युगसम्बाद साप्ताहिक

स्वार्थको परिणाम भोग्यो राप्रपाले
Tuesday, 12.19.2017, 01:12pm (GMT5.5)

काठमाडौं । जन्म नै दुई चिरामा भएको तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले पनि तीन चिरामा छ । पंचायतकालीन राजनीतिका हस्तीहरुले नेतृत्व गरेको राप्रपाका नेताहरुले आफूलाई राष्ट्रवाद र उदार लोकतन्त्रको पक्षधर दावी गरे पनि उनीहरुको सैद्धान्तिक विचलन र नेताहरुको प्रतिष्ठाको लडाईले कमजोर बन्दैआएको छ ।
यति हुँदाहुँदै पनि सत्ता सन्तुलनमा राप्रपाको भूमिका निर्णायक रहँदै आयो । २०५१ को मध्यावधि निर्वाचनपछि राप्रपाका नेताहरु पटकपटक प्रधानमन्त्री बने । अझ २०७० को दोस्रो संविधानसभा निर्वाचनपछि गणतन्त्र अस्वीकार गरेको राप्रपा नेपाल त चौथो शक्तिका रुपमा उपस्थित भयो तर, अहिले उसको हालत अत्यन्त नाजुक छ । ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्दा राप्रपाले समानुपातिकतर्फ सांसद पाएन र राष्ट्रिय पार्टी पनि बन्न सकेन ।
२०४६ को जनआन्दोलनको सफलतापछि मुलुकमा बहुदलीय व्यवस्था स्थापना भएसंगै पंचायतका हस्ती मानिने पूर्वप्रधानमन्त्रीद्वय लोकेन्द्रबहादुर चन्द र स्व. सूर्यबहादुर थापाको नेतृत्वमा विसं २०४७ जेठ १५ गते एकै दिन गठन भएको दुई राप्रपाको एकता र विभाजनसंगै निर्वाचनको पूर्व सन्ध्यामा गणतन्त्र रोजेको राप्रजा र संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रको वकालत गर्दैआएको राप्रपा नेपालको एकीकरणपछि यो पार्टी अरु ठूलो शक्तिमा रुपान्तरणा हुने अपेक्षा गरिए पनि स्थानीय तह निर्वाचनको मुखैमा आएर पार्टी विभाजन भयो । त्यसअघि राप्रजा विभाजित भएको थियो ।
राजतन्त्र र धर्मनिरपेक्ष मुलुकको माग गर्ने राप्रपा नेपाल र गणतन्त्र स्वीकार गरेको राप्रपाबीचको एकीकरण टिक्न नसकेकोमात्र राप्रपा नेपालका सांसदहरुसमेत राप्रपा (प्रजातान्त्रिक)तिर लागे र अहिले यी दुबै पार्टीको हालत निर्वाचनले नाजुक बनाइदिएको छ । यसको एउटै कारण भनेको आन्तरिक विभाजन र संवैधानिक राजतन्त्र वा लोकतान्त्रिक गणतन्त्रबारेको नीति र व्यवहारमा एकरुपता नहुँनु होा । 
यही मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामले सो पार्टीले अवलम्बन गर्दै आएको राजनीतिक सिद्धान्तलाई कार्यान्वयन नगरिएकाले जनताले अनुमोदन नगरेका हुन् । प्रत्यक्ष निर्वाचनतार्फ राप्रपाले एकस्थान जिते पनि सो दल राष्ट्रिय पार्टी बन्न सकेन । 
निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ राप्रपाले नेपाली काँग्रेससँग तालमेल गरी कुल पाँच स्थानमा उम्मेदवारी दिएकामा एक स्थानमा मात्र जित हासिल गरेको छ । विजयी एक स्थानमा पनि वाम गठबन्धनसँगको तालमेलका कारण सो पार्टीलाई सफलता मिलेको हो । पार्टीका अध्यक्ष कमल थापाले मकवानपुर–१ बाट नेकपा एमालेका कृष्णप्रसाद दाहालसँग छ हजार ७२ मतान्तरले पराजय भोग्नु परेको छ । दाहाललाई ४० हजार ६३० मत प्राप्त हुँदा थापाको ३४ हजार ५५८ मत आएको थियो ।
राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले वाम गठबन्धनको समर्थनका कारण झापा–३ मा काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई १३ हजार ४५५ मतान्तरले पराजित गर्नुभयो । एकीकरण भएको आड महिनामा राप्रपाबाट फुटेर बनेको राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर जबरा सिन्धुपाल्चोक–२ मा आठ हजार ३२ मतको फरकमा एमालेका नेता शेरबहादुर तामाङसँग पराजित हुनुभयो ।
काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा सहभागी भएको उक्त पार्टीले प्रत्यक्षतर्फ देशभरबाट चार सिटका लागि तालमेल गरे पनि एक सिटसमेत जित्न सकेन । राप्रपा एकीकरण भएलगत्तै पुन विभाजित डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीले कुनै गठबन्धनसँग तालमेल नगरी निर्वाचनमा होमिएकोमा कुनै पनि सिट जितेन ।
मुलुकमा हिन्दूराष्ट्र, संवैधानिक राजसंस्था र एकात्मक शासन व्यवस्थाको पक्षमा वकालत गर्दै आएको थापा नेतृत्वको राप्रपाले फरक मतसहित संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमा हस्ताक्षर गरी त्यसपछिका सरकारमा सहभागी हुँदै आएको थियो । तर सो पार्टीले निर्वाचनको घोषणापत्रमा पुन हिन्दूराष्ट्र र संवैधानिक राजसंस्थाको पक्षमा आफूलाई प्रस्तुत गरेको थियो ।
राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले हिन्दूराष्ट्रको आवश्यकतामा जोड दिँदै परम्परागत शक्तिलाई समेत मान्ने विषयलाई चुनावी घोषणापत्रमा उल्लेख गरेको थियो । डा लोहनी नेतृत्वको दल पाँच हजार वर्ष पुरानो वैदिक सभ्यतासहितको हिन्दूराष्ट्रको पक्षमा उभिएको थियो । उसले राष्ट्रिय चरित्रसहितको संस्थाका रुपमा राजसंस्था र प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री राख्नुपर्ने घोषणापत्रमा माग गरेको थियो ।
तीन दशक लामो पञ्चायती व्यवस्थामा सक्रिय राजनीति गरेका नेतामध्ये तीनवटै पार्टीका अध्यक्ष अबका राजनीतिमा हावी हुने सम्भवना छैन । राप्रपाका प्रवक्ता भुवन पाठक चुनावको मुखमा पार्टी विभाजन हुनु नै आफूहरुको परिणाम निराशाजनक हुनुको कारण भएको बताउनुहुन्छ । उहाँले निर्वाचन परिणामका बारे चाँडो केन्द्रीय समितिको बैठकमा समीक्षा गरिने जानकारी दिनुभयो ।
राप्रपा प्रजातान्त्रिकका महामन्त्री राजाराम श्रेष्ठले पार्टी विभाजनका अतिरिक्त लोकतान्त्रिक गठबन्धनका नाममा कम स्थानमा उम्मेदवार उठाइएकाले पनि पराजय भोग्न परेको विचार व्यक्त गर्नुहुन्छ । उहाँ पार्टीका नीति तथा कार्यक्रम तल्लो तहसम्म पुर्याउन नसकेको समेत स्वीकार्नुहुन्छ ।
डा लोहनी नेतृत्वको दलका केन्द्रीय सदस्य सुन्दर पाण्डेले पार्टी विभाजन भएपछि संगठन निर्माणका लागि समय कम हुनुका साथै दुई पार्टीको चुनाव चिह्न गोलाकारभित्र र चारकुनाभित्र हलो दुईवटा भएका कारण पनि सफलता प्राप्त हुन नसकेको बताउनुभयो ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com