| युगसम्बाद साप्ताहिक | ||||
|
देशैभर भूकम्पको प्रभाव ः नौजनाको मृत्यु करोडौंको क्षति Monday, 09.19.2011, 02:59pm (GMT5.5) काठमाडौं । आइतबार बेलुकी ६ बजेर २५ मिनेट जाँदा गएको शक्तिशाली भूकम्पका कारण मुलुकभरमा ९ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन् । नेपालको ताप्लेजुङ र भारतको सिक्किम सीमाक्षेत्रमा केन्द्रविन्दु भइ गएको ८ दशमलव ९ रेक्टर स्केलको सो भूकम्प १९९० यताको सबैभन्दा शक्तिशाली मानिएको छ । भूकम्पका कारण राजधानीको लैनचौरस्थित बेलायती दूतावासको पर्खाल भत्किदा तीन जनाको मृत्यु भएको छ । धरानमा घर भत्किँदा दुई जनाको ज्यान गएको छ भने संखुवासभामा एकजनाको मृत्यु भएको छ । त्यसै गरी भक्तपुर सुनसरी र धनकुटामा थप तीन जनाको मृत्यु भएको छ । भक्तपुर गठठ्घरकी ६५ बर्षीया लिला पौडेलको हिजो बिहान उपचारका क्रममा मृत्यु भएको थियो । त्यस्तै धनकुटाको फलाँटे-५ मा पनि ४० बर्षीया मधु कार्कीको मुत्यु भएको छ भने सुनसरी हरिपुर गाविसकी सावित्रीदेवी मण्डलको घर भत्कदा मुत्यु भएको थियो । भूकम्पको कम्पन महसुस गर्नेवित्तिकै राजधानी र बाहिर जनजीवन भयपूर्ण भएको थियो । ९ रेक्टर स्केलको भूकम्प धान्ने क्षमता भएको भनिएको संविधानसभा भवनभित्र समेत संसद् बैठक चलिरहेका बेला सभासदहरूबीच भागदौड मच्चिएको थियो । कम्पन महसुस भएपछि सभासदहरू बैठकै छोडेर बाहिर निस्किएका थिए । भूकम्पको कम्पन भएपछि चलिरहेका गाडीसमेत केही समय बीच सडकमै रोकिएका थिए । काठमाडौं, ललितपुर र भक्तपुर गरी ३६ जनाभन्दा बढी घाइते भएका छन् । भूकम्प गएपछि घरको झ्याल र छतबाट भुइमा हामफाल्दा चार जनाको खुट्टा भाँचिएको छ । वानेश्वरको पेन्टागन कलेजको झ्याल, बुद्धनगरमा दुई तलामाथिको छत र मैतीदेवीमा घरको छतबाट हामफालेका चार जनाको खुट्टा भाँचिएको हो । मोडल अस्पतालबाट हामफालेर घाइते भएका चार जनाको त्यहीं उपचार भइरहेको छ । केन्द्रीय कारागार जगन्नाथ देवलमा भूकम्पबाट जोगिन भागदौड हुँदा दुई कैदी घाइते भएका छन् । धेरैको खुट्टा मर्किएको प्रहरीले जनाएको छ । काठमाडौंको स्युचाटारमा चारवटा घर भत्किएका छन् । साँखुमा दुई घर र भक्तपुरमा १३ घर भत्किएको र चार जना घाइते भएका थिए । जानकारहरूका अनुसार विश्वका एक सय ९८ मुलुकमध्ये भूकम्पीय विपतको जोखिमका दृष्टिले नेपाल ११ औं स्थानमा पर्छ । १९९० को माघ २ मा ८ दशमलव ४ रिक्टर स्केल क्षमताको भूकम्प जाँदा ८ हजार ५ सय १९ जनाको ज्यान गएको थियो भने घर, विद्यालय, देवालय र पाटी पौवा तथा सार्वजनिक भवन गरी झन्डै दुई लाख सात हजार सात सय ४० संरचना भत्किएको थियो । त्यस्तै २०४५ सालको भदौ ५ गते बिहान ४ बजे उदयपुर जिल्लामा केन्द्रविन्दु भएर गएको ६ दशमलव ६ रेक्टर स्केल क्षमताको भूकम्पले निकै ठूलो क्षति पुगेको थियो । त्यतिबेला ७ सय २१ जनाको मृत्यु भएको थियो भने ६५ हजारभन्दा बढी संरचना ध्वस्त भएका थिए । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||