युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.17.2017, 04:11am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
निर्वाचन बिथोल्न ‘राजपा’को निर्देशित आन्दोलन : देउवा सरकारमाथि भारतको चर्को दवाव !
Thursday, 06.15.2017, 01:03pm (GMT+5.5)

काठमाडौं । मुलुक चरम राजनीतिक संकटको संघारमा पुगेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वमा ‘नेका–माके’ गठबन्धनको नयाँ सरकार बनेपछि मधेशी मोर्चाको नयाँ रुप ‘राष्ट्रिय जनता पार्टी’ स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी हुन्छ भनी गरिएको पूर्वानुमान गलत ठहरिएको छ । राजपालाई सजिलो हुने गरी सरकारले हतार हतारमा संसदबाट दल संबन्धी ऐेन संशोधन गरिसकेको र पटकपटक सम्वाद गरी निर्वाचनपछि संविधान संशोधनको बाटोमा लाग्ने प्रतिबद्धता व्यक्त गरे पनि ‘राजपा’का नेताहरू निर्देशित मार्गचित्रमा अडिग हुँदै निर्वाचनमा भाग नलिने र सकेसम्म विथोल्ने गरी आन्दोलनको चरणबद्ध कार्यक्रममा अगाडि बढेका छन् । अहिले दोस्रो चरणको स्थानीय तह र माघ ७ गतेभित्र प्रादेशिक एवं केन्द्रीय निर्वाचन गराउने गहन जिम्मेदारीमा रहेको देउवा सरकारलाई ‘राजपा’ले नै संकटमा पारेको छ । संसदको अहिलेको संरचनाले ‘राजपा’को माग अनुरुपको संशोधन हुन नसक्ने र अदालतको आदेशका कारण स्थानीय तहको संख्या पनि बढाउन नमिल्ने कटु यथार्थ हुँदाहुँदै पनि ‘राजपा’का नेताहरूले जुन अड्डी लिएका छन् त्यो असङ्गत मात्रै होइन षडयन्त्रमूलक पनि छ भन्ने घटनाक्रमले सिद्ध गरिसकेको छ । आयातित मुद्दा बोकेर भारतीय राजदूतावासमा भोज खाँदै एकपछि अर्को कदम चाल्दैआएका ‘राजपा’का नेताहरूलाई राजदूत पुरीले बाहिर बाहिर निर्वाचनमा भागलिन सुझाव दिइरहेको देखिए पनि अहिले देखापरेका गतिविधिले तराईमा गडबडी पैदा गरिरहने रणनीति यथावत् रहेको आशङ्का घनारुपमा उब्जिएको छ । नेपालमा भारतले जे भन्छ त्यो गर्दैन र जे गर्छ त्यो भन्दैन भन्ने अनुभवगत धारणा नेपाली जनमासमा व्याप्त छ । राजपाका नेताहरूले तराईमा आफ्नो पक्षमा जनमत छैन भन्ने राम्रोसंग बुझेकाले अनेक बखडा झिकेर  लोकतन्त्र बिरोधी शैलीमा बितण्डा मच्चाउने अभियान छेडिसकेका छन् । भारतका सञ्चार माध्यमबाट नै ‘भारत समर्थक’ भनी प्रचारित देउवा सरकारलाई पंक्तितबद्ध भएर सदनमा मत दिएको भारतकै आडभरोशामा हिँडेको मानिने ‘राजपा’ले ठूलो सङ्कटमा पारिदिएको छ । यो षडयन्त्रमूलक राजनीतिक पहेली बुझिनसक्नु भएको छ ।   
विष्लेषकहरूका दृष्टिमा राजपाको हठवादिताका पछाडि नेताहरूको स्वविवेक भन्दा उनीहरूलाई उपयोग गरेर नेपाललाई विभाजित मानसिकताको स्थितितिर धकेल्ने र नियन्त्रित अस्थिरता कायम गरिरहने बाह्यशक्तिको रणनीतिक चलखेल मुख्य कारण रहेको आम बुझाई छ । तराईवासी जनता घोषित निर्वाचनको तीब्र प्रतिक्षामा रहिरहेको बेला आमजनमतको घोर उपेक्षा गर्दै निर्वाचन बिथोल्ने जुन अहंकार प्रदर्शन भएको छ त्यो आफ्नो मताधिकार प्रयोग गर्न लालायित तराईवासी जनताको हक अधिकारविरुद्ध लक्षित छ । जनताको अभिमतबाट शक्ति आर्जन गरेर आफ्ना मागहरूप्रति जनताको समर्थन रहेको देखाउने अपूर्व अवसरको उपयोग गर्न राजपाका नेताहरू अग्रसर हुन नचाहनुका मुख्यतः दुई कारण रहेको प्रतीत हुन्छ । एउटा कारण उनीहरूले जहाँबाट निर्देशन प्राप्त गरेर बबण्डर मच्चाउन खोजिरहेका छन् त्यो शक्तिले बाहिर जे जे भने पनि भित्रभित्र उनीहरूलाई निर्वाचनविरूद्ध उकासिरहेको आशंका उब्जिरहेको छ भने दोस्रो कारण तराईमा उनीहरूको पक्षमा जनमत नभएको तथ्यबोध गरेर नै निर्वाचनपछि आफ्नो राजनीति सकिने भयले उनीहरू आक्रान्त छन् । राजपाका खेताला कार्यकर्ता निर्वाचनमा होमिएका अरू मधेशी दल एवं नेपाली कांग्रेस र नेकपा एमाले जस्ता जनाधार भएका दलहरूका कार्यक्रम बिथोल्न खटिएका भएपनि उनीहरू सफल नभएको उपेन्द्र यादवको कार्यक्रम विथोल्नखोज्दा भएको प्रतिकारबाट नै खुलाशा भएको छ । सरकारले कडा सुरक्षा प्रबन्ध गर्ने हो र निर्वाचन सम्पन्न गर्ने दृढता व्यवहारमा नै देखाउने हो भने तराईमा निर्वाचन बिथोलिने सम्भावना न्यून हुँदैजाने अवस्था छ । तर सरकारले ‘राजपा’को आन्दोलनको कारण देखाएर २ नं. प्रदेशको निर्वाचन परसार्ने मानसिकता बनाउन थालेको संकेत देखिन थालेको छ । सत्ताधारी दलका नेताहरुलाई राजपाले लडेको ‘प्रोक्सी युद्ध’का पछाडि कुन शक्ति छ भन्ने राम्रो ज्ञान रहेकाले स्रोतलाई नै राजी गराउने क्षमता देउवा सरकारले देखाउन नसकेको आभास भैरहेको छ । नेपालको सचेत जनमतले के कुरा राम्रोसंग बुझेको छ भने राजपाका सांसदहरूले अघिल्लो प्रचण्ड सरकार र अहिलेको देउवा सरकार गठनलाई सहज पार्न र समर्थन दिन लाईन लागेर मतदान गर्नुको पछाडि भारतको कडा निर्देशन नै प्रमुख कारण रहेको थियो । सरकार बनाउन र जोगाउन सधैं साथ दिने तर सरकारका कुनै पनि सकारात्मक प्रस्तावलाई भने कदापि स्वीकार नगर्ने रहस्यमय चरित्र यहाँ प्रदर्शन भएको छ ।
विष्लेषकहरू भन्दछन्– सत्ताका सञ्चालकहरू र राजपाका नेताहरूको निर्देशन प्राप्त गर्ने र आश्रय लिने थलो एउटै रहँदा पनि निर्वाचन बिथोल्ने आन्दोलन परिचालित हुनु कम रहस्यपूर्ण छैन । भारतले जनमतविहीन नेताहरूलाई पटक पटक ढाप दिएर नेपालमा संकट सिर्जना गर्ने खेललाई एकातिर निरन्तरता दिइरहेको आभास भैरहेको छ भने अर्कातिर सम्पूर्ण तयारी भैसकेको निर्वाचन परसार्न पनि सरकारलाई दवाव सिर्जना गरिरहेको प्रतीत छ । गत बैशाख ३१ गते एकै चरणमा निर्वाचन गर्न निर्वाचन आयोगले पूर्ण तयारी गरिसकेको बेला राजपालाई सहभागी गराउने नाममा प्रचण्ड सरकारले चुनाव दुई चरणमा गर्ने घोषणा गर्नुको पछाडि भारतकै परामर्श प्रमुख कारण थियो भन्नेहरू पनि छन् । अहिले देउवा सरकारलाई पनि दोस्रो चरणको चुनाव एकैचोटी नगरी २ नं प्रदेशमा तेस्रो चरणमा गर्ने र त्यसअघि राजपाका सबै माग पूरा गर्नुपर्ने दवावपूर्ण निर्देशन मिलिरहेको छ । राजनीतिक सूत्रहरूका अनुसार देउवा सरकार २ नं. प्रदेशको स्थानीय चुनाव तेस्रो चरणमा गर्ने निर्देशित मानसिकतामा पुगिसकेको छ । देउवा सरकार सुरक्षात्मक प्रबन्ध गरेर तराईवासी जनताको मताधिकर सुरक्षा गर्नेतिर भन्दा दवावपूर्ण निर्देशनको पालना कसरी गर्ने भन्ने समस्यामा अल्झिन पुगेको छ । १२ वर्षको लामो प्रतिक्षा र गैरसैद्धान्तिक सत्ता राजनीतिक गठबन्धनपछि बल्लतल्ल मिलेको अवसरलाई उपभोग गर्दै तीन चरणको निर्वाचन सम्पन्न गर्ने दायित्व बोक्नुभएका प्रधानमन्त्री देउवाका सामु स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न गर्नका लागि जुन चुनौती खडा भएको छ त्यसको सामना कुन रुपमा हुने हो भन्ने वारे आमजनमासमा तीब्र उत्कण्ठा जागृत भैरहेको छ । राजपाले थापेको पासोबाट उम्किएर जसरी पनि निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व निर्वाह गर्नुपर्ने राजनीतिक बाध्यताको अवस्थामा रहेको देउवा सरकारको राजनीतिक, प्रशासनिक र प्रबन्धात्मक क्षमताको अग्नि परीक्षाको घडी आएको छ । देउवा सरकारप्रति भारतले देखाएको सद्भाव र सदासयता कति वास्तविक, कति रणनीतिक र कति कुटिलतापूर्ण छ भन्ने कुराको छिनोफानो सन्निकट निर्वाचनको सन्दर्भले नै गर्ने छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
पुनः मतदानको विवाद र लुरे नजीर (06.15.2017)
निर्वाचन बिथोल्दा मधेशीको हित हुन्छ कि पराईको ? (05.31.2017)
संसदमा १२ खर्ब ७८ अर्ब रुपैयाँको बजेट प्रस्तुत (05.31.2017)
फिर्ता भो महाअभियोग प्रस्ताव (05.31.2017)
दुई वर्षे बालकको हत्या पनि राजनीति मुद्दा ? (05.24.2017)
सत्तापक्ष नै उत्रियो धाँधलीमा : दोस्रो चरणको निर्वाचनको प्रतिक्षामा आम मतदाता (05.24.2017)
असीमित अधिकार छ जनप्रतिनिधिलाई (05.24.2017)
पहिलो चरणको निर्वाचनमा व्यापक जनसहभागिता : दोस्रो चरणको व्यग्र प्रतिक्षा (05.17.2017)
ऐतिहासिक छ स्थानीय तह निर्वाचन (05.17.2017)
प्रचण्डले कांग्रेसलाई भोट हाल्दा ... (05.17.2017)
देशभर निर्वाचनको उल्लास : जेठ १५ अगावै बजेट ल्याउने कसरतमा सरकार (05.11.2017)
स्थानीय तह निर्वाचन लोकतान्त्रिक महोत्सव (05.11.2017)
प्रधान न्यायाधीशको पुनःवहाली अब के ? (05.11.2017)
सत्तापक्षकै गतिविधिले निर्वाचन अनिश्चित (05.02.2017)
सरकारले सावित गर्न खोजेको के ? (05.02.2017)
भ्रष्टाचारबिरुद्ध सर्वोच्चको कदम (05.02.2017)
संविधानको कार्यान्वयन धरापमा : निर्वाचनविरूद्ध ठूलो जाल बिच्छ्याइयो (04.18.2017)
जनता चुनावको प्रतिक्षामा– नेता टार्न खोज्दै (04.18.2017)
मधेशी मोर्चालाई चाहिएको के हो ? (04.18.2017)
संविधान संशोधनको नयाँ नाटक : चुनाव गर्न कि बिथोल्न ? (04.11.2017)



 
::| Latest News

 
[Page Top]