युगसम्बाद साप्ताहिक

सीमा अतिक्रमण प्रतिकारको बदला लियो : देवनारायण
Wednesday, 10.11.2017, 01:54pm (GMT5.5)

काठमाडौं । अघिल्लो साउनमा सप्तरीको तिलाठीमा भारतले एकपक्षीय रुपमा बनाउन लागेको बाँधको बिरोधको नेतृत्व गर्दै प्रतिकारमा उत्रिएका देवनारायण यादवलाई भारतीय प्रहरीले दशैंको बीचमा हिरासतमा लियो । झण्डै एक साताको भारतीय हिरासतमा बसेर रिहा हुनुभएका यादवले दशगजा प्रकरणको रिस फेर्न आफूलाई पक्राउ गरिएको बताउनुभएको छ ।
भारतीय पक्षले भने यादवका छोराा अजयले विवाह गरेकी केटीका पक्षबाट परेको उजुरी आधारमा पक्राउ गरिएको बताए पनिन देवनारायणले भने आफ्ना छोरा अजयको विवाहसँग आफ्नो गिरफ्तारीको कुनै सम्वन्ध नरहेको बताउनुभएको छ । उहाँले दावीका साथ भन्नुभयो– “तपाईंहरु सबैले सोचेजस्तै गत वर्ष भारतीय बाँध भत्काएको घटनालाई लिएर नै मलाई पक्राउ गरिएको हो” । भारतीयले बनाएको बाँध भत्काउने क्रममा उहाँ घाइते हुनुभएको थियो । उहाँलाई सीमा रक्षकको उपमाा दिइएको छ ।
नेपाली भूमि डुबानमा पर्ने गरी भारतीय पक्षले सप्तरीको तिलाठी र भारत कुनौलीको दशगजा क्षेत्रमा पर्ने खाडो नदीमा निर्माण गरेको बाँध १३ साउन २०७३ मा देवनारायणको नेतृत्वमा गएको नेपालीहरुले भत्काइदिएका थिए । 
झडप साम्य पार्ने बहानामा भारतीय सबइन्स्पेक्टर विनोद यादव हतियारसहित नेपाली सीमामा प्रवेश गर्दा उनको हतियार खोसिएका थिए । त्यसबेला हतियार खोस्नेमा संलग्न भएको भन्दै आफूलाई कुटपिट गरेको देवनारायणले बताउनुभया ।
पक्राउ परे लगत्तै घूस मागेको र आफूले नदिएको बताउँदै यादवले भन्नुभयो– “हामीसँगै पक्राउ परेका दुई जना २५–२५ सय घुस दिएर छुटे, मलाई चाहिँ ५० हजार घुस माग्यो, मैले एक रुपैयाँ पनि घुस दिन्न भनेपछि पक्राउ गरेर थुन्यो ।” सात दिन थुनामा राख्दा भने आफू र आफ्नो छोरामाथि दुव्र्यवहार नगरिएको उहाँले बताउनुभयो ।
यादवले नेपाल सरकार, प्रहरी प्रशासन र मिडियाको दबावले गर्दा भारतीय पक्षले आफूलाई छोड्न वाध्य भएको बताउँदै दबाव दिएर आफ्नो रिहाईको वातावरण बनाउने सबैलाई धन्यवाद समेत दिनुभएको छ ।
यादवलाई पक्राउ गरेलगत्तै गृहमन्त्री जनार्दन शर्माले छुटाउन सप्तरीका सिडिओलाई निर्देशन दिनुभएको थियो । भारतीय प्रहरीले सीमा नजिकको भारतीय बजारबाट पक्राउ परेका छोरा अजयलाई छुटाउन गएका देवनारायणलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
भारतीय प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएपछि सामाजिक सञ्जालहरुमा भारतीय पक्षको आलोचना बढेको थियो । भारतीय युवती भगाएको आरोपमा भारतीय प्रहरीले अजयलाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई अपहरण सम्बन्धी मुद्दा समेत चलाइएको थियो ।
भारतले नेपाली सीममा अतिक्रमण गरेर अवैधानिक किसिमले बाँध बनाएका कारण नेपाली भूमि डुबानमा पर्दैआएको छ । अहिले भारतको सो कदमका बिरुद्ध स्थानीयबासी प्रतिकारमा उत्रन थालेका छन् । केही समय अघि कञ्चनपुरको पुनर्बासमा भारतीय पक्षको हेपाहा प्रवृत्ति बिरुद्ध त्यहाँका नेपालीहरु प्रतिकारमा उत्रेका थिए । भारतीय सुरक्षाकर्मीले गोविन्द गौतमाको गोली हानी हत्या समेत गरेका थिए ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com