युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 12.18.2018, 11:12pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
कृति समीक्षा
 
इतिहास नेपालमा नारी जागरण अवस्था - रमेश गौतम
Monday, 02.04.2013, 06:30pm (GMT+5.5)

शान्ति, अग्रगमन र प्रजातन्त्रका लागि समर्पित श्री पुष्पप्रसाद लुइटेलले नेपालका समसामयिक राजनीतिबारे आफ्नो कलम चलाउँदै आउनुभएको छ । लुइटेलजीले नेपालका विभिन्न कालखण्डमा घटेका महत्वपूर्ण घटनाहरूलाई आफ्ना पुस्तको आकारमा प्रस्तुत गर्नुभएको छ । उहाँका पुस्तकले वर्तमान नागरिक समाजमा हल्लिखल्ली मचाइरहेको छ । उहाँले लेख्नुभएका पुस्तकहरूमध्ये “इतिहास नेपालमा नारी जागरण अवस्था” बारेको यो तेस्रो पुस्तक आफ्नो धर्मपत्नी शान्तादेवी लुईटेलमा समर्पित गर्नुभएको छ । शान्ति एउटा जागृता नारीको रुपमा क्रियाशील हुनुहुन्थ्यो । समाजमा एउटा सरल स्वाभावकी मिलानसार र सहयोगी पनि हुनुहुन्थ्यो । त्यसैले गर्दा वानेश्वर जस्तो शिक्षित समुदायबाट निर्वाचित महिला उपप्रधान पञ्च भएर नारी उत्थानमा ठूलो योगदान पुर्याउनु भएको थियो । यसका साथै महिला संघ, मातृशिशु कल्याण केन्द्र लगायत धेरै ठाउमा सेवा गर्दै आउनुभएको थियो । 

स्व शान्ता लुइटेलले समाजिक क्षेत्रमा पुर्याउनु भएको योगदान धेरै छन् । धर्म संस्कृतिप्रति पनि गहिरो झुकाव थियो । यसका लागि धेरै संघ संस्था मार्फत सहयोग पुर्याउनु भयो । अग्रज नारी जागरणकी अभियन्ताका रुपमा शान्ती लुइटेल हुनुहुन्थ्यो । गत वर्ष आफन्तलाई भेटन अमेरिका जानुहुँदा त्यही विरामी परी स्वास्थ उपचारका क्रममा दिवंगत हुनुभयो । त्यही गहिरो शोकमा पर्नुभएका श्रीमान पुष्पप्रसाद लुइटेलले स्मृति स्वरुप यो पुस्तक लेख्नुभएको छ । यस पुस्तकमा कतिपय ठाँउहरूमा भावुक क्षणहरू देखिएका छन ।

हुन त “इतिहास नेपालमा नारी जागरण अवस्था” नामले नै यो पुस्तक नारी जागरण र सशक्तिकरणको इतिहास झल्कन पुग्दछ । नारीको उत्थान विना व्यक्तिको जीवन निर्माण, समाजको आदर्श निर्माण र राष्ट्रको भाग्य निर्माण सम्भव छैन । अतः नारी चेतना अनिवार्य शर्त हुन आउँदछ । एक्काइसौ शताब्दीको नविन चुनौतीको यो आजको घडीले पनि नारी चेतना र नारी जागरण गराउँदै समाज विकासका हर क्रियाकलापमा सहभागी बनाउन पर्ने कुरामा नै जोड दिएको छ ।

प्रस्तुत पुस्तक घटनाक्रमको वर्णन र तथ्यहरूको संगालोको रुपमा खडा भएको छ । लुइटेलजी एउटा पूर्व प्रशासक र पछिल्लो पाटोमा राजनीतिक दृष्टिकोण लिएर हिंड्नु भएका लेखक हुनुहुन्छ । उहाँले सामाजिक नारी जागरणको समस्या र संकटलाई बडो मार्मिक ढंगले प्रस्तुत गर्नुभएको छ । लेखकले नारी संवेदनालाई उजागर गर्नुभएको छ । यसरी लेखकले मानवीय संवेदनालाई समाजको सामु उभ्याइदिन्छन् पूर्ण चित्र कोरिदिएर जीवनसंग सम्बन्धित सुख–दुःख, घात–प्रतिघात आदिलाई समाज समक्ष प्रस्तुत गरिदिएको छ । लेखकले कुनै पनि वादमा अनुवादित नभई स्वच्छ रुपमा मानवीय जीवनका सूक्ष्म भोगाइहरूलाई मार्मिक ढंगले पुस्तुत गर्नु उसको दायित्व हुन आउँदछ । 

हरेक सफल लेखकले जीवन र जगतको पीडा र व्यथा, कौतुहल, उल्लास, घृणा आदिलाई वटुलीदिएर एकैसाथ समाज सामुन्ने उजागर गराइदिनु पर्दछ । लुइटेलजीले पनि आफ्नो मनले सोचेर राखिएका भावनाहरूलाई आफ्नो कलमको मद्दतवाट विभिन्न कालखण्डका राजनीतिक घटनाका कुरालाई पनि उजागर गर्न खोज्नुभएको छ । लेखकले आफूले देखेको सुनेको र भोगेको अनुभवहरूलाई “इतिहास नेपालमा नारी जागरण अवस्था” नामक पुस्तकको माध्यमबाट प्रस्तुत गर्न खोज्नुभएको छ । यस पुस्तकलाई यस रुपमा ल्याउन लुईटेलजीकी स्व. धर्मपत्नी शान्ता देवी लुइटेल आफ्नो जीवनकालमा गर्नुभएको अथक मेहेनत नै ठूलो प्रेरणाको स्रोत मान्न सकिन्छ । यसैको शेरोफेरोभित्र रहेर लेखकले नारी जागरणलाई उत्प्रेरण समेत जगाउनु खोज्नुभएको छ ।

यद्यपि लेखका कतिपय सकरात्मक पक्ष हुँदाहुँदै पनि लुइटेलजीको लेखनी यदाकदा कांग्रेसप्रतिको नकरात्मक सोच देखिन आउँछ । उहाँले राजा महेन्द्रको कार्यकालमा भएका राष्ट्र, राष्ट्रियता जस्ता सवल पक्षलाई औल्याउन खोज्नु भएको छ भने उनले गरेको प्रजातन्त्रप्रतिको हस्तक्षेपमा मौन रहनुभएको छ । साथै झण्डै दुईतिहाई बहुमतले निर्वाचित सर्वोच्च नेता वि.वि. कोइरालालाई अपदस्त गरेर सत्ता हातमा लिनु अप्रजातान्त्रिक कदम थियो । यस सम्वन्धमा लेखक खुलेका देखिदैनन् । लुइटेलजीले नेपाली कांग्रेसका कतिपय राम्रा नेताहरूको समेत खोट खोजी खोजी उल्लेख गर्नुभएको छ । राजनीतिक इतिहासमा नेपाली कांग्रेसले नै २००७ देखि २०६३ सालसम्मको जनआन्दोलको नेतृत्वलाई सफलता हाँसिल गरेको थियो । २०५२ सालदेखि विद्रोह गर्दैआएका माओवादीलाई समेत शान्ति प्रक्रियामा ल्याउन नेपाली कांग्रेसले नै सक्रिय पहल गरेको थियो । 

अहिले हरेक क्षेत्रमा राजनीतिकीकरण भएको छ । शायद लेखकलाई पनि कुनै वादले प्रभाव पारेको छ । लेखकमा विद्यार्थीकालदेखि नै वामपन्थी राजनीतिक प्रभाव परेकोले अहिले जीवनको उत्तराद्र्धमा पनि माओवादी विचारबाट प्रभावित भएको वुझिन्छ । लेखकको समग्रमा हेर्दा उहाँको पुस्तक पठनीय देखिन्छ । केही राजनीतिक विचारका अन्तर देखिएको अभिव्यक्ति वाहेक कुरामा पाठकहरूको मनछुने खालका छन । पत्नी वियोगबाट विचलन हुन पुगेका लेखकका हर अभिव्यक्तिका भावनाभित्र पीडा र अन्तर वेदनाहरू बोलिरहेको आभास पनि मिल्दछ ।

नेपालको एउटा कालखण्डकी सशक्त समाजसेवी एवं पञ्चायती राजनीतिकालकी सशक्त कर्मी शान्तादेवी लुइटेलको नारी जागरण र सशक्तिकरणको भुभिका सम्झन लायक छ । उहाँबाट तत्कालीन पछौटे नारी वर्गलाई अघि बढाउन विभिन्न संघ संस्थाहरूका माध्यमवाट प्रयत्न गरेको देखिन्छ । नारी स्वयं उठनुपर्छ र पुरुषहरूको दासताबाट मुक्त हुन आफू स्वयं सचेत हुन यथास्थितिको स्कलिङबाट माथि उठन नारी नै लाग्नुपर्छ भन्ने अभिप्राय पनि यस पुस्तकमा पाइन्छ ।

प्रस्तुत पुस्तकले यथास्थितिवाट समाजको रुपान्तरण हुन सक्तैन र परिवर्तनवादी शक्तिको पहिचान गरी राजनीतिक नेताहरूले शही मार्ग पहिल्याउनु आजको वास्तविकता हो भन्ने सार वताउँछ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
लामो प्रशासनिक अनुभवको सार : “सार्वजनिक नीति” (01.08.2013)
संक्रमणकालीन नेपालको प्रशासन (12.03.2012)
आफ्नै सेरोफेरोमा जिन्दगीका कथाव्यथा - देवराज अर्याल (10.15.2012)
चन्द्रमानको राष्ट्रवादी दृष्टिकोण (10.01.2012)
“भिक्षु र दार्शनिक”को विमोचन (04.03.2012)
“वाफको पर्दा”भित्र पसेर हेर्दा (03.26.2012)
खनालको पत्रकारिता सन्दर्भ : देवराज अर्याल (03.12.2012)
दुई भाषामा एकांकी नाटक “भृकुटीको विवाह” (12.13.2011)
समालोचना संग्रह : "केही प्रतिभा केही प्रवृत्ति" (08.15.2011)



 
::| Latest News

 
[Page Top]