युगसम्बाद साप्ताहिक

भारतभक्तिले कांग्रेसलाई डुबायो ! वाम दललाई देश जोगाउने र बनाउने ठूलो अवसर
Tuesday, 12.12.2017, 02:51pm (GMT5.5)

मुलुक संघीय संरचनामा प्रवेश गरेपछि पहिलो पटक भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रबीचको गठबन्धनले ठूलो सफलता पाएको छ । दुई तिहाई बहुमतको नजिक रहेको यो गठबन्धनले पाँच वर्षका लागि स्थायी सरकार बनाउने बलियो आधार खडा भएको छ । यो समाचार तयार पार्दासम्म प्रतिनिधिसभाको १६५ स्थानमध्ये बाम गठबन्धनले १०८ क्षेत्रमा विजयी भएको छ भने लोकतान्त्रिक गठबन्धन २२ स्थानमा सीमित छ । निर्वाचनको समग्र परिणाम आएपछि एमाले र माओवादी केन्द्रबीच पूर्व घोषणाअनुसार नै पार्टी एकता भयो भने नेपालको राजनीतिले ठूलो फड्को मार्ने र राष्ट्रिय निर्माणले पनि गतिलिने प्रचूर सम्भावना छ । तर नेपालमा आन्तरिक राजनीतिक शक्तिहरूलाई सामदानदण्डभेदको नीति प्रयोग गरी एकआपसमा मिल्न नदिने र नेपालका आन्तरिक राजनीतिक समूहहरूलाई कहिले मिलाउने र कहिले जुधाएर नियन्त्रित अस्थिरता सिर्जना गरिरहने बाह्यशक्तिको जुन  ब्यूहरचना छ त्यसबाट वाम गठबन्धन र निकट भविष्यमा बन्ने वाम सरकार कति जोगिन सक्छ भन्ने चासो र जिज्ञाशा पनि उत्तिकै जागृत भएको छ । राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकतालाई नै दाउमा राखेर क्षणिक सत्तास्वार्थपूर्तिका लागि बाह्यशक्तिको उपयोगमा आउने जुन प्रवृत्ति विकसित छ त्यसका विरुद्ध नेपाली जनमत उर्लिएको अनुभूति निर्वाचनको परिणामले दिएको छ । राष्ट्रियताको रक्षा र राष्ट्र निर्माणको महान दायित्व अब वाम नेताहरूको काँधमा आएको छ । निर्वाचनको पछिल्लो परिणामले देशभर आशाको नयाँ लहर जगाएको निष्कर्षमा विश्लेषकहरू पुगेका छन् ।
यसपटकको निर्वाचनले सात दशकदेखि नेपालको राजनीतिको केन्द्रबिन्दुमा रहेको र पटक पटक राजनीतिक परिवर्तनदेखि लिएर बहुमतीय र गठबन्धन सरकारको नेतृत्वमा रहेको  नेपाली कांग्रेसलाई ठूलो धक्का दिएको छ । स्थानीय तहको निर्वाचनदेखि नै ओरालो लागेको कांग्रेसलाई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले झनै तल झारिदिएको छ । कांग्रेसका अधिकांश हस्तीहरू नराम्रोसंग पराजित भएका छन् । पूर्व मेचीदेखि पश्चिम महाकाली र हिमालदेखि तराईसम्मका अधिकांश क्षेत्रका जनताले कांग्रेसलाई किनारा लगाइदिएका छन् । कांग्रेस यो हालतमा पुग्नुको प्रमुख कारण उसको भरतभक्ति नै हो भन्ने प्रष्टै भएको छ । आफ्नै पार्टी नेतृत्वको सरकारका पालामा जारी भएको संविधान विरूद्धका गतिविधिलाई सघाउने, राष्ट्रहितविरुद्ध लक्षित संशोधनका लागि दवाव दिएर नेपाललाई घुँडा टेकाउन भएको नाकाबन्दीविरुद्ध उभिनुको सट्टा उल्टै तावेदारीको भूमिका खेल्नु र दिल्लीमा गएर संविधान संशोधनका लागि बाचा बाँध्नु, सन्तुलित कुटनीतिको अपरिहार्यता विपरीत भारतीय रणनीतिक स्वार्थको बारम्बार बाहक बन्नु र निर्वाचनकै बेला भारतीय दवाबमा बुढीगण्डकी जलबिद्युत आयोजनाको निर्माणका लागि चिनिया कम्पनीसंग भएको सम्झौता रद्ध गरी भारतकै हातमा पु¥याउने प्रपञ्च रच्नुजस्ता अनेक प्रकरणले नेपाली कांग्रेसको नेतृत्वबाट देशको रक्षा हुन नसक्ने बोध जनतामा हुनु नै कांग्रेस पराजयको प्रमुख कारण हो भन्ने निष्कर्षमा राजनीतिक विश्लेषकहरू पुगेका छन् ।
राजनीतिक विश्लेषकहरू अगाडि भन्दछन्– नेकपा एमालेले २०५१ सालको अल्पमतको अल्पकालिन सरकारका पालामा बनाएको छवि र ओली सरकारका पालामा भारतीय नाकाबन्दीविरुद्ध लिएको अडान एवं कुटनीतिक सन्तुलन र व्यवहारिक सन्तुलनको मूलधार निर्माण गर्दै उत्तरी छिमेकी चीनसंग पारवहन संझौतादेखि लिएर विविध पक्षमा गरेको सहमतिले जनमानसमा जगाएको आशा र विश्वास नै निर्वाचन जित्ने आधार बनेको देखिएको छ । नेपाललाई निरन्तर आफ्नो मुठ्ठीमा राख्न भारतले रचिरहेको प्रपञ्चविरुद्ध उर्लिएको नेपाली जनमतलाई सम्मान गरेर भारतले नेपालसितको सम्बन्धलाई परिमार्जित गर्छ वा चीनसित नजिकिँदैगएको बहाना बनाएर अरू बखेडा निकाल्छ त्यो हेर्न बाँकी नै रहे पनि वाम गठबन्धनका लागि राजनीतिक, आर्थिक र कुटनीतिक क्षेत्रमा चुनौतीका अनेक पहाड खडा छन् । कांग्रेसबाट रुष्ट र विमुख भएका जनताले विकल्पका रुपमा वाम समूहलाई देश जोगाउने र बनाउने ठूलो अवसर दिएका छन् । भारत निर्भरताको राजनीति र अर्थनीतिमा आमूल परिवर्तन नभएसम्म देश कदापि अगाडि बढ्न नसक्ने तथ्यबोध नेपालको दिशाहीन वर्तमान स्थितिले नै गराइरहेको छ । राजनीतिक स्थायित्वको पूर्णप्रत्याभूति र आर्थिक उत्पादकत्व वृद्धिका लागि अब बन्ने वामसरकारले राष्ट्रिय आवश्यकता र जनअपेक्षा अनुरुपका काम गर्ने महान अवसरलाई कसरी उपयोग गर्छ भन्ने आम चासो बढिरहेको छ ।  


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com