युगसम्बाद साप्ताहिक

विदेशी गुहार्ने कि आफैं मिल्ने ?
Monday, 09.26.2011, 02:36pm (GMT5.5)

काठमाडौं । राष्ट्रिय राजनीतिमा देखापरेको अन्योल, अनिश्चय र गतिरोध अन्त्य हुने कुनै शुभसंकेत देखापरेको छैन । नेताहरू एक आपसमा मिल्न छाडेर विदेशी गुहार्ने र रिझाउने असंगत बाटोमा अझै हिंडिरहेका छन् । एक आपसमा मिलेर स्थायी शान्ति र संविधान निर्माणमा जुट्नुपर्ने दायित्व बिर्सेर विदेशीका सामु एक–अर्काको पोल लगाउने काममा विभिन्न दलका नेताहरू जुटिरहेको तीतो अनुभूति जनमानसमा व्याप्त छ । नयाँ सरकार गठनसंगै शान्ति र संविधानले गति लिन्छ भन्ने आम अपेक्षा बिस्तारै धुमिल बन्दै गैरहेको बेला अघिल्लो साता नेपाली काग्रेसका सभापति सुशील कोइरालाले माओवादीले आफ्नो प्रतिबद्धता अनुसार शान्ति प्रक्रिया अगाडि बढाउने तत्परता नदेखाएकाले दवाव दिनुप¥यो भन्दै नेपालस्थित विदेशी कुटनीतिक नियोगका अधिकारीहरूलाई आग्रह गर्नुभयो । सभापति कोइरालाले अमेरिकी कार्यबाहक राजदुत प्याट्रोसिया न्याहोरी, नर्वेका विशेष दूत टोर टोरेन र फिनल्याण्डका राजदूत आस्को लुकानेनसामु सभापति कोइरालाले मधेशी मोर्चासंग माओवादीले गरेको चार बुँदे सहमति अनुसार शान्ति प्रक्रिया र संविधान निर्माण कार्य अगाडि बढ्न नसक्ने भन्दै माओवादी आफैं शान्ति र संविधान निर्माण प्रक्रियाबाट भाग्न खोजेकाले दवाव दिन अनुनय विनय गर्नुभएको थियो । त्यसै गरी सभापति कोइरालाले नेपाल भ्रमणमा रहनुभएका बेला भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीसंग पनि माओवादी इमान्दार हुन नसकेको आरोप लगाउनुभएको थियो । त्यस्तै वरिष्ठ नेता शेरबहादुर देउवाले पनि माओवादी इमान्दार भए शान्ति प्रक्रिया निष्कर्षमा पु¥याउँदै संविधानसभाबाट नयाँ संविधान तोकिएकै समयमा जारी गर्न सकिने धारणा जेलीसमक्ष राख्नुभएको थियो ।
सबै नेताहरू माओवादीलाई दोषारोपण गरेर आफ्ना कमजोरी लुकाउने दाउपेच चालिरहेका छन् । अझ भारतीय नेताका सामु त सबै लम्पसार नै पर्ने गरेका छन् । राष्ट्रिय स्वाधीनताको चर्को कुरा गर्दै भारत विरोधी अभियान छेड्ने माओवादीका अध्यक्ष प्रचण्ड पनि भारतीय नेताहरूका सामु बारम्बार आफू भारत विरोधी नभएको प्रष्टिकरण दिने गर्नुभएको छ । जेलीसंगको वार्ताका क्रममा माओवादी अध्यक्ष प्रचण्डलाई भारत भ्रमणको निम्तो समेत दिइएको थियो । सो मौकामा प्रचण्डले आफूले उपयुक्त समयमा भारत भ्रमण गर्ने जनाउँदै आफू र आफ्नो पार्टीलाई भारत विरोधीको रुपमा नबुझ्न आग्रह गर्नुभएको खुलासा भैसकेको छ । उहाँले आफुहरू भारतसंग सम्बन्ध विस्तार गरेर अगाडि बढ्ने चाहनामा रहेको सन्देश समेत दिनुभएको थियो ।
वर्तमान सरकार भारतको इशारामा गठन भएको र भारतकै दवावमा मधेशी मोर्चासंग चार बुँदे राष्ट्रघाती सहमति गरेको आरोप माओवादीभित्रैबाट सतहमा आएको छ । माओवादीको  वैद्य पक्षले चार बुँदे सहमति राष्ट्रघाती र नेपाललाई सिक्किमीकरण गर्ने प्रपञ्च चलेको निष्कर्ष निकालेर वर्तमान सरकारको उपादेयतामाथि नै गम्भीर प्रश्न खडा गरेको छ । यस्तो बेला भएको जेलीको नेपाल भ्रमण अर्थपूर्ण रहेको सूत्रहरूको दावी छ । सोही धारणालाई बल दिने गरी भारतीय नेता आउनासाथ आफू भारत विरोधी नभएको भन्ने प्रष्टिकरण दिने माओवादी अध्यक्षको कथनले माओवादीभित्रै बबण्डर मच्चाएको छ । माओवादीले शान्ति र संविधानको काम हुन दिएन भन्ने अन्य दलका नेताहरूको अविवेकी प्रवृत्तिको निरन्तरताले भारतीय हस्तक्षेप र निर्देशक भूमिका विस्तारको अवाञ्छित मौका दिएको छ । दलीय स्वार्थ र राजनीतिक आग्रह प्रवाहमै समय व्यतित गरिरहेका नेताहरूले विदेशी सामु एक अर्काको पोल लगाएर समस्याको समाधान खोज्नु ‘काशी जान कुतिको बाटो’ समाएजस्तै हो ।
नेपालमा राजनीतिक अस्थिरता बढ्नुको एउटा कारण वैदेशिक हस्तक्षेप पनि हो । राष्ट्रिय अखण्डतामाथि नै आँच पुग्ने गरी राजनीतिक दलका नेताहरूले विदेशीसामु एकले अर्काको कुरा लगाउने प्रवृत्ति बढेकाले विदेशीले प्रचूर मात्रामा खेल्ने मौका पाएका छन् । यसले गर्दा मुलुकको पीडा अरु बढेको छ । यस्तो स्थितिमा मुलुक कति समयसम्म प्रताडित हुनुपर्ने हो ? यसै भन्न सकिने स्थिति छैन । राजनीतिक दलका नेताहरू  राष्ट्रिय समस्याप्रति सम्वेदनशील भएका भए मुलुकको सार्वभौम स्वाभिमान यतिसाह्रो प्रताडित हुने थिएन ।



Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com