युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 10.19.2019, 12:22am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
आन्तरिक समस्या नै सरकारको प्राथमिकताभन्दा बाहिर
Tuesday, 08.16.2016, 12:30pm (GMT+5.5)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शपथ खाएर पदभार ग्रहण गरेको दुई हप्ता पुग्नलाग्दा पनि सरकारले पूर्ण आकार लिनसकेको छैन । यो सरकार बनेको पहिलो दिन साउन २० गते नेपाली कांग्रेसका दुईजना र माओवादी केन्द्रका तीनजना गरी ५ जनाको मन्त्रिमण्डल बनेको थियो भने बीचमा राप्रपाका दुईजना र नेकपा सम्युक्तका एक जना मन्त्री थपिएका थिए । गत आइतवार प्रधानमन्त्री दाहालले आफ्नै पार्टीका ५ जना मन्त्री र ४ जना राज्यमन्त्री थपेपछि मन्त्रिमण्डल १८ सदस्यीय बनेको छ । सरकारमा सबभन्दा ठूलो भाग पाउने नेपाली कांग्रेसले ११ जना थप मन्त्रीको नाम पठाउनुपर्नेमा आन्तरिक खिचलोकै कारण अझसम्म पठाएको छैन । सत्ता साझेदार नेपाली कांग्रेसभित्रको आन्तरिक खिचलो र चरम गुटगत खेलको ज्वलन्त नमूना त भातृ संगठन नेपाल विद्यार्थी संघको ११औं महाधिवेशनमा प्रदर्शन भैरहेको छ । 

माओवादी केन्द्रभित्रै पनि मन्त्रीहरूको भागबण्डा नमिलेर बहिष्कार र तिरस्कारका आवाजहरू गुञ्जिरहेका छन् भने महिला सांसदहरूको असन्तुष्टि पनि सतहमै आएको छ । सत्ताघटक दलहरूभित्रैको खिचलो र असन्तुष्टिलाई व्यवस्थित गर्न नसकेका नेताहरूले मुलुकका अहं मुद्दाहरूलाई तत्काल सम्बोधन गरेर जनअपेक्षा अनुसारका कदम चाल्नसक्ने सम्भावना सुरुदेखि नै नितान्त क्षीण देखिएको आम प्रतिक्रिया व्यक्त भैरहेको छ । यो सरकारले कहिलेसम्म पूर्ण आकार लेला र आशलाग्दो कदम चाल्ला भन्नेवारे कुनै एक्किन छैन । सरकार आफैं बिलम्बको शिकार भएको छ । पथविचलनका सङ्केतहरू सुरूदेखि नै देखिन थालेका छन् ।

प्रधानमन्त्री दाहालले यो सरकारको प्राथमिकतामा आन्तरिक समस्याको निराकरणभन्दा पनि चीन र भारतसितको सम्बन्ध रहेको आभास दिनुभएको छ । उहाँको ध्यान चीन र भारतको विश्वास आर्जन गर्नतिर नै लक्षित रहेको छ । उहाँले पूर्व घोषणाअनुरूप हिजै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई विशेष दूतका रुपमा चीन पठाउनु भएको छ भने अर्का उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिलाई भारत पठाउने तयारी भैरहेको छ । असोजमा हुने भनिएको चिनीया राष्ट्रपतिको पूर्व प्रस्तावित नेपाल भ्रमण यथासमयमै गराउने र पूर्ववर्ती ओली सरकारका पालामा भएका सम्झौता र समझदारीलाई यथा समयमा नै कार्यान्वयनको दिशामा अगाडि बढाउने यो सरकारको आकांक्षा रहेको सन्देश लिएर उपप्रधानमन्त्री महरा बेजिङ्तिर लाग्नुभएको छ । अर्कातिर भारतले चिनीया राष्ट्रपतिलाई उछिनेर भारतका राष्ट्रपतिलाई नेपाल भ्रमण गराउन चाहेको र राष्ट्रपति विद्या भण्डारीको स्थगित भ्रमण पनि जति सक्यो चाँडो गराउने कसरत भैरहेको पनि ज्ञात हुनआएको छ । यसबीचमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आकस्मिक नेपाल भ्रमण हुनसक्ने सम्भावनाको कुरा पनि चर्चा प्रसंगमा प्रवाहित भैरहेको छ । चिनीया अधिकारीहरूले नेपालमा हालै भएको सरकार परिवर्तनलाई आन्तरिक मामिलाकै दर्जामा राखेर द्विपक्षीय सहयोग सम्बन्धमा कुनै असर नपर्ने आभास दिँदै राष्ट्रपति सिको नेपाल भ्रमण निश्चित गर्न चाहेको खुलाशा भैरहेको छ भने नेपाल(चीनबीच विस्तार हुने क्रममा रहेको सम्बन्धलाई भारतले कुन रूपमा पचाउँछ भन्नेबारे पनि व्यापक उत्कण्ठा जागृत भैरहेको छ । भारतले नेपाल र चीनबीचको  समयसापेक्ष स्वाभाविक सम्बन्ध विस्तारलाई पनि ‘आफ्नो एकलौटी प्रभाव क्षेत्र’मा चीनको रुची र सक्रियता बढेको भन्दै निर्देशित सञ्चारमाध्यमहरूबाट तीखो र अरूचिकर टिप्पणी गराउने गरेको देखिँदैआएको छ । यो पृष्ठभूमिमा भारतको रणनीतिक प्रयोगको उपज भनी आरोप खेपिरहेको दाहाल सरकारले अन्तर्विरोधपूर्ण यो स्थितिलाई कसरी व्यवस्थित गर्छ र दुवै छिमेकी देशसित सन्तुलित सम्बन्ध राखी नेपालको समग्र हितमा कसरी काम गर्छ भन्नेवारे आम चासो बढिरहेको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार यो सरकारका सामु चीन र भारतसित कसरी भरविश्वासको सहयोगात्मक सम्बन्ध विस्तार गर्ने भन्नेभन्दा पनि अनेक प्रकृतिका ठूला ठूला आन्तरिक चुनौतीहरू विद्यमान छन् । नेपालको आन्तरिक अवस्था ज्यादै जीर्ण र जोखिमपूर्ण बन्दैगएको छ । तराईमा प्रायोजन गरिएको ‘मधेश आन्दोलन’ र भारतको अघोषित नाकाबन्दीका अन्तर्नि्हित कारणहरूको पहिचान गरी समुचित सम्बोधन हुनसक्ने सम्भावना अझै क्षीण प्रतीत छ । भारतले दवाव–औजारका रुपमा उपयोग गरेका विविध पक्षहरूको परिचालन कुन बेला कुन रुपमा हुन्छ भन्ने एक्किन गर्न गाह्रो छ । सत्ता बहिर्गमित नेकपा एमालेका नेताहरूले ‘राजनीतिक र सम्वैधानिक रिक्तता निम्त्याउने षड्यन्त्र भैरहेको’ खुलाशा गर्नथालेका छन् । निवर्तमान प्रधानमन्त्री ओलीले त ‘सिंगो राष्ट्रकट विरुद्ध षड्यन्त्र गर्ने उद्देश्यले नयाँ सत्ता गठबन्धन निर्माण भएको’ संगिन आरोप लगाउनु भएको प्रसंगलाई सत्ता बहिर्गमनको पीडा ओकलेको भनी सहजै पन्छाउन मिल्ने स्थिति छैन । 

माओवादी–कांग्रेसको सत्ता गठबन्धनले आलोपालो सरकार चलाउँदै डेढ वर्षभित्र स्थानीय निकाय र प्रान्तीय एवं राष्ट्रिय चुनाव गर्नसक्ने कुरामा सुरूदेखि नै सन्देह पैदा भैरहेको छ । प्रादेशिक संरचनाको मुद्दा अझै किनारा लागेको छैन । भारतले नयाँ सरकारसंग खोजेको सवै कुरा हात पार्नसके नेपालले धेरै कुरा गुमाउनुपर्ने र नसके बितण्डाबाजीको नयाँ चरण सुरू हुने आशंका यथावत् नै छ । सत्ता गठबन्धनभित्रका दलहरूमा देखिएको खिचलो हेर्दा नौ महिनाको म्याद तोकिएको सरकारले आफ्नो कार्यकाल पूरा गर्न पाउने र सक्ने कुरामा समेत शंका उब्जिन थालेको छ । यस्तो अनपेक्षित स्थितिले मुलुकको भविष्य कुन दिशातिर डोरिने हो भन्ने चिन्ता स्वतः जागृत  हुनपुगेको देखिन्छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
के संशोधन गर्ने ? मधेशी नेताबीच नै विवाद (08.16.2016)
गुटबन्दीको शिकार विद्यार्थी (08.16.2016)
प्रचण्ड सरकार सुरूदेखि नै शंकाको घेरामा (08.09.2016)
जब सप्तरीका जनता जागे (08.09.2016)
वाहवाही पाएर निस्किए ओली (08.09.2016)
अन्त्यहीन अस्थिरता र राष्ट्रको सुरक्षा सर्वाधिक ठूलो चुनौती (07.26.2016)
मुलुकलाई भयानक सङ्कटमा फँसाउने उद्देश्य (07.26.2016)
स्थानीय निकाय पाँच सय ६५ स्थानीय तहको (07.26.2016)
सत्ता परिवर्तनको निर्देशित खेल : राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग (07.19.2016)
भारतको बन्दुक, कांग्रेस–माओवादीको काँध (07.19.2016)
डा. केसीको अनशनका उपलब्धि (07.19.2016)
आन्तरिक र बाह्यशक्तिको संलग्नतामा सत्ता गठबन्धन टुटाउने उत्कर्षमुखी कसरत ! (07.14.2016)
सहमतिको नाममा भद्रगोल मच्चाउने तयारी (07.14.2016)
न्यायिक क्षेत्रमा नयाँ इतिहास (07.14.2016)
नियमावली पारितपछि निर्वाचनको सम्भावना बढ्यो (06.21.2016)
विस्फोटनमा परी १४ नेपालीको निधन (06.21.2016)
युगसम्वाद २९औं वर्षमा प्रवेश (06.21.2016)
सयभन्दा बढी कानुन कहिले बन्ला ? (06.21.2016)
नेताले अस्वीकार गरे पनि मधेशमा संविधान कार्यान्वयन (06.21.2016)
संवैधानिक व्यवस्था नै स्थापित हुन नदिने प्रयास जारी (06.14.2016)



 
::| Latest News

 
[Page Top]