युगसम्बाद साप्ताहिक

युगसम्वाद ३०औं वर्षमा प्रवेश
Thursday, 06.22.2017, 12:19pm (GMT5.5)

युगसम्वाद साप्ताहिक यसै अंकदेखि ३० औं वर्षमा प्रवेश गरेको छ । प्रकाशनको प्रारम्भदेखि नै युगसम्वादले राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रलाई मूलमन्त्र मानेर राष्ट्रिय चिन्तनधार निर्माण गर्ने वैचारिक कसरत गर्दैआएको छ भने स्वतन्त्र पत्रकारीताको धर्म निर्वाह गर्दै समाचार र विचार प्रस्तुतिमा निष्पक्षता अँगाल्दैआएको छ । तीन दशकको यो अन्तरालमा नेपालको राजनीतिक क्षेत्रमा अनेकथरी प्रयोग र परिवर्तनका शृङ्खलाबद्ध घटनाहरू मुखरित भएका छन् तर युगसम्वादले राष्ट्रिय एकता, अखण्डता र सामाजिक सद्भावको अपरिहार्यताको पक्षमा उभिएर अविचलित रुपमा आफ्ना विचार र धारणालाई स्वतन्त्र, निष्पक्ष र निर्भिक ढंगले प्रस्तुत गर्दैआएको अभिलेख सुरक्षित नै छ । यो कालखण्डमा संकीर्ण राजनीतिक स्वार्थको घेराबाट माथि उठेर स्वतन्त्र र निष्पक्ष ढंगले पत्रकारिता गर्नु कठिन मात्रै होइन अकल्पनीय जस्तै रहेको भए पनि युगसम्वादले चुनौतीका अनेक चरण पारगर्दै आफ्नो स्वतन्त्र प्रकाशनलाई जारी राख्नसक्नु नै ठूलो उपलब्धि बनेको छ ।
देश अहिले पनि राष्ट्रिय चिन्तनधारको मूलबाटो पहिल्याउन नसकेर भित्री–बाहिरी अनेक प्रपञ्चको प्रताडना सहन विवश भैरहेको अवस्था छ । नेपालमा सञ्चार क्रान्तिले अदभूत गतिलिएको मानिए पनि राष्ट्रिय एकता, अखण्डता र सामाजिक सद्भावविरुद्धका गतिविधिलाई निस्तेज पार्ने जनमत तयार हुन नसकेको अवस्था टड्कारो रुपमा देखापरिरहेको छ । राष्ट्रिय सम्मान र स्वार्थको मानमर्दन गरेर निहित स्वार्थ पूरा गर्ने प्रकृतिका अनेक खेलहरू चलिरहेका छन् । राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक क्षेत्रमा देखापरेका विकृतिहरूकै कारण मुलुकले उज्यालो भविष्यका निम्ति सही बाटो पहिल्याउन नसकेको अनुभूति जनमानसमा व्याप्त छ । निर्देशित र सुनियोजित सन्देश प्रवाहका निम्ति यो क्षेत्रको प्रयोगका प्रयासहरू पनि निरन्तर जारी छन् । ती सवै विकृतिलाई चुनौतीको रुपमा लिएर राष्ट्रिय चिन्तनधार र वास्तविक लोकतन्त्रको संस्थापनका लागि विधिको शासनको अपरिहार्यताको पक्षमा युगसम्वाद अडिग छ र अव पनि रहने छ ।
नेपालले राजनीतिक परिवर्तनका अनेक चरण पारगर्दै आएको भए पनि राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता, सामाजिक सद्भाव र न्याय एवं राष्ट्रको समृद्धिका आधारसूत्रहरू कुनै पनि चरणमा गएर टुंगिदैनन् । नेपालको आन्तरिक गतिविधिमा बाह्य क्षेत्रको बढ्दो चलखेलले सिर्जना गरेका विकृतिहरू नै अहिले सवभन्दा ठूला चुनौती बनेका छन् । ती चुनौतीको सामना गर्दै स्वतन्त्र राष्ट्रको सम्मान अभिवृद्धिका लागि राष्ट्रिय जागरण पैदा गर्नु सञ्चार माध्यमको अहं भूमिका रहेको वास्तविकतालाई आत्मसात गर्दै युगसम्वादले आफ्नो प्रकाशनलाई निरन्तरता दिने प्रण गर्दैआएको छ । यो अवसरमा युगसम्वाद देशहितसित जोडिएका यावत् मुद्दालाई सदा झैं प्राथमिकतामा राखेर समाचार र विचार विष्लेषण प्रस्तुत गर्ने प्रतिबद्धता पुनः प्रकट गर्दछ ।  


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com