युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 10.23.2017, 04:07am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
अब सवै पक्षको ध्यान २ नं. प्रदेशतिर केन्द्रित- एमाले हराउन कांग्रेस–माओवादीबीच तालमेल
Wednesday, 09.06.2017, 03:54pm (GMT+5.5)

काठमाडौं ।  प्रदेश नं. २ मा असोज २ गते हुने स्थानीय तहको निर्वाचनका निम्ति भोलि २१ गते उम्मेदवारी दर्ताको दिन हो । सत्ता गठबन्धनका नेपाली कांग्रेस र माओवादी केन्द्र, सत्ता समर्थक राष्ट्रिय जनता पार्टी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका निम्ति यो निर्वाचन राजनीतिक प्रतिष्ठाको अहं मुद्दा बनेको छ । दुई चरणका निर्वाचनमा  एमालेले कायम गरेको अग्रता रोक्न सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन् । विगतमा दुई चरणमा भएको ६ वटा प्रदेशहरूको स्थानीय तहको चुनावमा अग्रता हाँसिल गरेका नेकपा एमाले कांग्रेस, माओवादी र पहिलो पटक निर्वाचनमा भाग लिइरहेको राजपाका लागि ठूलो चुनौती बनेको छ भने चौतर्फी विरोधको सामना गर्दै यो प्रदेशमा पनि अग्रता हाँसिल गर्नु एमालेका निम्ति फलामको चिउरा चपाउनु सरह भएको छ । एमालेले हालैको बाढी र डुवानबाट पीडित २ नं. प्रदेशका जनताको मूल समस्या भनेको भारत निर्मित अवैध तटबन्ध नै हो भन्ने मुद्दालाई प्रमुखतासाथ उठाएको र आगन्तुकहरूले रैथानेहरूको हक, अधिकार र अवसर छिन्दैलगेको विषयलाई पनि दरै मुद्दा बनाएको देखिँदैछ भने एमालेलाई मधेश विरोधीको आरोप लगाउँदै मताकर्षण गर्ने कांग्रेस, माओवादी र राजपाको मुख्य रणनीति रहेको पनि खुलाशा भैरहेको छ । 
चौतर्फी प्रहारको निशाना बनिरहेको एमालेको प्रचारात्मक कार्यक्रमलाई बिथोल्न निर्वाचन आयोगले आचार संहिताको अङकुश लगाए पनि मतदाताबीच त्यसको प्रभाव कुन रूपमा पर्ने हो भन्ने कुतुहलता सर्वत्र जागृत छ । उम्मेदवार चयन र प्रचार अभियानमा एमालेको अग्रता देखिएको छ भने कांग्रेसभित्र उम्मेदवार चयनमा देखापरेको मतभेद र गुटगत आरोप प्रत्यारोपले अन्तर्घातको रुप लिनसक्नेसम्मको आशङ्का उब्जिएको छ । माओवादी केन्द्रले मधेशको मुद्दा आफ्नै पार्टीले उठाएको भनेर मताकर्षण गर्न खोजे पनि उम्मेदवार चयनको प्रक्रियामा आइपुग्दासम्म मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीचमा नै केन्द्रित हुने अडकल राजनीतिक सूत्रहरूले गरेका छन् । यो निर्वाचन राजपाका लागि सर्वाधिक चुनौती बनेको छ । तर उम्मेदवार चयनमा राजपामा एकीकृत पूर्व दलहरूको भागबण्डा नमिलेकाले त्यसको प्रतिकूल असर मतदानमा देखिने भयले राजपाको नेतृत्त्व पङ्क्तिनै भयभित छ ।
राजनीतिक सूत्रहरू भन्दछन्– एमाले विरुद्ध त्रिदलीय गठबन्धनको सम्भावना टरेको भए पनि कांग्रेस र माओवादी खास गरी राजमार्गसंग जोडिएका गाउँपालिका र नगरपालिकामा अझै पनि एमालेसंग भिड्न तालमेल गर्ने कसरतमा छन् । तराईको भित्री इलाकामा राजपा र कांग्रेसबीच कडा प्रतिस्पर्धाको स्थिति मुखरित हुँदैआएको छ । २ नं. प्रदेशको अधिकांश भूभाग डुबान समस्याले ग्रस्त भएको र राज्य संयन्त्रको भरपुर उपयोग गरेर मताकर्षण गर्ने अवसर प्राप्त हुँदाहुँदै पनि उद्धार र राहत कार्य प्रभावकारी नभएको आम गुनासो कांग्रेस र माओवादीका लागि प्रत्युत्पादक बन्नसक्ने सम्भावना देखिएको छ । राजपाले पनि उद्धार र राहत वितरणमा कार्यकर्ता परिचालन गर्न नसकेको मतदाताहरूले औंल्याइरहेका छन् । उपेन्द्र यादव र विजय गच्छेदार नेतृत्वको मधेश केन्द्रित दलको प्रभाव खासै जमेको देखिएको छैन । राष्ट्रिय प्रजातन्त्र पार्टीका दुवै समूह प्रतिकात्मक प्रतिनिधित्व कायम गर्नकै लागि मात्र कसरत गरिरहेका छन् । कांग्रेस र एमालेलाई संविधानसभाको दोस्रो निर्वाचनमा कायम गरेको हैसियत जोगाउन पनि धौ धौ पर्ने अवस्था छ । राजपाले संविधान संशोधनका लागि उठाएका मुद्दा उसका आफ्ना नभै बाह्य प्रक्षेपित मुद्दा हुन् र संविधान जारी हुनासाथ सीमा क्षेत्रमा घर्ना दिएर नाकाबन्दीलाई सघाउँदै तराईका रैथानेहरूलाई नै सकसमा पारेको विषय पनि हरेक जिल्लाका मतदाताबीच गहन बहस र चर्चाको विषय बनेको छ । तराई क्षेत्र पूरै भारतीय बाँध, तटबन्ध र सडक निर्माणबाट उत्पन्न डुवानको चपेटामा परेको भए पनि मधेशी दलहरूले ती मुद्दालाई नउठाएका र सिङ्गो तराईलाई भारतको रणनीतिक प्रयोगका लागि मात्र उपयोग गरेको प्रसङ्गले पनि निर्वाचनको वातावरणलाई तताइरहेको आभास भैरहेको छ । राजपाले संविधान संशोधनको मुद्दालाई पुनःस्थापित गर्न सक्ने गरी निर्वाचनमा अग्रता हाँसिल गर्नसक्ने कुनै सम्भावना नरहे पनि निर्वाचनमा सहभागिता देखाएर स्थानीय विकासका लागि स्थानीय तहको गठनका लागि रचनात्मक योगदान दिएको प्रसङ्गलाई भने विश्लेषकहरूले सकारात्मक रुपमा चर्चा गरेको पाइन्छ ।
कुनै पनि तहको निर्वाचनमा खासगरी तराई क्षेत्रमा धनबल र बाहुबलको अधिक प्रयोग हुनेगरेको पूर्व अनुभव रहेकाले यो निर्वाचन त्यस्तो प्रवृतिबाट कति प्रभावित हुन्छ भन्नेतिर पनि पर्यवेक्षकहरूको ध्यान केन्द्रित हुनथालेको छ । निर्वाचन आयोगले जारी आचार संहिताको पालना गराउन कति प्रभावकारी भूमिका खेल्छ र खास गरी राज्यशक्तिको दुरुपयोग रोक्ने क्षमता कति राख्छ भन्ने पनि आम चासोको विषय बनेको छ । यो प्रदेशमा देखिएको अर्को समस्या भनेको मत बदर सङ्ख्या कसरी कम गराउने भन्ने नै हो । निर्वाचन आयोगले ३५ सय स्वयंसेवक खटाएर मतदाता शिक्षालाई जोड दिइरहेको र प्रतिस्पर्धी दलहरूका कार्यकर्ताहरूले पनि मतदान गर्ने तरिका सिकाउन सक्रियता देखाइरहेको देखिन्छ तापनि निरक्षर मतदाताको संख्या सो प्रदेशमा ठूलै रहेकाले मतदाता शिक्षाको प्रभावकारिता कुन रुपमा देखिने हो भन्ने चासो बढिरहेको छ । १३६ स्थानीय तह रहेको २ नं. प्रदेशका २६ लाख ६४ हजार ९५० मतदाता मध्ये कति प्रतिशतले मतदान गर्छन् र कुन कुन दलको वास्तविक हैसियत कति छ भनी एक्कीन गराउँछन् भन्ने कुरा नै अहिले सो प्रदेशभन्दा बाहिरका सचेत जनताको चासोको विषय बनिरहेको छ । नेपाली जनताको ठूलो चाडपर्व बडादशैंको पूर्वसन्ध्यामा हुनलागेको यो निर्वाचनले नेपालको राजनीतिक परिदृश्यमा नै विशेष महत्व राख्ने भएकाले प्रतिस्पर्धी दलहरूको समग्र शक्ति त्यतैतिर केन्द्रित भैरहेको देखिन्छ बने जनचासो पनि उत्तिकै बढिरहेको राजनीतिक विश्लेषकहरूले इङ्गित गरेका छन् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
कति सुरक्षित गगनचुम्बी भवन (09.06.2017)
आचारसंहिताको व्यापक उल्लंघन, जेल हाल्ने आयोगको तयारी (09.06.2017)
देउवा नै भारतको सर्वाधिक विश्वासको पात्र (08.29.2017)
भारतसामु संविधान संशोधन गर्छु भन्नुपर्ने किन (08.29.2017)
माथिल्लो तामाकोशीको लागत र समय बढ्ने भो (08.29.2017)
लाखौं जनताको बिल्लिबाठ : अवैध बाँधको बितण्डा (08.15.2017)
विदेशीको तालिमले कस्तो ऐन बन्ला (08.15.2017)
पाँच वर्षपछि चीनबाट शीर्ष भ्रमण : आजदेखि द्विपक्षीय वार्ता (08.15.2017)
बाढीपहिरोबाट हालसम्म छदर्जन बढीको मृत्यु (08.15.2017)
संविधान विफल पार्ने खेल रोकिएको छैन (08.08.2017)
राप्रपा विभाजनको अठारौं शृङ्खला (08.08.2017)
राजपाको राजनीतिक बाटो नै अस्पष्ट (08.08.2017)
देउवा सरकार चौतर्फी संकटको घेरामा (07.26.2017)
माओवादी पनि संवैधानिक प्रावधानको विपक्षमा (07.26.2017)
पुनःनिर्माणमा समन्वयको अभाव (07.26.2017)
भोलि स्थानीय तहको दोस्रो चरणको निर्वाचन (06.28.2017)
किन बन्द गरियो ७६ करोड अनियमितताको फायल (06.28.2017)
कुर्सी हत्याउने तालमेलको नतिजा के होला ? (06.28.2017)
राजपा जनताबाट तिरस्कृत : पैतीसवटै जिल्लामा निर्वाध उम्मेदवारी दर्ता (06.22.2017)
युगसम्वाद ३०औं वर्षमा प्रवेश (06.22.2017)



 
::| Latest News

 
[Page Top]