युगसम्बाद साप्ताहिक

घोषणापत्रमा गम्भीर आरोप–प्रत्यारोप
Tuesday, 11.07.2017, 11:05am (GMT5.5)

काठमाडौं  । मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सबैको ध्यान र चासो वाम गठबन्धनन र प्रजातान्त्रिक पक्षका रुपमा रहेको नेपाली कांग्रेसको चुनावी अभियान, उनीहरुले जित्ने सिट संख्यामा रहेको छ  । निर्वाचनको प्रचार प्रसारको विधिवत सुरुवात हुँदा दुई पक्षले एकअर्कालाई खुइल्याने गरी घोषणापत्र तयार पारेका छन्  । 
नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणापत्रमा कम्युनिष्ट गठबन्धनप्रति आक्रोश व्यक्त गरेको छ  । घोषणापत्रमा एमाले र माओवादी केन्द्रबीच बनेको गठबन्धनप्रति आक्रोश व्यक्त गरिएको छ ।
नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा भनेको छ– मधेशको आन्दोलनलाई विखण्डनको आन्दोलन भन्दै र मधेशी जनताप्रति निरन्तर अशोभनीय टिप्पणी गर्दै आएको एमाले यतिखेर अतिवाद र नक्कली राष्ट्रवादको पासोमा पर्दै गएको उसको विश्लेषण छ  । त्यस्तै मधेश र पहाडका बीच मतभेद चर्काउने, मधेशी समुदाय र पहाडी समुदायको राष्ट्रियताको भावनालाई बेग्लाबेग्लै तराजुमा जोख्ने र प्रचार गर्ने एमालेको अतिवादी विचारले देशको एकता र सामाजिक सद्भाव, संविधानको कार्यान्वयन र लोकतान्त्रिक अभ्यासलाई ठूलो क्षति पु¥याएको उसको टिप्पणी छ ।
उता वाम गठबन्धनको घोषणापत्रमा नेपाली कांग्रेस पूँजीपतिहरुको पार्टी भएको, अवसर पाएर पनि केही गर्न नसकेको, विदेशीको इशारामा चल्ने पार्टीका रुपमा चित्रित गरिएको छ  । उसले मधेशवादी, संघीय समाजवादी फोरम, नयाँ शक्ति तथा राप्र्रपा कुनै पनि दल गतिलो नभएको विश्लेषण गरेको छ ।
यसको बिरुद्ध घोषणापत्र बनाएको कांग्रेसले भने संविधान संशोधनको शान्तिपूर्ण र मध्यमार्गी बाटो अवरुद्ध गर्ने, तथा कम्युनिष्ट वर्चस्वको एकदलीय एवं निरंकुश शासनका लागि एमालेको नेतृत्वमा कम्युनिष्ट गठवन्धन निर्माण गर्ने प्रयासले नयाँ संविधानका उपलब्धि, आर्थिक प्रगति, राष्ट्रिय एकता र सामाजिक सद्भाव जोखिममा पर्दै गएको उल्ल्लेख गरेको छ ।
कांग्रेसको घोषणापत्रमा “अहिले कम्युनिष्ट गठबन्धनको नाममा नेकपा (एमाले) र माओवादी (केन्द्र) कम्युनिष्ट वर्चस्वको सरकार, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, त्यसबाट प्राप्त हुने कथित राजनीतिक स्थिरता र आर्थिक समृद्धिको नारा उचालेर देश र जनतालाई भ्रममा पार्न खोज्दैछन्  । वस्तुतः संसदमा कम्युनिष्टहरुको वर्चस्वले स्थिरताको ग्यारेण्टी गर्दैन  । यसै गरी एउटै व्यक्तिमा केन्द्रित कार्यकारी अधिकार भएको राष्ट्रपतीय प्रणालीले पनि स्थिरताको ग्यारेन्टी गर्न सक्दैन  । यस्तो अवस्था देशलाई केवल निरंकुश कम्युनिष्ट शासनतर्फ लैजाने तथा मुलुकमा लामो समयसम्म द्वन्द्व सिर्जना गर्ने एउटा खतरनाक प्रयोग मात्र हुन सक्छ ।” भनिएको छ ।
कांग्रेसले नेकपा माओवादी केन्द्रलाई अवसरवादी प्रवृत्ति भनेको छ  । “देशको राजनीति मुठभेडको गम्भीर मोडमा पुगेका बेला नेकपा माओवादी (केन्द्र) ले पनि दृढ संकल्प र स्पष्ट लोकतान्त्रिक बाटो पहिल्याउन सकेन  । माओवादी द्वन्द्वकालीन प्रवृत्ति र घटनाका प्रभावबाट मुक्त भएर दीर्घकालीन लोकतान्त्रिक सहकार्यमा आबद्ध हुनुको साटो नेकपा माओवादी (केन्द्र) भित्र अस्थिर राजनीतिका बखत सत्ताको लाभ खोज्ने प्रवृत्ति प्रकट हुने गरेको छ ।
पहिलो संविधानसभामा ठूलो पार्टीको भूमिका र सरकार नेतृत्वको अवसर पाएर पनि नेकपा माओवादी (केन्द्र) को परिचय संविधान निर्माण गर्न नसक्ने, दोस्रो संविधानसभामा संविधान निर्माणको महत्वपूर्ण जिम्मेवारी र अवसर पाएर पनि संविधानसभामा ध्वंस मच्चाएर संविधान सडकबाट लेख्न उद्दत हुने, कहिले एमालेसँग सरकार बनाउने र कहिले कांग्रेससँग सरकारमै बसी प्रतिपक्षसँग गठबन्धन गर्ने गम्भीर वैचारिक विचलन र भरोसा गर्न नसकिने पार्टीको रुपमा बन्दै आएको छ ।
एउटा विचार र दर्शनमा आबद्ध भएर एघार वर्ष सशस्त्र द्वन्द्वमा होमिएको सिङ्गो माओवादी पार्टी विगत एक दशकमा टुक्रा–टुक्रा भएको छ  । आफू निरन्तर विभाजित भइरहेको यही माओवादी (केन्द्र) र नेकपा (एमाले) अब एउटै कम्युनिष्ट पार्टी बनाउने नारामा अहिलेएक अर्कालाई धृतराष्ट्रको अंगालोमा बाँध्नेगरी क्रियाशील भएका छन् ।”
वाम गठबन्धनको घोषणापत्रमा कांग्रेसबारे लेखिएको छ– “कांग्रेसले स्थापनाकालमा कतिपय सामाजिक आर्थिक सुधारका कदम चालेको भए पनि सामन्तवादलाई अन्त्य गर्ने, जनतालाई अधिकार सम्पन्न बनाउने तथा राष्ट्रियतालाई सुदृढ गर्ने विषयमा सकारात्मक भूमिका खेल्न सकेन  । कांग्रेसको मुख्य नीति सामन्ती निरंकुशतन्त्र र वैदेशिक एकाधिकारवादी पूँजीपति वर्गसँग सम्झौता र आत्मसमर्पणको रहँदै आएको, मुख्यरुपमा पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने यस पार्टीका नीतिहरु अहिले मूलतः दलाल तथा विदेशी एकाधिकार पुँजीवादको हित साधनामा केन्द्रित रहेको आरोप छ ।”


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com