काठमाडौं । नेपाल आयल निगम चरम घाटामा छ । अहिले पनि अर्बौं रूपैयाँ ऋण बोकिरहेको छ । विश्व बजारमा अकल्पनीय रूपमा घट्दा पनि निगमले मूल्य नघटाएर नाफा बढायो । बितेको वर्ष निगमले मनग्गे नाफा कमाएको छ यससंगै अर्बौ रूपैयाँको तेल पनि गायब पारेको छ । नाफा कमाएकोबाट कर्मचारीलाई बोनस समेत खुवाएको छ । निगमले यतिबेला ऋण धमाधम तिर्दैछ र कर्मचारीलाई बोनस पनि खुवाएको छ । तर यो नाफाको अवस्था कहिलेसम्म र योभन्दा बढी नाफा किन भएन भन्ने जिज्ञासा पनि उठेको छ ।
किनभने नेपाल आयल निगमको घाटाका अनेक कारणहरूमध्ये एउटा कारण चुहावट हो भन्ने स्पष्टै छ र नाफामा गएको बेलामा पनि कति चुहावट भैरहेको रहेछ भन्ने खुलासा भएको छ । समाचार विवरण आएको छ । एक वर्षमा करोडौं लटर तेल गायब हुने गरेको छ ।
अघिल्लो वर्ष मात्र झण्डै ३ करोड लिटर तेल निगमबाटै गायब भएको छ । यो मात्राको तेलको मूल्य अर्बौं हुन आउँछ । २०७१।७२ को अडिट रिपोर्ट अनुसार निगमले एक अर्व ६२ करोड ८५ लाख ४३ हजार लिटर तेल इन्डियन आयल कर्पोरेशनबाट खरिद गरेको थियो ।
जसमध्येबाट १ अर्ब ६० करोड १२ लाख ९१ हजार लिटर मात्रै बिक्री गरेको तथ्यांक अडिट भएको छ । खरिद र बिक्रीबीच अन्तर देखिएको दुई करोड ७२ लाख ५२ हजार लिटर इन्धनको हिसाब नै छैन । इन्धनको मूल्य औसत सय रूपैयाँ प्रतिलिटरका दरले हिसाब गर्दा गायब भएको तेलको मूल्य दुई अर्ब ७२ करोड हुन आउँछ ।
निगमले गत एक खर्ब २० अर्ब ३१ करोड ३८ लाख ९८ हजार तीन सय ८९ रूपैयाँको इन्धन बिक्री गरेर १५ अर्ब चार करोड २१ लाख ३७ हजार आठ सय ३६ रूपैयाँ नाफा आर्जन गरेको छ । नाफा रकमबाट ९० करोड २५ लाख २८ हजार दुई सय ७० रूपैयाँ कर्मचारीलाई बोनस दिइएको अडिट रिपोर्टमा उल्लेख छ ।
यसरी गायब भएको तेलको हिसाब तापक्रम र प्रशासनिक चुहावटका कारण इन्धन नोक्सानी भएकाले कम परिणाम बिक्री भएको दावी गरे पनि यति ठूलो परिमाणमा ह्रासकट्टी हुनै नसक्ने प्राविधिकहरूको दावी छ ।