युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 10.23.2018, 07:36pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
कृति समीक्षा
 
‘नयाँ पसल’का कवि भट्टराइ देवी सुवेदी
Monday, 03.25.2013, 06:31pm (GMT+5.5)

राधेश्याम भट्टराई (वि.सं. २००६, खोटाङ) नेपाली साहित्यका पाठक–लेखकहरूकाबीच सुपरिचित नाम हो । उनी साहित्यको कविता विधामा धेरै पहिलेदेखि प्रवेश गरेर पनि २०४१ सालमा प्रकाशित ‘हलेसी’ तीर्थकाव्यद्वारा कविका रूपमा प्रसिद्ध हुन पुगेका हुन् । काव्यका प्रकारहरूमा तीर्थकाव्यको उल्लेख नपाइए पनि कवि राधेश्याम आफ्नो जन्म जिल्ला खोटाङको प्रसिद्ध तीर्थस्थल हलेसीलाई विषय बनाइ रचिएका काव्यकृतिलाई तीर्थकाव्य नामाकरण गरे । त्यसपछि काव्य प्रकाशनको क्रमले निरन्तरता पाइरह्यो । ‘साठी थुँगा’ मुक्तक संग्रह २०५१, ‘मेरो देश मेरै सपना कविता संग्रह २०५७, ‘पशुबध नगरौं’ काव्य २०६३ पछि यो ‘नयाँ पसल’ कविता संग्रह उनले यसै साल २०६९ मा प्रकाशनमा ल्याएका छन् ।

दीर्घकालसम्म नेपाल सरकारको निजामती सेवामा रहेका कुशल प्रशासनक राधेश्याम भट्टराईले आफ्नो प्रशासकीय जीवनमा राष्ट्रसेवी र साहित्यसेवीको दोहोरो भूमिका निर्वाह गरेको पाइन्छ । सरकारी सेवाबाट निवृत्त भएपछि भने उनको साहित्य साधनातिर पछिल्लो जीवन एकोहोरिएको छ । त्यसकै परिणति मान्नुपर्छ ‘नयाँ पसल’ कविता संग्रहलाई ।

आफ्नो कविता, काव्य यात्राका प्रारम्भतिर शास्त्रीय वर्णमात्रिक छन्दलाई आफ्नो सिर्जना शैली बनाइआएका कवि राधेश्याम भट्टराईले आफ्नो सिर्जनाका पछिल्लो चरणहरूमा आएर कविताको गद्यशैलीलाई अँगालेको पाइन्छ । उनको गद्य कवितात्मक सिर्जनाको अहिलेसम्मको पछिल्लो उपलब्धि हो ‘नयाँ पसल’ कविता संग्रह ।

‘नयाँ पसल’ संग्रहभित्र जम्मा ५१ कविताहरू समाविष्ट रहेका छन् । आयामिक दृष्टिले प्रायःजसो मझौला खालका भन्न मिल्ने यी कविताहरू कवि राधेश्यामका जीवन जगत्का अनुभवजन्य अभिव्यक्ति हुन् । यी कविताहरूले कविको जीवनका भावनाका उकाली ओराली र भावोच्छासहरूलाई सहज र संवेदनशील किसिमले प्रकट गरेका छन् । कहीं यी कवितामा कविको अध्यात्म चेत मुखरित हुन्छ त कहीं विश्वबोधको प्राकट्य अभिव्यक्त हुन्छ । यहाँ कविको हृदयका विविध पाटाहरूको सूक्ष्म रेखांकन देखापर्छ । कवि यहाँ सचेत मन लिएर पोखिएका छन् । उनमा रहेको आधुनिक मानवीय संवेद्यताका विविध रंगहरू घोलिएर इन्द्रेणीका रूपमा यो संग्रह दर्शनीय र पठनीय बनेको छ । कविमा वैज्ञानिक र आध्यात्मिक दुवै चेत प्रबल बनेर देखापर्छ । साथै उनमा युद्धले आक्रान्त र आतंकित विश्वप्रतिको संवेदनशीलता टड्कारो बनेर व्यक्त भएको छ :

नयाँ सहस्राब्दीको विश्व
आतंकबाट त्रस्त छ
प्रदूषणबाट ग्रस्त छ
तम्स योद्धाहरू तम्स
आतंकका बिरूद्ध लड्न तम्स
प्रदूषणका बिरूद्ध लड्न तम्स 
(सहस्राब्दीको पहिलो दिन)

कवि भट्टराईमा निहित शान्तिप्रेमी भावना यी मध्येका कतिपय कविताहरूमा पोखिएको पाइन्छ । ‘बोधि–समाधि’ शीर्षक कविता त्यसैमध्येको एक हो  :

बोधिवृक्ष
एउटा समाधि–पुरूष
लर्खराएको शान्ति देखेर
तपस्या बिथोलिएको छ
उद्विग्छ छ/दिग्भ्रमित छ

संग्रहभित्रका कविताहरूमा शान्तिका प्रतीकहरू छन् र शान्तिलाई खल्बल्याउने विश्वमा उत्पन्न विभीषिकाहरू छन् । कविको चाहना बुद्धत्व र शान्ति सौन्दर्य फुल्नेहरू यो माटोमा देख्ने चाहना यसरी व्यक्त भएको छ :

आणविक विस्फोटनबाट
फुल्दैनन् कमलका फूलहरू
फुट्दैनन् शान्तिका मूलहरू
आज पनि विश्व–ब्रह्माण्ड तातेको छ
हिरोशिमा र नागासाकी तातेको छ
लुम्बिनी र बौद्ध भिक्षुको मन पनि तातेको छ ।
(एक्काइसौं शताब्दीको भर्याङ)

कवि भट्टराईमा स्वदेशी संस्कृतिप्रतिको आस्था र अनुराग प्रबल छ । उनी हाम्रो संस्कृतिको खोजी गर्दैछन् । नेपालको नव–धनाढ्य र विदेशी संस्कृतिको परिपोषक वर्गप्रति तीब्र असन्तुष्टि छ । आफ्नो धर्म–संस्कृतिलाई बिर्सेर अरूको निर्देशनमा हिंड्नेहरूप्रति उनका कविताका पंक्तिहरू लक्षित छन । कवि भन्छन् :

आफ्नो संस्कृतिबाट टाढिंदै–टाढिंदै
छाडा संस्कृतिमा गाडिंदै–गाडिंदै
टुप्पोबाट पलाएकाहरू
अर्काकै दिमागले चलाएकाहरू
(टुप्पोबाट पलाएका)

कवि राधेश्याम भट्टराई आफ्ना कवितामा भाव–संप्रेषणीयताका धनी छन् । उनी सहज र सरल संवेद्यतालाई आफ्नो लेखनको आधार ठान्छन्– यस संग्रहका कविताहरू यसै भन्छन् । जीवनका सुख र दुःखका पाटाहरूलाई सरल प्रकारले व्यक्त गर्ने उनका कविताका पंक्तिहरू त्यसका उदाहरण हुन :

जीवन जानेर जान्न नसकिने
भनेर भन्न नसकिने
रहरलाग्दो हिमालको लेकजस्तो छ
उराठलाग्दो मरूभूमिको भेकजस्तो छ
(जीवन)

उनका त्यस्ता सहज भैकन पनि गम्भीर भाव भएका कैयन् कविताहरू यस संग्रहमा सँगालिएका छन् । उनका कविताहरू शान्ति, सदाचार, मानवता, आध्यात्मिकता, सांस्कृतिक सचेतता, राष्ट्रियता, विश्ववन्धुत्व आदि विचारका संगम हुन् र ती सबै यस संग्रहमा आएर मिलेका छन् । उनको यो ‘नयाँ पसल’ हाम्रो प्राचीन सम्पदाको मेहले सिञ्चित भइकन पनि प्रस्तुतिगत विविधता र जीवन दृष्टिकोणको आधुनिकताका दृष्टिले नयाँ पसल नै हो । यो सेवादायी पसल हो मुनाफामूलक होइन । हामी अपेक्षा गरौं कवि यस्ता नयाँ पसल अरू पनि खोल्न समर्थ बनुन् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
‘भूर्चालो’ले दिएको सुधारात्मक चेतना (03.11.2013)
इतिहास नेपालमा नारी जागरण अवस्था - रमेश गौतम (02.04.2013)
लामो प्रशासनिक अनुभवको सार : “सार्वजनिक नीति” (01.08.2013)
संक्रमणकालीन नेपालको प्रशासन (12.03.2012)
आफ्नै सेरोफेरोमा जिन्दगीका कथाव्यथा - देवराज अर्याल (10.15.2012)
चन्द्रमानको राष्ट्रवादी दृष्टिकोण (10.01.2012)
“भिक्षु र दार्शनिक”को विमोचन (04.03.2012)
“वाफको पर्दा”भित्र पसेर हेर्दा (03.26.2012)
खनालको पत्रकारिता सन्दर्भ : देवराज अर्याल (03.12.2012)
दुई भाषामा एकांकी नाटक “भृकुटीको विवाह” (12.13.2011)
समालोचना संग्रह : "केही प्रतिभा केही प्रवृत्ति" (08.15.2011)



 
::| Latest News

 
[Page Top]