“उद्देश्य के छ लिनु, उडी छुनु चन्द्र एक” महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रेरणादायी उपरोक्त कविता पंक्ति साभार गरेर प्रस्तुत आलेख अघि बढाउनु सान्दर्भिक छ । किनभने आफ्नो मनको कुनामा लुकेको प्रतिभा कतिबेला प्रस्फुटन हुन्छ यसको कुनै ठेगान हुँदैन । किनभने मनले चाहेका र मस्तिष्कले केलाएका कतिपय कुराहरु पनि तत्काल बाहिर निस्कन सक्दैन, यसका विविध कारण हुन्छन् । तर उद्देश्यमा अडिग रह्यो भने एक न एकदिन सफलता मिल्छ, अर्थात् चन्द्रमा छुने उद्देश्य राखेर कर्म गर्नेहरु सफल हुन्छन्
विविध कारणले आफ्नो लेखनकार्यलाई अघि बढाउन नसकेकी सुमिता राज्यलक्ष्मी सिंहले अहिले एउटा पुस्तक सार्वजनिक गरेकी छिन् । त्यो पनि अनाथहरुमा समर्पित रहेर । बेलायतको उच्च अध्ययन, त्यहाँ प्राप्त अवसर अनि छोरा बुहारी पनि उतै, काठमाडौंको स्थायी बासिन्दा, सम्पन्न परिवारको हर्ताकर्ता हुन् डा सुमिता राज्यलक्ष्मी सिंह । यी सबले उनको मनलाई शान्ति दिएन, अनि खोजिन मानवसेवाको बाटो । जनस्वास्थ्यमा विद्यावारिधी गरेकी उनी साहित्य र संगीतमा रुची राख्छिन् अनि समाजसेवामा अग्रणी छ उनको परिचय ।
यति हुँदाहुँदै पनि प्रचार नचाहने, आफ्नो काम गर्दैजाने । कर्म गर विज्ञापन नगर भन्ने उनको मान्यताले उनलाई कहिलेकाहीं निराश बनाउँदो रहेछ । विशेष गरी बालबालिकाहरुको दुःख देख्नै नसक्ने उनी र उनका पति विशान लामा अहिले यस्तै अभियानमा छन्– लर्ड बुद्ध चिल्ड्रेन हेल्थ फाउण्डेशन मार्फत अनाथ बालिकाहरुको उज्ज्वल भविष्य निर्माणमा तल्लिन छिन् सुमिता यतिबेला ।
२०७२ वैशाख १२ गतेको भूकम्पमा परी परिवार गुमाएका काठमाडौं साँखुका १२ जना बालिकाहरुलाई छाना, नाना अनि शिक्षा प्रदान गरिरहेकी छिन् । आफ्ना विदेशी साथीहरुको सहयोग तथा फाउण्डेशनका सदस्यहरुको सहयोगले अहिले ती नानीहरुको भविष्य निर्माणको गोरेटो खन्दैछिन डा. सुमिता ।
लामो समयदेखि समाजसेवामा सक्रिय सुमित्राले समाजको अध्ययन, चिन्तन र मनन गरेकी छिन् । अनि यही अध्ययन र चिन्तन मननको उपजका रुपमा निस्किएको छ एउटा कथा संग्रह । कथाहरु समाजसेवाकै सेरोफेरोमा फन्को लगाउँछन् । सुरुदेखिकै कथाले मन छुन्छ किनभने कथा नै त्यस्तै छ– अनाथको रोदन । यो कथा केवल काल्पनिक नभएर यथार्थपरक लाग्दछन् । वास्तविक समाजसेवीहरुको व्यथा चित्रण गरिएको छ ।
चारवटा कथा समेटिएको १४४ पृष्ठको यो पुस्तक व्यापारिक हिसाबले नभै सामाजिक हिसाबले प्रकाशित भएको हो । त्यसैले होला पुस्तक चल्तीको फरम्याटमा छैन, सायद व्यापारिक सोच नभएर पनि होला । चिनेजानेका साथीहरु, विद्यालय, सामाजिक संघसंस्थाहरुलाई हार गुहार गरी विक्री गरेर उठेको रकम तिनै अनाथ बालिकाहरुको सेवामा खर्च गर्ने उद्देश्य रहेको छ ।
‘अनाथको रोदन’, ‘आत्मबल– मानसिक तनावको औषधि’, ‘माया त आखिर माया नै हो’ र ‘अधुरो माया’ गरी चार शीर्षकका कथा रहेको यो पुस्तकमा समेटिएका विषयवस्तु नेपाली समाजको यथार्थ चित्रसंगै हरेक मानिसमा हुने मानसिक तनावको उपचारको बिधि समेत सिकाइएको छ ।
त्यसो त डा. सुमिताको यहाँसम्मको यात्रा सहज छैन । कलिलै उमेरमा भएको विवाह, विवाहपछि अनेक संघर्षका बीच जारी राखिएको अध्ययन पूरा गर्न कम्ति झमेला व्यहोर्नु परेन । लेखक बन्ने उतिबेलादेखिको सपना यो कृतिमार्फत सुरुवात गरेकी छ्न् ि। उतिबेला उनले लेखेका कैयौं पाण्डुपिलीहरु जलाइयो, परिवारबाट । अहिले ५० को नेटो काटेपछि उनले आफना लेखनकार्यलाई सामाजिक चेतना अभिवृद्धिको औजार बनाएर सार्वजनिक गरेकी छिन् ।
प्रस्तुत कृतिले डा. सुमितालाई एउटा स्थापित लेखक बनाए पनि शब्द चयन र नेपाली भाषामा उनको पकड अलिक कमजोर देखिएको छ । बेलायतको अध्ययनले पनि होला वा उहाँलाई सही सुझाव अनि सल्लाह दिने पात्र नभएर पनि होला ! तर, यहाँ पुस्तकको रौचिरा समीक्षाभन्दा पनि यसको उद्देश्य र महत्वलाई जोड दिनुपर्ने हुन्छ । यो कृति विक्रीबाट उठेको रकम सानासाना अनाथ, असहास बालबालिकाहरुका लागि खर्च गरिनेछ । यो रकम लर्ड बुद्ध चल्ड्रेन हेल्थ फाउण्डेशनको कोषमा जम्मा हुनेछ ।
समाजसेवाका लागि दाताहरुमाझ सधैं हात पसारिरहनुको साटो आफैं केही गर्ने जमर्को गरेकी डा. सुमिताको यो प्रयासलाई सह्राना नगरी हुँदैन । पुस्तक प्रकाशनको उद्देश्य लेखिकाको चर्चामा भन्दा यसको उद्देश्यमा केन्द्रित रहेर जो कोहीले यसलाई ग्रहण गरीसहयोगी हात बढाए पुण्य र ज्ञान दुबै प्राप्त हुन्छ ।
– यादब देवकोटा