युगसम्बाद साप्ताहिक

भारतसामु संविधान संशोधन गर्छु भन्नुपर्ने किन
Tuesday, 08.29.2017, 11:58am (GMT5.5)

काठमाडौं । संविधानका अन्तर्वस्तुमा प्रमुख दलहरुबीच सहमति भएदेखि नै असन्तुष्ट रहँदैआएको भारतले अहिले पनि संविधानलाई स्वीकार गरेको छैन । सबै पक्षलाई समेट्ने नाममा भारतले मधेशवादी दलहरुको मागका आधारमा आफ्ना स्वार्थ घुसार्ने दवाव निरन्तर जारी राखेको छ । संविधान घोषणा रोक्न ठूलो दवाल दिएको भारतले संविधान जारी गरेदेखि आफ्ना एजेण्डा समेटिएन भनेर मधेशवादी दलहरुको मागको बहाना बनाएर असन्तुष्टि प्रकट गर्दै आएको छ । संविधान जारी भएपछि नाकाबन्दी नै लगायो ।
९० प्रतिशतभन्दा बढी जनप्रतिनिधिले समर्थन गरेको संविधान मधेशवादीका लागि भारतको एजेण्डा नै मधेशी जनताको एजेण्डा बनाएर अस्वीकर गर्दैआएका छन् र उनीहरुको माग सम्बोधन गर्ने भन्दै ओली सरकारले संशोधन ग¥यो भने देउवाा सरकारले राखेको संशोधन प्रस्ताव असफल भयो । संविधान जारी भैसकेपछि नेपालमा ३ जना प्रधानमन्त्री बनिसके र ती सबैले भारतको भ्रमण गरे अनि सबैलाई सहमत बनाएर संविधान कार्यान्वयनमा जाने बताए । भारतले संविधानप्रति देखाइरहेको असन्तुष्टिलाई नेपालका प्रधानमन्त्रीहरुले आशीर्वादका रुपमा लिंदै उनीहरुको माग अनुसार गर्ने बचन दिंदैआएका छन् । केपी ओली प्रधानमन्त्री बन्दा संविधान संशोधन गरेर भारत जानुभएको थियो र त्यतिबेला उहाँले मधेशवादीको माग पूरा भएको बताउनुभएको थियो ।
मधेशवादी दल राष्ट्रिय जनता पार्टीको माग अनुसार संविधान संशोधन गरेर भारतको भ्रमणमा जाने सोच बनाउनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ ५ गते सोमबार संसदबाट संशोधन प्रस्ताव असफल भएपछि भारत पुगेर उचित समयमा संविधान संशोधन गर्ने बचन दिनुभयो । भारतको पाँचदिने भ्रमणका क्रममा बिहिबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपालको संविधान संशोधन गर्ने बचन दिनुभयो ।
द्विपक्षीय वार्तापछि देउवा र मोदी संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले दुई चरणमा स्थानीय चुनावको स्वागत गर्दै सबैसँग सम्वाद गर्दै सबैको आकांक्षा समाहित गरी संविधान सफलतापूर्वक लागू गर्ने विश्वास सुझाव दिनुभयो । भारतीय प्रधानमन्त्री मोदीले सबैलाई समेटेर, सबैलाई सन्तुष्ट बनाएर संविधान कार्यान्वयन गर्न सुझावका रुपमा दवाव दिएपछि प्रधानमन्त्री देउवाले दुई तिहाई बहमुत नपुगेकाले संशोधन असफल भएको भन्दै भविश्यमा बहुमत आउँछ र संविधान संशोधन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
नेपाली जनताका लागि बनेको संविधानमा भारतको यतिबिधि चासो किन भन्ने कुरा जगजाहेर नै छ । भारतले नेपालका आदिवासी, जनजाति, पछडिएका वर्गको नाममा तराईमा भारतीयहरुको हालिमुहाली कायम गर्ने चाहना राखेको छ । हुन त सीमाना जोडिएपछि बढी चासो हुनु स्वाभाविक हो तर, नेपालको तराईको राजनीति बुझिनसक्नु छ । तराईबासी नेपालीहरुको हितका लागि भनेर भारतीय भित्र्याउने र भूमिपुत्र नेपालीलाई अल्पमतमा पार्दै नेपाललाई फिजीकरण हुँदै सिक्किमीकरणको दिशातिर डो¥याउने षड्यन्त्र भैरहेको विश्लेषकहरु बताउँछन् ।
नेपालको सत्ता राजनीति भारतको नियन्त्रणमा छ र भारतले चाहेको र भनेको मान्ने मात्रै प्रधानमन्त्री बन्नसक्छ । देउवाले भारत पुगेर त्यही संकेत दिनुभयो र भारतको आशीर्वाद लिनुभयो । के नेपालका राजनीतिक दलका नेताहरु, सरकारमा रहेकाहरु यसैका लागि परिचालित हुन् त ? भारतको चाहना अनुसार सरकार बन्ने र ढल्ने अनि उसैको खेलमा दलहरु विभाजित हुने, एकता हुने गतिविधि बढिरहेका बेला नेताहरुलाई लाग्ने यस्तो गम्भीर आरोप पूर्ण सत्य पनि मान्न सकिन्न र असत्य पनि । किनभने सत्ता स्वार्थका लागि भारतसामु लम्पसार पर्ने प्रवत्ति बढ्दो छ । यसैको निरन्तरता हो प्रधानमन्त्री शेरबहादुर देउवाले भविष्यमा सबैलाई सहमत गराएर सबैले मान्ने गरी संविधान संशोधन गर्छु भन्ने बचन दिएको ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com