ लाख विद्यार्थी रहेको उच्च माध्यमिक तहमा एकजना पनि परिषद्को आफ्नै स्थायी शिक्षक नहुनु दुःखको कुरा हो । सबै उ।मा।वि।हरूमा योग्यता प्राप्त शिक्षकको व्यवस्था गर्न सकियो भने पढाइको स्तर राम्रो हुन्छ । यसबाट नतिजा पनि सन्तोषजनक रहन्छ । तर पनि हामी निरास हुने अवस्था भने देखिदैन । किनभने विज्ञान विषय समूहको नतिजा विगत वर्षको भन्दा क्रमशः बृद्धि हुँदै गैरहेको छ । व्यवस्थापन विषय समूहको पनि घटेको देखिदैन । मानविकी र शिक्षा विषयसमूहको नतिजा क्रमशः कम हुँदै गैरहेको छ । तुलनात्मक रूपमा हेर्दा अन्य विषय समूहमा भन्दा शिक्षा विषय समूहमा विद्यार्थी संख्या अधिक रहेको छ । देशका अधिकांश ग्रामीण क्षेत्रमा सञ्चालित उ।मा।वि।हरूमा शिक्षा विषय समूह चलेको पाइन्छ र त्यहाँ पढ्नेमा एस।एल।सी। को पूरक परीक्षाबाट उत्तीर्ण हुने विद्यार्थीहरू नै अधिक रहेको पाइन्छ । कमजोर शैक्षिक पृष्ठभूमि, अपर्याप्त शैक्षिक र भौतिक पूर्वाधार, योग्यता प्राप्त शिक्षकको अभाव लगायतका कारणबाट ग्रामीण क्षेत्रको नतिजा क्रमशः खस्कदै गैरहेको र अधिकांश विद्यार्थीहरू त्यही क्षेत्रमा रहने हुँदा यसले समग्र उत्तीर्ण प्रतिशतलाई असर पारेको देखिन्छ । यस विषयमा राज्यले समयमा नै सोच्नुपर्ने अवस्था रहेको छ । ० तुलनात्मक रूपमा कुन संकायको नतिजा राम्रो छ किन होला ? तुलनात्मक रूपमा हेर्दा विज्ञान विषय समूहको सबैभन्दा राम्रो र त्यसपछि व्यवस्थापन विषय समूहको रहेको छ । ० यसको कारण के होला ? त्यसो हुनुमा एसएलसीमा राम्रो प्रतिशतमा उत्तीर्ण हुने विद्यार्थीहरू कक्षा ११ मा विज्ञान विषय समूहमा भर्ना हुन्छन र त्यसपछि व्यवस्थापन समूहमा । देशको राजधानी लगायतका शहरी क्षेत्रका अधिकांश निजी विद्यालयहरूमा यी विषय समूहहरू पढाइ हुन्छन् र त्यहाँ गुणस्तरीय शिक्षा दिनका लागि प्रतिस्पर्धा रहेको पाइन्छ । प्रयोगशाला लगायतका पर्याप्त भौतिक पूर्वाधार, योग्यताप्राप्त शिक्षक, नियमित पठनपाठन, शैक्षिक वातावरण लगायतका कुराहरूले गर्दा ती विषय समूहको नतिजा प्रतिशत राम्रो रहेको छ । यसैगरी सामूदायिक विद्यालयहरूमा पनि उचित शैक्षिक वातावरण कायम गर्न सकियो भने समग्र शैक्षिक स्थितिमा सुधार हुन सक्दछ । ० निजी विद्यालयको नतिजा राम्रो कि सामूदायिक विद्यालयको ? सवै निजी विद्यालय तथा सवै सामुदायिक विद्यालयहरूलाई एउटै तराजुमा राखेर हेर्न मिल्दैन । केही सामुदायिक विद्यालयहरूमा निजी विद्यालयको भन्दा राम्रो पठन पाठन र नतिजा प्रतिशत पनि सोही अनुसार रहेको पाइन्छ । निजी विद्यालयहरू देशका शहरी क्षेत्रमा बढी केन्द्रित रहेका छन । त्यँहा गुणस्तरको लागि प्रतिस्पर्धा रहेको हुँदा सामूदायिक विद्यालयको तुलनामा निजी विद्यालयहरूको नतिजा प्रतिशत राम्रो देखिएको छ । ० विद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्रित भएर मात्र पढाउने गरेका छन् । यसले विद्यार्थीको क्षमता बढ्न सकेको छैन । यसमा सुधार गर्न उमाशिपले केही गर्दैछ कि ? यथार्थमा भन्नुपर्दा विद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्रित भएर मात्र पढाउने गरेका छन् । यसले विद्यार्थीको क्षमता बढ्न सकेको छैन भन्ने कुरामा सहमत हुन सकिदैन । तर, पनि कुन कुन विद्यालयमा पढेका विद्यार्थीहरू कुन कुन क्षेत्रमा गएर के के भएका छन्– त्यो सवै कुराहरू जान्नका लागि लामो समय लाग्दछ । त्यसकारण कुन कुन विद्यालयहरू राम्रा त भनेर तत्काल थाहा पाउने सजिलो माध्यमका रूपमा विद्यालयको विगतका वर्षहरूको उत्तीर्ण प्रतिशतलाई लिने गरेको पाइन्छ । यसले गर्दा विद्यालयहरू कसरी आफ्नो विद्यालयको नतिजा राम्रो गराउन सकिन्छ भन्ने सोच अनुरूप पठन पाठन गराएका हुन सक्दछन् । मलाइ लाग्दछ राम्रो पढाई अनुसार विद्यार्थीहरूको क्षमता पनि बृद्धि हुँदै गैरहेको छ । यसमा कसरी आफ्नै खुट्टामा उभिनसक्ने, अर्काको मुख नताक्ने र सिर्जनशील जनशक्ति उत्पादन गर्ने भन्ने कुरामा हाम्रो ध्यान जानु आवश्यक छ । सोहीअनुसार हाम्रो शैक्षिक प्रणाली र हाम्रो परीक्षा प्रणालीलाई पनि विकसित र परिस्कृत गर्दै लैजानुपर्दछ । ० विद्यालय र विद्यार्थीको संख्या बढ्दै जाँदा लोकप्रिय भनिएको प्लस टु शिक्षा प्रमाणपत्र तहको जस्तै खस्कँदै जाने त हैन ? उच्च माध्यमिक शिक्षा परिषद्ले अनुमति दिएको प्लस टु कार्यक्रमको आफ्नै महत्व छ । परिषद्ले विज्ञान, व्यवस्थापन, मानविकी एवं शिक्षा अन्तर्गतका १ सय ३७ वटा विषयको परीक्षा लिएको छ । समयमै परीक्षाको नतिजा प्रकाशन गरेका छौं । त्यही कारणले प्लस टु एजुकेसनको लोकप्रियता बढेको हो । यसको स्तरलाई खस्किन नदिन परिषद् प्रतिबद्ध छ । ० परीक्षा प्रणालीमा केही सुधार हुँदैछ कि ? देश विकासको मुख्य आधार शिक्षा हो । त्यसैले शिक्षा प्रणाली जनमुखी, वैज्ञानिक र विश्व समूदायमा प्रतिष्पर्धा गर्न सक्ने हुनुपर्दछ । यसका लागि पाठ्यक्रम, शिक्षक र विद्यार्थीको त्रिकोणात्मक समन्वयबाट अगाडि बढ्नुपर्दछ । परीक्षा प्रणाली पनि सोही अनुसार समय सापेक्ष सुधार गर्दै जानु पर्दछ । अहिले भैरहेको परीक्षालाई अझ बढी मर्यादित, व्यवस्थित, अनुशासित र विश्वसनीय बनाउन विभिन्न प्रयासहरू भैरहेका छन् । यसका लागि स्तरीय प्रश्नपत्र, मर्यादित परीक्षा, परीक्षण केन्द्र खडा गरी अभिमुखिकरण पाएका विषयगत परीक्षकबाट उत्तरपुस्तिका परीक्षण र विज्ञहरूबाट संपरीक्षण र पछिल्ला विकसित प्रविधिको प्रयोग गरी नतिजा प्रकाशन सम्बन्धी काम कारवाहीहरू सञ्चालन संचालन गर्नु पर्ने हुन्छ । ० त्यसका लागि के कस्तो तयारी छ त ? यसमा उत्तरपुस्तिका परीक्षण, संपरीक्षणमा अनियमितता हुन नदिई शुद्धता र विश्वसनीयताका लागि विद्यार्थीलाई उपलब्ध गराइने उत्तरपुस्तिकामा बारकोड प्रणाली र अन्य विवरणको शुद्धताका लागि ओएमआर प्रणाली शुरू गर्न गैरहेका छौँ । यसबाट परीक्षामा कुनै पनि किसिमको अनियमितता हुने गुञ्जायस रहँदैन भने विद्यार्थीको कक्षा ११ मा रजिष्ट्रेशन आवेदन फारम भर्दाको फोटो र हस्ताक्षर स्क्यान गरी परीक्षा केन्द्रमा परीक्षार्थीहरूको हाजिरी विवरण र परीक्षाको प्रवेशपत्र पठाउने हुँदा नक्कली परीक्षार्थीबाट परीक्षा दिन लगाउने अवस्थाको पूर्णतः अन्त्य हुन्छ साथै विद्यार्थीहरूलाई उपलब्ध गराइने शैक्षिक योग्यताका प्रमाणपत्रहरूमा समेत उक्त स्क्यान गरिएको फोटो रहने हुँदा नक्कली प्रमाणपत्र बनाउने धन्दा पनि निरूत्साहित हुन्छ । ० उत्तर पुस्तिका परीक्षणमा अनियमितता हुने गरेका थुप्रै आरोप छन् नि ? म आएपछि गत सालको एउटा परीक्षा सम्पन्न भयो । परीक्षाका कुनै पनि काममा अनियमिता हुन नदिन मैले हरदम प्रयत्न गरेको छु । यस विषयमा अहिले जुन सिस्टमको अध्ययन गरिरहेका छौं त्यसलाई लागू गर्न सकियो भने अनियमितताको सिकायत गर्ने अवस्था नै रहँदैन । उत्तरपुस्तिका परीक्षणमा अनियमितता हुन नदिन उत्तरपुस्तिका परीक्षणका लागि घरघरमा पठाउने कार्य रोकी परीक्षण केन्द्र सञ्चालन गरी ती केन्द्रमा सम्बन्धित विषयको अभिमुखिकरण पाएका विषयगत परीक्षकहरूबाट सबै उत्तरपुस्तिका परीक्षण गर्ने काम भएको छ । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||