युगसम्बाद साप्ताहिक

कांग्रेसमा शक्ति प्रदर्शनको होड
Monday, 11.28.2011, 03:38pm (GMT5.5)

काठमाडौं । नेपाली कांग्रेसभित्र पार्टी सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाबीचको अन्तरविरोधले आगामी दिनमा सत्ता राजनीति निकै पेचिलो हुने र दुवै पक्ष शक्ति प्रदर्शनमा उत्रने परिस्थिति निर्माणा हुन थालेको छ । संविधानसभाको दोस्रो ठूलो दल भएको नाताले पहिलो दल माओवादी र तेस्रो दल नेकपा एमालेले दुईदुईपटक सत्ता नेतृत्व गरिसकेका कारण अब कांग्रेसको पालो आयो भन्दै कांग्रेसी नेताहरू चिच्याइरहेको अवस्थामा त्यो मौका आयो भने कसले नेतृत्व गर्ने भन्ने सवाल नै अहिलेको कांग्रेसी झगडा हो । नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल यसअघि १७ पटकसम्म प्रधानमन्त्रीको निर्वाचनमा पराजित भैसक्नुभएको छ । पछिल्लोपटक राष्ट्रिय सहमतिको सरकारको नेतृत्वका लागि शेरबहादुर देउवालाई अघि सारेको कांग्रेसले बहुमतीय प्रधानमन्त्रीका लागि रामचन्द्र पौडेललाई अघि सारेको थियो । कांग्रेसका सभापति सुशील कोइराला र संसदीय दलका नेता रामचन्द्र पौडेल पक्षधरले देउवालाई सर्वसम्मत प्रधानमन्त्री बनाउन जुन रुपमा कसरत गर्नुपथ्र्यो त्यो नगरेपछि देउवाले पनि पौडेललाई बहुमतीय प्रधानमन्त्री बन्न नदिने रणनीति अख्तियार गर्नुभएको थियो । त्यसलगत्तै कांगेस पुनः दुई गुटमा स्पष्ट रुपले विभाजित हुन पुगेको छ ।
जतिबेला सत्ता परिवर्तनको कुरा आउँछ त्यतिबेला कांग्रेसको गुटबन्दी चर्कन थाल्दछ । अहिलेको चर्किदो विवाद तत्कालको नभएर सभापति कोइरालाले एकतर्फी रुपमा भातृ संगठन विघटन गरेपछि भएको हो । देउवा पक्ष हावी भएको भातृ संगठनको विघटन लगत्तै देउवाले केन्द्रीय सदस्य पदबाट राजीनामा दिनुभएको छ भने संविधानसभाको म्याद थपका विषयमा पार्टीले लिनुपर्ने निर्णयका लागि बैठक बोलाउँदा समेत देउवा पक्षले बैठक नै बहिष्कार गरेको छ । केन्द्रीय समितिको बैठकमा देउवा पक्ष नआएपछि बहुमतले संविधानसभाको म्याद थप सम्बन्धी निर्णय गरिएको छ । सभापति कोइरालले जसरी पनि देउवालाई मनाउनुपर्ने र त्यसो गर्न नसके पार्टी पुनः फुट्नसक्ने भन्दै मध्यमार्ग अपनाउन धेरैले सुझाव दिए पनि तत्कालका लागि पार्टी निर्णय गर्नुपर्ने आवश्यकतालाई देउवा पक्षले आफ्नो मोलमलाईको उपयुक्त अवसरको रुपमा लिएको छ । यसले गर्दा डा. बाबुराम भट्टराईपछि नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने परिस्थिति निर्माण भए पनि नेपाली कांग्रेसभित्रैबाट सर्वसम्मत नेतृत्व खडा हुनसक्ने सम्भावना छैन । उता रामचन्द्र पौडेललाई पुनः उम्मेदवारी दिने नैतिक आधार नभए पनि जीवनमा एकपटक प्रधानमन्त्री बन्ने धोको पूरा गर्ने लोभ पाल्नुभएका पौडेलका सामु नैतिकताको कुनै मूल्य नभएका कारण यसै विषयले कांग्रेसको रडाको पुनः मच्चिने छ ।
वरिष्ठ नेता शेरबहादुर देउवा यतिखेर पार्टीभित्र आफ्नो शक्ति प्रदर्शन गर्न कस्सिनुभएको छ । त्यसो त उहाँ संसदीय दलमा अल्पमतमा रहनुभएको छ । केन्द्रीय समितिमा पनि उहाँ अल्पमतमै हुनुहुन्छ तापनि विगतमा दुई पार्टी एक हुँदा भएको सहमति बमोजिम आफूलाई प्रधानमन्त्री बनाउन पार्टी सभापतिले सहयोग गर्नुपर्ने माग गर्दै आउनुभएको छ । उता सुशील कोइराला पनि देउवालाई पार्टीभित्र कमजोर पार्दैजाने रणनीति अनुसार चल्नुभएका कारण यसपटक देउवा चुप नलाग्ने स्थितिमा पुग्नुभएको उहाँ निकट नेताहरू बताउँछन् ।



Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com