युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 10.23.2018, 02:01am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
कृति समीक्षा
 
समालोचना संग्रह : "केही प्रतिभा केही प्रवृत्ति"
Monday, 08.15.2011, 03:01pm (GMT+5.5)

पुरानो कृतिको नयाँ संस्करणको रुपमा निस्किएको "केही प्रतिभा केही प्रवृत्ति" समालोचना संग्रह हो । स्रष्टा युवराज मैनालीले २०४२ सालमा प्रकाशन गर्नुभएको यो कृति २०६७ सालमा दोस्रो संस्करणको रुपमा बजारमा आएको छ । नेपाली भाषा साहित्यमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका स्रष्टा मैनालीको दोस्रो कृतिको रुपमा निस्किएको प्रस्तुत कृतिमा नेपाली साहित्यका वरिष्ठदेखि तत्कालीन समयका केही नवप्रतिभाहरूको समीक्षात्मक समालोचना भएको छ । हुन त समालोचना संग्रह भनेपछि मोटै हुनुपर्ने हो तर स्रष्टा मैनालीले नेपाली साहित्यका शिखर पुरुषहरू बालकृष्ण सम, महाकवि लक्ष्मीप्रसाद देवकोटा, युगकवि सिद्धिचरण श्रेष्ठ, राष्ट्रकवि माधव घिमिरे, विजय मल्ल, रमेश विकल, लैनसिं वाङदेल, पारिजात, धीरेन्द्र मल्ल, गोपी मैनाली पथिक गरी १० जना साहित्यकार तथा उहाँहरूको बहुचर्चित कृतित्वमाथि समीक्षा गरिएको छ ।

संग्रहमा समाहित धेरै स्रष्टाहरू अहिले यस लोकमा हुनुहुन्छ । तर उहाँहरूले आम पाठकहरूमाझ छाडेर जानुभएको कृतिहरू अहिले पनि चर्चाकै शिखरमा छन् । नेपाली समाजलाई डो¥याउने, घच्घच्याउने, परम्परागत सामाजिक मूल्य-मान्यतालाई चुनौति दिने तथा साहित्यमा प्रयोग भएका नवीन शील्पहरूको व्याख्यासहित स्रष्टाको प्रवृत्ति खोतलिएको प्रस्तुत कृति पुरानै भए पनि यसभित्र नयाँपन अवश्य पाइन्छ ।

कृतिको सुरवातमा नाट्यसम्राट बालकृष्ण समको नाट्यकारिताको चिरफार गरिएको छ । बालकृष्ण समको नाट्यकारिता नेपालको साहित्यमा मात्र होइन रङ्गमञ्चमा समेत प्रयोग भयो । उहाँ नाटक लेखकसंगै नाटकको निर्देशनमा समेत सक्रिय हुनुभयो । उहाँले स्थापित गर्नुभएको नाट्यकारिता अहिले पनि सक्रिय छ । त्यस्तै महाकवि लक्ष्मीप्रसाद देवकोटाको कलावादी मान्यताभित्र उहाँले लेख्नुभएका कृति र देखाउनुभएको जीवनपद्धति अहिले पनि उत्तिकै चासोको विषय छ ।

देवकोटाका बारेमा अनगिन्ती कृति लेखिएका छन् । उहाँको कृतित्व र व्यक्तित्वको धेरै धेरै समीक्षाहरू प्रकाशित भएका छन् । तर जति प्रकाशित भए पनि देवकोटाका बारेमा जान्न चाहनेहरूको उत्सुकता मेटिएको छैन । देवकोटाका बारेमा स्रष्टा मैनालीले आफ्नो पुस्तकमा जे जति कुराहरू उल्लेख गर्नुभएको छ त्यो नेपाली साहित्यका पारखीहरूका लागि नयाँ विषयवस्तु हुनसक्छ ।

राणाकालमा साहित्यको माध्यमबाट क्रान्तिको बिगुल फुक्ने युगकवि सिद्धिचरण श्रेष्ठलाई समीक्षक युवराज मैनालीले "युगीन मनोवेगलाई कवितात्मक मूल्य प्रदान गर्ने मानवतावादी कवि"को रुपमा चित्रित गर्नुभएको छ । युगकविको साहित्य सिर्जनामा रहेको दुई आयामलाई समीक्षक मैनालीले छोटो तर सूक्ष्म रुपमा विश्लेषण गर्नुभएको छ । युगकविलाई क्रान्तिकालीन र क्रान्तिपछिको स्वच्छन्दात्मक कलावादी कविका रुपमा चित्रित गरिएको छ ।

राष्ट्रकवि माधव घिमिरेको गौरी शोककाव्यलाई आधार बनाएर समीक्षकले उहाँको समीक्षा गर्नुभएको छ । घिमिरेको गौरी शोककाव्य कविको हृदय केही हल्का पार्ने आँशु भए पनि त्यो नेपाली साहित्यको सम्पत्तिको रुपमा लिइएको छ । राष्ट्रिय भावना र प्रकृतिलाई आफ्नो लेखनीको स्रोत मान्नुहुने राष्ट्रकवि घिमिरेको "गौरी" शोककाव्य मानवता, प्रेम र जीवनका तीन कोणलाई एकै आधारबाट खिचिएको चित्रको समीक्षक मैनालीले लिनुभएको छ ।

त्यस्तै साहित्य र कलाकारिताका बेजोड प्रतिभा लैनसिंह वाङ्देलको "मुलुक बाहिर" कृतिको समीक्षा गरेर मैनालीले अहिलेको समयलाई उतिबेलै घच्घच्याउनु भएको रहेछ । मुलुक बाहिरको चर्चा अन्तर्राष्ट्रिय परिवेशमै भैरहेको बेला पुनः प्रकाशित भएको प्रस्तुत कृति धेरै मानेमा अर्थपूर्ण बन्न पुगेको छ । यसभित्र अटाएका स्रष्टा र तिनका कृतिहरूको ओजनले यसलाई गह्रुंगो बनाएको छ ।

कथाकार विजय मल्लको "भित्ते घडी", रमेश विकलको "अविरल बग्दछ इन्द्रावती", पारिजातको शिरिषको फूल" कृतिले उहाँहरूलाई नेपाली साहित्य आकाशमा अमर तुल्यायो । समीक्षक मैनालीले उहाँहरूका यिनै कृतिमाथि समीक्षा गर्नुभएको छ । त्यसै गरी तत्कालीन परिवेशका नवप्रतिभाहरू धीरेन्द्र मल्लको शिल्प र साहित्यिकता तथा गोपी मैनालीको चर्चा गर्नुभएको छ । उहाँहरूले नेपाली साहित्यमा गर्नुभएको प्रयोगको समीक्षा गरिएको छ ।

समग्रमा कृतिको आकार सानो भए पनि यसभित्र गुदी नै गुदी भेटिन्छ । नेपाली साहित्य भण्डारमा थुप्रै कृति दिइसक्नुभएका युवराज मैनालीको उतिबेलाको यो प्रयास यतिबेला पुनः बजारमा आउनु सुखद् सन्देश हो ।

वि.सं. २०१७ चैत्र १० गते काभ्रेपलाञ्चोकको कानपुर-१ मा जन्मनुभएका मैनालीको यसअघि मुर्दा बोल्यो (कथा संग्रह २०३७) प्रकाशित भएको थियो भने त्यसपछि प्रस्तुत कृति आएको थियो । त्यसको लामो समयपछि "भ्रष्टाचारको भाङ" (व्यंग्य संग्रह) २०६५ ल्याउनु भएको थियो । २०६७ सालमा पुनः प्रकाशित भएको "केही प्रतिभा केही प्रवृत्ति" नुवाकोट साहित्य प्रतिष्ठानले प्रकाशन गरेको हो । एक सय रुपैयाँ मूल्य रहेको पुस्तकको आकार अनुसार मूल्य केही बढी जस्तो लागे पनि यसको गहनता मूल्यसंग तुलना हुन सक्दैन ।

- देवकोटा



Rating (Votes: )   
Share     Print




 
::| Latest News

 
[Page Top]