युगसम्बाद साप्ताहिक

बाढीपहिरोबाट हालसम्म छदर्जन बढीको मृत्यु
Tuesday, 08.15.2017, 02:39pm (GMT5.5)

गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका कारण हालसम्म ७० जनाभन्दा बढीको मृत्यु भएको जनाएको छ । 
गृह मन्त्रालयका अनुसार बाढीपहिरोबाट २८ घाइते र ५३ जना बेपत्ता रहेका छन् । रौटहटमा नौ, सुनरसीमा आठ, मोरङमा छ, सिन्धुली र झापामा चार÷चार, दाङ, बाँके, सर्लाही,  मकवानपुर र सुर्खेतमा तीन÷तीन, बर्दिया, बारा, पाँचथर, महोत्तरी, हुम्ला, बाग्लुङ र चितवनमा दुई÷दुई तथा धनुषा, पाल्पा, इलाम र कपिलवस्तुमा एक÷एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी झापामा १४, रौटहटमा आठ, मोरङमा सात, सुनसरीमा छ, मकवानपुर र पाँचथरमा तीन÷तीन, पर्सामा दुई तथा सप्तरी, सर्लाही, इलाम, धनुषा, बारा, सिन्धुली, धादिङ, नवलपरासी र बर्दिमा एक÷एक जना बेपत्ता भएका छन् । 
विपद्का कारण हालसम्म एक हजार पाँच घरमा क्षति पुगेको गृहमन्त्रालयले जनाएको छ । बाढीपहिरो तथा डुबानमा परेका व्यक्तिको खोज,उद्धार र राहत वितरणका लागि केन्द्रमा गृह मन्त्रालय र प्रभावित जिल्लामा जिल्ला प्रशासन कार्यालयमा कमाण्ड पोस्ट स्थापना गरी प्रतिकार्यका लागि समन्वय भइरहेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । राहत वितरणका लागि प्रभावित २१ जिल्लामा रु एक करोड ९८ लाख रकम निकासा गरिएको गृह मन्त्रालयले जनाएको छ ।

आर्थिक सहयोग निकासा
काठमाडौं । गृह मन्त्रालयले बाढी, पहिरो र डुबानको प्रकोपमा परेकालाई आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यले करिब रु एक करोड ९७ लाख प्रभावित जिल्लामा आइतबार निकासा गरेको छ । 
जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत सो रकम पीडितको अवस्था हेरी वितरण गरिने मन्त्रालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहने सो समितिले सम्बन्धित जिल्लामा भएको घटनाको विवरण संकलन गर्ने तथा क्षतिको तथ्याङ्क लिई सो रकमबाट राहत वितरण गर्ने छन् ।
मन्त्रालयका आर्थिक प्रशासन प्रमुख शिवनाथ पौडेलले प्रारम्भिक चरणका लागि पठाइएको सो रकम पीडित समूहमा भएको क्षति तथा प्रभावितको घरबारविहीन अवस्थालाई मूल्याँकन गरी पुनः आवश्यकताअनुसार सहयोग थप गर्न सकिने जानकारी दिनुभयो ।
पहाड तथा तराईका गरी करिब २० जिल्लामा केही दिनदेखि आएको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण हालसम्म ४० भन्दा बढी नागरिकको मृत्यु भएको छ ।

मृतकका परिवारलाई प्रतिव्यक्ति दुई लाख राहत
सरकारले बाढीपहिरोका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति रु दुई लाख दिने निर्णय गरेको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउने निर्णय गरेको बैठकपछि सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । बैठकले मन्त्रिपरिषद्का सदस्यहरुको एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णयसमेत गरेको छ । 
बैठकले बाढीपीडितका लागि खाद्यान्न, औषधोपचारलगायतको व्यवस्था युद्धस्तरमा गर्ने निर्णय गरेको छ । बाढीबाट क्षतिग्रस्त भौतिक संरचनाको सम्बन्धमा अध्ययन गरी सोहीअनुरुप पीडितलाई दिइने क्षतिपूर्तिबारे पछि निर्णय लिइने मन्त्री बस्नेतले बताउनुभयो ।
यसैगरी बाढीग्रस्त क्षेत्रको निरीक्षण तथा अनुगमनका लागि सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा सप्तरी, महोत्तरीलगायत जिल्ला जानुहुने कार्यक्रम रहेको सञ्चारमन्त्री बस्नेतले जानकारी दिनुभयो ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com