युगसम्बाद साप्ताहिक

किन बजाए प्रकाशको मृत्युमा काखी
Tuesday, 11.28.2017, 11:22am (GMT5.5)

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका एकमात्र छोरा प्रकाश दाहालको असामयिक निधनलाई धेरैले अस्वाभाविक ठाने । ३६ वर्षको अल्यापुमा निधन भएका दाहालप्रति सहानुभूति राख्नेहरुसंगै ‘खुच्चिङ’ भन्नेहरु देखिए । सामाजिक संजाल  अनलाइनहरुमा त्यस्तै अभिव्यक्ति दिनेहरुको ओइरो नै लाग्यो ।
यस्तो प्रवृत्तिले नेपाली समाजको विकृत रुप मात्र प्रदर्शन गरेको मान्छन् समाजशास्त्रीहरु । मुलुकको बौद्धिक जगतले यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने सुझाव दिएका छन् । किनभने कसैको मृत्युमा दुःख व्यक्त गर्नु मानवीय स्वाभाव हो । तर, प्रकाशको मृत्युलाई लिएर धेरैले धेरैथरि टिप्प्पणी गरे । कसैले ठीक भयो भने, कसैले यो त हुनैपर्ने थियो भने, कसैले पाप धुरीबाट करायो भने । अनि कसैले राजनीतिक रुपमा पनि हेरे । 
के यस्ता प्रतिक्रिया स्वाभाविक हो त ? एकजना प्राध्यापक भन्छन्– ‘यो असाध्यै नकारात्ममक पक्ष हो । अरु लाई दुःख परेका बेला सहानुभूतिपूर्ण दुई शब्द खर्चनुको साटो प्रयोग खुच्चिङ भन्दा आफूलाई पर्दा अरुबाट त्यस्तै अभिव्यक्ति आयो भने त्यसबेला कस्तो महसुस होला ? यो पक्षलाई ध्यान दिइएन, आफूलाई दुःख वा शोक नपर्ने शैलीमा प्रचण्ड परिवारमाथि खनिने काम भयो । यो सम्वेदनहीन चरित्र हो ।’
प्रकाशको मृत्युमा एउटा धुन्धुकारी गयो, एउटा अनपढ–अशिक्षित गयो जस्ता टिप्पणी पनि भयो । वास्तवमा प्रकाशका अवगुणबाहेक गुण केही थिएन त ? पक्कै हैन, उनको सबभन्दा ठूलो गुण भनेको कलिलै उमेरमा बाबुआमाको साथमा लागेर जनयुद्धमा होमिनु हो । उनी र उनका पिता “प्रचण्ड र प्रकाशले चाहेका भए अरु नेताका छोराछोरी जस्तै उनी पनि विदेश जानसक्थे । आज गणतन्त्रको स्वाद लिनेहरुले यो गणतन्त्र ल्याउन प्रकाशको पनि योगदान छ भन्ने बिर्से अनि राजनीतिक आबद्धताका आधारमा प्रतिक्रिया जनाए, कांग्रेस आबद्ध, एमाले आबद्ध वा अरु दलमा आबद्धहरुले चुनावी प्रोपोगण्डा बनाउन खोजे । यो नेपाली समाजको विकृत रुपान्तरणको घातक पक्ष हो ।” एकजनाको तर्क थियो ।
मंसिर ३ गते आइबार विहान नहुँदै । चुनावी प्रचारका क्रममा बिर्तामोडमा रहनुभएका उहाँका एकमात्र पुत्र प्रकाश दाहालको आकस्मिक निधनले उहाँसंगै मुलुकको राजनीतिक वृत्तलाई एकाएक भावुक बनायो । आफ्ना पिताको सचिवालय व्यवस्थापन गर्दै राजनीतिमा सक्रिय प्रकाशको निधनपछि जनयुद्ध र त्यसक्रममा भएकाहरुसंग जोडेर हेरियो । प्रकाशको मृत्युलाई सुखद मान्नेहरु पनि देखिए । सामाजिक सञ्जालमा आएका यस्ता टिप्पणीको कुनै मूल्य छैन र त्यस्तालाई सम्वेदनाहीन बाहेक केही भन्न सकिन्न । अझ कतिसम्म भने प्रकाशका नकारात्मक पक्षलाई लिएर अनेक भिडियो र आलेख तयार भए, सबैले रुचीपूर्वक हेरे, पढे ।
एकजनाको तर्क छ– मृत्यु भैसकेका व्यक्तिको गुण र दोष केलाएर कसले के पाउँछ ? प्रकाशको राजनीतिक जीवन र उनको योगदानको कसैले वास्ता गरेनन् । उनले गरेका गल्ती र उनका कमजोरीहरु मात्र खोतलियो । २०३८ असार १७ गते चितवनमा जन्मिएका प्रकाश  बुवाआमासँगै माओवादी सशस्त्र संघर्षका बेला भूमिगत भए र पढ्न पाएनन् । तर, राजनीतिमा सक्रिय भैरहे । आफ्ना बुबा प्रचण्ड प्रधानमन्त्री हुदाँ वा नहुदाँ स्वकीय सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
गणतन्त्र ल्याउन प्रकाशले आफ्नो यौवनावस्थाको सुरुवातबाटै बन्दुक काँधमा हालेर हिंडे । आजको परिवर्तनमा उनको योगदान छ । बिर्सन नहुने पक्ष हो यो । मानव हुनुका नाताले उनको कमजोरी हुन्छन्, गल्ती पनि हुन्छन् । त्यस्ता कमजोरीको शिकार प्रकाश पनि भए । यो सामान्य पक्ष हो । 
प्रकाशका दुई श्रीमती र दुई छोरा छन् । उनका नजिकका साथीहरुको अनुसार प्रकाश खराव मान्छे नभए पनि उनको वैबाहिक जीवनमा उतार–चढाव आउनु दुःखद पक्ष थियो । शान्ति प्रक्रियामा आएपछि बाहिरी रुपमा प्रकाश कतिपय विवादमा तानिए तापनि उनीलाई भित्रबाट चिन्नेहरु उनी खराब मानिस नभई सफा मन भएका इमान्दार र सोझा थिए भन्छन । उनका नजिकका साथीहरु सोझोपनका कारण उनलाई अरुले बिगारेका थिए भन्छन । 
प्रकाश दाहाल प्राविधिक क्षेत्रमा भने अति नै रुचि राख्थे र जानकारी पनि राख्थे । सुरुमा पार्टीको हेक्वार्टरमा उनले कम्युटर सम्बन्धी काममा प्रचण्डलाई ठूलो साथ दिए । नयाँ नयाँ अत्याधुनिक हतियारहरु देखेपछि त्यो सिकिहाल्नुपर्ने उनको स्वभाव थियो । हरेक प्राविधिक विषयहरु उनी जान्न चाहन्थे र चाँडै सिकिहाल्थे । 
शान्ति प्रक्रियामा आएपछि र अहिलेसम्म आइपुग्दा प्रकाशले प्राविधिक ज्ञानमा आफ्नो रुची र दक्षता दुबै देखाए । सामाजिक सञ्जाल मार्फत सूचना प्रवाहमा पनि प्रकाशलाई अब्बल मानिन्थ्यो । कम्प्युटरमा रुचि र जानकार भएकोले प्रकाशले सधैजसो वुवा पुष्पकमल दाहाल प्रचण्डको चुनवी सभाको वा अन्य कुनै कार्यक्रमको फेसबुक लाइभ गरिरहन्थे । उनले गर्ने फेसबुक लाइभ धेरै पत्रकारहरुको सूचनाको स्रोत बन्ने गरेको थियो । यस्ता कुराहरु प्रकाशलाई अरुले सिकाउनै पर्दैनथ्यो, उनी आफैं सिक्थे ।
बुबा प्रचण्ड प्रधानमन्त्री हुदाँ वा नहुदाँ स्वकीय सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए । प्रकाशलाई एक कुशल व्यवस्थापकको रुपमा लिइन्छ । उनलाई आफ्नो भन्दा पनि बुवा प्रचण्ड, पार्टी र राष्ट्रिय हित एवं स्वार्थका बारेमा बढी सोच्ने व्यक्तिका रुपमा उनी निकट रहेकाहरुले बताउने गरेका छन् । पछिल्लो समयमा प्रचण्ड प्रधानमन्त्री भएका बेला प्रकाश दाहालले निकै परिपक्व भूमिका खेलेका थिए ।
के पनि भनिन्छ भने माओवादीभित्र प्रचण्ड र बाबुरामवीचको अन्तरविरोध अहिलेमात्रै नभएर भूमिगत कालमा पनि बढ्ने गथ्र्यो । दुई नेतावीच अन्तरविरोध हुँदा प्रचण्ड र बाबुरामलाई मिलाउने भूमिकामा धेरै पटक प्रकाशले नै निभाएका थिए ।त्यस्तै पुत्र वियोगमा प्रचण्ड रोएको देखेर १७ हजार मान्छे मार्दा आँसु नआउने आफ्नो छोरा मर्दा भनेर खिसी गरियो । १७ हजार मान्छे प्रचण्डले मारेका हुन् । १० वर्षे जनयुद्धमा राज्य र माओवादी दुबैबाट मान्छे मारियो, कति भीडन्तमा मरे, कति शंकाका भरमा मरे, कति आफ्नो शक्ति देखाउन मारिए । दुबै पक्ष उत्तिकै दोषी छ ? तत्कालीन सरकारका नेतृत्वकर्ताहरु कम दोषी छैनन् । विद्रोही दलको नेताको हैसियतले प्रचण्ड पनि दोषी छन् । तर, के त्यसको बदला लिने शैलीमा उनको छोराको मृत्युमा खुसी हुने त ? मृत्युलाई राजनीतिक रंग दिनु बौद्धिकताको दरिद्रपन बाहेक केही हैन । नेपाली समाजको यो कुरुपलाई त्याग्नैपर्छ । 


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com