युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 06.23.2018, 05:56am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
कृति समीक्षा
 
‘भूर्चालो’ले दिएको सुधारात्मक चेतना
Monday, 03.11.2013, 06:40pm (GMT+5.5)

श्री महेश्वर शर्मा (वि.सं. १९८८, चिलाउनेबास स्याङजा)को अभिनन्दन ग्रन्थ भरखर भरखरै प्रकाशनमा आएको छ । ज्ञान र वय दुबै दृष्टिबाट परिपाक प्राप्त यी प्रतिभालाई अभिनन्दन गरिएको एक वर्षभित्रै प्रकाशित उक्त अभिनन्दन ग्रन्थले शर्माज्यूको व्यक्तित्व र कृतित्वका दुवै पाटाहरुको खोजमेल सम्बन्धित लेखकहरुको माध्यमबाट गरेको छ । उनलाई जुनबेला काठमाडौंको प्रज्ञा प्रतिष्ठान भवनको हलमा गण्डकी साहित्य परिषद्को आयोजनामा अभिनन्दन गरियो त्यसबेला शर्माज्यूको उपन्यासकार व्यक्तित्वलाई चिनाउनेहरुले आठवटा उपन्यासको गणना गरेका थिए तर उक्त अभिनन्दनलाई ग्रन्थको आकार दिन नभ्याउँदै उनको उपन्यास लेखनको शृङ्खलामा एक अर्को थप कडी बनेर ‘भूर्चालो” (२०६९)ले जन्म लियो । उनलाई अभिनन्दन गर्ने सबैका लागि एक अर्को खुसीले सिर्जनाको रुप लियो ।

महेश्वर शर्माको लेखक/साहित्यकारको जन्म पछिल्लो हो र त्यसभन्दा अघि नै उनको राजनैतिक÷समाजसेवी व्यक्तित्वले जन्म लिइसकेको हो । तर जालझेल र फट्याईलाई राजनीतिको पर्यायवाची मानिंदै गएको आजको सन्दर्भमा शर्माको राजनैतिक व्यक्तित्वलाई परिभाषित गर्ने हो भने उनी एक विशुद्ध समाजसेवी राजनैतिक कार्यकर्ताको ऐतिहासिक स्वरुपका साथ आज उभिएका छन् । उनी आज आफ्ना लेख–रचनाहरुका माध्यमबाट मुलुकमा भएका भ्रष्टाचार र अन्याय अनि बेथिति र राष्ट्रविरोधका आडमा नेतृत्व लिनेहरुको झ्याँको झार्दै मार्गनिर्देश गरिरहेका पाइन्छन् । उनको कलम आज ८१ वर्षका उमेरमा पनि सामाजिक अन्याय र अत्याचारका विपक्षमा सुधारको मार्ग निर्देशसहित गतिशील बनेको छ । लेखन यात्राका प्रारम्भमा राजनैतिक विश्लेषणात्मक लेखहरुका साथ अघि बढेको उनको कलम पछिआएर निबन्ध, कविता, नाटक र आख्यानहरुमा बढी प्रभावी बन्दै आएको छ र त्यसको पछिल्लो लेखन बनेर ‘भूर्चालो’ (उपन्यास) देखापरेको छ ।

नेपालको ग्रामीण जनबोलीले ‘भुइँचालो’लाई ‘भूर्चालो’का रुपमा लिने गरेको सन्दर्भमा यो शब्द प्रस्तुत उपन्यासको शीर्षक बन्न पुगेको छ । यसरी यस उपन्यासको शीर्षकले नै यसको विषयवस्तु र कथानक केन्द्रमा नेपालको पहाडी ग्रामीण समाज र यहाँका घटना र पात्रहरु रहेको संकेत प्रारम्भमा नै दिएको छ ।

भुइँचासो (उपन्यासकारका शब्दमा ‘भुर्चालो’) प्राकृतिक दुर्घटना हो । यसले मात्रात्मक रुपमा बढ्दाको अवस्थामा ल्याउने पृथ्वीको सतहको उथलपुथलले उत्पातको रुप लिन्छ र त्यो महाविनाशकारी बन्छ । उक्त भुइँचालोलाई उपन्यासकाले प्राकृतिक बिम्बात्मक सामाजिक उथलपुथल र उत्पातका अर्थमा लिएका छन् । यस प्रतीकात्मक शीर्षकले उपन्यासभित्रको कथावस्तुलाई समग्रमा समेटेको छ । नेपालको राजनैतिक–सामाजिक सतहमा देखापरेको २०४६ र अझ २०६३ पछि आएको भूकम्प अहिलेसम्म विध्वंशकारी र उत्पाती प्रकारको रहेको छ र यसले समाज र राष्ट्रमा विखण्डन र बेथितिलाई मात्र जन्म दिएको छ । निकास कहाँ छ र त्यसको टुंगो देखिने लक्षण छैन । यही विनाशकारी ‘भूर्चालो’ यस उपन्यासको विषय बनेको छ । 

‘भूर्चालो’ निर्माणको नभइ विनाशको प्रतीक हो र उक्त विनाशका प्रतिनिधि नेपालका सत्तासीन दलहरु र तिनका नेतृत्व वर्ग हुन् । घटी वा बढी ती नेतृत्ववर्गहरु यस विनाश र विध्वंशका कारक रहेका छन् । राज्यको प्रमुख नेतृत्वले लिने गरेका गलत नीति र सत्ता पिपासाका कारण नेपाली समाजमा बढ्दै गएको असुरक्षा र अपराधका अवस्थाहरुको चिरफार गर्ने प्रयत्न उपन्यासकारले गरेका छन् । मूलतः नेपालको पहाडी जनजीवनको परिवेशमा लेखिएको भए तापनि यसको प्रत्यक्ष–परोक्ष प्रभावबाट यो सम्पूर्ण राष्ट्र नै आक्रान्त बनेको वास्तविकताको उद्घाटन उपन्यासको कथ्य रहेको छ ।

यस उपन्यासको संरचना १९ (अध्याय भनौं वा टुक्रा भनौं) अंशमा भएको छ । मूलतः यस उपन्यासले निम्न विषयहरुलाई समेटेको छ– (१) देशको युवा वर्ग, राजनैतिक नेतृत्व र तिनमा देखापरेको विकृति र विसंगति (२) माओवादी विध्वंशबाट उत्पन्न स्थिति र त्यसबाट उत्पन्न परिणति (३) मुलुकका जिम्मेवार एमाले र कांग्रेसको नेतृत्वमा देखापरेको दिशाहीनता र विकृति (४) सामाजिक, जातिपाति र वर्णाश्रम व्यवस्थाका विषयमा रहेको अज्ञानता (५) समाजमा रहेको जातिपाति र छुवाछुतको भेद (६) अन्तर्वातीय विवाहको समस्या र त्यसको निकास (७) चेलिबेटी बेचबिखनको समस्या (८) वैदेशिक रोजगारीबाट उत्पन्न दुष्परिणामहरु (९) दलित जातिहरुका बीचको छुवाछुत सम्बन्धी भेदभाव (१) बोक्सी र धामी झाँक्रीबाट उत्पन्न सामाजिक असंगति आदि ।

उपर्युक्त विषयहरु समग्र नेपाली समाजका तत्कालीन र जल्दाबल्दा समस्याहरु हुन् तापनि उपन्यासकारले तत्तत् समस्याहरुलाई विशेषतः आञ्चलिक परिवेशमा लिएका छन् । यस उपन्यासभित्रका पात्र, संवाद, घटनास्थल र परिवेश मूलतः पश्चिम पर्वतीय क्षेत्रसंग निकटता राख्ने देखिन्छन् । संवादात्मक बोलीको भाषामा प्रयुक्त स्थानीय शब्द र उखान–टुक्काहरुले पनि त्यही भन्छन् ।

‘भूर्चालो’ उपन्यास सामाजिक सुधारको सन्देश दिने हेतुले रचिएको पाइन्छ । उपन्यासकारको गुनासो यस देशमा २०४६ सालपछि आएका परिवर्तनहरुले देशको सुधार र विकासका लागि आधारभूत निकास पनि दिन नसकेको कुराप्रति लक्षित छ । बरु गाउँमा रहेका लाहुरे बा र अरुण मास्टर जस्ता पात्रहरुले स्वतन्त्र र स्वतःस्फूर्त रुपमा समाज सुधारका निम्ति गरेका निजी स्तरका न्याय र चेतनामूलक कार्यहरु उपयोगी रहेकोतिर लेखकको संकेत रहेको छ । यसैले गाउँ समाजमा कुनै पनि विशेष दुर्घटना पर्दा त्यहाँ उपन्यासकारले लाहुरेबालाई समाधानका निम्ति पु¥याएका छन् । यसरी हेर्दा लाहुरेबा उपन्यासकारका मुखपात्र झै प्रतीत हुन्छन् र लाहुरेबालाई आदर्श पात्रका रुपमा उभ्याएर उपन्यासकारले आफ्नो उपन्यासलाई आदर्शवादी गोरेटोतिर निर्देश गरेको पाइन्छ ।

उपन्यासकार महेश्वर शर्मा नेपाली समाजका विकृति–विसंगतिहरुलाई उदांगो पार्दै त्यहाँ सुधारको सन्देश दिने उपन्यासकारका रुपमा यसअघि पनि देखापरेकै हुन् । यसपटक पनि उनले ‘भूर्चालो’ उपन्यासद्वारा समसामयिक नेपाली सामाजिक–राजनैतिक विकृतिको चिरफार गर्दै सुधारात्मक सन्देश दिएका छन् । यस उपन्यासलाई औपन्यासिकीकरणका दृष्टिले भन्दा सामाजिक सुधार पक्षको प्रबलीकरणका दृष्टिले हेर्नु अझ उपयुक्त हुने लाग्छ । आफ्नो जीवनको युवा उमेरदेखि सामाजिक राजनैतिक जगत्मा सक्रिय रही जीवनका उत्तराद्धृमा साहित्यिक क्षेत्रमा प्रवेश गर्दै परिपक्वता प्राप्त गरेका लेखकको प्रस्तुत उपन्यासलाई पनि ती दुबै पषको मिश्रित रुपमा िलनुपर्ने देखिन्छ । सरल, सहज र ग्रामीण बोलीचालीका भाषाको प्रस्तुत बनेको यस कृतिलाई नेपाली साहित्यको उल्लेख्य उपहारका रुपमा लिन सकिन्छ । श्री शर्माको उपन्यास यात्राको निरन्तरताको लागि शुभेच्छा व्यक्त गर्दछु ।


Rating (Votes: )   
Share     Print


Other Articles:
इतिहास नेपालमा नारी जागरण अवस्था - रमेश गौतम (02.04.2013)
लामो प्रशासनिक अनुभवको सार : “सार्वजनिक नीति” (01.08.2013)
संक्रमणकालीन नेपालको प्रशासन (12.03.2012)
आफ्नै सेरोफेरोमा जिन्दगीका कथाव्यथा - देवराज अर्याल (10.15.2012)
चन्द्रमानको राष्ट्रवादी दृष्टिकोण (10.01.2012)
“भिक्षु र दार्शनिक”को विमोचन (04.03.2012)
“वाफको पर्दा”भित्र पसेर हेर्दा (03.26.2012)
खनालको पत्रकारिता सन्दर्भ : देवराज अर्याल (03.12.2012)
दुई भाषामा एकांकी नाटक “भृकुटीको विवाह” (12.13.2011)
समालोचना संग्रह : "केही प्रतिभा केही प्रवृत्ति" (08.15.2011)



 
::| Latest News

 
[Page Top]