काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफूलाई पार्टीभित्र र बाहिरबाट सिध्याउने खेल भइरहेको दावी गर्नुभएको छ । उहाँले माओवादी पार्टीलाई मन नपराउने र माओवादीले शान्ति र संविधानको कार्यभार पुरा गरोस् भने नचाहने विदेशी तथा स्वदेशी शक्तिहरूले माओवादी पार्टी र आफूलाई सिध्याउन खेजिरहेको आरोप लगाउनुभएको हो ।
पार्टीभित्र चरम विवाद उत्पन्न भएपछि यस्तै अभिव्यक्ति दिंदै आउनुभएका अध्यक्ष प्रचण्डले त्यो स्वदेशी र विदेशी शक्ति को हो भन्नेतिर भने कुनै संकेत गर्नुभएको छैन । अध्यक्ष प्रचण्डले उक्त कुरा गत शनिबार भक्तपुरमा गणतान्त्रिक सम्पर्क मञ्चले आयोजना गरेको राजनैतिक भेटघाट तथा चियापान कार्यक्रममा बताउनुभएको हो । उहाँले पार्टीभित्रको अन्तरद्वन्द्वलाई आफूले स्वाभाविक रुपमा लिएको बताउँदै पार्टीमा ठूलठूल्ला बहस र द्वन्द्व हुने गरेको र पार्टी विभाजन समेत हुने गरेका कारण अहिलेको अन्तरद्वन्द्व सामाधन गर्न आफूलाई दूधभात खाए जस्तो सजिलो हुने दावी समेत गर्नुभएको थियो । अध्यक्ष प्रचण्डले अहिलेको पार्टीको अन्तरद्वन्द्वमा बाहिरी हस्तक्षेका कारण समाधन गर्न अलि ढिलाई भएको भन्दै पार्टी कुनै पनि हालतमा नफुट्ने र फुटाउन चाहने तत्वले चाहेर पनि फुटाउन नसक्ने दावी गर्नुभयो ।