युगसम्बाद साप्ताहिक

पहिलो चरणको निर्वाचन सकियो : अस्वस्थ प्रतिस्पर्धा- लोकतन्त्रलाई ठूलो चुनौती
Tuesday, 11.28.2017, 11:23am (GMT5.5)

काठमाडौं । प्रतिनिधिसभाका १ सय ६५ र ७ प्रदेशसभाका ३ सय ३० सदस्य चयनका लागि  निर्धारित निर्वाचनको पहिलो चरण गत आइतवार सकिएको छ । दोस्रो चरणको निर्वाचन आजको नौ दिनपछि मंसिर २१ गते हुँदैछ । मतगणना दुवै चरणको मतदान प्रक्रिया पूरा भएपछि मात्र सुरू हुने भएकाले मतपेटिकाको सुरक्षाबारे सर्वत्र कुतुहलता जागृत भएको छ । प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सदस्यका निम्ति मैदानमा उत्रिएका ७०२ उम्मेदवारको जीतहारको भविष्य २१ गतेको मतदानपछि एकसाथ हुने गणनाले नै निर्धारण गर्ने छ । नेपालमा संसदको पटक पटक निर्वाचन भए पनि संघीय संरचनाका निम्ति पहिलो पटक भएको निर्वाचनले मुलुकलाई कस्तो भविष्यतिर डो¥याउला भन्ने आम जिज्ञाशा छ । नेपाल लामो समयदेखि राजनीतिक अस्थिरताको चंगुलमा फस्दैआएको छ । निर्वाचनमा समानुपातिक प्रतिनिधित्वको समेत संवैधानिक व्यवस्था भएपछि बहुमतीय स्थिर सरकारको सम्भावना क्षीण भएको र ससाना दलहरूलाई समेटेर सत्ता गठबन्धन गर्ने अनि भागबण्डा र मोलमोलाईका प्रवृत्तिगत अभ्यासले गर्दा अल्पकालमै सत्तासमीकरण बदलिएर चाँडो चाँडो सरकार बदलिने गर्दा स्थिर सरकार पनि बन्न नसक्ने र विकास, समृद्धिको आम चाहना पनि कहिल्यै पूरा नहुने जुन समस्या देखिएको छ यो निर्वाचनको नतिजाले त्यसको निराकरण कसरी गर्ला भन्नेतिर आमचासो बढेको देखिन्छ । देशको ओरालो लागेको अर्थतन्त्र, राजनीतिकरणबाट थिलोथिलो भएको प्रशासनीक संयन्त्र र प्रयोगपरक राजनीतिक पृष्ठभूमिमा निर्वाचनको परिणामपछि संघीय संरचनाले कस्तो गति र रूप लेला भन्नेतिर पनि उत्तिकै चासो बढेको छ । निर्वाचनको क्रममा देखिएको अस्वस्थ प्रतिस्पर्धाले मुलुक राजनीतिक शुद्धीकरणको बाटोमा जानसक्ने सम्भावना पनि क्षीण प्रतीत भएको विश्लेषकहरूको धारणा छ ।
आम निर्वाचनको पहिलो चरणमा उत्साहप्रद जनसहभागिता भएको र शान्तिपूर्ण एवं भयरहित वातावरणमा मतदान सम्पन्न भएको निष्कर्ष निर्वाचन आयोग र गृहमन्त्रालयले निकालेका भए पनि निर्वाचनको पूर्वसन्ध्यामा देशका विभिन्न भागमा भएका बम बिस्फोटनका घटना र केही मतदान केन्द्रमा भएको झडप तथा हवाइ फायरका अनपेक्षित घटनाले दोस्रो चरणको निर्वाचनसम्म पुग्दा के कस्ता असंगत घटनाहरू प्रायोजित हुने हुन् भन्ने आशंका खडा भएको छ । निर्वाचनमा सुरक्षाको प्रत्याभूतिका लागि ६४ हजार सुरक्षाकर्मी परिचालन गरिएको र निर्वाचन बिथोल्न सक्रिय रहेको आशङ्कामा सयौं व्यक्ति गिरफ्तार गरिएको देखिए तापनि सुरक्षा चुनौती विद्यमान नै रहेको देखिएको छ । सिराहामा अज्ञात समूहद्वारा भएको आक्रमणबाट सुरक्षाकर्मी नै घाइते भएको घटनाले निर्वाचनको दिन आइपुग्दासम्म तराईमा के कस्ता विसंगत घटनाहरु प्रायोजित हुने हुन् भन्ने आशङ्का जन्माइरहेको छ । सुरक्षा घेराभित्रको मतदान केन्द्रमा बम बिस्फोटन हुनु, मतदान केन्द्र नै कब्जा गर्नेसम्मका हर्कत हुनु र मतपेटिकामा नै एसिड छरेर खसेको मतपत्र जलाउनु सामान्य घटना होइनन् । स्थानीय तहको निर्वाचनमा भन्दा यस पटक मतदानमा कम प्रतिशत जनसहभागिता देखिनु भयजन्य वातावरणको सिर्जना वा मतदाताहरूबीच उत्पन्न उदासिनता अथवा अरू नै कारण के हुन् ? त्यसको निर्क्योल हुन बाँकी नै छ । निर्वाचन पर्यवेक्षणका निम्ति ४५ हजार ५ सय  व्यक्ति खटिएका  र तिनले दिने प्रतिवेदन सत्य तथ्यको नजिक हुने अपेक्षा गरिए पनि पहिलो चरणको निर्वाचन पर्यवेक्षणको नतिजा आउन बाँकी नै छ । निर्वाचनको पूर्व सन्ध्यामा निर्वाचन पर्यवेक्षणका निम्ति क्रियाशील स्वतन्त्र संस्था राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिहरूले निर्वाचन आचारसंहिताको निरन्तर उल्लंघन भैरहेको र सरकार नै सवभन्दा बढी आचारसंहिताको उल्लंघनकर्ता  रहेको  खुलाशा गरेका थिए । 
हाम्रा समाचारसूत्रहरूले विभिन्न जिल्लाबाट दिएको जानकारी अनुसार ३२ जिल्लाका अधिकांश निर्वाचन क्षेत्र र मतदान केन्द्रमा बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच नै कडा प्रतिस्पर्धा रहेको देखिए पनि बाम गठबन्धनले बहुमतको स्थिर सरकार दिनसक्ने सम्भावना रहेकाले मतदाताहरू वाम उम्मेदवारहरूप्रति बढी आकर्षित भएको पाइएको छ ।  स्थानीय तहमा परेको मतलाई आधार मानेर विश्लेषण गर्नेहरूले हिमाली र उच्च पहाडी जिल्लामा वाम गठबन्धनको अत्यधिक अग्रता देखिने अनुमान भैरहे पनि यस पटक मतदान प्रतिशत घटेको र मतदाता आकर्षित गर्न आर्थिक चलखेलदेखि लिएर अनेक तिगडमबाजी चलेकाले गणितीय हेरफेर कतिमात्रामा हुने हो भनी पूर्वानुमान गर्न कठीन छ । विगतमा नेपाली कांग्रेसले पटक पटक बहुमतको सरकार बनाउने अवसर पाएको भए पनि स्थायी सरकार दिन र विकासको रथ हाँक्न नसकेको स्थितिबोध गरेका मतदाताहरूले यस पटक वाम गठबन्धनको बहुमतीय स्थिर सरकार बन्नसक्ने अपेक्षाका साथ मतदान गरेको दावी समाचार सूत्रहरूले गरेका छन् । अब दोस्रो चरणको निर्वाचनमा पनि वाम गठबन्धनकै अग्रता कायम हुने पूर्वानुमान समाचार सूत्रहरूले गरिरहेका छन् । अहिलेको सत्ता गठबन्धनलाई यो निर्वाचनले ठूलो धक्का दिने अडकलबाजी भैरहेको छ । सत्ता गठबन्धनले चलाएको ’कम्युनिष्ट अधिनायकवाद’को हौवाले मतदाताहरूबीच कुनै प्रभाव नपारेको राजनीतिक सूत्रहरूको भनाइ छ ।



Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com