युगसम्बाद साप्ताहिक

ढुंगेलको जेलचलान वाम गठबन्धनलाई जवाफ ?
Tuesday, 11.07.2017, 11:05am (GMT5.5)

काठमाडौं  । मुलुक निर्वाचनको संघारमा पुगेका बेला द्वन्द्वकालीन एउटा घटना यतिबेलाा सर्वाधिक चर्चामा छ  । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्याको अभियोग लागेका माओवादी नेता बालकृष्ण ढुंगेलको पक्राउ र जेलचलानको विषयले अहिले राजनीतिक वृत्त तातेको छ  । एमाले र माओवादीबीच पार्टी एकतासहित चुनावी तालमेल गरिए लगत्तै भएको पक्राउ र जेलचलान वाम गठबन्धनलाई कांग्रेसको प्रतिउत्तरका रुपमा विश्लेषण गरिएको छ ।
मंगलबार ललितपुरबाट पक्राउ गरिएका ढुंगेललाई सोही दिन अदालत उपस्थित गराएर डिल्लीबजारस्थित सदरखोर जेल चलान गरिएको हो  । ढुंगेलले पहिले जेल बसेको अवधि कट्टा गरेर बाँकी हुन आउने १२ वर्ष पाँच महिना २२ दिन थुनामा बस्नुपर्ने छ  । सर्वोच्च अदालतको संयुक्त इजलासबाट २०६६ पुस १९ गते सर्वस्वसहित जन्मकैद सुनाइएको थियो ।
त्यसयता ढुंगेल फरार अभियुक्तको सूचीमा थिए  । लामो समयसम्म फरार रहेका ढुंगेललाई मंगलबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ललितपुरको सातदोबाटोबाट पक्राउ गरे लगत्तै काठमाडौं जिल्ला अदालतले फैसलाको लगत कसेर जेल चलान गरेको हो ।
प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको मुखमा एमाले र माओवादीबीच वाम गठबन्धन भएपछि हच्चिएको नेपाली कांग्रेसले ढुंगेललाई पक्राउ गर्न प्रहरीमाथि दबाब दिएको आरोप समेत लाग्न थालेको छ ।
ढुंगेलको गिरफ्तारीलाई माओवादी केन्द्रले षड्यन्त्र भनेको छ  । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जनयुद्धका मुद्दामा पार्टी नेतालाई निर्वाचनको मुखमा पक्राउ गर्नु विस्तृत शान्तिसम्झौता विपरित भएको बताउनुभएको छ ।
भुसालले द्वन्द्वकालीन मुद्दा टुंग्याउन बनेको सत्य निरुपण तथा मेलमिलाप आगोग क्रियाशिल रहेकै बेला ढुंगेललाई पक्राउ गर्नु षडयन्त्र भएको बताएँदै यो घटना शान्तिसम्झौता विपरित हो, सरकारले क्षेत्राधिकारभन्दा बाहिर पक्राउ गरेको आरोप लगाउनुभएको छ ।
सर्वोच्च अदालतले हत्याका दोषी ठहर भएका ओखलढुंगा पोकली–२ का पूर्व सभासद ढुंगेललाई पक्राउ गर्न यसअघि पटक–पटक प्रहरी महानिरीक्षकलाई आदेश दिएको थियो  । पछिल्ला दिनमा ढुंगेल पक्राउ नगरेको भन्दै नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालविरुद्ध सर्वोच्चमा मुद्दा दायर भएको थियो ।
आठ महिनाअघि ढुंगेलले आफूविरुद्ध फैसला गर्ने न्यायाधीशलाई भौतिक आक्रमण गर्ने धम्की दिँदै भाषण गरेपछि सर्वोच्च अदालतले उनलाई पक्राउ गर्न प्रधानमन्त्रीलाई पत्र पठाएको थियो  । उनलाई पक्राउ गर्न गृहमन्त्रालय, नेपाल प्रहरी लगायतलाई पत्र काटे पनि उनीहरु उदासीन रहेको भन्दै सर्वोच्चले प्रधानमन्त्रीलाई नै चिठी लेखेको हो  । त्यतिबेला माओवादी नेतृत्वको सरकार थियो  । सर्वोच्च अदालतका रजिष्ट्रार नृपध्वज निरौलाले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दहाललाई सम्बोधन गरेर चार पेज लामो पत्र पठाएका थिए ।
ढुंगेलले फागुन २९ गते रामेछापको सैंपु गाविसमा भएको कार्यक्रममा आफु विरुद्ध फैसला सुनाउने न्यायाधीशको ‘फिला चिरिदिने’ धम्की दिंदै “सर्वोच्च अदालतको फैसला मान्दिन, खारेज गरिदिन्छु, गिरफ्तारीको आदेशलाई खारेज गरिदिन्छु, फैसला गर्ने न्यायाधीशको नाममा वारेण्ट जारी गरिन्छ, फिला नचिरि म जेल जान्न” भनेर भाषण गरेको उक्त चिठिमा उल्लेख गरिएको थियो ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com