युगसम्बाद साप्ताहिक

आयोगमा को को ?
Monday, 11.21.2011, 04:19pm (GMT5.5)

काठमाडौं । राज्य पुनःसंरचना आयोग गठन गर्ने सहमति भएपछि हिजो प्रमुख तीन दल एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेले पार्टीको तर्फबाट आयोगमा प्रतिनिधित्व गर्ने विज्ञहरूको नाम सिफारिस गरेका छन् । आयोगका लागि प्रमुख तीन दलबाट २–२ र मधेशी मोर्चाबाट १ जनाको प्रतिनिधित्व रहने भनिए पनि मोर्चामा आयोग गठनमै विवाद देखिएपछि उसले नाम सिफारिस गरेको छैन । मोर्चामा आवद्ध मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष तथा गृहमन्त्री विजय कुमार गच्छेदारले सहमतिमा हस्ताक्षर गर्नुभए पछि त्यसप्रति मोर्चामा आबद्ध अरु दलका नेताहरूको असहमति रहेका कारण आयोग गठनको विषय पनि गलपासो नै हुने देखिएको छ ।
सात सदस्यीय आयोगको अध्यक्षका लागि भूगोलविद् डा. पीताम्बर शर्मा र समाजशास्त्री डा. गणेशमान गुरुङको नाम चर्चामा आए पनि उहाँहरू दुवैले त्यसमा कुनै चासो नराखेको थाहा भएको छ । चर्चामा रहेका अन्य नामहरूमा पद्मरत्न तुलाधर, पर्शुराम तामाङ, मणिकलाल श्रेष्ठ, वीरेन्द्र मिश्र, विमल कोइराला, तीर्थमान शाक्य तथा कुलचन्द्र गौतम छन् ।

उपाय खोज्न मुखर्जी आउने
काठमाडौं । संविधानसभाको म्याद सकिनुभन्दा तीन दिन अघि मंसिर ११ गते भारतका अर्थमन्त्री प्रणव मुखर्जी नेपाल भ्रमणमा आउने कार्यक्रम तय भएको खबर छ । देखाउनका लागि यो भ्रमण ‘दोहोरो करबारे सम्झौता’ गर्न हुन लागेको भनिए पनि डा. भट्टराईको सरकारलाई भरथेग गर्ने उपायको खोजीका क्रममा यो भ्रमण निर्धारित भएको चर्चा–परिचर्चा राजनीतिक वृत्तमा व्याप्त छ ।



Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com