युगसम्बाद साप्ताहिक

देउवा नै भारतको सर्वाधिक विश्वासको पात्र
Tuesday, 08.29.2017, 11:58am (GMT5.5)

काठमाडौं । प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा दुईतिहाइ स्थानमा जित्न भारतले सहयोग गरोस् उसले चाहेसरहकै संशोधन गर्न आँफू तयार रहेको खुला सन्देश दिनुभएको छ । संविधान संशोधनको मुद्दा सतहमा हेर्दा मधेशी मोर्चा(राष्ट्रिय जनता पार्टीको जस्तो देखिए पनि अन्तर्यमा त्यो भारतीय चाहनाकै उपज थियो भन्ने पनि खुलस्त भएको छ ।  भारतको रणनीतिक उपयोगका लागि राजपा भन्दा अहिलेको सत्तागठबन्धन र नेपाली काङ्गरेसका सभापति देउवा नै सवैभन्दा बढी उपयुक्त भएको निचोडमा नयाँदिल्ली पुगिसकेको आभास हुनथालेको विश्लेषकहरूको धारणा छ ।
विश्लेषकहरू भन्दछन्– नेपाल र भारतबीच झ्याङ्गिँदैगएका जटिल समस्याहरूको स्थायी समाधानका लागि यो भ्रमणले कुनै रचनात्मक योगदान दिएको कुनै अनुभूति छैन । कालापानी, लिपुलेक,सुस्तादेखि लिएर सीमा अतिक्रमणका समस्या वारे कुनै पहल भएको देखिएन भने भारतले अनधिकृत रूपमा बनाएका तटबन्ध र बाँधहरुबाट उत्पन्न भएको डुवानको विकराल समस्या तत्काल भोग्दाभोग्दै पनि भारततिरको बाढीको समस्यालाई पनि त्यसैमा मुछेर पन्छाउने काम भएको छ । नेपाल र भारतबीच हरेक वर्ष व्यापार घाटा चुलिँदो छ । गएको वर्षमा मात्र उसंगको व्यापार घाटा ५ खर्ब ९२ अर्ब नाघेको छ । तर भारतले नेपालको उत्पादनलाई भारत प्रवेशमा निरुत्साहित गरेर अदुवाको निर्यातसमेत रोकेको छ । नेपाललाई कृषि पैदावारको पनि एकाधिकार बनाउने भारतको रणनीतिक गतिविधिलाई यहाँका सत्ताशीनहरूले सघाउँदैआएका छन् । चुलिँदो व्यापार घाटा कम गर्नेबारे कुनै कुरा भएको जानकारीमा छैन । अब त हुँदाहुँदा भारतको नीति आयोगसंग नेपालको योजना आयोगलाई आबद्ध गराएर काम गर्ने सहमति गरिएको छ । राष्ट्रहितका कुरा जसले गर्छ, राष्ट्रघातको विरोध जसले गर्छ उसलाई अन्धराष्ट्रवाददेखि लिएर चीनपरस्तताको पगरी समेत गुथाएर अनेक सञ्जाल प्रयोग गरी दुत्कार गर्ने प्रचलन नै भारतले नेपालमा बसाएको छ । नेपाल र भारतबीचको सम्बन्ध अस्वाभाविक नियतिको भ्रमजालमा फस्दैगएको छ । नेपालमा नियन्त्रित अस्थिरता सिर्जना गरिरहने र वर्षदिन पनि नटिक्ने सरकार प्रमुखलाई बोलाएर आफ्नो रणनीतिक स्वार्थका लागि फसाउँदैजाने भारतको परम्परागत शैलीमा कुनै पनि परिवर्तन नआएको प्रष्ट सन्देश प्रधानमन्त्री देउवाको यो भ्रमणको सन्दर्भले पनि दिएको छ । वैयक्तिक सञ्जाल प्रयोग गरेर यो भ्रमण जति नै सफल रहेको र दुई देशबीचको सम्बन्ध उच्चाइमा पुगेको भनिए पनि भारतले नेपालसंग विगतमा गरेका सहमतिहरू कार्यान्वयनमा नै नआउने गरेको ताजा उदाहरण त भूकम्प पीडितका निम्ति  दिएको सहयोग बचनको पालना नभएकै प्रसङ्गले समेत उजागर गरेको छ । 
राजनीतिक संवाद सूत्रहरूका अनुसार २ नं. प्रदेशका १ सय ३६ स्थानीय तहका लागि आगामी असोज २ गते हुने  निर्वाचनमा पनि प्रधानमन्त्री देउवाको भारत भ्रमणसित सम्बन्धित विषय र संविधान संशोधनको विफलताको विषय प्रमुख राजनीतिक मुद्दा बन्ने देखिएको छ । विगत दुई चरणका निर्वाचनमा अग्रता हाँसिल गरेको नेकपा एमालेका लागि तेस्रो चरणको यो निर्वाचन पनि ठूलै प्रतिष्ठाको विषय भएको छ भने सत्ता नेतृत्वमा रहेको नेपाली कांग्रेसले २ नं. प्रदेशको निर्वाचनबाट क्षतिपूर्ति गर्ने आकांक्षा देखाइरहेको छ । माओवादी केन्द्रले पनि यो निर्वाचनमा एमालेलाई धक्का दिएर पछिपार्ने गुड्डी हाँकिरहेको छ । राजपा अरू अरू मधेश केन्द्रित दलहरूका निम्ति त यो चुनाव राजनीतिक जीवन मरणको विषय नै बनेको छ । उम्मेदवार चयनका निम्ति राजपामा ठूलै विवाद चर्किएको जगजाहेर भैरहेको छ भने कांग्रेस र अरू दलमा पनि उत्तिकै खिचातानी चलेको छ । एमालले धेरै स्थानमा उम्मेदवार चयन गरिसके पनि केही ठाउँमा भने महत्वाकांक्षीहरूबीच तानातानी चलिरहेको छ । २ नं.प्रदेश पूरै डुवानको चपेटामा परेकाले उद्धार र राहतकार्यमा समेत राजनीतिक पक्षधरता देखिएको गुनासो बढेको छ भने भोक, रोग र शोकको पीडामा अझै कमी आएको छैन । तराईका जिल्लाहरूमा निर्वाचनको बेला धनबल र बाहुबलको अधिक प्रयोग हुनेगरेको पूर्व अनुभव हेर्दा यस पटक त्यसको प्रभाव कस्तो रहने हो भन्ने कुतुहलता जनमासमा व्याप्त भैरहेको छ । यो निर्वाचन सकिएको लगतैपछि राष्ट्रिय चाड बडादशैं आउने र त्यसपछि मंसिर १० गते प्रादेशिक र संघीय निर्वाचन एकसाथ गर्ने निर्णय सरकारले गरिसकेकाले अब मुलुकको समग्र ध्यान निर्वाचनतिर नै केन्द्रित हुने भएको छ । चालू संसदमा भ्रष्टाचारमा डामिएकाहरूलाई पनि चुनाव लड्न दिनुपर्छ भनी कानूनी प्राबधान राख्न कांग्रेसी सांसदहरूले गरिरहेको जोडबलको प्रभाव कुन रुपमा देखिने हो भन्ने कुतुहलता पनि आम रुपमा जागृत भैरहेको छ । अब हुने प्रान्तीय र संघीय चुनावका लागि कांग्रेस माओवादी लगायतका संविधान संशोधनवादी दलहरू र संशोधन विरोधी दलहरूबीच  दरो गठबन्धन हुने र संविधान संशोधनका पक्षमा दुईतिहाइ पु¥याउन भारतले सम्बद्ध दलहरूबीच सहकार्य गराउन र भरपुर सहयोग जुटाउन यथेष्ठ कसरत गर्ने  दावी राजनीतिक वृत्तमा गहन चर्चाको विषय बन्न थालेको छ । 


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com