युगसम्बाद साप्ताहिक

मतदाता प्रभावत पार्ने आआफ्नै दाउमा दलहरु : आर्थिक प्रलोभनमा पार्ने कसरत जारी
Wednesday, 11.15.2017, 02:19pm (GMT5.5)

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाका लागि ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा पहिलो चरणमा हुने मतदानको दिन आउन अब १२ दिनमात्र बाँकी छ । प्रतिस्पर्धी राजनीतिक दलहरू मतदाताहरूलाई लोभ्याउन हरप्रकारका हतकण्डा अपनाउन अभ्यासरत देखिएका छन् । निर्वाचन आयोगले निर्वाचनको निष्पक्षता र शुद्धताका लागि आचारसंहिता जारी गरेको भए पनि त्यसको घोर उल्लंघन  गर्न सरकार र सत्ताधारी दलका नेताहरू नै अग्रसर देखिएका छन् । देउवा सरकारले गृहमन्त्रालयबाट नै खुल्ला रुपले पार्टी कार्यकर्ताहरूलाई करोडौं वितरण गरिरहेको सार्वजनिक भएको छ भने हेलिकोप्टर प्रयोगदेखि लिएर होडिङ्बोर्द राख्ने , भोजभतेर चलाउने र सरकारी स्रोत साधनको व्यापक दुरूपयोग गर्ने क्रम  बढेको छ । निर्वाचन क्षेत्रमा विकास र निर्माणको झुटो आश्वासन बाड्ने प्रवृत्ति पनि उत्तिकै मौलाएको छ । जातिगत र क्षेत्रगत धारणाहरू पनि निक्कै सरसराएका छन् । निर्वाचनप्रति जनमानसमा व्यापक चासो बढिरहेको भए पनि प्रमुख दलहरू नै अस्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्न उद्यत देखिएका छन् । सही जनप्रतिनिधित्वका लागि निर्वाचन वारावरण नितान्त स्वस्थ बनाउनुपर्नेमा लोकतन्त्रको दुहाइ दिने दलहरू नै गलत अभ्यासको बाटोमा लागेका छन् । मतदाताहरूलाई आर्थिक प्रलोभनमा पारेर चुनाव जित्ने विगतदेखिको अवाञ्छित कसरतलाई बलशाली दलहरूले नै निरन्तरता दिइरहेको स्वतन्त्र पर्यवेक्षकहरूको भनाइ छ ।
राजनीतिक रुपले हेर्दा यसपटकको संसदीय निर्वाचनले ऐतिहासिक मोड लिइरहेको प्रतीत भैरहेको छ । वाम दलहरूको निरन्तर विभाजनबाट यथेष्ठ लाभ उठाउँदैआएको सत्ताधारी दल नेपाली कांग्रेस र उसको नेतृत्वमा नेपालको आन्तरिक राजनीतिलाई निहित स्वार्थका निम्ति उपयोग गर्न सफल हुँदैआएको भारतका सामु वाम तालमेलको तरङ्गले उठाएको लहर ठूलो चुनौती बनेको छ । विगतमा कहिल्यै चुनाव नहारेका प्रधानमन्त्री शेरबहादुर देउवादेखि लिएर कांग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेललाई समेत यसपटक चुनाव जित्न सजिलो नभएको आङ्कलन भैरहेको छ । नेपाली कांग्रेसभित्र झ्याङ्गिँदैआएको गुटगत प्रतिस्पर्धा र अन्तर्घातको लामो परम्पराको मारमा कुन कुन शिर्ष नेता पर्ने हुन् भन्ने कुतुहलता सर्वत्र जागृत भएको छ । तुलनात्मक रूपमा वाम तालमेलका नेताहरू सुरक्षित रहेको स्थलगत पर्यवेक्षणले देखाएको छ । नेपाली कांग्रेसले प्रतिनिधिसभाका १६५ स्थानमध्ये ७० देखि १०० स्थानमा जित्ने दावी गर्नथालेको छ भने वाम गठबन्धनले दुइतिहाइ बहुमत ल्याउने दावी गरिरहेको छ । प्रदेशसभातिर दुई नं. प्रदेशमा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी दलको गठबन्धनले अग्रता पाउने सम्भावना देखिएको छ भने अरू ६ प्रदेशमा वाम गठबन्धनको अग्रता रहने प्रचूर सम्भावना देखिएको छ । नेपाली कांग्रेसले कम्युनिष्ट अधिनायकवादको भय प्रवाह गरेर लोकतन्त्रको रक्षाका लागि आफ्नो दललाई मत दिन आग्रह गरे पनि उसको सत्ता सञ्चालन शैली र वैदेशिक शक्तिको स्वार्थपरक बहकाउमा लागेर राष्ट्रहितको सवाललाई उपेक्षा गर्ने मूल प्रवृति देख्दैआएका मतदाताहरूको ठूलो पंक्तिलाई कांग्रेसको पछिल्लो नाराले आकर्षित गर्नसक्ने पटक्कै देखिएको छैन । नेपाली जनताले पटक पटक पूर्ण बहुमत दिँदा पनि स्थायी सरकार दिन नसकेको र प्रतिबद्धता अनुरूपका कुनै काम गर्न नसकेको अनुभव गर्दै आएका मतदाताहरू यस पटक बहुमतको वाम सरकार हेर्न लालायित देखिएका छन् । भारतले नेपाललाई घुँडा टेकाउन नेपाली गुमस्ताहरूलाई नै प्रयोग गरी आधावर्षसम्म गरेको नाकाबन्दीको कठोर पीडा भोगेका जनताले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको विकल्पमा नेकपा एमालेलाई अगाडि उभ्याएका थिए भने अहिले केन्द्रिय सरकारमा पनि वाम गठबन्धनको बहुमतीय सरकारका लागि मतदान गर्ने प्रचूर सम्भावना देखिएको पर्यवेक्षकहरूले बताएका छन् ।
विगतका निर्वाचनहरूमा मत खरिदबिक्रीको प्रभाव जुन रुपमा देखिने गरेको थियो अहिले पनि कतिपय निर्वाचन क्षेत्रमा त्यसरी नै मत खरीदको प्रयास भैरहेको इङ्गित हुनथालेको छ । एकातिर रातारात हात हातमा पैसा थमाएर मत किन्ने गरएका उदाहरणहरू भेटिन्छन् भने खसीबोका र राँगाभैंसीको मासुको सदावर्त लगाएर मत हातपार्ने प्रवृत्ति पनि उत्तिकै मौलाएको छ । निर्वाचनमा उम्मेदवारले कुन हदसम्म खर्च गर्न पाउने भनी निर्वाचन आयोगले सीमा तोक्नेगरेको भए पनि चुनाव खर्च ज्यादै बढेको उम्मेदवारहरूले नै बताइरहेका छन् । प्रमुख राजनीतिक दलहरूदेखि लिएर मैदानमा उत्रिएका अरू उम्मेदवारले समेत मोटो रकमको चन्दा मागेर उद्योगी व्यापारीहरूलाई हैरान पार्नथालेको गुनासो समेत बढिरहेको छ । ठूलो घरानाका उद्योगी व्यापारीहरू चन्दाको बोझ थाम्न नसकेर देश बाहिरै जानथालेको खवरसमेत प्रवाहित हुनथालेको छ । यी सवै गतिविधिलाई हेर्दा यो निर्वाचनले मुलुकको भविष्य कतातिर धकेलिने हो भन्ने गम्भिर प्रश्न खडा गरेको छ । मुलुकको उज्यालो भविष्य निर्माणका लागि निष्पक्ष र स्वतन्त्र निर्वाचन अपरिहार्य छ भने राजनीतिक दलहरूले पनि आचारसंहिता पालना गरी  पारदर्शितापूर्ण  जवाफदेही राजनीतिक संस्कार निर्माण गर्न अग्रसर हुनुपर्छ भन्ने बौद्धिक जनताको अभिमत छ । तर अहिले निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन क्षेत्रहरूमा पैसाको खोलो बगाएर मतदाता आकर्षित गर्ने जुन होड चलेको छ त्यसले स्वस्थ मतदानको अपेक्षालाई कति विचलित बनाउने हो भन्ने अहं प्रश्न खडा गराएको छ ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com