युगसम्बाद साप्ताहिक

आचारसंहिताको व्यापक उल्लंघन, जेल हाल्ने आयोगको तयारी
Wednesday, 09.06.2017, 03:53pm (GMT5.5)

काठमाडौं । असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नं.२ लार्य प्रमुख दलहरुले प्रतिष्ठाको विषय बनाएर आचारसंहिता विपरीत काम गर्न थालेका छन् । निर्वाचन आयोगको पटकपटकको निर्देशन विपरीत दलहरु सक्रिय छन् । त्यस्तै करिब तीन महिनापछि हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता जारी गरिसके पनि दलहरुले टेरेका छैनन् । सरकार नै यसप्रति असन्तुष्ट छ । विगतको अभ्यास विपरीत आचार संहिता लागू गरेको भन्दै सरकारले तीव्र असन्तुष्टि प्रकट गरेको छ ।
आचारसंहिताले स्थानीय तहमा कर्मचारीको खटनपटन, थप भएका स्थानीय तहमा बजेटको बन्दोबस्त र सरकारको दैनिक कामकाजमा बाधा पुगेको सरकारका प्रवक्ता र मुख्यसचिवले बताउन थालेका छन् । तर आयोगले निर्वाचनको मिति घोषणा गरिएपछि विधिपूर्वक नै आचार संहिता लागू गरिएको उल्लेख गर्दै सबैभन्दा बढी आचार संहिता उल्लंघन गरेको आरोप सरकारमाथि लगाएको छ ।
विगतमा चुनाव हुन दुई महिना बाँकी रहँदा आचार संहिता लागू गर्ने गरिएको बताउँदै सरकारले यसपटक आफूलाई सुइँको समेत नदिएर त्यो परम्परा तोडेको बताएको छ । सरकारका मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्र ीभने स्थानीय निकायमा कर्मचारी खटाउने र थप भएका ईकाइमा बजेटको बन्दोबस्त गर्ने लगायतका सरकारको दैनिक काम समेत नराम्ररी प्रभावित भएको र सबै कुरामा सहमति लिइरहन गाह्रो हुने बताउनुहुन्छ ।
तर निर्वाचन आयोगले चुनावको मिति घोषणापछि आचार संहिता लागू गर्ने आफ्नो क्षेत्राधिकार भित्रको विषय भएको बताएको छ । निर्वाचन आयोगमा आचारसंहिता र सुरक्षा मामिला हेर्ने आयुक्त सुधीरकुमार शाह भन्नुहुन्छ सरकारी अधिकारीहरुको चाहना त आचार संहिता लागू नगरिदिए हुन्थ्यो भन्ने नै हो । चुनावको मिति घोषणा भएपछि आयोगका सचिवको सरुवा गर्नुभन्दा ठूलो आचार संहिता उलंघन के हुन सक्छ ?’ सरकारले निर्वाचन आचार संहिता विपरित पुरानो मिति राखेर करिव चार सय कर्मचारीको सरुवा, नियुक्ति लगायतका काम गरेको आयोगको ठम्याइ छ । स्थानीय तहको निर्वाचनमा सरकार र सत्ताधारी दलका नेताबाट हाकाहाकी आचार संहिताको उलंघन हुँदा पनि बेवास्ता गरेको भन्दै आयोगको चर्को आलोचना भएको थियो ।
आयोगले केही दिन अघि मात्रै सरकारलाई सात बुँदे निर्देशन दिएको छ । आचारसंहिता लागू भएकै दिन प्रधानमन्त्री शेरबहादुर देउवाले महाकाली पुलको शिलान्यास गरेकोमा विपक्षी दलहरुले चर्को बिरोध गरेका थिए । आयोगले प्रधानमन्त्री तथा मन्त्रीहरुले सरकारी खर्चमा हेलिकोप्टर प्रयोग गर्न नपाउने र निजी खर्चमा प्रयोग गर्दा आयोगको स्वीकृति लिनुपर्ने स्पष्ट निर्देशन दिएको छ ।
उता निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचन क्षेत्र नं २ मा आचारसंहिता उल्लंघन गर्नेलाई जेल हाल्नेसम्मको तयारी आयोगले गरेको खुलासा गर्नुभएको छ ।  
आइतबार कलैयामा राजनीतिक दलसम्बद्ध प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त पौडेलले दलहरूले व्यापकरूपमा आचारसंहिताको उल्लंघन गरिरहेको बताउँदै अरू दललाई निषेध गर्ने काम कसैवाट हुन नहुने तर्क गर्नुभयो । संविधान कार्यान्वयन गर्ने पाटोको रूपमा स्थानीय निर्वाचन भइरहेको बताउँदै पौडेलले योग्य, तथा कुशल उम्मेदवार छान्न जनतालाई आग्रह गर्नुभयो । 
सामाजिक सद्भावमा खलल पुग्ने काम कोही कसैबाट भएमा त्यसको परिणाम गलत हुने तर्क गर्दै आयुक्त पौडेलले आपसी सद्भाव कायम गर्न सबै राजनीतिक दल तथा जनताले कार्य गर्नुपर्नेमा जोड दिुनुभयो । प्रदेश नं २ मा निर्वाचन सामग्री पठाइदिएको बताउँदै मत हाल्नलाई कुनै कठिनाई नहुने बताउनुभयो । सो अवसरमा दलहरूले आचारसंहिता पालना गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।  
आयुक्त पौडेलले आयोगले प्रदेश नं २ को चुनावलाई सम्वेदनशीलरूपमा लिएको बताउनुभयो । नेपाल–भारतबीचको खुला सिमाना, सशस्त्र तथा भुमिगत समुहहरू भएको हुँदा संवेदनशील भएपनि दरिलो सुरक्षा प्रबन्ध गरी निर्वाचन गराउनमा कुनै कसर वाँकी नराख्ने गरी आयोगले प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो । 
स्थानीय तहको अन्तिम चुनाव भएको हुँदा कतिपय दलहरूले चुनाव जित्न प्रतिष्ठासँग जोड्न थालेको हुँदा यस्तो अवस्थामा आयोग निकै संवेदनशील भएर अगाडि बढिरहेको पौडेलले भन्नुभयो । कसैलाई काखा कसैलाई पाखा हिसाबले समाचार प्रशारण प्रकाशन नगर्न पनि उहाँले पत्रकारहरूलाई आग्रह गर्नुभयो । 
त्यस्तै पार्टीमुखी पत्रकारिताभन्दा माथि उठेर कलम चलाउन उहाँले आग्रह गर्नुभयो । सरकार र आयोगवीच आचारसंहिता लगाएको विषयमा केही मतमतान्तर भइरहेको छ नि भन्ने प्रश्नको जवाफमा आयुक्त पौडेलले निर्वाचनको एकसय २० दिन अगाडि आचारसंहिता लगाउनुपर्ने बाध्यता भएको हुँदा आचारसंहिता लगाउनु परेको बताउँदै सरकारलाई केही अप्ठयारो परेको अवस्था छ भने निर्वाचन आयोगसँग बसेर गाँठो फुकाउन आयोग तयार रहेको जानकारी दिँदै आचारसंहिताको पालन गर्न सबैलाई आग्रह गर्नुभयो । 


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com