काठमाडौं । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याएर संविधान लेखन कार्य सम्पन्न गर्न सरकारलाई हदैसम्मको सहयोग गर्ने घोषणा गरेको नेपाली कांग्रेस यतिबेला मूल मुद्दालाई किनारा लगाएर घर झगडामै व्यस्त भएको छ । नेपाली कांग्रेसका भातृ संगठनहरूको विघटन विवादले शान्ति र संविधान लेखन कार्यलाई ओझेलमा पारेको र अवरोध पु¥याइरहेको सो दलका शीर्ष नेताहरूले स्वीकारे पनि घर झगडा रोकेर रचनात्मक बाटो समात्ने सुरसार कतै देखिंदैन । आरोप–प्रत्यारोपको रोगले ग्रस्त ठूला दलहरूले विगतमा शान्ति र संविधानका मुद्दालाई जसरी बिचल्लीमा पारेका थिए त्यसैलाई अहिले पनि निन्तिरता दिइरहेका छन् । शान्ति र संविधान यतिबेला सडक बालकको हैसियतमा रहेको प्रतीत छ । उसलाई कहिले कुन संस्थाले त कहिले कुन संस्थाले बेलाबेलामा काखी त च्याप्छन् तर केही दिनपछि पुनः सडकमै लगेर मिल्काइदिन्छन, ठीक त्यस्तै अवस्था अहिले शान्ति प्रक्रिया र संविधान लेखन कार्यको हुन पुगेको छ ।
यतिबेला जुन रुपमा दलहरूबीच तीब्र छलफल हुनुपथ्र्यो, त्यस्तो सम्भावना नै टर्दै गएको छ । नेपाली कांग्रेस भातृ संस्थाको कलहमा फसेको छ भने एकीकृत नेकपा माओवादीभित्र वर्तमान सरकारको विपक्षमा मोर्चाबन्दी नै सुरु भैसकेको छ । एमालेको पछिल्लो गतिविधि त्यतिसाह्रो विवादित नदेखिए पनि सो पार्टी केही गर्नसक्ने हैसियतमै छैन । जतिसुकै दावी गरे पनि एमालेले यसबीचमा पाएको दुईपटकको सरकार चलाउने अवसरलाई सदुपयोग गर्न नसकेको जगजाहेर नै छ । उसंग अरुको आलोचना गर्ने नैतिक हैसियत नै छैन ।
सेना समायोजनका विषयमा सरकार नेतृत्व दल एकीकृत नेकपा माओवादीसंग कांग्रेस र एमालेको मतभेद दूर नभएपछि यो दिशामा ठोस प्रगति हुन नसकेको खुलस्त नै छ । यतिबेलाको प्रमुख समस्या एमाओवादी र नेपाली कांग्रेसबीच देखिएको मतभेद नै हो । यी दुई दलबीच सहमति नहुँदा शान्ति र संविधानको बाटो अबरुद्ध हुँदैआएको हो । विवाद मिलाउन माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस सभापति सुशील कोइरालालाई पटकपटक छलफलमा बस्न आग्रह गरे पनि कोइरालाले त्यसलाई अस्वीकार गर्दै आउनु रहस्यमय बन्दैगएको छ ।
नेपाली कांग्रेस यतिबेला फेरि आन्तरिक कलहमै अल्झेको छ । पार्टी एकता भएको थोरै समयमा पुनः विभाजित हुने नौवत खडा भएको चिन्ता आम कार्यकर्तामा उत्पन्न हुन थालेको छ । अघिल्लो हप्ता केन्द्रीय कमिटीको बहुमतले भातृ संगठन विघटन गरेपछि उत्पन्न भएको विवादले उग्ररुप लिइरहेको छ । पार्टीमा आ–आफ्नो पक्षको पल्ला भारी बनाउने रणनीतिमा लागेका सभापति सुशील कोइराला र वरिष्ठ नेता देउवा पक्षधरहरूको सक्रियता विवाद समाधानतिरभन्दा विवाद विस्तारतिर उन्मुख छ । नेपाली कांग्रेसका शीर्ष नेताहरूलाई यतिबेला शान्ति र संविधानभन्दा पनि कसरी पार्टीमा पकड जमाउने भन्ने चिन्ताले खाइरहेको छ ।
प्रधानमन्त्री निर्वाचनदेखि नै सभापति सुशील कोइराला र वरिष्ठ नेता देउवाबीच अन्तर कलह बढेको जगजाहेर नै छ । यो पृष्ठभूमिमा नै सभापति कोइरालाले आफू निकटका उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा डा. रामशरण महतसहितका नेताहरूको समर्थनमा एकतर्फी रुपमा चारवटा भातृ संगठन विघटन गर्नुभएको थियो । सभापति कोइराला निकट नेताहरू भातृ संगठन विघठन गर्ने निर्णयको बचाउ गर्न एकमत छन् । देउवा समूहको तेजोबध गर्न नै भातृ संगठनहरू विघटन गरेको आभाषले वरिष्ठ नेता शेरबहादुर देउवा निकै रुष्ट हुनुभएको हो । पार्टी सभापति सुशील कोइराला अप्रजातान्त्रिक ढङ्गले अघि बढेको आरोप लगाउँदै उहाँले दुई पार्टी एक हुँदा स्व. गिरिजाप्रसाद कोइराला र आफूबीच भएको सहमति विपरीत पार्टी संस्थापन पक्षले अगाडि बढेको आरोप लगाउनु भएको छ । केन्द्रीय कार्यसमितिले आफ्नो पक्षको वर्चश्व रहेको भातृृ संगठन विघटन गरेपछि रुष्ट बनेको देउवा पक्षधर नेताहरू अस्तित्व रक्षाकै पीडाले आक्रान्त छन् । देउवा पक्षधर नेताहरूको विरोध हुँदाहुँदै पनि केन्द्रीय कार्यसमितिले नेपाल तरुण दल, नेपाल महिला संघ, आदिवासी जनजाति संघ र प्रजातान्त्रिक सेनानी संघ बिघटन गरेको थियो । ती चारवटै संगठनमा देउवा पक्षका नेता कार्यकर्ताको बाहुल्यता थियो ।
पार्टी संस्थापन पक्ष र देउवा पक्षबीच अलग अलग बैठक भैरहेका छन् । पार्टी एकतालाई कायम राख्न आफूले ठूलो त्याग गरेको दावी गर्दै वरिष्ठ नेता देउवाले आफूहरूलाई सभापतिले पटक पटक धोका दिएको आरोप लगाउनुभएको छ । पछिल्लोपटक प्रधानमन्त्री निर्वाचनमा चर्को दवावका कारण सभापति कोइरालाले सहमतीय प्रधानमन्त्रीको उम्मेदवार देउवालाई बनाएर पनि बहुमतीय उम्मेदवारमा उपसभापति रामचन्द्र पौडेललाई खडा गरेर मतभेद बढाउने काम भएको हो । कोइरालाले आफूलाई सहमतीय प्रधानमन्त्री बन्न नदिएको आरोप देउवाको छ । देउवाले सभापति सुशील कोइरालाको पदमाथि नै धावा बोल्नुभएको छ । उहाँले दुई कांग्रेस एक हुँदा स्व. गिरिजाप्रसाद कोइरालाको कार्यकालपछि आफूले नेपाली कांग्रेसको सभापति पद पाउनुपर्ने दावी गर्दै आउनुभएको छ ।