युगसम्बाद साप्ताहिक

राजपा जनताबाट तिरस्कृत : पैतीसवटै जिल्लामा निर्वाध उम्मेदवारी दर्ता
Thursday, 06.22.2017, 12:20pm (GMT5.5)

काठमाडौं । स्थानीय तहको असार १४ गते हुने दोस्रो चरणको निर्वाचनका लागि उमेदवारी दर्ता प्रक्रिया उत्साहजनक वातावरणमा पूरा भएको छ । प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा हुन गैरहेको निर्वाचनमा व्यापक जनसहभागीता देखिएको छ । सरकारले मधेशी मोर्चाको परिवर्तित रुप ‘राष्ट्रिय जनता पार्टी’को हौवा देखाएर २ नं. प्रदेशको निर्वाचन तस्रो चरणमा गर्ने गरी असोज २ गतेको मिति तोकेपछि यसमा पनि असहमति जनाउँदै तराईका जिल्लाहरूमा असार ४ गतेको उम्मेदवारी दर्ता कार्यक्रम विथोल्न बन्दको आव्हान गर्दै मैदानमा उत्रिएको राजपाले एक ठाउँमा पनि सफलता पाएन । बिराटनगर, बीरगञ्ज र नेपालगञ्ज जस्ता ठूला शहरदेखि लिएर तराईका विभिन्न ठाउँमा रापको कुनै दैय्या चलेन । रुपन्देही र कपिलवस्तुमा त राजपाकै कार्यकर्ताले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेर मताधिकार उपयोग गर्न लालायित जनताको भावना विपरीत जाने राजपाको नेतृत्वगणलाई लोप्पा खुवाइदिए ।  सरकारले २ नं. प्रदेशको निर्वाचन स्थगित गरी तेस्रो चरणमा असोज २ गते गर्ने जुन निर्णय गरेको छ त्यो २ नं. प्रदेशकै जनताको चाहना र भावना विपरीत रहेको पनि प्रष्ट भएको छ । तराईमा जनाधार गुमाइसकेका र आफ्नै दलका नेता र कार्यकर्तासमेत बिकर्षित हुँदै अरू पार्टीमा जाने र निर्वाचनमा भाग लिने गरिरहेको स्थितिले राजपाको कुनै शाख बाँकी नरहेको प्रष्टै बोध गराएको छ । राजपालाई उपयोग गरेर तहगत निर्वाचन रोक्ने सुनियोजित षड्यन्त्र चलिरहेको पृष्ठभूमिमा तीनवटै प्रदेशका स्थानीय निकायको निर्वाचनप्रति जागृत भएको उत्साहले राजपाका नेताहरूलाई आफ्नो हठवादी धारणा बदल्न र अरू कसैको उक्साहटमा लागेर जनताको मताधिकार रोक्ने बाटोमा नलाग्न थप मौका दिएको छ । राजपाले निर्वाचन कार्यालयमा ताला लगाउनेदेखि लिएर मासाल जुलुश, लाठी जुलुश र ढुङ्गामुडा गर्ने जस्ता हर्कत गरे पनि जनताको प्रतिरोध र सुरक्षा प्रबन्धका कारण उम्मेदवारी दर्ता उत्साहजनक वातावरणमा भएको आमअनुभूति भएको छ । राजपाले मतदान प्रक्रियासमेत बिथोल्ने हर्कत गर्नसक्ने आशङ्का अझै बाँकी रहेको भए पनि आम मतदाताबीच देखिएको उत्साह र सहभागी दलहरूको तयारी र सुरक्षा प्रबन्धलाई हेर्दा निर्वाचन सहज वातावरणमा नै हुनसक्ने आम अपेक्षा छ ।
पन्ध्र वर्ष अगाडि हुनुपर्ने स्थानीय निकायको निर्वाचन पुनःसंरचित स्थानीय तहको रूपमा पहिलोपटक हुँदैछ । स्थानीय तहमा जननिर्वाचित प्रतिनिधिहरू नहुँदा स्थानीय विकासको गति अवरूद्ध हुँदैआएको, सेवाग्राही जनता सेवाबाट बञ्चित हुनुपरेको र स्थानीय नेतृत्व विकासको अवसर पनि गुमेको सर्वसाधारण जनताले समेत प्रत्यक्ष अनुभूत गरिरहेको बेलामा स्थानीय तहको निर्वाचन हुनुलाई हरेक क्षेत्रका जनताले उत्साहजनक रुपमा लिएका छन् । २ नं. प्रदेशमा निर्वाचनको वातावरण स्वतः शिथिल भए पनि ३५ जिल्लाका हरेक क्षेत्रमा निर्वाचनको माहोल तयार भएको छ । यदि सरकारले पर्दापछाडिको शक्तिको दवाव र राजपाको धम्कीको कुनै पर्वाह नगरी २ नं.प्रदेशमा पनि निर्वाचन पूर्व घोषित नीतिमा नै गर्ने दृढता देखाएको भए सो प्रदेशमा न त निराशाको वातावरण सृजित हुने थियो न त राजपाको कुनै दैय्या नै चल्ने थियो भन्ने आमधारणा बनेको छ । मतिभ्रम भएका राजपाका नेताहरूले  कुनै पृष्ठशक्तिको उक्साहटमा लागेर गलत निर्णय नगरेका भए आफ्ना मागलाई जनअनुमोदन गराउने उपयुक्त अवसर पाएका थिए । उनीहरूलाई दोस्रो चरणको चुनाव विथोल्ने परिणामविही हर्कत नगर्न र असोज २ गते हुने तेस्रो चरणको निर्वाचनमा विना शर्त भाग लिनपाउने अवसर बाँकी नै छ । यदि यो मौकाको पनि उपयोग गर्न पछिपरे भने यो उनीहरूका लागि आत्मघात ठहर्ने निश्चित नै छ । अर्काको बुइ चढेर आफ्नै क्षेत्रका जनताको भावना र अधिकारविरुद्ध खेलबाड गर्नेहरू समयको अन्तरालमा नाङ्गिँदैजाने गरेको तथ्य इतिहासले नै उजागर गर्दैआएको छ । 
दोस्रो चरणको निर्वाचन तिथि आउन अब ८ दिनमात्र बाँकी छ । यो निर्वाचनमा पनि मुख्य प्रतिस्पर्धा सत्ता नेतृत्वमा रहेको नेपाली काङ्ग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीचमा नै हुने अनुमान भैरहेको छ ।  केही पहाडी जिल्लामा  माओवादी केन्द्र प्रतिस्पर्धामा रहने र तराईका केही जिल्लामा संघीय समाजवादी दलले अग्रता हाँसिल गर्ने सम्भावना रहेको समाचार सूत्रहरूले बताएका छन् । बिराटनगर नगरपालिकामा नेपाली काङ्ग्रेस र माओवादीबीच र नेकपा एमाले र विजय गच्छेदारको फोरमबीच तालमेल भएको छ । काङ्ग्रेस र माओवादीले धेरै ठाउँमा तालमेल गरेका छन् । अधिकांश ठाउँमा नेकपा एमाले एक्लै भिडेको छ । पहिलो चरणमा राम्रैसंग अग्रता हाँसिल गरेको एमाले दोस्रो चरणको निर्वाचनमा पनि उत्तिकै अग्रता हाँसिल गर्ने कसरतमा लागेको देखिन्छ भने सत्ता गठबन्धनका नेका–माकेका लागि ठूलो चुनौती बनिरहेको बताइन्छ । तीनवटै प्रदेशको तराई क्षेत्रमा पनि मतदाताहरू एमालेतिर आकर्षित हुँदैगएको दावी खवरसूत्रहरूले गरिरहेका छन् । अघिल्लो चरणको निर्वाचनमाभन्दा यस चरणको निर्वाचनमा सत्ताशक्तिको अधिक उपयोग हुने यथेष्ट लक्षण निर्वाचन क्षेत्रमा देखापर्न थालेको सङ्केत मिलिरहेको छ । निर्वाचनको तिथि बदल्ने क्रममा  सरकारका सामु निरीह बनेको र स्वतन्त्र भूमिका स्थापित गर्न नसकी सरकारको लाचार छायाँ बनेको आरोप खेपिरहेको निर्वाचन आयोगले आचार संहिता पालना गराउन एवं निष्पक्ष र स्वतन्त्र निर्वाचनको प्रत्याभूति दिन कति रचनात्मक र प्रभावकारी भूमिका खेल्ने हो भन्नेबारे आम उत्सुकता जागृत छ । पहिलो चरणको निर्वाचनमा जुन उच्च प्रतिशतमा मतदान भएको थियो त्यसै गरी यो चरणको मतदानमा पनि व्यापक जनसहभागिता रहने सम्भावना रहेको जानकारी राजनीतिक सूत्रहरूले दिन थालेका छन् ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com