युगसम्बाद साप्ताहिक

कति सुरक्षित गगनचुम्बी भवन
Wednesday, 09.06.2017, 03:53pm (GMT5.5)

काठमाडौं । काठमाडौं उपत्यकाको कमजोर धरातलका कारण यहाँ गगनचुम्बीभवन बनाउनु हुँदैन भन्नेमा सबै जानकार भए पनि त्यसको वेवास्ता गरिएको छ । अग्ला भवनहरु भूकम्पीय दृष्टिले मात्र हैन आगलागी भएमा कसरी सुरक्षित हुने भन्ने चिन्ता यतिबेला उत्पन्न भएको छ । तर, विज्ञहरुको सुझाव, विपत्तिबाट बच्ने स्रोत साधनको अपर्याप्तताकाबीच काठमाडौंमा गगनचुम्बी भवन बन्न थालेका छन् । अग्ला भवन बनाउन नहुने र नदिने भन्दै गरिएका गफ हावादारी सावित भएको छ । अहिले १२ देखि १३ तलासम्मका कैयौँ आवसीय हाउजिङहरु सञ्चालनमा छन् । अझ २३ तला सम्मको अग्लो भवन निर्माणका लागि अनुमति दिइएको छ ।
त्यसो त काठमाडौं महानगरपालिकाले नै २६ तले अग्लो भवन निर्माणको लागि तयारी गरिरहेको बताइन्छ । त्यस्ता भवनहरु भूकम्प प्रतिरोधी बन्नेमा शंका नहोला तर आगलागी भए के गर्ने ? जुद्ध वारुण यन्त्र कार्यालयका अनुसार त्यस्ता अग्ला भवनहरुमा आगालागी भए त्यसलाई नियन्त्रण गर्ने पर्याप्त उपकरण नभएको र कायम उपहरणले तीस मिटरसम्म अर्थात १० तलासम्मको आगो नियन्त्रण गर्नसक्ने क्षमता रहेको छ ।
दश तलाको भवनमा आगलागी भएको खण्डमा अग्नि नियन्त्रणका लागि चाहिने एरियल ल्याडर पनि एउटा मात्र रहेको र त्यो पनि ३५ वर्ष भन्दा पुरानो हो ।
अर्कोतिर काठमाडौंमा घरहरुको संख्या र जनघनत्वकको तुलनामा दमकलको संख्या लाजमर्दो छ । जुद्ध वारुण यन्त्रसँग हाल जम्मा ६ वटा दमकल छन् र त्यसमध्ये ३ वटा मात्रै काम गर्न सक्ने अवस्थामा छन् ।
भवन निर्माण सम्बन्धी अनुगमन गर्ने जिम्मा पाएको निकायका अधिकारीहरु चाँहि अग्नि नियन्त्रणको प्रभावकारी व्यवस्था सुनिश्चित गरेर मात्रै गगनचुम्बी भवन निर्माणको अनुमति दिने गरिएको बताउँछन् ।
तर काठमाडौंको भौतिक पूर्वाधारको जुन अवस्था छ त्यसले गगनचुम्बी भवनहरुमा हुने कुनै अनहोनी नियन्त्रण गर्न सक्षम छ कि छैन ? यो महत्वपूर्ण सवाल छ । गगनचुम्बी भवनहरुमा आगो लाग्यो भने त्यसलाई नियन्त्रण लिन बेलायत जस्तो मुलुकले समेत सकेन । केही महिना अघि भएको त्यहाँका दुई आगलागीमा सयौंको ज्यान गयो ।
लण्डनमा त्यस्तो भयो भने काठमाडौंले त्यो धान्न सक्ला ? भोटाहिटीको पुरानो घरमा भएको आगलागी नियन्त्रणमा लिन घण्टौं लाग्छ । अनि काठमाडौं भूकम्पको उच्च जोखिममा रहेको शहर भएका कारण पनि अग्ला भवनहरु बनाउन नहुने विज्ञहरुको सुझावलाई यति चाँडै बिर्सनु अर्को अनिष्टको प्रमाणपत्र बाहेक केही हैन ।
आगो पानी, भूकम्प जस्ता विपत्तिलाई ख्याल राखेर मात्रै भौतिक संरचना निर्माण गर्नुपर्नेमा त्यसको पूरै वेवास्ता गरिएको छ । गनचुम्बी भवनहरु निर्माणको हिसावले सुरक्षित होला, तर काठमाडौंमा मौजूदा उद्धारक निकायहरुको क्षमता र उपककरणहरुको उपलब्धतालाई ख्याल गर्ने कि नगर्ने ? अनि सरकारले आगलागी नियन्त्रणका लागि अत्याधुनिक उपकरण भित्र्याउन चासो दिने कि नदिने ? अब ढिला भैसक्यो । एकातिर गगनचुम्बीभवन बन्दै जाने, अर्कातिर आगलागी जस्ता घटनाहरु नियन्त्रणमा लिन पर्याप्त साधन नहुने हो भने यदि त्यस्तै भएमा ठूलो जनधनको क्षति नहोला भन्न सकिन्न ?


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com