युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 12.18.2018, 11:16pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
कृति समीक्षा
 
आफ्नै सेरोफेरोमा जिन्दगीका कथाव्यथा - देवराज अर्याल
Monday, 10.15.2012, 03:43pm (GMT+5.5)

गीत, कविता, गजल, खण्डकाब्य र उपन्यासमार्फत नेपाली साहित्यको क्षेत्रमा आफूलाई स्थापित गर्दैआउनु भएका युवा साहित्यकार श्यामबहादुर भावुकले पछिल्लोपटक “जिन्दगीका कथा व्यथा”नामक खण्डकाब्य प्रकाशनमा ल्याउनु भएको छ । ग्रामीण परिवेशमा आधारित जीवनशैलीलाई मुख्य कथावस्तु बनाएर प्रस्तुत गरिएको यो रचना साहित्यकार भावुकको सातौं कृति हो । 

यसअघि उहाँले उपन्यासको रुपमा अधुरो सपना, खण्डकाब्यको रुपमा अठोट तथा सुन्तली र हर्के, कविताको रुपमा होसियार, गजलको रुपमा मौन खबर एवं गीतिकाब्यको रुपमा सम्झनाको दियो नामक कृतिहरू प्रकाशशनमाप्रकाशन गरिसक्नु भएको छ । 

जिन्दगीका कथाव्यथा यथार्थवादमा आधारित भएर रचना गरिएको खण्डकाब्य हो । साहित्यकार भावुकले आफ्नै जीवनमा घटेका घटनाहरूलाई आधार बनाएर यसलाई गीति शैलीमा प्रस्तुत गर्नुभएको छ । गाउँले परिवेशमा रहेको एउटा मध्यम वर्गीय परिवारको यथार्थ अवस्था, साझा आकांक्षा, चाहाना, दृष्टिकोण र रहनसहन तथा संस्कृतिलाई खण्डकाब्यमा सजीव ढंगले प्रस्तुत गरिएको छ । खण्डकाब्य पूरै पढिसक्दा एउटा गाउँले परिवेशको चित्र अवलोकन गर्न र परिवेशको अनुभूति गर्न सकिन्छ । प्रस्तुत अंशले पनि यसलाई स्पष्ट गर्दछ-
गाउँलेको रीत हिजोसम्म पनि यस्तै थियो चलन
विरामीलाई गाउँमा झारफूक गर्दाखेरि यो मनमा जलन
पहिलेको जस्तो यो जमाना होइन झारफुकले छुँदैन 
विरामी भो भने अस्पतालमा अब नलगेर हुँदैन । 

प्रस्तुत खण्डकाब्यको विषयवस्तु काठमाडौं जिल्ला अन्तर्गतका गाउँ, ठाउँ र पेरिफेरिको जीवनशैली हो । काठमाडौं परिपरीको गाउँ ठाउँलाई काँठ पनि भन्ने गरिन्छ । साहित्यकार भावुकले प्रस्तुत खण्डकाब्यलाई काँठे भाकामा रचना गर्नुभएको छ । वास्तवमा यो भाका काठमाडौं वरिपरीका गाउँ ठाउँ र वाग्मती अञ्चल अन्तर्गत पर्ने नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, ललितपुर जिल्ला तथा बाहिरका दोलखा, रामेछाप र सिन्धुलीमा पनि निकै लोकप्रिय रहेको पाइन्छ । साहित्यकार भावुकले यो भाकालाई टपक्टै टिपेर आफ्नो रचनामा उतार्नुभएको छ । यसलाई उहाँको विशिष्ट काव्यिक विशेषताको रुपमा लिनुपर्ने हुन्छ । 

साहित्यकार भावुकले प्रस्तुत खण्डकाब्यमा ग्रामीण परिवेशको जीवनका अतिरिक्त आफ्नै कथाव्यथालाई पनि समेटनु भएको छ । विवाह बन्धनको पृष्ठभूमिबाट शुरु गरिएको यो खण्डकाब्यको यात्रालाई वर्तमानमा ल्याएर विश्राम दिलाइएको छ । प्रस्तुत खण्डकाव्यको यात्रालाई वर्तमानमा ल्याएर वीट मारिएको भए पनि साहित्यकारको जीवन र उहाँको अरु काव्यिक यात्राहरू पनि अझै पनि निरन्तर रुपमा अगाडि बढि नै रहेका छन । साहित्यकार भावुकले खण्डकाब्यमा बढ्ता महत्व आफ्नो विवाहलाई दिनुभएको छ भने बाबुआमाप्रतिको आफनो कर्तव्यलाई पनि विशेष रुपमा उठाउनुभएको छ । यसैगरी दाजु–भाउजु र बहिनीप्रतिको उत्तरदायित्वको कुरालाई पनि उत्तिकै महत्वको साथ उठाउनु भएको छ । यसैगरी एकअर्को प्रसंगमा उहाँले सामाजिक दायित्व र छोराछोरीप्रति आमाबाबुले गर्नुपर्ने कर्तव्यलाई पनि उजागर गर्नु भएको छ । 

आफूभन्दा साना दुइटी बहिनीहरू तिनको बिहे भैसक्यो 
घरमा आमाबाबु बिहे गर भन्छन् तेरो उमेर गैसक्यो 
कान्छी बहिनी पनि पढेर गई भर्खर जागिर खाकी छ
घाँस दाउरा गर्न परेन नी ऐले उसले सुख पाकी छ 

यसरी विवाह गर्नुपर्नाको कारणलाई आधार बनाइ खण्डकाब्यमार्फत छोरीलाई पनि पढाउनु पर्ने, छोरा छोरीको समयमै विवाह गरिदिनुपर्ने, पढाइको प्रतिफल राम्रो हुने र सुख पाइनु जस्ता सन्देशहरू प्रवाह गर्न खोजिएको छ । 

साहित्यकार भावुकले विबाह विभिन्न प्रकारको हुने बताउँदै सरल र सजिलो विबाहलाई प्रोत्साहन दिनुपर्ने सन्देश दिनु भएको छ । उहाँले विबाहमा दाइजोलाई भन्दा पनि नारीको पढाइ, शील, स्वाभाव र कामलाई महत्व दिनुपर्ने र आफूले त्यस्तो विबाहलाई आत्मसात गरेर एउटा नमूना प्रस्तुत गरेको दृष्टान्त प्रस्तुत गर्नुभएको छ । यसलाई स्पष्ट पार्न गारे र नमूना नाम पात्र सिर्जना गर्नुभएको छ । त्यसैले त खण्डकाब्यमा भनिएको छ-
त्यो बुहारी असल जागिरे हो भने सम्पत्ति नै त्यही हो
भन्दैनौं नि हामी अरु जस्तो फेरि सम्पत्ति नै सबै हो ...।

प्रस्तुत खण्डकाब्य आफैमा सरल छ । सबैले बुझ्ने शैलीमा लेखिएको छ । सहज प्रस्तुतिमा बोधगम्भ प्रकृतिको छ । यसभित्र एकातिर ग्रामीण परिवेशको आर्थिक सामाजिक पक्षलाई उजागर गरिएको छ भने अर्कोतिर साँस्कृतिक तथा धार्मिक रीतिरिवाज र परम्पराका कुराहरूलाई मिहिन ढंगले उठान गरिएको छ । कतै माया प्रेमका कुरा उठाइएको छ भने कतै सामाजिक दायित्वको प्रसंगलाई जोडिएको छ ।

यसैगरी राम्रो काम र नैतिक सन्तुलनको पक्षलाई स्थापित गर्न उपयुक्त ढंग र शैलीका सन्देशहरू पनि दिइएको छ । त्यसैले यो खण्डकाब्यलाई साहित्यकार भावुकले सिर्जना गर्नुभएको उत्कृष्ट नमूनाको रुपमा लिनुपर्ने हुन्छ । नेपाली खण्डकाब्यको भण्डारमा पनि यो कृति एउटा फरक प्रवृत्तिको चिनारी बन्ने छ । भावुकको काब्यिक यात्रामा अझ निखारता थपिंदै जानेमा विश्वास लिदै थप कृतिको प्रतिक्षा सहित यस नयाँ कृतिका लागि शुभकामना । 


Rating (Votes: )   
Share     Print


Other Articles:
चन्द्रमानको राष्ट्रवादी दृष्टिकोण (10.01.2012)
“भिक्षु र दार्शनिक”को विमोचन (04.03.2012)
“वाफको पर्दा”भित्र पसेर हेर्दा (03.26.2012)
खनालको पत्रकारिता सन्दर्भ : देवराज अर्याल (03.12.2012)
दुई भाषामा एकांकी नाटक “भृकुटीको विवाह” (12.13.2011)
समालोचना संग्रह : "केही प्रतिभा केही प्रवृत्ति" (08.15.2011)



 
::| Latest News

 
[Page Top]