युगसम्बाद साप्ताहिक

राज्यशक्तिको दुरुपयोग कसरी रोकिएला ?
Tuesday, 11.07.2017, 11:05am (GMT5.5)

काठमाडौं ।  निर्वाचनको तिथि  नजिकिँदैछ गर्दा देशको भावी राजनीतिक दशा र दिशाबारे गहन विमर्शको थालनी पनि भैरहेको छ ।  प्रतिनिधिसभा र प्रदेशसभाको सन्निकट निर्वाचनका निम्ति वाम दलहरूले विष्मयकारी शैलीमा गरेको तालमेलले लोकतन्त्रको एक्लो मसिहा ठान्ने नेपाली कांग्रेस र नेपालको आन्तरिक राजनीतिलाई आफ्नो निहित रणनीतिक स्वार्थ अनुरुप सञ्चालन गर्नका लागि अवाञ्छित रुपमा हस्तक्षेपकारी भूमिका स्थापित गर्दैआएको भारतलाई ठूलो क्षति पु¥याउने अडकलबाजी हुनथालेको छ । भारतको प्रत्यक्ष–परोक्ष पहलमा बृहद लोकतान्त्रिक गठबन्धन गरेर वाम तालमेलको प्रभाव नियन्त्रण गर्ने भित्री–बाहिरी कसरत भैरहे पनि त्यसले मूर्त रूप लिन नसकेको र लोकतान्त्रिक गठबन्धनभित्रका दलहरूबीच सीटको उचित बाँडफाँट र तालमेल हुन नसकेको प्रष्ट अवगत भएको छ । भारतीय राजदूत मञ्जिभ सिंह पुरीले लोकतान्त्रिक गठबन्धन कसिलो पार्न मधेशवादी दल राष्ट्रिय जनता पार्टी ,संघीय समाजवादी फोरम र नेपाली कांग्रेसबीच सहकार्य गराउन गरिरहेको प्रयासले निर्वाचनको संघारमा पुग्दासम्म कुन गति लिन्छ भन्ने कुरा अझै आम जिज्ञाशाको विषय बनिरहे पनि उम्मेदवारी घोषणा भैसक्दासम्म पनि पूर्व प्रस्ताव अनुरूपको तालमेल गराउन राजदूतावास विफल रहेको राजनीतिक सूत्रहरूको भनाइ छ । निर्वाचनको पूर्वसन्ध्यामा सिर्जित भैरहेको राजनीतिक वातावरणलाई बिहङ्गम दृष्टि राखेर हेर्ने पर्यवेक्षकहरूले वाम गठबन्धनको पक्षमा आकर्षण बढ्दैगएको र नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन आन्तरिक विग्रहको फन्दामा परेर झन्झन् कमजोर देखिनथालेको इङ्गित गर्नथालेका छन् । 
राजनीतिक संवाद सूत्रहरूका अनुसार वाम तालमेलको अहिलेको चुनावी लहरले विगतमा कहिल्यै चुनाव नहारेका कांग्रेसका शीर्ष नेताहरूको मनमा पनि ढ्याङ्ग्रो बजाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवादेखि लिएर बरिष्ठ नेता रामचन्द्र पौडेलको निर्वाचन क्षेत्रमा समेत वाम गठबन्धनको प्रभाव विस्तार भएकाले उहाँहरूले चुनाव जित्न फलामकै च्यूरा चपाउनुपर्ने भएको छ । देउवाको निर्वाचन क्षेत्रमा पार्टीका पूर्व जिल्ला सभापतिसमेत एमालेमा प्रवेश गरेको जगजाहेर भएको छ भने तनहूँमा पौडेलविरुद्ध गोविन्दराज जोशीको उम्मेदवारी खारेज भए पनि जोशीको पक्षमा मुखरित भएको परम्परागत कांग्रेसी मत पौडेललाई हराउन उपयोग हुने प्रचूर सम्भावना रहेको बताइन्छ । उता समानुपातिक प्रतिनिधित्वको प्रस्तावका निम्ति शीर्ष स्थानमा रहँदा पनि प्रत्यक्ष निर्वाचनमै भीड्ने आकांक्षाबाट प्रेरित कृष्णप्रसाद सिटौला लोकतान्त्रिक गठबन्धनभित्रको राष्ट्रिय प्रजातन्त्र पार्टीका  वामगठबन्धन समर्थित राजेन्द्र लिङ्देनसंगको प्रतिष्पर्धामा रहेकाले ठूलै संकट झेल्नुपर्ने अवस्थामा पुगेको देखिएको छ । नेपाली कांग्रेसभित्रका क्रियाशील तिनवटै गुटका शीर्ष नेताहरू पराजयको नजिक रहेको विश्लेषणसमेत हुनथालेको छ । स्थानीय तहको मत परिणाम केलाएर हेर्दा दुईतिहाईभन्दा बढी स्थानमा वामगठबन्धनको अग्रता सहजै देखिए तापनि राज्यशक्तिको प्रचूर उपयोगको प्रभाव, साधन स्रोतको उपलब्धता र आर्थिक चलखेलबाट मतदातालाई प्रभावित पार्ने कसरतदेखि लिएर वैदेशिक  शक्तिकेन्द्र र  कुटनीतिक नियोगको बढ्दो सक्रियताबाट लोकतान्त्रिक गठबन्धनले कति लाभ उठाउने हो भन्ने कुतुहलता पनि उत्तिकै जागृत भैरहेको छ । नेपाली कांग्रेसका नेताहरू पराजयमुखी मानसिकताले ग्रस्त भएर नै वाम गठबन्धनले चुनाव जितेमा लोकतन्त्र नै समाप्त हुने र कम्युनिष्ट अधिनायकवादको जन्म हुने भय प्रवाह गर्न उद्यत रहेको प्रष्टै देखिन्छ । यस पटकको निर्वाचनमा वाममत विभाजनको लाभ उठाउन नसक्ने निश्चित भएपछि बाह्यशक्तिको सहयोगको अपेक्षा गर्दै लोकतान्त्रिक गठबन्धनको दिशा निर्धारण गर्न कांग्रेस अग्रसर भएपनि वाञ्छित सफलता हाँसिल नभएकाले त्यसको प्रत्यक्ष प्रतिकूल असर   निर्वाचनमा देखिने  यथेष्ठ सङ्केतहरू छन् ।  
विश्लेषकहरू भन्दछन्– सदा झैं चुनावी प्रतिस्पर्धामा रहेका प्रमुख राजनीतिक दलहरूले विकास र समृद्धिको सपना देखाएर मतदाताहरूलाई लोभ्याउने कसरत गरिरहेका छन् । मुलुकमा राजनीतिक अस्थिरताको निरन्तरताको मूल कारण के हो र त्यसको स्रोत कुन हो भन्ने किटान खुला रूपमा गर्न सकेका छैनन् । बहुदलीय प्रजातन्त्रको पुनर्बहालीदेखि लिएर लोकतान्त्रिक गणतन्त्रको नवीन चरणमा प्रवेश गरिसक्दाको अवस्थामा पनि मुलुकले राजनीतिक स्थायित्व र समयसापेक्ष समुचित विकासको कुनै बाटो पहिल्याउन नसक्नुको निहितार्थ के हो ? वास्तविकता खोतल्ने र केलाउने काम नगरी पूर्ववत् कोरा नारा फलाकेर देश अगाडि बढ्नसक्ने कुनै सम्भावना छैन । मुलुकमा आर्थिक उत्पादकत्व वृद्धिको कुनै परिणामदायी लक्ष निर्धारित छैन भने उत्पादनशील युवा जनशक्तिलाई वैदेशिक रोजगारीमा जान विवश पार्ने राष्ट्रिय परिस्थितिको सिर्जना गर्ने काम पनि साँढे दुई दशकभित्रैको  विकृत राजनीतिक अभ्यासको उपज हो भन्ने तथ्यबोध कुनै पनि दलका घोषणापत्रले गरेका छैनन् । हरेक क्षेत्रमा सुनियोजित ढंगले परनिर्भरता बढाउने गरी मुलुकलाई आर्थिक रूपले धराशायी पार्ने र राजनीतिक रूपले नियन्त्रित अस्थिरता कायम गरिरहने जुन प्रायोजित खेल चलिरहेको छ त्यसलाई निरन्तरता दिन  बाह्यशक्तिको सक्रियता बढिरहेको अहिलेको निर्वाचन सन्दर्भले पनि यथेष्ठ सन्देश दिएको छ । यो चुनौतिको सामना गरेर मुलुकको राजनीतिक दिशा निर्धारण गर्ने क्षमता देखाउन वाम तालमेलको पछिल्लो चुनावी राजनीति कति अग्रसर हुन्छ भन्नेतिर आम मतदाताको ध्यान केन्द्रित भैरहेको छ ।  


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com