युगसम्बाद साप्ताहिक

किन भयो कम मतदान ?
Tuesday, 11.28.2017, 11:22am (GMT5.5)

काठमाडौं । निर्वाचन आयोगको आग्रह विपरीत सरकारले पहिलो चरणको मतदानका दिन सार्वजनिनक विदा दिन गरेको आग्रह नमानेपछि अपेक्षाकृत परिमाणमा मतदान भएनन । स्थानीय चुनावको तुलनामा ८ प्रतिशत मत कम खस्यो । स्मरणीय के छ भने स्थानीय चुनावमा समग्रमा ७३ प्रतिशतको हाराहारीमा मतदान भएको थियो । यसको विपरीत प्रदेश र प्रतिनिधिसभाको पहिलो चरण अन्तर्गत ३२ जिल्लामा भएको निर्वाचनमा भने ६५ प्रतिशतले मात्रै मतदानमा भाग लिए ।
त्यसो त उच्चच पहाडी जिल्लाहरुमा चुनाव बिथोल्ने समूहको धम्की, खेतीपाती भित्र्याउने याम तथा चीसो एउटा कारण हो भनिए पनि मतदाताको ठूलो हिस्सा शहरी क्षेत्रमा रहेका कारण पनि मतदान कम भएको छ । 
मतदान भएका कतिपय पहाडी जिल्लाका मतदाताहरु ठूलो संख्यामा काठमाडौं उपत्यकामा पेशा व्यवसाय गरी बसेका छन् । ती जिल्लाका बासिन्दाहरु काठमाडौंमा व्यापार व्यवसाय गर्ने, ट्याक्सी चलाउनेदेखि सरकारी र निजी क्षेत्रमा जागिर खाने काम गर्छन् । उपत्यका वरपरका जिल्लाका गाउँ नै खाली बनाएर उनीहरु शहर पसेका छन् । भूकम्पपछि त झनै गाउँहरु रित्तो अवस्थामा छन् । उनीहरुको मतदाता नामावलीमात्रै गाउँमा छ, मानिसहरुचाहिँ शहरमा छन् ।
यस्तोमा उनीहरुका लागि मतदान गर्न जाने वातावरण बनेन । सार्वजनिक विदा दिइएको भए पक्कै मतदान गर्न जाने थिए । यसअघि मतदाताहरु मतदान गर्न आआफ्नो गाउँ गाने गरेका थिए । तर, यसपालि राजधानी छाडेनन् ।
उपत्यका आसपासका मतदाताले राजधानी नछाड्नुका पछाडि सरकार र निजी कम्पनीहरुले पहिलो चरणमा राजधानीमा सार्वजनिक विदा दिएनन् । अर्को कारण भनेको भोट हालेर के पाइन्छ र भन्ने निराशा पनि हो ।
अर्कोतिर आमसभाका लागि जिल्ला जिल्लाबाट कार्यकर्ताा र समर्थक ओसार्ने दलहहरुले उपत्यकाका मतदातालाई जिल्लामा ओसार्नका लागि खासै खर्च गरेको देखिएन । कतिपयले जिल्लामा मतदाता ओसार्न गाडीको व्यवस्था गरे पनि सिट नभरिएको गुनासो गरिरहेको सुनिन्थ्यो । यसले के पुष्टि गर्छ भने यसपालि उपत्यकामा रहेका जिल्लाबासीहरु गाउँ फर्कन खासै उत्साहित देखिएन । निर्वाचनप्रति उत्साह कम देखियो ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com