युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 06.23.2018, 05:59am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
कृति समीक्षा
 
खनालको पत्रकारिता सन्दर्भ : देवराज अर्याल
Monday, 03.12.2012, 03:07pm (GMT+5.5)

आमसंचारको क्षेत्रमा लामो समयदेखि क्रियाशील रहँदै आउनुभएका संचारविद् चिरञ्जीवी खनालद्वारा लिखित नवीनत्म कृति ‘पत्रकारिता सन्दर्भ’ हालै प्रकाशित भएको छ । नेपाली पत्रकारिता तथा आमसंचार शिक्षाको जग बसाउनेदेखि लिएर नेपालमा पत्रकारिता शिक्षालाई अहिलेको अवस्थामा ल्याउन उल्लेखनीय योगदान पुराउँदै आउनुभएका सहप्राध्यापक खनालको प्रस्तुत कृति समसामयिक दृष्टिकोणहरूको संगालो हो । यद्यपि लेखक एवं सहप्राध्यापक खनालले तथ्य, प्रमाण र सूचनाहरूको जगमा दृष्टिकोण राख्नु भएकाले यो कृति अहिले बढी नै खँदिलो र ओजिलो खुराक बनेर प्रस्तुत भएको छ ।

आमसंचार तथा पत्रकारिताको विश्वव्यापी अवधारणा, नेपाली पत्रकारिता, मानवअधिकारसंग पत्रकारिताको सम्बन्ध, संचार माध्यमको उपयोग, महत्व र प्रभावकारिता एवं पत्रकारिता शिक्षा लगायतका विषयमा स्पष्ट दृष्टिकोण प्रस्तुत यस कृतिको मूल उद्देश्य जवाफदेही पत्रकारिताका लागि अवधारणागत वातावरण तयार गर्नु हो । कृतिमा समावेश अधिकांश लेखहरूको आशय यसैतर्फ लक्षित रहेको अनुभूति गर्न सकिन्छ ।

पत्रकारिताको बारेमा जान्न, बुझ्न र जिज्ञाशा राख्न चाहने जो कोही पनि पाठक, संचारकर्मी, विद्यार्थी तथा शिक्षकका लागि उपयोगी हुने यस पुस्तकको पहिलो शीर्षक ‘पत्रकारिताको अवधारणा’ रहेको छ । यस शीर्षक अन्तर्गत लेखकले पत्रकारितालाई कसरी उपयोग गर्ने, संचार माध्यममा मानवअधिकारको सवाल, संचारमाध्यम र समाचारको प्रभाव, स्वच्छ तथा निष्पक्ष समाचारजस्ता विषयहरूमा अवधारणागत दृष्टिकोण प्रस्तुत गर्नुभएको छ ।

यसैगरी दोस्रो शीर्षक नेपाली मिडियामा प्रेस स्वतन्त्रताको अवस्था रहेको छ । जसमा कानुनी परिवेश र नेपाली पत्रकारहरूको अवस्थाको बारेमा विवेचना गरिएको छ । यसैगरी अन्य शीर्षकहरूमा नेपालमा पत्रकारिता शिक्षा, संचारकर्मीको दायित्व, पत्रकारिता तालिमको आवश्यकता र नेपालमा आमसंचार शिक्षाको प्रभाव रहेका छन । यतिमात्र होइन एक अर्को छुट्टै शीर्षकमा क्लष्टरबम प्रतिबन्धको अभियानमा आमसंचारको भूमिकालाई समावेश गरी राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरको सचेतना प्रस्तुत गर्नुभएको छ ।

पत्रकारिताका विविध आयामहरूमध्ये संचार कानुन पनि एउटा महत्वपूर्ण पक्ष हो । प्रस्तुत पुस्तकमा नेपालको संचार कानुनलाई प्रस्ट्याउने कोसिस भएको छ । प्रेस स्वतन्त्रताको महत्व आफ्नै ठाउँमा रहे पनि प्रेस स्वतन्त्रताको दुरुपयोग हुँदा आउनसक्ने दुष्परिणामहरूको बारेमा गहिरो ढंगले प्रकाश पारिएको यस पुस्तकमा नेपालमा प्रेस स्वतन्त्रताको वर्तमान अवस्थालाई पनि उजागर गरिएको छ । लिखित रुपमा प्रेस स्वतन्त्रता, सूचनाको हक, विचार तगा अभिव्यक्तिको स्वतन्त्रता र छापाखाना एवं प्रकाशन तथा प्रसारण स्वतन्त्रतालाई संविधान र कानुनमै सुनिश्चित गरिएको छ । यो पक्ष नेपाली पत्रकारिताका लागि अनुकूल कानुनी आधार हो । तर कतिपय अवस्थामा यस्ता अधिकारहरूको दुरुपयोग हुने गरेको र त्यसबाट व्यक्ति तथा संस्थाहरू गम्भीर मर्कामा पर्नेगरेको टिप्पणी समेत प्रस्तुत पुस्तकमा उल्लेख गरेर पत्रकारहरूलाई अधिकारको प्रयोग गर्दा दायित्व एवं जवाफदेहिताको पक्षलाई पालना गर्न सचेत गराउनुभएको छ ।

नेपाली पत्रकारिता क्षेत्रमा नेपाली भाषामा लेखिएका पुस्तकहरूको अभाव अहिले पनि खटकिरहेको छ । एकाध पुस्तक बाहेक नेपाली भाषामा लेखिएका धेरै पुस्तकहरू कि त गैरसरकारी संस्थाहरूको निहीत स्वार्थ प्रवाह गर्ने उद्देश्यले प्रकाशित भएका छन कि त निश्चित कक्षाको पाठ्यक्रममा सीमित रहेर व्यापारिक उद्देश्यले प्रकाशित भएका छन । नेपालको राष्ट्रियतालाई बलियो बनाउने, पत्रकारिता क्षेत्रलाई मर्यादित र जवाफदेही बनाउने तथा समाजलाई सुसंस्कृत मार्गतर्फ अग्रसर बनाउन अभिप्रेरित गर्नेखालका कृति र पुस्तकहरूको अहिले पनि ठूलो खडेरी छ । विद्यमान पृष्ठभूमिमा लेखक खनालले आफ्नो कार्यानुभव र भोगाइको आधारमा स्वतन्त्र दृष्टिकोण प्रस्तुत गर्ने आँट गर्नुभएको छ । यस अर्थमा पुस्तकले बौद्धिक, प्राज्ञिक र राष्ट्रिय विशेष पाउने निश्चित छ ।

भाषागत तथा वर्णविन्याशका हिसावले पुस्तकको समीक्षा फरक शीर्षक हुने कुरा हो । तर, प्रस्तुत पुस्तकमा विषयवस्तुका हिसावले खोट लगाउनुपर्ने ठाउँ छैन । समेटिएका लेखहरू तथ्य, प्रमाण तथा ज्ञानहरूको जगमा दृष्टिकोण समेटिएका हुनाले अर्थपूर्ण छन् । यसले पाठकलाई तत्तत् विषयहरूलाई बोध गर्न र आफनो धारणा बनाउन तथा अभिव्यक्त गर्न निकै सजिलो बनाउने छ । पुस्तकको कागज, साजसज्जा र डिजाइन सबै गुणस्तरीय छ । अवधारणागत अस्पष्टता छैन । क्लीष्टता र अनावश्यक जटिल शब्द एवं वाक्यहरू पनि छैनन् । जसले गर्दा जस्तोसुकै पाठकले पनि पुस्तक अध्ययन गरेर यसभित्रको ज्ञान ग्रहण गर्न सक्दछ ।



Rating (Votes: )   
Share     Print


Other Articles:
दुई भाषामा एकांकी नाटक “भृकुटीको विवाह” (12.13.2011)
समालोचना संग्रह : "केही प्रतिभा केही प्रवृत्ति" (08.15.2011)



 
::| Latest News

 
[Page Top]