युगसम्बाद साप्ताहिक

दुई नं. प्रदेशमा आचारसंहिता उल्लंघनको होड
Tuesday, 09.12.2017, 12:01pm (GMT5.5)

काठमाडौं । केही दिन अगाडिको अविरल वर्षाबाट आएको बाढी र भारतीय तटबन्धका कारण डुवानको सर्वाधिक चर्को पीडा भोगिरहेका दुई नं. प्रदेशका मतदाताहरू गाँसबासको उचित प्रबन्ध हुन नसकेकाले बिलखबन्दको अवस्थामा रुमलिरहेका भए पनि आजको एक हप्ताभित्रै हुनलागेको स्थानीय निर्वाचनमा प्रतिष्ठाको लडाइँमा होमिएका प्रमुख दलहरू  तिनै मतदाताहरूलाई आकर्षित गर्न अन्तिम कसरतमा जुटेका छन् । आठ जिल्लाका १ सय ३६ स्थानीय निकायमा हुन लागेको निर्वाचनका साँढे २६ लाख मतदाता मध्ये ५ लाखभन्दा बढी मतदाताहरू अझै गाँसबासविहीन अवस्थामा रहेका छन् भने उनीहरूदेखि लिएर अरू मतदाताहरूलाई आकर्षित गर्न दिनहूँ भोज भतेरको क्रम चलिरहेको छ । प्रतिस्पर्धी दल र मैदानमा खडा भएका उम्मेदवारहरू निर्वाचन आयोगले निर्धारण गरेको खर्चको सीमा तोड्दै आचारसंहिता उल्लंघनको खुला प्रतिस्पर्धामा होमिएको प्रत्यक्षदर्शीहरूको कथन छ । आचारसंहिता उल्लंघनमा सर्वाधिक अगाडि सत्तापक्षधरहरूकै अग्रता रहेको पुष्टी  उपप्रधानमन्त्री विजय गच्छेदार र मन्त्री परिषद्का अर्का सदस्यसंग निर्वाचन आयोगले नै प्रष्टीकरण मागेको घटनाले नै पुष्टि गरेको छ । मतदाताहरूलाई धम्क्याएर आफ्नो पक्षमा मतदान गराउन सीमापारबाट अपराधकर्मीहरू भित्राउने जस्ता असङ्गत प्रवृत्ति पनि देखापरेको र सीमावर्ती क्षेत्रहरूमा सुरक्षा संवेदनशीलता बढेको पनि हाम्रा संवाद सूत्रहरूले बताएका छन् । दलीय चिन्हका गञ्जीहरू लगाएर कार्यकर्ताहरूको झूण्डलाई मतदाताहरूको घरदैलोमा पु¥याउने होडवाजी पनि उत्तिकै चलेको छ । जिल्ला जिल्लामा आरोप प्रत्यारोपको लहर नै चलेको छ । मतदाताहरूले वर्षौंदेखि झेल्दैआएका समस्याहरूको स्थायी समाधानका निम्ति रचनात्मक र विश्वसनीय कार्यक्रम आगाडि सारेर मतदाताहरूको मन जित्न प्रयास गर्नुभन्दा एकले अर्काको बदख्वाइँ गर्ने जुन प्रवृत्ति देखिएको छ त्यसले स्वस्थ प्रतिस्पर्धाको वाञ्छित वातावरणलाई निक्कै धमिलो पारेको स्वतन्त्र पर्यवेक्षकहरूले बताएका छन् । निर्वाचनमा आर्थिक क्षमता र तुजुक प्रदर्शन गर्ने जुन होड चलेको छ त्यसलाई हेर्दा  निष्ठा र विचारप्रेरित  समर्पित राजनीति गर्नेहरूले अब प्रतिस्पर्धा नै गर्न नसक्ने अवस्था सिर्जित हुँदैगएको पीडा व्यक्त हुनथालेको छ ।
राजनीतिक विश्लेषकहरू भन्दछन्– २ नं. प्रदेशमा हुनलागेको स्थानीय तहको निर्वाचन यस अघि सम्पन्न ६ वटा प्रदेशको भन्दा भिन्दै अर्थ राख्ने खालको छ । विगतमा दुई चरणको स्थानीय निर्वाचन बहिष्कार गरेको ६ वटा मधेशी दललाई एकजुट गराई बनाइएको राष्ट्रिय जनता पार्टी यस पटक मैदानमा उत्रिएको छ । संविधान संशोधनको प्रायोजित मुद्दा उठाएर बहिष्कार र निषेधको प्रत्युत्पादक राजनीतिमा सक्रिय देखिएको राजपाको जनस्तरमा कस्तो प्रभाव छ भन्ने निक्र्योल यो निर्वाचनको परिणामले नै गर्ने निश्चित छ । नेपालको आन्तरिक राजनीतिमा दखल दिन उपयोग गरिएको जमातलाई यो निर्वाचनले अग्निपरीक्षामा उतारेको छ । सत्ता गठबन्धनका दलहरूले पनि संविधान संशोधनको बाह्य प्रक्षेपित मुद्दालाई अझै बोक्नुपरेको विवशता देखाउँदै संशोधन प्रस्तावको विरोधमा दरोसंग उभिएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई निशाना बनाएर चौतर्फी प्रहार गरिरहेका छन् । सत्ता नेतृत्व गरिरहेको नेपाली कांग्रेसले एमालेलाई सधैंका लागि मधेशबाट निषेध गर्ने उद्घोष गर्दै चुनावी प्रचारलाई तीब्रगति दिएको छ । राजपाले कार्यकर्ताहरूलाई उत्तेजित पारेर एमालेलाई तराईमा प्रवेश निषेध गर्ने कसरत गरे पनि अन्ततः निर्वाचन आयोगको सचेतता र एमाले कार्यकर्ताहरूको सक्रियताले गर्दा त्यस्तो निषेधात्मक गतिविधि पूर्णतः विफल भएको छ । एमालेको विजयी लहर रोक्न अब आइन्दा महागठबन्धन गर्न नयाँदिल्लीले घोषित रुपमै निर्देशन प्रवाह गरेको देखिए पनि सत्ता गठबन्धन भित्रैका दलहरूबीच मतमतान्तर चर्केकाले त्यो कसरत पनि असफल सिद्ध भएको छ । हरेक प्रतिस्पर्धी दलहरूभित्र उम्मेदवार चयन र टिकट वितरणपछि सुरू भएको अन्तर्विग्रहले मतदानमा अन्तर्धात हुनसक्ने आशङ्का बढाएको छ । तराईलाई आफ्नो मत भण्डार ठान्ने नेपाली कांग्रेस र २ नं. प्रदेशलाई राजनीतिक एकाधिकारको क्षेत्र ठान्ने राजपाबीच कसले कसलाई उछिन्ने भन्ने होड एकातिर छ भने विगतमा ६ वटै प्रदेशमा अग्रता हाँसिल गरेको नेकपा एमालेलाई पनि अग्रताको हैशियत जोगाउन उत्तिकै धौ धौ परेको देखिन्छ । पहाडबाट तराई झरेकाहरूको बाहुल्य रहेको क्षेत्रमा एमालेको अग्रता सुनिश्चित जस्तै देखिए पनि तराईको भित्री भाग र सीमावर्ती क्षेत्रमा एमालेको प्रभाव न्यून नै रहेको प्रतीत छ । कांग्रेस, माओवादी केन्द्र, राजपा, मधेशी जनअधिकार फोरम प्रजातान्त्रिक र संघीय समाजवादी दल एक्लाएक्लै भीडेकाले एमालेका लागि त्यति प्रतिकूल स्थिति नरहेको आँकलन पनि भैरहेको छ । दुई नं. प्रदेशको यो चुनाव रोचक रोमाञ्चक बन्दैगैरहेको सर्वत्र अनुभूत छ ।
राजनीतिक सूत्रहरूका अनुसार– २ नं. प्रदेशमा बाढी र डुवानले खडा गरेको विपत्ति र विकराल समस्या अहिले सबभन्दा ठूलो चुनौती बनेको भए पनि सत्ता साझेदार दलहरू र राजपाले संविधान संशोधनलाई मुख्य मुद्दा बनाएका छन् । प्रमुख प्रतिस्पर्धी दल बनेको नेकपा एमालेले भने भारत निर्मित तटबन्धकै कारण तराई भूभाग डुबेकाले मुख्य मुद्दा त्यसैलाई बनाएको छ । उद्धार र राहत कार्यमा राज्यको उपस्थिति र सरकारको व्यवस्थापकीय क्षमता धेरै कमजोर देखिएको र  राजपाका नेताहरूले पनि तराईको मूलभूत समस्याप्रति ध्यान केन्द्रित नगरी केवल बाह्य प्रक्षेपित मुद्दा मात्र बोकेर हिँडेकाले सत्ता गठबन्धनका दलहरू र राजपाका लागि प्रत्युत्पादक परिस्थिति सिर्जना भैरहेको टिप्पणी मतदाताहरूबीच गहन चर्चाको विषय बनिरहेको छ । निर्वाचनमा राजपाको सहभागिताले मंसिर १० र २१ गतेका लागि तिथि निर्धारण गरिएको केन्द्रिय र प्रादेशिक चुनावका लागि समेत  सहज वातावरण सिर्जना गरेको कुरामा कुनै सन्देह नरहे पनि २ नं.प्रदेशको आशन्न निर्वाचनको परिणामले राष्ट्रिय राजनीतिमा पार्नसक्ने प्रभाव कस्तो रहने हो भन्ने उत्सुकता राजनीतिक वृत्तमा जागृत हुनथालेको छ ।      


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com