युगसम्बाद साप्ताहिक

भोलि स्थानीय तहको दोस्रो चरणको निर्वाचन
Wednesday, 06.28.2017, 12:02pm (GMT5.5)


काठमाडौं ।  भोलि असार १४ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुने दिन अब संघारमै आइपुगेको छ । प्रदेश नं. १, ५ र ७ का ३ सय ३४ स्थानीय निकायका लागि भोलि बिहान ७ बजेदेखि मतदान कार्य सुरु हुनेछ । एक महानगरपालिका, ८ उपनगरपालिका, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकाका गरी १३ हजार ५ सय ५६ जनप्रतिनिधिका लागि हुने मतदान कार्यमा व्यापक जनसहभागिता हुने अनुमान गरिएको छ । हिमाल, पहाड, तराई तीनवटै भौगोलिक क्षेत्रलाई समेटेर हुन गैरहेको यो निर्वाचनले प्रतिस्पर्धी  राजनीतिक दलहरूदेखि लिएर आममतदातासम्मलाई निक्कै उत्साहित बनाएको देखिएको छ । यो निर्वाचन बहिष्कार गर्ने र बिथोल्ने कसरतमा लागेको मधेशवादी दल राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन क्षेत्रमा ठूलै बितण्डा मच्चाउनसक्ने जुन आशंका गरिएको थियो त्यो पनि काल्पनिक त्रासमात्र रहेको स्थितिबोध भएको छ । हरेक क्षेत्रका मतदाताहरू मतदानका लागि उत्तिकै उत्साहित देखिएका छन् । पहिलो चरणको निर्वाचन जसरी शान्तिपूर्ण र सहज वातावरणमा सम्पन्न भएको थियो दोस्रो चरणको निर्वाचन पनि सहज वातावरणमै सम्पन्न हुने अपेक्षा गरिएको छ । निर्वाचन आयोगले हरेक मतदान केन्द्रमा तयारी पूरा भएको सन्देश प्रवाह गरेको छ भने सुरक्षा प्रबन्ध पनि निक्कै कडा गरिएको आभास भैरहेको छ । यस पटकको निर्वाचनमा सुरक्षा प्रबन्धका निम्ति  सेनाको प्रयोग पनि व्यवस्थित भएको छ । यो चरणको निर्वाचन निर्विघ्न सम्पन्न हुनासाथ तेस्रो चरणको निर्वाचन पनि सहज हुने र निकट भविष्यमा प्रादेशिक र केन्द्रिय निर्वाचनका लागि पनि वातावरण अनुकूल बन्ने राजनीतिक विश्लेषकहरूको अडकलबाजी छ ।
राजनीतिक संवाद सूत्रहरूका अनुसार– पहिलो चरणको निर्वाचन नतिजाले संसदको पहिलो दल नेपाली कांग्रेसलाई दोस्रो स्थानमा झारेको, सत्ताको नेतृत्व गरिरहेको अवस्थामा पनि माओवादी केन्द्रको हैसियत खस्किएको र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पहिलो स्थानमा पुगेको अवस्थाले सत्ता गठबन्धनलाई नराम्रोसंग झस्काएको हुँदा यस पटक एमालेलाई टक्कर दिन ठूलो कसरत गरिरहेको छ । एमालेका निम्ति पनि पहिलो चरणमा प्राप्त भएको हैसियत जोगाउन ठूलो चुनौती खडा भएको छ । हरेक दलका शीर्ष नेताहरू यो चरणको निर्वाचनलाई प्रतिष्ठाको लडाइका रुपमा लिएर पूर्वदेखि पश्चिमसम्म चुनावी प्रचारमा सरिक भएको पाइएको छ । यस चरणको निर्वाचन प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्रदेखि लिएर कोइराला परिवारको विराशतको रुपमा रहेको बिराटनगर एवं पूर्व प्रधानमन्त्री केपी ओलीको क्षेत्र झापा र पूर्व प्र.म. झलनाथ खनालको निर्वाचन क्षेत्र इलामसम्म फैलिएकाले शीर्ष नेताहरू नै चुनावी मैदानमा उत्रिएर आआफ्नो प्रतिष्ठा जोगाउन कस्सिएका छन् । पहिलो चरणको निर्वाचनमा भन्दा यस पटक सत्ताशक्तिको अधिकतम उपयोग भएको आभास स्वतन्त्र पर्यवेक्षकहरूले समेत पाएका छन् । स्थानीय जनताको मनोभावना र राजनीतिक उपादेयताको कुनै ख्यालै नगरी हठवादी धारणा राखेर निर्वाचन बहिष्कार गर्ने र बिथोल्ने गलत बाटोमा लागेको राजपाको वास्तविक धरातलीय शक्ति परीक्षा पनि यो निर्वाचनले गराएको छ । 
तराई क्षेत्रका जनताको अभिमत भन्दा बाहिरी शक्तिको आशीर्वाद र निर्देशनलाई मूलमन्त्र र शक्तिको स्रोत मान्ने मनोदशाले राजपाका नेताहरूलाई ठूलो राजनीतिक संकटमा पारेको प्रष्ट आभास भैरहेको छ । अहिलेको माहोलले राजपाका नेताहरूलाई  हठ त्यागेर  असोज २ गते हुने तेस्रो चरणको निर्वाचनमा आउनैपर्ने सन्देश दिएको छ । राजपालाई सहभागी गराउनै नाममा एकैचरणमा गर्ने भनिएको निर्वाचनलाई दुई चरण र तीन चरणमा पु¥याउनु महाभूल थियो र सुनियोजित षडयन्त्रकै उपज थियो भन्ने आशंकालाई विकसित घटनाले पुष्टि गर्दैआएको छ । भोलि हुने मतदानले जुनै दललाई अग्रस्थानमा ल्याए पनि त्यसले स्थानीय विकासलाई नयाँ गति दिने र राजनीतिक समायोजनको सम्भावनालाई फराकिलो पार्ने अपेक्षा बढिरहेको छ ।
स्थानीय तहको निर्वाचनलाई चरणबद्ध रुपमा लम्ब्याउनुको पछाडि आगामी माघ ७ गतेभित्र प्रादेशिक र केन्द्रिय निर्वाचन यथा समयमा हुन नदिने र संविधानको कार्यान्वयनलाई बिफल पार्ने नियत लुकेको एकथरिले आशंका गरिरहेका छन् । राजपाको राजनीतिक जरो मुलुक बाहिर रहेको र तेस्रो चरणको निर्वाचनमा भागलिने कुनै प्रत्याभूति पनि नरहेकाले  विद्यमान राजनीतिक संकटबाट मुलुकले सहजै निकास नपाउने आशंका पनि यथास्थानमा नै छ । अहिले आआफ्नो क्षेत्रमा राजनीतिक हैसियत जोगाउन हरेक दलका शीर्ष नेताहरू ज्यूज्यान दिएर लागिपरेका भए पनि राजनीतिक समायोजनको मूल समस्याको निराकरण अहिलेको निर्वाचनले गर्न नसक्ने उत्तिकै सत्य छ । स्थानीय तहको निर्वाचनले स्थानीय जनतालाई उत्साहित बनाएको र विकासको सम्भावना बढेको अनुभूत भए पनि निर्वाचनबाट प्रादेशिक संरचना व्यवस्थित गर्न र केन्द्रिय निर्वाचनबाट स्थिर सरकार बन्ने अवस्था सिर्जना नहुँदासम्म मुलुकले राजनीतिक संकटबाट पार पाउनसक्ने कुनै सम्भावना छैन । 
निर्वाचनको संघारमा नवलपरासी, रुपन्देही तथा अन्य स्थानमा बम बिस्फोट भयो । झापाको बिर्तामोडमा विभिन्न स्थानमा बम फेला परे । उम्मेदवारका घरमा पनि बम बिस्फोट गराइयो । यी घटनाहरुले निर्वाचन बिथोल्ने कुनै सम्भावना छैन । र आम मतदाताले यसलाई त्रासको रुपमा लिन आवश्यक पनि छैन । अब यतिबेला दोस्रो चरणको निर्वाचनपछि मतपरिणामको विषय अहिलेदेखि नै चासोमा रहेको छ । पहिलो चरणको मतगणना व्यवस्थित र छिटो छरितो रुपमा हुन नसक्दा उत्पन्न विवाद र अन्योललाई चिर्न निर्वाचन आयोगले कस्तो तयारी गरेको छ त्यो मतगणनापछि नै थाहा हुनेछ । लामो समयसम्म मतगणनाको प्रक्रिया लम्ब्याइरहँदा अनेक विवाद निस्कने पक्का छ । भरतपुर महानगरपालिकाको विवाद यसैको उपज हो । आउँदा दिनमा त्यस्तो गल्ती नदोहोरियोस् र आयोगले आफ्नो संवैधानिक जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरोस् भन्ने आमअपेक्षा छ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com