युगसम्बाद साप्ताहिक

राष्ट्रियसभा गठनमा दलीय रोदन
Tuesday, 12.26.2017, 11:32am (GMT5.5)

काठमाडौं । सरकारले राष्ट्रपति समक्ष पठाएकाृ राष्ट्रियसभा सम्बन्धी अध्यादेशमा एकल संक्रमणीय व्यवस्था अनुसार सदस्य चयन गरिनेछ । यो व्यवस्था भएमा नेपाली कांग्रेस, मधेशवादी दल लगायत अन्य केहीको पनि प्रतिनिधित्व हुनेछ । तर एमाले लगायतका दलहरुले त्यसलाई अस्वीकार गरेका छन् । यस्तोमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवादमा तान्ने काम पनि भैरहेको छ । राष्ट्रपति भण्डारीले दलहरूको सहमतिबिना अध्यादेश जारी नगर्ने र सहमति गर्न आव्हान गर्दैआउनुभएको छ ।
दलीय सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख दलहरुबीच छलफल चलाए पनि त्यो निष्कर्षमा पुग्नन सकेको छैन । राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणीय कि बहुमतीय भन्ने मुद्दामा अध्यादेश विवादमा तानिएको छ । 
अध्यादेश विवादमा परेपछि राष्ट्रपतिले दलहरूकै सहमतिबेगर अध्यादेश जारी नगर्ने सन्देश दिनुभएको । अध्यादेशमा राष्ट्रपतिले सहमतिका लागि राजनीतिक परामर्श लिने क्रम जारी राख्नुभएको छ । 
अध्यादेशको गाँठो फुकाउन प्रधानमन्त्री देउवाले शुक्रबार बोलाएको सर्वदलीय बैठकले सहमति जुटाउन नसकेपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीसहित कांग्रेस नेताहरूसंँग शीतल निवासमा करिब एक घण्टा छलफल गर्नुभएको थियो । 
संविधानको धारा ६६ को उपधारा २ अनुसार “राष्ट्रपतिले आफ्नो अधिकार र कर्तव्य पालना गर्दा संविधान र संघीय कानुनबमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनी किटानीसाथ व्यवस्था भएको कार्यबाहेक राष्ट्रपतिबाट सम्पादन गरिने अन्य जुनसुकै कार्य मन्त्रिपरिषदको सिफारिस र सम्मतिबाट हुनेछ” भन्ने उल्लेख छ । कांग्रेसले संविधानले निर्दिष्ट गरेको यो व्यवस्था विपरीत राष्ट्रपतिले दुई महिनादेखि अध्यादेश अडकाएर राखेको आरोप लगाउँदै आएको छ । अध्यादेश अडकाउँदा राष्ट्रिय सभा निर्वाचन अन्योलमा छ भने सरकार निर्माणसमेत प्रभावित भएको छ ।
कांग्रेसले एमालेको नेतृत्व र वकिलको उक्साहटमा राष्ट्रपतिबाट संवैधानिक भूमिका निर्वाह नभएको आरोप लगाउँदै आएको छ । उता एमालेले भने अध्यादेशको टेको समाएर सरकार लम्ब्याउने कांग्रेसको चाल भएको भन्दैआएको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका नेताहरूले राष्ट्रिय सभाको गठन नभए पनि सरकार निर्माण नरोकिने बताउँदै आएका छन ।
आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठसँगको भेटमा राष्ट्रियसभा गठनका लागि दलहरूबीच सहमति र सहकार्य जरुरी रहेको बताउनुभयो ।
उहाँले संविधान र कानूनअनुसार राष्ट्रियसभाको निर्वाचन गर्नका लागि दलहरू मिलेर जानका लागि आह्वान गर्नुभयो । “राष्ट्रियसभाको निर्वाचनका लागि दलहरू मिल्नाको विकल्प छैन”, राष्ट्रपतिलाई उद्धृत गर्दै राष्ट्रपति कार्यालयका सञ्चारविज्ञ माधव शर्माले भन्नुभयो । 
राष्ट्रियसभा गठन गर्न बहुमतीय कि एकल संक्रमणीय निर्वाचन प्रणाली अपनाउने भन्ने विषयमा दलबीच सहमति हुन सकेको छैन । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवासहित नेपाली काँग्रेसका शीर्ष नेतासँग पनि शुक्रबार छलफल गर्नुभएको थियो । 
यस विषयमा एमाले र माओवादीको धारणा बाझिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सभालाई समावेशी बनाउन एकल संक्रमणीय निर्वाचन पद्धति उपयुक्त हुनसक्ने धारणा राख्नुभएको छ । एकल संक्रमणीय हुँदा राष्ट्रिय सभामा कांग्रेस र मधेशवादी दलको पनि प्रतिनिधित्व हुनेछ भने बहुमतीय बहुमतीय प्रणाली अपनाउँदा राष्ट्रिय सभामा एमालेको वर्चस्व हुन्छ । कांग्रेस, माओवादी केन्द्र, राजपा र संघीय समाजवादी फोरमको उपस्थिति न्यून हुन्छ । 
पार्टी एकीकरण हुने भए पनि राष्ट्रिय सभामा माओवादी केन्द्रको पनि उपस्थिति होस भन्नकै लागि माओवादी केन्द्रको एकल संक्रमणीय प्रणाली अपनाउनुपर्ने बताउँदै आएको हो । त्यो प्रणाली अपनाउँदा त्यसको लाभ कांग्रेसलाई मात्र नभई माओवादी केन्द्र, राजपा र संघीय समाजवादी फोरमलाई समेत हुन जान्छ । त्यही कारण माओवादी केन्द्रका अध्यक्ष दाहाल एकल संक्रमणीय निर्वाचन प्रणालीप्रति सकारात्मक देखिनुभएको हो ।
राष्ट्रिय सभा गठन पूर्ण नहुँदासम्म सरकार निर्माणको प्रक्रियासमेत लम्बिनेछ । राष्ट्रिय सभाले पूर्णता नपाएसम्म प्रतिनिधिसभाले पूर्णता नपाउने हुनाले यस्तो अवस्था देखिएको हो । कानूनअनुसार निर्वाचन आयोगले संघीय संसदको निर्वाचन परिणाम राष्ट्रपतिलाई र प्रदेशको निर्वाचन परिणाम प्रदेश प्रमुखलाई बुझाउनुपर्ने व्यवस्था छ । त्यसपछि मात्रै सरकार निर्माणको प्रक्रिया अघि बढ्छ । निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन नभई संघीय संसदमा न्यूनतम एक तिहाइ महिला प्रतिनिधित्व हुनुपर्ने संवैधानिक व्यवस्था अन्तर्गत दलहरूले पठाउने कोटा छुट्याउन नसकिने बताउँदै आएको छ । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवै पर्छन् ।


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com