युगसम्बाद साप्ताहिक

रोक्न सकेन अबरोध र बिरोधले
Thursday, 06.22.2017, 12:19pm (GMT5.5)

काठमाण्डौं । दोस्रो चरणअन्तर्गत यही असार १४ गते बुधबार हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता उत्साहजनक र शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ तहमा बिहान ८ देखि अपराह्न ४ बजेसम्म राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारले मर्यादित तथा व्यवस्थित ढङ्गबाट मनोनयनपत्र दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
मनोनयनपत्र दर्तामा देखिएको व्यापक सहभागिताबाट दोस्रो चरणको निर्वाचनमा पनि राजनीतिक दल र उम्मेदवार निर्वाचनप्रति उत्साहित भएको पुनः पुष्टि भएको छ । दोस्रो चरणको निर्वाचनमा एक महानगर, सात उपमहानगर, १११ नगरपालिका र २१५ गाउँपालिमा जनप्रतिनिधि चयनका लागि मनोनयनपत्र दर्ता भएको हो ।
दोस्रो चरणको निर्वाचनबाट १ महानगर, ७ उपमहानगर, १११ नगरपालिका र २१५ गाउँपालिकामा गरी ३३४ स्थानीय तहका ६४ लाख ३२ हजार ७६५ मतदाताले १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित गर्नेछन् । 
मनोनयन दर्तामा देखिएको जनसहभागिताबाट राजपा र विप्लव समूहको कथित ‘चुनाव बहिस्कार’ खारेज भएको छ । स्थानीय तहमा राष्ट्रिय उत्सवकै रुपमा जनसहभागिता देखिएको छ । 
यसअघि वैशाख ३१ गते पहिलो चरणको निर्वाचन प्रदेश नं ३, ४ र ६ मा सम्पन्न भएको थियो । २ नम्बर प्रदेशको स्थानीय चुनाव आगामी असोज २ गते गर्ने सरकारले घोषणा गरेको छ ।
निर्वाचन वहिस्कार गर्दै विथोल्ने घोषणा गरेका राजपा र नेत्रविक्रम चन्द नेतृत्वमा रहेकोा माओवादीको केही जोड चलेन । उनीहरूको वहिस्कार र विथोल्ने घोषणालाई जनताले अस्वीकृत गरिदिएका छन् । यद्यपि केही जिल्लामा मनोनयन गर्न नदिने प्रयास भने भएको थियो । नवलपरासी, कपिलवस्तु, रुपन्देही, मोरङ र सुनसरी लगायतका जिल्लामा राजपाका नेता कार्यकर्ताले मनोनयन दर्ता गर्न नदिने भन्दै आन्दोलनका कार्यक्रम जारी राखेका थिए । तर, कहीँ पनि राजपा कार्यकर्ताले मनोनयन दर्तालाई बिथोल्न र अवरोध गर्न सकेनन् । बरु भैरहवामा राजपाका नेता आफैंले स्वतन्त्र उम्मेदवारी दर्ता गराए ।
कपिलवस्तुमा विप्लव समूहका कार्यकर्ताले निहत्था सर्वसाधारण उभिइरहेको ठाउँमा बम बिस्फोट गराउँदा एक दर्जन घाइते भएका छन् । निर्दोष जनतामाथि गरिएको यस्तो सांघातिक आक्रमणबाट विप्लव समूहको जनविरोधी चरित्र उदांगो भएको छ । उसले निर्वाचन बिथोल्न गरेको कुचेष्टालाई जनताले खारेज गरिदिएका छन् ।
कपिलवस्तुमा सर्वसाधारणमाथि आतंककारीकै शैलीमा बम विस्फोट गराउने विप्लव समूहले रोल्पाको थबाङमा भने कांग्रेससँग मिलेर स्वतन्त्र उम्मदेवारी दर्ता गराएको छ ।
चुनाव विथोल्नेहरूबाट भन्दा लोकतन्त्रका पहरेदारका रुपमा आफूलाई दावी गर्ने ठूला दलहरूको भीडन्तले भने सर्वसाधारणको ज्यान गयो । आइतबार मनोनयन दर्ताका क्रममा बाजुरामा कांग्रेस र एमालेवीच भएको झडपका कारण एक जनाको ज्यानै जाने दुःखद घटना भयो ।
बाजुरामा भएको झडपमा हंस राउतले अनाहकमा ज्यान गुमाएको स्थानीय प्रशासनले पुष्टि गरेको छ । डोगटीमा भएको यस्तो अप्रिय घटनाले एमाले र कांग्रेसजस्ता पुराना एवं ठूला दलहरूलाई नै लोकतान्त्रिक संस्कार सिकाउन बाँकी रहेछ भन्ने सन्देश दिएको छ ।
एमाले र कांग्रेसमात्रै होइन, माओवादी पनि अलोकतान्त्रिक क्रियाकलाप गर्नमा कम देखिएको छैन । आइतबार दार्चुलाको मार्मा गाउँपालिकाको लटीनाथमा पनि एमाले र माओवादीका कार्यकर्तावीच मनोनयन दर्ताका क्रममा ढुंगा हानाहान भयो । यसक्रममा आधा दर्जन घाइते भए ।
यद्यपि यस्तो केही अप्रिय घटनाहरूलाई छाडेर भन्नुपर्दा देशैभरि जनताले हर्षोल्लासका साथ लोकतान्त्रिक अभ्यास गरेका छन् । मनोनयन दर्ता गर्न समय तालिका मिलाएर दलका नेताहरू एकापसमा भनाभन नगरी सभ्य रुपमा प्रस्तुत भए । यही कारणले निर्वाचन आयोगले मर्यादित रुपमा दलका कार्यकर्ताले मनोनयन दर्ता गराएको निश्कर्ष निकालेको छ ।
पहिलो चरणको चुनावमा तालमेलबाट खासै प्रगति नदेखिएको निश्कर्ष निकाले दलहरूले दोस्रो चरणमा पनि तालमेललाई निरन्तरता दिएका छन् । बिराटनगर महानगरपालिकामा विभिन्न पक्षको चुनावी तालमेलले रौनक थपेको छ । त्यहाँ एमाले र लोकतान्त्रिक फोरमवीच तालमेल भएको छ भने माओवादी र संघीय फोरमले पनि तालमेल गरेका छन् । कांग्रेसले एक्लै जित्ने रणनीति बनाएको छ ।
मोरङ जिल्लाका विभिन्न ठाउँमा संघीय फोरम र माओवादीवीच चुनावी तालमेल भएको छ । सुनसरीको धरानमा पनि माओवादी र संघीय समाजवादीले तालमेल गरेका छन् ।
धनकुटाका केही गाविसमा राप्रपा, माओवादी कांग्रेस र संघीय फोरमले एमालेविरुद्ध मोर्चाबन्दी गरेका छन् । उता रोल्पाको माडी गाउँपालिकामा माओवादीलाई हराउन कांग्रेस र एमालेले तालमेल गरेका छन् । 


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com