युगसम्बाद साप्ताहिक

चीनको उदार सहयोग ः नेपाल उच्च प्राथमिकतामा
Monday, 08.22.2011, 03:37pm (GMT5.5)

काठमाडौं । नेपालचीनबीच दौत्य सम्बन्ध कायम भएको आधा शताब्दीभन्दा बढी भएको छ । धार्मिकसांस्कृतिक सम्बन्धको लामो इतिहास बोकेका दुई मुलुकबीचको सम्बन्ध अन्तर्राष्ट्रिय जगतका लागि पनि अनुकरणीय बन्दै आएको छ । यी दुई मुलुकले अन्तर्राष्ट्रिय मञ्चहरूमा एकले अर्कोलाई दिएको साथ र गरेको सहयोगले पनि नेपाल चीन सम्बन्धको महत्व र गहिराको पुष्टि गर्दछ । पछिल्ला दिनमा चीनले नेपालप्रति बढी नै चासो देखाइरहेको छ, नेपालको विकासमा चीनले सहयोगको हात बढाइरहेको छ । पछिल्लोपटक चिनीया कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा राष्ट्रिय सुरक्षा सल्लाहकार चौ युङ खाङको नेतृत्वमा नेपाल आएको ६० सदस्यीय भ्रमण टोलीले दुई छुट्टाछुट्टै शीर्षकमा तीन अर्बभन्दा बढीको ऋण तथा अनुदान उपलब्ध गराउने सम्झौता गरेको छ । चीनले नेपाललाई उपलब्ध गराएको पछिल्लो ऋण तथा अनुदान शिक्षा, स्वास्थ्य, जलविद्युत तथा सुरक्षा क्षेत्रमा खर्च गरिने छ । चीनले नेपाललाई उच्च प्राथमिकतामा राखेको अहिले सर्वत्र अनुभूत छ । चीनका वरिष्ठ नेताबाट हालै भएको नेपाल भ्रमणले नेपालको आर्थिकसामाजिक विकासको क्षेत्रमा नयाँ लहर ल्याएको छ । यसले हाल नेपालमा भैरहेको भारतीय हस्तक्षेप कम गर्न ठूलो बल पुग्ने चर्चा हुन थालेको छ ।

सरकार कामचलाउ भएको हुँदा चीनको उच्चस्तरीय टोलीका लागि भ्रमण केही खल्लो भएको हुनसक्छ तर चिनीया टोलीको भ्रमणा पहिले नै तय भैसकेका कारण सरकार कामचलाउ भए पनि नेपाललाई उच्च प्राथमिकतामा राखेको हुँदा त्यसलाई नरोकिएको चिनीया अधिकारीहरूले पत्रकार सम्मेलनमै बताएका थिए । चिनीया कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य खाङले "राजनीतिक अस्थिरता लम्बिदै गए विदेशीले चलखेल गर्ने मौका पाउने" उल्लेख गर्दै "शान्ति प्रक्रियाको निष्कर्ष र संविधान लेखनकार्यले जति छिटो पूर्णता पाउँछ विदेशी चलखेलको सम्भावना उति टर्दै जानेछ" भन्ने धारणा राख्नुभएको उल्लेख्य छ । उहाँले नेपालको भूराजनीतिक अवस्थाको विश्लेषण गरेरै चीनले नेपाललाई उच्च प्राथमिकतामा राखेको समेत बताउनुभएको थियो ।

नेपालमा चिनीया लगानी भित्र्याउन यो भ्रमण निकै फलदायी भएको आम धारणा छ । पश्चिम सेती, बुढी गण्डकी जस्ता महत्वाकांक्षी जलविद्यसत आयोजनामा चीनले पहिलेदेखि नै चासो देखाइरहेको पृष्ठभूमिमा अहिले ती आयोजनाका लागि कुनै सम्झौता नभए पनि चीनले नेपालको जलस्रोतको विकासमा देखाएको चासोले पश्चिम सेती जस्ता आयोजना नेपालमै खपत गर्ने गरी निर्माण हुनेमा धेरैको विश्वास जागेको छ । भ्रमणको पूर्वसन्ध्यामा कम्तिमा १० खर्बको लगानी सम्झौता हुने समाचार विवरणहरू सार्वजनिक भएका थिए ।

दक्षिण र दक्षिण पूर्वी एसियामा चीनको प्रभाव कम गर्न भारतको भूमिका महत्वपूर्ण हुने सन्देश अमेरिकाले दिइरहेको बेला विश्वको दोस्रो ठूलो आर्थिक शक्ति चीनले नेपालको सुरक्षा सम्वेदनशीलता र भूराजनीतिक अवस्थितिलाई गम्भीरतापूर्वक लिएकोमा कुनै शंका छैन । नेपालको सार्वभौमिक अखण्डतामा कहीं कतैबाट आँच आए चीन चुपचाप बस्दैन भन्ने सन्देश बारम्बार चिनीया पक्षबाट आइरहेको सन्दर्भमा सत्ता राजनीतिको चर्को खेल र भारतीय हस्तक्षेपको नांगो नाच चलिरहेको बेला भएको उच्चस्तरीय चिनीया टोलीको भ्रमणले नेपालमा भारतीय हस्तक्षेप कम गर्न ठूलो भूमिका खेलेको अड्कलबाजी छ । अर्कोतिर नेपाल मामिलामा भारत र अमेरिका दुवै मुलुक असफल भएको चर्चा चलिरहेका बेला चीनले नेपालको आर्थिकसामाजिक विकासका लागि सहयोगको हात बढाउँदै जाँदा नेपालमा त्यसको सकारात्मक प्रभाव पर्ने र नेपाली जनताले चीनसंगको सम्बन्धको महत्व झनै प्रष्टिने स्वतः अनुमान गर्न सकिन्छ ।

सूत्रहरूका अनुसार चीनले नेपालको स्रोतमा चासो देखाउनु जलस्रोतको एकलौटी उपभोग गर्ने मनसाय राख्दैआएको भारतका लागि ठूलो चुनौति भएको निश्चित छ । भारतीय लगानीमा निर्माण आरम्भ गरिएका माथिल्लो कर्णाली, अरुण३ जस्ता आयोजनाबाट उत्पादित विद्युत भारत निर्यात हुने भएकाले ती आयोजना सम्पन्न हुनु र नहुनुमा नेपालको ऊर्जा संकट टार्ने कुनै सम्भावना छैन । तर लगानीको तुलनामा अधिक प्रतिफल दिने भनी आकर्षक आकर्षक मानिएका पश्चिम सेती, बुढी गण्डकी, उपल्लो मस्र्याङ्दी जस्ता आयोजनामा चिनीया लगानी भित्रिने सम्भावना बढिरहेको छ । तर सरकारले चिनीया सहयोग भित्र्याउन कति जागरुकता देखाउँछ र चासो राख्छ ? त्यो हेर्न बाँकी नै छ । सरकारले १६ वर्षदेखि आयोजना ओगटेर बसेको पश्चिम सेती हाइड्रोपावर कम्पनीको अनुमतिपत्र खारेज गरेर लगानीको ढोका खुला गरिसकेको छ । अर्कोतिर यसअघि नै चाइना थ्री गोरजेज कर्पोरेशनले पश्चिम सेतीमा लगानीका लागि सरकारसमक्ष प्रस्ताव पठाएको प्रसङ्ग पनि विस्मृतिमा छैन । नेपालमा स्थिर सरकार हुने हो भने तत्काल दुईतीनवटा ठूला आयोजनामा चिनीया पक्षको लगानी रहने धेरैको विश्वास प्रकटित छ ।

नेपालको भूमि प्रयोग गरेर चीन विरोधी गतिविधि बढाउने बाह्य शक्तिको खेल बारम्बार प्रकट हुँदैआएको पृष्ठभूमिमा नेपालले एक चीन नीीतप्रति देखाएको प्रतिबद्धता र पछिल्लो पटक नेपालको सार्वभौमिक अखण्डताको रक्षामा सरकारले खेलेको भूमिकाको सह्राना चिनीया टोलीले गरेको छ । चीनले नेपालसंगको सम्बन्धलाई अझ प्रगाढ बनाउन यस्ता उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिनुपर्नेमा जोड दिएको छ । खाङ नेतृत्वको भ्रमण टोलीले नेपाल समक्ष पाँच बुँदे प्रस्ताव नै अघिसारेको छ । प्रस्तावमा चिनीया लगानी भित्र्याउने, सुरक्षा, शिक्षा र मानव संशोधन विकासमा सहयोग पु¥याउने, जलवायु परिवर्तन, आर्थिक मन्दी र खाद्य संकटमा सहकार्य गर्ने तथा उच्च तहको भ्रमण बढाउने उल्लेख छ ।

यी विषयहरूको सहकार्यले नेपालको आर्थिकसामाजिक विकासमा ठूलो सहयोग पुग्ने मात्र होइन भारत निर्भर हुँदैगएको नेपालको अर्थतन्त्रलाई पनि नयाँ दिशा र गति दिएर आत्मनिर्भरताको बाटोमा अगाडि बढाउने विश्वस गर्न सकिन्छ । नेपालको आर्थिकसामाजिक विकासमा चीनले जेजस्तो सहयोगका प्रस्ताव अघि सारेको छ त्यसमा सहकार्य गर्नु राष्ट्रको हितमा छ । चीनसंग बढ्दै गएको व्यापार घाटा कम गर्ने, नेपालका समावर्ती क्षेत्रमा यातायात सुविधा बढाउने लगायत अरु थुप्रै विकास आयोजनाहरूमा चिनीया चासो बढ्दै गएका कारण त्यसलाई सरकारले गम्भीरतापूर्वक लिएर सुझबुझका साथ पहल गर्नुपर्ने बेला आएको छ । विश्वको महाशक्ति राष्ट्र बन्ने होडमा रहेको चीनले नेपाललाई उच्च प्राथमिकतामा राखेर उच्चस्तरीय भ्रमणमार्फत सहयोगको हात फैलाउँदा जानु अति कम विकसित राष्ट्र नेपालका लागि ठूलो ढाडस हो ।



Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com