युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.17.2017, 04:09am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
मुख्य समाचार
 
वाम एकताले स्थायित्व र स्थिर सरकारको सम्भावना
Wednesday, 10.11.2017, 01:55pm (GMT+5.5)

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभाको पूर्वसन्ध्यामा आएर नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल र पार्टी एकताबारे भएको सहमतिले नेपालको राजनीतिमा सुखद आश्चर्यको लहर उठाएको छ । लामो समयदेखि बाह्यशक्तिको रणनीतिक योजनाको दुष्प्रभावमा परेर नियन्त्रित अस्थिरताको चंगुलमा पर्दै विभिन्न मोड लिँदैआएको अस्थिर राजनीतिले यो प्रकरणपछि राजनीतिक स्थायित्व र स्थिर सरकार निर्माणको ढोका खुल्नसक्ने सम्भावना बढाएको छ । नेपालका पछिल्ला निर्वाचनहरूले ६० प्रतिशतभन्दा बढी मत वाम पार्टीहरूको पक्षमा देखाउँदैआएको भए पनि वाम दलहरूबीचको आन्तरिक टकराव, अस्वस्थ प्रतिस्पर्धा, कटुता र मत विभाजनकै कारण वाम बहुमतको स्थिर सरकार निर्माणको सम्भावना टर्दैगएको थियो । अहिले नेपालको आन्तरिक राजनीतिमा वाम तालमेल र पार्टी एकताको जुन सम्भावना प्रकट भएको छ त्यसले वाम बहुमतको भावी सरकार र राष्ट्रिय मुद्दामा केन्द्रित राजनीतिको शुभारम्भको संकेत गरेको छ । पछिल्लो चरणमा विकसित भएको राजनीतिक  ध्रुबीकरणको नवसिर्जित परिस्थितिले आन्तरिक रूपमा वाम विभाजनको निरन्तर लाभ उठाउँदैआएको नेपाली कांग्रेसलाई ठूलै धक्का दिएको छ भने कथित लोकतान्त्रिक गठबन्धनको नयाँ सपना देख्न पनि विवश गराएको छ । अर्कातिर नेपालको आन्तरिक राजनीतिमा अवाञ्छित दखल दिँदैआएको भारतलाई पनि वाम एकताको नयाँ चरणले रणनीतिक विफलताको सन्देश दिँदै असन्तुष्टि र आक्रोश जाहेर गर्ने अवस्थामा पु¥याएको छ । भारतीय हस्तक्षेपविरुद्धको नेपाली जनमतलाई एकीकृत हुन नदिन भारतले अहिलेसम्म गर्दैआएको चलखेललाई यो प्रकरणले कुन हदसम्म रोक्नसक्छ र आत्मनिर्णयको अधिकारको पुनःस्थापन गर्न कति प्रभावकारी भूमिका खेल्नसक्छ भन्ने कुरा भविष्यकै गर्तमा रहेको भएपनि अब राष्ट्रिय राजनीतिले नयाँ दिशा ग्रहण गर्ने यथेष्ट संकेत देखिएको छ । 
राजनीतिक दलहरू यतिखेर चुनावी तालमेल र प्रत्यक्ष एवं समानुपातिक उम्मेदवार चयनको आन्तरिक कसरतमा लागेको छ । निकट भविष्यमा नै पार्टी एकीकरण गर्ने सहमतिमा पुगेका एमाले, माओवादी र नयाँशक्तिबीच अहिले ६०–४० को भागबण्डा मिलाउने आन्तरिक अभ्यास चलिरहेको छ । तराई केन्द्रित दलहरूबीच पनि चुनावी तालमेलको समझदारी अगाडि बढेको छ । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीचको चुनावी तालमेलले तराईमा पनि नेपाली कांग्रेसको धरातल खस्किने संकेत गरेको छ । वाम तालमेल र एकताको नवसिर्जित परिस्थितिको सामना गर्न नेपाली कांग्रेसले ‘लोकतान्त्रिक दलहरूबीच चुनावी गठबन्धन’ गर्ने दिवास्वप्न देखे पनि त्यसले मूर्त रूप लिनसक्ने सम्भावना नितान्त क्षीण रहेको राजनीतिक सूत्रहरूले बताएका छन् । कथित लोकतान्त्रिक गठबन्धनभित्रका ६ दलबीच सीटको बाँडफाँट त्यति सहज नदेखिएको संसफो र राजपाबीच हुनलागेको चुनावी तालमेलले नै संकेत गरेको छ । राजपाबाट बिद्रोह गरेका मधेशी नेताहरूदेखि लिएर माओवादी लगायतका वाम दलहरू पनि एमालेको सूर्य चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा ओर्लिने तयारीमा रहेकाले कांग्रेसी नेतृत्वको ‘दक्षिणपन्थी गठबन्धन’ले यो चुनौतीको सामना कसरी गर्ने हो भन्ने कुतुहलता सर्वत्र जागृत भएको छ ।
भारतले कांग्रेस–माओवादी सत्ता गठबन्धनलाई अरू दरिलो पार्न राजपालाई समेत सम्मिलित गराउने रणनीति सार्वजनिक गरिरहेकै बेलामा माओवादी र एमालेबीच कस्सिएको लगनगाँठोले नेपालको आन्तरिक राजनीतिमा उसको लगाम खुस्किँदैगएको सन्देश दिएको छ । वाम दलहरूबीचको अप्रत्याशित एकताको सूत्रधारका रूपमा चीनको नाम उच्चारण गरेर भ्रमजन्य स्थिति सिर्जना गर्न खोजिएको देखिन थाले पनि यो अवस्थाको सिर्जना एमाले र माओवादी नेताहरूबीचकै आन्तरिक कसरतको उपज रहेको विश्लेषकहरूको कथन छ । नेपाललाई अस्थिरताको चंगुलमा फसाइरहने भारतको अनपेक्षित हस्तक्षेपकारी भूमिका र नेपाली कांग्रेसको केवल सत्ताकेन्द्रित राजनीति गर्ने चरित्रबाट वाक्कदिक्क भएको नेपाली जनमतको मनोदशालाई आत्मसात गरेर नै वामदलहरू राजनीतिक स्थायित्व र हस्तक्षेपमुक्त परिस्थितिको सिर्जनाका लागि आन्तरिक रूपमा नै प्रेरित भएका हुन् भने निश्चय नै यो प्रकरणले नेपालमा राजनीतिक स्थिरता र  योजनाबद्ध राष्ट्रिय विकासका निम्ति ठूलो आधार खडा गर्न सक्छ बन्ने धारणा नेपाली जनमानसमा सिर्जित भएको छ ।
विश्लेषकहरू भन्दछन्– नेपालको  राष्ट्रिय राजनीति सैद्धान्तिक विचलन, वैचारिक स्खलन र चारित्रिक पतनको चरम गति लिएर जवाफदेहिताविहीन बाटोतिर उन्मुख हुँदैआएको कटुबोध सर्वत्र भैरहेको अवस्था विद्यमान नै छ । राजनीतिक ध्रुवीकरण र बाख्रा बाख्रासित भेडाभेडासितको अपरिहार्यतालाई विकृतिजन्य अभ्यासको लामो शृङ्खलाले नै बोध गराएको अनुभूत गराएको हो । प्रजातन्त्र र लोकतन्त्रको दशकौंको अभ्यासले पनि मुलुकले राजनीतिक स्थिरता र समृद्धिको मूल बाटो समात्न नसकेको र वैदेशिक हस्तक्षेपको गति तीब्रतर बन्दै मुलुककै अखण्डता र स्वतन्त्र अस्थित्वमाथि प्रहारात्मक गतिविधिको प्रायोजन भैरहेको देशको वर्तमान  नाजुक परिस्थितिले नै प्रष्ट इङ्गित गरिरहेको छ । राष्ट्रिय मुद्दामा केन्द्रित रहेर भारतीय हस्तक्षेपविरुध्द मौलाएको नेपालको वाम राजनीति भारतकै रणनीतिक प्रयोगमा घोलित हुँदा सिर्जना भएका समस्याहरू विकराल छन् । विगतमा जे जस्तो अभिलेख रहे पनि पछिल्लो चरणमा  भारतीय हस्तक्षेपविरुद्ध दरो अडान राखेको र राष्ट्रियताको मुद्धालाई पुनर्जागरण गर्न  अग्रसर भएको कारणले नै स्थानीय तहको निर्वाचनमा  नेकपा एमालले अग्रता हाँसिल गरेकोमा कुनै सन्देह छैन । अबको निर्वाचनमा बृहद वाम तालमेल र एकताको जुन सम्भावना देखिएको छ त्यसले मूर्त रूप लिएको खण्डमा वाम बहुमतको स्थिर सरकार बन्नसक्ने र मुलुकको समग्र परिस्थितिले कोल्टो फेर्नसक्ने आशा जागृत गराएको छ । नेपालको समसामयिक राजनीतिमा यो नितान्त सुखद सन्देश हो ।   


Rating (Votes: )   
Share     Print


Other Articles:
कांग्रेसको चाहनामा मधेशी दलको लोप्पा (10.11.2017)
सीमा अतिक्रमण प्रतिकारको बदला लियो : देवनारायण (10.11.2017)
प्रदेश र प्रतिनिधिसभाको तयारी सुरु (09.12.2017)
दुई नं. प्रदेशमा आचारसंहिता उल्लंघनको होड (09.12.2017)
फैलिदैछ चीनको हात नेपालको विकासमा (09.12.2017)
अब सवै पक्षको ध्यान २ नं. प्रदेशतिर केन्द्रित- एमाले हराउन कांग्रेस–माओवादीबीच तालमेल (09.06.2017)
कति सुरक्षित गगनचुम्बी भवन (09.06.2017)
आचारसंहिताको व्यापक उल्लंघन, जेल हाल्ने आयोगको तयारी (09.06.2017)
देउवा नै भारतको सर्वाधिक विश्वासको पात्र (08.29.2017)
माथिल्लो तामाकोशीको लागत र समय बढ्ने भो (08.29.2017)
भारतसामु संविधान संशोधन गर्छु भन्नुपर्ने किन (08.29.2017)
लाखौं जनताको बिल्लिबाठ : अवैध बाँधको बितण्डा (08.15.2017)
विदेशीको तालिमले कस्तो ऐन बन्ला (08.15.2017)
पाँच वर्षपछि चीनबाट शीर्ष भ्रमण : आजदेखि द्विपक्षीय वार्ता (08.15.2017)
बाढीपहिरोबाट हालसम्म छदर्जन बढीको मृत्यु (08.15.2017)
संविधान विफल पार्ने खेल रोकिएको छैन (08.08.2017)
राप्रपा विभाजनको अठारौं शृङ्खला (08.08.2017)
राजपाको राजनीतिक बाटो नै अस्पष्ट (08.08.2017)
देउवा सरकार चौतर्फी संकटको घेरामा (07.26.2017)
माओवादी पनि संवैधानिक प्रावधानको विपक्षमा (07.26.2017)



 
::| Latest News

 
[Page Top]